MENU
गणतन्त्रका प्रथम नगरपिता र ‘जामुन गुभाजु’को कथा –कृष्णमुरारी भण्डारी
 : 171 views
  Sep 11, 2017

 

काठमाण्डौं महानगर जस्तो जटिल, जेलिएको र सैन भएर पीप बगिरहेको घाउलाई छुमन्तर गरेर निकोपार्ने ‘जामुन गुभाजु’ तरीका अपनाउन खोजीदैछ । आधुनिक ‘जामुन गुभाजु’ को भूमिकामा मिति खुस्किएका केशव स्थापितको प्रहसन जारी छ ।

 

 

 

रुसमा अक्टोबर समाजवादी क्रान्ति भएको यो वर्ष शतवार्षिकी मनाइदैछ । एक शय वर्ष अघि अर्थात सन् १९१७ अक्टोबर २५का दिन रुसका भ्लादिमिर इल्यिच लेनिनको नेतृत्वमा श्रमजीवीहरुले राज्यसत्ता आफ्नो कब्जामा लिएर पहिलो सोभियत समाजवादी सरकार गठन गरेका थिए । यही सरकार विश्वका दुइ मध्ये एक महाशक्ति समाजवादी सोभियत संघ बन्यो, जुन आफ्नै राजनैतिक, आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय संबन्ध कायम गर्दै ७३ वर्षसम्म अस्तित्वमा रहेको थियो ।

 

तर नेपाल कम्युनिष्ट पार्टी एमालेबाट काठमाण्डौं महानगर पालिकाको मेयर पदमा अत्यधिक मत ल्याएर बिजयी बनेका विद्यासुन्दर शाक्य भने कार्यकाल शुरु भएको सय दिनमै नारायणहरि बनेका छन् । उनले स्वीकार गरे, सय दिनमा गर्छु भनेका काम गर्न मैले सकिन !

 

उनले के गर्छु भनेका थिए ? केके चाँहि गर्न सकेनन् ?

 

उनले चुनावी उम्मेदवारको रुपमा धेरै कुरा बोले तर के कुरा अनुमानसम्म लगाउन सकेनन् भने बिद्यासुन्दरको बिजय उनको कारणले होइन, स्वप्नदर्शी केपी ओली तथा एमाले उम्मेदवारको ‘नेम र फेम’ का कारण भएको हो ।

 

नयाँ मेयर सत्य ठम्याउन नसकेर बहकीए । बिजयी बनें भने सय दिनभित्र यो गर्छु उसो गर्छु भनेर चुनावी सभाका कुरा अहिले उनकै मुखमा बुझो लगाउने आधार बनाइएको हो । त्यसैले मेयरले सय दिनमा माखो पनि मार्न सकेनन् भन्ने प्रचार ब्याप्त र उनी कुहिरोको काग बनिरहेका देखिन्छन् !

 

विद्यासुन्दर आफूले खनेको खाल्डोमा आफैं पर्नुको कारण के हो ? निर्वाचनमा विजयी बनेर काम शुरु नगर्दैै के कारणले उनी आक्रमणको शिकार बन्न पुगेका हुन् ? किन उनलाई हतार हतार मैले सय दिनमा यो गरे र यो गर्न सकिन भनेर स्वेतपत्र नै जारी गर्न लगाइएको होला ?

 

यसको कारण अरु होइन, महानगरका मेयर माल अड्डाको मुखिया बनेकाले कुर्सीमा बस्न नपाउदै उनी घरका न घाटको बनेका हुन् । के देशको महानगरको मेयर साँच्चिकै निजामती कर्मचारी प्रशासनका मुखिया हुन् ? के उनी कलेजो नभएका कर्मचारीतन्त्रको गुलिडण्डा बनेका हुन् ? होइन भने उनको स्वेतपत्र के हो ? कस्ले तयार गर्यो त्यो बेइज्जतीपत्र ? यसको बदलामा सय दिनमा विद्यासुन्दरले राजधानी महानगरको अवस्थालाई सार्वजनिक गरेको भए के हुन्थ्यो ?

 

यसको छोटो जवाफ हुन्छ, महानगरवासीले काठमाण्डौं महानगरको अवस्थावारे अवगत हुन पाउनेथिए । अनि महानगरको सुधार कहाँबाट थालनी गर्ने भन्ने उपायहरु आफ्ना नगरपितालाई सुझाउन सक्थे । महानगरवासीका कर्तब्यवारे पनि अवगत हुन्थे । तर भयो यथार्थको ठीक उल्टो ! असफल प्रजातान्त्रिककाल र राजाको निरंकुशकालमा मेयर बनेका केशव स्थापितको गफ र पुरानै तरीका अपनाएर रातारात चर्चित बन्ने दिवास्वप्नले गणतन्त्रकालका निर्वाचित मेयरलाई अगाडि बढाउन खोजीयो । त्यसैले शुरुका सय दिनमै उनको ‘बुमरयांग’ भयो ।

 

साह्रै अचम्म लाग्दो कुरा त के भने, काठमाण्डौं महानगर जस्तो जटिल, जेलिएको र सैन भएर पीप बगिरहेको घाउलाई छुमन्तर गरेर निकोपार्ने ‘जामुन गुभाजु’ तरीका अपनाउन खोजीदैछ । आधुनिक ‘जामुन गुभाजु’ को भूमिकामा मिति खुस्किएका केशव स्थापितको प्रहसन जारी छ ।

 

निर्वाचित मेयर एउटा छ, अनिर्वाचित केशव स्थापित यसो उसो भनेर गफ हान्दैछन् ! मानौं ‘डि फ्याक्टो’ मेयर नै स्थापित हो र ‘डि जुरे’ मात्र हो विद्यासुन्दर शाक्य ! नगरवासीहरु वास्तविक होइन, छाया गुभाजुलाई सुन्न बाध्य बनाइदैछन् । बीसवर्षदेखि महानगरको तर मारिरहेको कर्मचारीतन्त्र आँग कन्याएर छारो उडाउदै छायाँ गुभाजु सुन्न इसारा गरिरहेछ ।

 

महानगरको आन्द्रा भुँडी गिजोल्न खप्पीस कर्मचारी इसारा नगरुन पनि किन ? छायाँ गुभाजु महानगरमा पूरै छाइरहेका छन् । कर्मचारीहरु के गर्ने के नगर्ने विलखबन्दमा परेका पनि छन् । एक छिन अगाडि यसो गर्ने भनेर गफ दिएको छ, एकछिन पछि अर्कै कुरा गर्ने भनेर आदेश तामेल गराइदै जो छ । मेयरको नाउमा प्रकाशित सय दिनको उपलब्धिले यही द्वेध शासनलाई छर्लंग पार्छ !

 

राजधानी महानगरका प्रमुखको यो गतिले देशका बाँकि नगर प्रमुखहरुको अवस्थावारे अडकल गर्न सकिन्छ कि उनीहरु कस्तो अवस्थाबाट गुज्रीरहेका होलान् ? धेरै नगर÷महानगर, गाउ÷पालिकाहरुमा पूरै प्यानल जितेका ठाउ बहुतै कम छन् । मिश्रित उम्मेदवारहरुले विजय हासिल गरेका छन् । यस्तो अवस्थामा अन्य निर्वाचित पदाधिकारीहरुसंग मिलेर मेयर वा गाउपालिकाको प्रमुख कसरी अगाडि बढ्ने ?

 

के गाउ नगरमा बिजयी भएको मेयर वा प्रमुखको हैकममा ती संस्था चल्ने हुन् कि सामुहिक रुपमा ऐन नियम बमोजिम संचालन हुने हुन् ? यसवारेमा धेरैले भ्रम पालिरहेका छन् र यस्तो भ्रम सबैभन्दा धेरै आमजनतालाई सुसुचित गर्ने पत्रकार र बुद्धिजीवीहरुले पालेको देखिदैछ । उदाहरणको लागि काठमाण्डौं महानगरलाई नै हेरौं न ।

 

यहाँ मेयरमा एमालेका विद्यासुन्दर र उपमेयरमा काँग्रेसकी हरिकला खड्गी बिजयी बनेकी छन् । वडाहरुमा पनि मिश्रित उम्मेदवार विजयी बनेका छन् । निर्वाचनमा जितेपछि विजयी ब्यक्ति कुनै पार्टी वा गुटको होइन, संपूर्ण नगरवासीको पदाधिकारी बन्नुपर्छ । उनीहरु सबै मिलेर ऐन, नियम र कानून अनुसार लोकतान्त्रिक विधि ब्यवहारबाट नीति कार्यक्रम र योजना बनाएर जनताको सेवा र विकासको काममा अगाडि बढ्नुको विकल्प हुँदैन ।

 

तर यही बिन्दूमा जान्नेबुझ्ने भनाउदाहरु भ्रममा परेका छन् र एक्लो विद्यासुन्दरलाई काठमाण्डौ महानगरको समस्या र समाधानमा जिम्मेवार बनाउन खोजीदैछ । मेयर महानगरको टिमको नेता हो, डिक्टेटर होइन ।

 

तर निरंकुशकालको मेयर वा नेता झैं मेयरलाई प्रस्तुत गर्ने कसरथ गरिदैछ किनभने यसो गर्नेहरुको मनमा निर्दलीय निरंकुश भूतले राजगरिरहेको छ । यिनको ज्ञानको दायरा यत्तिमै सिमित छ ।

 

लोकतन्त्रमा जननिर्वाचित निकाय त्यसमा पनि नगर÷गाउ पालिका जस्ता आमजनतासंग दैनिकरुपमा प्रत्यक्ष सरोकार हुने संस्थाहरु चल्ने आफ्नै सर्वमान्य नियम छन् । जसको पालना गरिएन भने स्थानीय निकाय कचिंगलको अखाडा मात्र बन्ने छ । जो बास्तवमा लामो सयम कचिंगल र लुट मात्र होइन, ब्रम्हलुटको केन्द्र बनेको पनि हो ।

 

बिग्रीएको थोत्रो गाडी चलेन भनेर अर्को ड्राइभर फेर्दैमा त्यो गाडी छुमन्तर भएर चल्दैन । न सधैं धकेलेर नै बिग्रीएको गाडीलाई गुड्ने बनाउन सकिन्छ ।

 

बिग्रीएको गाडी, मेकानिक वा मेकानिकल इन्जिनियरले हेरेर, खोलखाल पारेर समस्या के हो त्यो पहिचान गरिसकेपछि त्यसको मर्मत गर्छन् वा आवश्यक सामान फेर्छन् पनि ।

 

गाडमा भएको तेल–ग्रीज–मोबिल जाँच्छन् । ब्रेक, प्लग, बत्ती, ह्याण्डिल, हावा, हर्न लगायत गाडीका सबै अंगहरुलाई ठीक पार्छन् । स्टार्ट गर्छन् । आफैं चलाएर हेर्छन् र ठीक ठहरिएपछि ड्राइभरलाई बोलाएर मेकानिकले भन्छ, तिम्रो गाडी अहिलेलाई ठीक भयो । समयमा सर्विसिंग गराएर मात्र चलाउ है, नत्र फेरि कहाँ गएर इन्जिनले धोका दिन्छ र नारायणहरि बनौला !

 

राजधानीका समस्या

 

काठमाण्डौं उपत्यका धेरै जनसंख्या भएको उदाउदो एउटा अन्तर्राष्ट्रिय शहरमा हो । पाँच छवटा नगरहरु भए पनि सबैसंग कामनपाको समन्वय नहुने हो भने यहाँका कुनै पनि नगर ब्यवस्थित हुनसक्दैन ।

 

यसका लागि बुद्धिमानहरुसंग संगत गर विद्यासुन्दर । अनुभवीका कुरा सुन । विषयविद थिंक ट्याँकहरुको सल्लाह लेउ, पिएचडी होल्डरका होइन ! उत्पादन र परिणाममुखी बिचारहरु सिर्जना गरिरहने , उपाय विकल्प निकालीरहने जिम्मेवार मानिसलाई जिम्मेवारी दिएर सल्लाहकार राख । तिनका अगाडि समस्या पस्क, समाधान खोज र महानगरबाट सामुहिक रुपमा निर्णय गरेर कामलाई अगाडि बढाउ । असल काम गर्नेलाई पुरस्कार दिन थाल, बिगार्नेलाई दण्डित पनि गर !

 

ट्राफिक ब्यवस्थापन सुधारबाट काम थालिहाल । शहर अहिले ट्राफिक अराजकताबाट आक्रान्त छ । राजधानीको ट्राफिक प्रहरीमा सर्वेन्द्र खनाल आएका छन् । उनको विगत समस्यासंग लाक्पा खेलेर समाधान निकाल्ने आँटिलो प्रहरीको छ ।

 

त्यसैले खनालसंग समन्वय गरेर राजधानीको ट्राफिक ब्यवस्थापन गर्न लाग शाक्य । ट्राफिक प्रहरीलाई पनि भन, हात हल्लाएर मात्र ट्राफिक प्रहरी बनिदैन ! आउ मिलेर काम गरौं !

 

चारपाँच करोड पर्ने गाडी किन्न सक्ने र जान्नेहरुले महानगरमा गाडी हाँक्न नजान्ने बन्नु हुँदैन । विहे गर्ने परिवार ब्यवस्थापन नगर्ने, शिक्षक बन्ने पढाउन नजान्ने जसरी समाजमा ग्राह्य मानिदैन त्यसैगरी गाडी ल्याउन दिइसकेपछि तिनलाई उचित किसिमले चलाउने बतावरण महानगरले मिलाउनै पर्छ ।

 

एम्बुलेन्सले जस्तो जसरी पायो त्यसरी गाडी कुदाउन संसारभर कही पाइदैन, काठमाण्डौंमा पनि पाइदैन ! यस्तो अराजकतालाई तुरुन्त रोक मेयर ।

 

जसरी शरीरमा बहने रगतलाई मुटुले शुद्धिकरण गर्छ त्यसैगरी महानगरले राजधानी शहरलाई शुद्धिकरण गर्दै चलायमान बनाउन सकनु पर्छ । मुटुमा रोकिएको रगतलाई एनजीओ प्लाष्टीले खुलाए जस्तै सडकको एनजीओ प्लाष्टी हो, ट्राफिक सुचारु ।

 

प्रत्येक बासिन्दालाई आफूले थालेको कामको जानकारी गराउ, विद्यासुन्दर शाक्य । मुटुले राम्रोसंग काम गर्नको लागि जसरी अरु अंगको सहयोग जरुरी हुन्छ, त्यसैगरी महानगरलाई जीवन्तरुपमा संचालन गर्न नगरवासीको सहयोग पनि त्यत्तिनै खाँचो पर्छ ।

 

राजधानीका सडक चौंडा बने र बन्दै पनि छन् तर ती सडक पार्किंग गर्ने ठाउ बनेका छन् । के सडक विस्तार यसैका लागि गरिएको हो ? सडक पेटी त बने, बन्दैछन् तर ती सबै पसलेहरुको पसल बढाउन बनाइएका हुन् ? तरकारी र अन्य सामान बेच्नका लागि हो ? मोटरसाइकल पार्किंगलाई बनेको हो कि पैदलयात्रुहरुलाई सहज किसिमले हिंड्न ? जेब्रा क्रशिंग केका लागि हो ? अनि ट्राफिक लाइट ? भएका लाइट किन नचलेका ? त्यत्तिकै राखिएका मात्र हुन् भने त्यहाँ लाल्टिन झुण्ड्याउन लगाएर आफ्नो महानता देखाउ मेयर !

 

होइन, ट्राफिक लाइट पनि संचालन गर्न नसक्ने हो भने सोलार जडित ती ठाँडा जापानसंग किन मागेको ? चलाउने हो भने किन नचलाएको ? अनि एउटा ट्राफिक लाइट चलाउन नसक्नेले केको रेल÷ट्राम चलाउने गफ गरेको ? ट्राफिक बत्ती त चलाउन नसक्नेले रेल चलाएर खान सक्दैन । यो कुरा मनमा राख ।

 

यती साना कुरा पनि महनगरका मेयरसंग के गरेको भन्ने तिमीलाई लाग्ला विद्यासुन्दर तर तिमीलाई थाहा छ, काठमाण्डौंमा ट्राफिक समस्या समाधान हुने वित्तिकै अरु समस्या पनि समाधान हुने बाटो खुल्छ । सडक, पेटी, बसपार्क ब्यवस्थित सफासुघ्घर भएपछि राजधानी ब्यवस्थित हुन थालिहाल्छ ।

 

भन्नलाई अतिथि देवो भन्ने तर विदेशी पाहुनालाई कुकुरले नपाएको दुख दिने काम रोक्नुपर्छ । भुइचालोले धेरै कुरा ध्वश्त पार्यो  । तर मन्दिर लगायतका पुराना दरवार बनाउन पुरातत्व बुढो साँढेले कोरली बाच्छी झै ओगटेर बसेको छ । जसका पुर्खाले नौ तले दरवार बनाउन सके तिनका सन्तान के पुर्खाको धरोहर बनाउन असक्षम नै हुन् त ? पुरातत्व भनेर कति पर्खेर बस्ने ?
फोहोरमैला र धुलोले तिम्रो महानगर कुइरीमण्डल नै छ । यसवाट बच्न सर्वसाधारण तीस रुपैयादेखि तीन हजार तिरेर मुखमा मास्क लगाएर हिड्छन् । मास्कमा कति खर्च भैरहेछ ? स्वास्थ्यमा कति जटिलता आइरहेछ ?

 

यसवाट बच्न बरु एउटा मानिससंग दिनको एक रुपैयाँ दिनुहोस्, म मास्क लगाउन नपर्ने महानगर बनाउछु भनेर पैसा उठाउन थाल विद्यासुन्दर । यसो गर्दा एकदिनको मास्कको पैसाले महिना दिन धुलोबाट महानगरलाई सुरक्षित बनाउन सकिन्छ ।

 

त्यो पैसाले मेशीन किन, धुलो बढार, पानी छम्क । धुलो मात्र उडेन भने कति फाइदा होला देश र जनतालाई ? घर कति सफा होलान् ? ज्यान कति फुर्तिलो होला, अविरल सास लिनुपर्ने नाकमा बन्देज लगाउदा फोक्सोलाई कति क्षति पुर्यइरहेको होला ? अनि आँखा ? नाक त मास्कले छोपिइन्छ तर बहुमूल्य आँखालाई बचाउने मास्क खै ? धुलोले आँखा कति बिगारिरहेको छ ?

 

आँखाका डाक्टरले बोल्नु पर्ने हो, आँखाका चर्चित डाक्टर शशाँक कोइराला त डाक्टरी छाडेर राजनीतिमा लागे र काँग्रेसका महामन्त्री जो बनेका छन् । न यी डाक्टर बोल्छन् नत अरु नै । धुलोले विगारेका आँखाबारे उनीहरु बोल्नु पर्दैन ? यो आँखालाई यति पावरको चश्मा लगाउनु पर्छ भनेर नापजोख गर्नेले यो धुलोले कति क्षति पुर्याउछ आवाज बुलन्द गर्नु पर्दैन ? मात्र उपचारको निहुँमा उनीहरु पैसा सोहोरिरहेका छन् !

 

धुलो हिलो फोहोरमैलाबाट बिरामी भएकाहरुको उपचार गर्नु परेन भने कति देशका कति पैसा जोगीएला ? सागपात, फलफूल कति स्वस्थकर होलान् ? अनि धुलो ?

 

बढारेर एक दिनमा थुप्रिने तीस ट्रक धुलो जमीन पुर्नेहरुलाई बेच्यौ भने महानगरले धुलोबाट कति पैसा कमाउला बिद्यासुन्दर ? यसरी पनि धुलोलाई मूल्यवान स्रोत बनाउन नसकिने होइन ।

 

अगेनामा दाउरा बालेपछि खरानी निस्कन्छ तर त्यही खरानी साइबाबाका अनुयायीहरु विभुत भनेर टिका लगाउछन् । त्यसैको चन्दन बनाउछन् । खरानी यसरी महंगोमा बिक्री हुनसक्छ भने धुलो किन नहुने ? मात्र अक्किल र बुद्धिको कुरा भएकोले तिमीले पनि नयाँनयाँ अक्किल निकाल्न सक्यौ भने तिमी पनि सफल नहुने कुरै छैन ।

 

त्यसैले हे विद्यासुन्दर काठमाण्डौंबासीको स्वपहिचान दिने लबेदा सुरुवाल, टोपी लगाएर आफ्नो छुट्टै पहिचान सहितको ‘सुन्दर दाइ’ बन । पैदल हिंड, साइकल चढ । वडा वडा डुल । नगरवासीका समस्या सुन । काम गर । समाधान पहिल्याउन उनीहरुका विकल्पहरु पनि सुन । कानूनी राज पालनामा मरिमेटेर लाग । महानगरमा तीन सिफ्टमा काम गर्ने थालनी गर । तस्कर, बिचौलीया, डन, भ्रष्टाचारी, माफिया, अपराधी, गुण्डाबाट जोगीय । सडकमा सवारी पार्किंग भनेर रोकिएको भुतलाई ब्यूँताउने काम कदापी नगर, सावधान यो जनता लुट्ने लाइसेन्स भएकैले विगतमा बन्द गरिएको हो ।

 

तिमी गणतन्त्रका प्रथम नगरपिता हौ । त्यसैले मेयरले यसरी काम गर्नुपर्छ भन्ने रेकर्ड कायम गर । दिनमा बीस घण्टा काम गर्न थाल । यसो ग¥यौ भने तिमी सफल हुन्छौ हुन्छौ किनभने छिमेकी भारतको प्रधानमन्त्री नरेन्द्र मोदी पनि बीस घण्टा आफ्नो देश र जनताको भलो चिताउदै काम गरेर सफल भैरहेछन् भने तिमी किन सफल नहुने ? तिमी पनि काठमाण्डौंकै बारेमा सोच, यसैको बारेमा काम गर र यसैलाई आधुनिक काठमाण्डौं बनाउन लाग । तिम्रो सफलता अबश्यंभावी छ ।

 

 

 

 

Comments