MENU
चिरिक्क मनले आँखालाई संझाउन थाल्छ…..मदन भण्डारी स्मृति
 : 50 views
  May 17, 2017

 

सन्दर्भ मदन भण्डारी स्मृति दिवस

 


–शब्द /तस्वीर: चन्द्रशेखर कार्की
चैत महिनाको अन्तिम दिनतिर (०४७ साल) हुनुपर्छ । चुनावको गर्मी र मौसमी गर्मी सँगसँगै बढिरहेको थियो । यस्ता कुरामा पत्रकारहरुलाई चासो नहुने कुरै भएन ।
मैले भर्खर–भर्खर फोटो पत्रकारिता शुरु गरेको थिएँ । चुनाव, नेता, राजनीतिक दलका बारेमा जान्नेसुन्ने र तस्वीर खिच्ने उत्सुकता तीव्र थियो ।

नियमित जस्तो भेटहुने हामी दुई चारजना पत्रकार साथीहरु थियौं । कुनै न कुनै बहानामा जमघटको तारतम्य मिलाउँथ्यौं र कामका विषयमा धेरै कुराकानी गर्दथ्यौं । एक दिन साँझ पर्दैथियो, पुतलीसडकस्थित दियो रेष्टुरेन्टमा राजेश मिश्र, अनुप थपलिया, रमेश केसी लगायतका साथीहरु गफिँदै थियौं । गफ उही राजनीतिको बारेमा ।

नेताहरुको कस्तो फोटो खिच्न मन छ ? कुरैकुरामा राजेशले प्रश्न गरे ।
मदन भण्डारीको तर टोपी नलगाएको ! मैले आफ्नो इच्छा व्यक्त गरें ।
राजेशले सोध्यो, किन ?
तत्काल मैले जवाफ फर्काइहालें, मदनलाई मैले टोपीबिना देखेकै छैन ।
साँच्चै नै टोपी नलगाएको अवस्थामा मैले कहिल्यै मदन भण्डारीलाई देखेको थिइन । मेरो उनीसग व्यक्तिगत पहुँच पनि थिएन, परिचय पनि नभएकाले सार्वजनिक स्थलमा यस्तो फोटो खिच्न सम्भव हुने कुरो पनि भएन ।

 

यस्तै कुराहरुमा गफिँदै गर्दा त्यो दिनको हाम्रो जमघट कतिबेला सकियो मलाई अहिले पनि पत्तो छैन । केही हप्तापछि सुरुचि साप्ताहिकमा राजेश मिश्रले समकालीन राजनीतिक नेताबारे नेपालका दस अवतार शीर्षकमा एउटा लेख लेखे ।
दशमध्ये एक अवतार थिए मदन भण्डारी ? मदनलाई उसले राम्रैसंग चित्रण गरेको थियो । राजेशले त्यही लेखको पुछारमा मेरो इच्छा पनि लेखेछन् । जुन कुरा मैले पत्रिकामा छाप्ने मनसायले उसलाई भनेको थिइनँ ।

लेख छापिएपछि मदन भण्डारीले सुरुचि पढेछन् । मलाई भनेको भए भैहाल्थ्यो नि, किन यो कुरा पनि छाप्नु पर्दथ्यो ? पत्रकार गोपाल गुरागाइसँग मदनले भनेछन् । एकदिन गोपाल दाइले नै मलाई यो कुरा सुनाए । कम्युनिष्ट मदन भण्डारी त सरल रहेछन् जस्तो मैले बुझेँ ।

 

 

भदौ महिना हुनुपर्छ, बिहान १० बजेतिर गोपाल दाइले मलाई नक्साल भगवती बहाल नजिकै रहेको मदनको कोठामा लिएर गए । गोपाल दाइले समय लिइसकेका रहेछन् । मैले खोजेका अवस्थामा थिए, मदन भण्डारी बिना टोपी । स्यान्डो गन्जी र ट्राउजरमा ।
नमस्ते, मैले भने । बस्नोस्, नजिकै रहेको बेतको कुर्सी देखाउँदै उनले हात अगाडि बढाए ।
कोठा साधारण थियो । चार पाँचवटा बेतका कुर्सी, सामान्य कार्पेट । कति बेला फोटो खिचूँ ? मनभित्र छटपटी भइरहेको थियो । म क्यामेरा झिक्दै थिएँ, उनले भने स्याण्डोमाथि केही लगाउँछु ।
एकैछिनमा उनी ट्रयाकको ज्याकेट लगाएर आए । पत्रिकामा छाप्नै किन पर्दथ्यो र मलाइ नै भनेको भए भैहाल्थ्यो नि भन्दै गुनासो पोखे ।
खासमा मदन भण्डारीलाई चिनेकै थिइनँ, अलिकति लजाएँ म ।
नचिनेको भए कसरी सँधै टोपी लगाएको याद गर्नुभो त ?
मैले भनें, तपाइले पनि मलाई चिन्नु भएको त थिएन नि ।
म पत्रिका पढ्दै फोटो पनि हेर्छु मदनले भने, मैले अनुमान गरेको र तपाई एउटै हो कि होइन भन्ने थियो, अहिले देखेपछि पक्का भयो ।

गोपाल गुरागाई दाइ प्रतिपक्ष साप्ताहिकका लागि अन्तर्वार्ता लिन थाल्नुभयो । म चाँही फोटो खिच्न ।
त्यतिबेलाका धेरैजसो कम्युनिस्ट नेताहरु बिपी कोइरालालाई मन पराउँथे । तर भन्न सक्दैन थिए । मेरो मनमा यही कुरा खेलिरहेको थियो । ।
तपाईलाई नेपाली नेता को मनपर्छ ? मैले सोधेँ ।
बिपी कोइराला, सेकेन्ड पनि बित्न नपाउँदै उनले भने ।
म त्यतिबेला भर्खरै पुनस्र्थापित बहुदलीय व्यबस्था र राजनीतिज्ञका विषयमा नयाँ कुरा बुझ्ने रहरले गर्दा साथीभाइहरुसँग गफिँदा पनि यस्तै कुराहरु गर्थें । कम्युनिस्टहरु बाहिर एउटा, भित्र अर्कै कुरा गर्छन् भन्ने मेरो मनमा पनि परेको थियो । तर मदन भण्डारीसँगको छोटो तर मिठो कुराकानी र भेटघाटले मेरो मनबाट यी र यस्तै कुरा अलिअलि गर्दै हट्न थाले ।

 

 

हिँड्ने बेला परिवारसँगै एउटा फोटो खिच्नका लागि आग्रह गरेँ । मदन राजी भए । दुई छोरी र श्रीमती विद्या भण्डारीलाई बोलाए र फोटो खिचियो ।
हामी निस्कँदै गर्दा उनले भने, फोटोहरु ल्याइदिनु है चन्द्रशेखरजी ।
मदन भण्डारीको त्यो फोटो जनमन्च साप्ताहिकमा छापियो । सँधै भादगाउँले टोपीमा देखिएका मदन भण्डारीको त्यो तस्वीरलाई धेरैले चिनेन् ।

 

 

केही दिनपछि फोटोहरु लिएर म उनको नक्साल स्थित डेरामा पुगेँ । फोटा हेरेर हाँस्दै उनले भने, रहर पुग्यो हैन ?
एकछिन सामान्य गफगाफ गरेपछि बिदा माग्दै मैले भनेँ अब त म आइराख्छु है !
उनले भने हुन्छ हुन्छ, जतिबेला आए पनि ढोका खुला हुन्छ ।

केही दिनपछि बालुवाटार प्रम निवासमा एउटा कार्यक्रमको फोटो खिचेर साइकलमा अफिस फर्कदैँ थिँए, नक्सालनेर आइपुगेपछि बाटोमा उनको सम्झना आयो । एक पटक जाउँ न त । मनमनै यही सोच्दै उनको कोठा तर्फ लागेँ । बिहानको दस बज्नै लागेको थियो । उनका दुइ छोरीहरु स्कुल जाँदै गर्दा तल गेटमै आमासँग भेटिए ।

ए तपाई आउनुभो, घडी हेर्दै मदनले भने, म बाहिर निस्कन लागेको थिएँ, ठिकै छ एकछिन समय छ । आउनुस बसौं ।
उनले जनमन्च पत्रिका र त्यसमा प्रयोग हुने फोटोहरु राम्रो भएको टिप्पणी गर्दै थपे हामीलाई अलि बढी खेदो पनि गर्छन् ।
यस्तै कुराहरु हुँदै गर्दा मैले अनुमति लिँदै सोधेँ, तपाईलाई प्रश्न गरौं है ? उनले भने भैहाल्छ नि । अनि मैले सोधें, तपाई कसरी कम्युनिस्ट हुनुभयो ?
उत्तर दिनुको साटो, उल्टै उनले मलाई सोधे, तपाई कसरी फोटोग्राफर हुनुभो ?
मैले भने जागिर खोज्ने सिलसिलामा ।
त्यसपछि भने मदन आफू कम्युनिस्ट भएको कारण खोल्न थाले ।
पन्चायती निरंकुशतामा जनताले दुःख पाएको देखेर मलाई कम्युनिस्ट विचारधाराले तान्यो । एकछिनको मौनता पछि थपे, सायद अलिकति उमेरले पनि मलाई कम्युनिस्ट बन्न सघायो होला ।
मैले प्रतिप्रश्न गरें, कांग्रेस पनि जनताले दुःख नपाउन भन्छन् । तपाई पनि त्यतै लागे भैहाल्यो नि ।
उनले भने, तपाई म कहाँ जसरी छोटो बाटोबाट पुग्ने निर्णय गरेर यहाँ आउनु भयो त्यसरी नै मैले पनि जनताको सेवा गर्न छोटो बाटो कम्युनिस्ट विचारधारा नै हो भन्ने निर्णयमा पुगेँर, यसलाई नै रोजेको हूँ ।

 

 

अनि कांग्रसको बाटो त्यस्तो घुमाउरो छ र ? मैले सोधेँ ।
उनले संझाउने शैलीमा अलिकति घुमाउरो उत्तर दिए, तर जो जहाँ भएपनि, जुन बाटो हिँडे पनि पहिलो कुरा भनेको इमानदार चाँहि हुनैपर्छ ।
मैले भने, नेपालमा कम्युनिस्टहरुसँग अलि डराउँछन् नि ।
मदनले भने, हाम्रो जस्तो ठाउँमा कम्युनिस्टको व्याख्या जस्ताको तस्तै होइन, अलि फरक किसिमले गर्नुपर्छ र म त्यही प्रयासमा छु । यो कुरा तपाइले केही वर्ष मै थाहा पाउनुहुनेछ ।

यसपछिका दिनहरुमा म उनीसँग प्रभावित हुँदै गएको थिएँ । उनीसंग कुरा गर्दा मज्जा आउथ्यो र त म उनीतिर आकर्षित भैरहको थिएँ । कार्यक्रमहरुमा उनको फोटो चाँहि अरुको भन्दा दुई चारवटा बढी नै खिच्न थालिसकेको रहेछु ।

अकस्मात, २०५० जेठ ३ गते साँझ साँढे छ बजेतिर मदन भण्डारी र जीवराज आश्रित चढेको मोटर दूर्घटना भएको खवर आयो । घटनाको पुष्टि गर्न सबैजना लागिपरे तर मेरो मन भने खिन्न भैरहेको थियो । किनकि त्यतिबेला सम्म कुनै पनि राजनीतिज्ञले मलाई त्यति प्रभाव पारेका थिएनन्, जति भदन भण्डारीले ।
यस्तै कारणहरुले गर्दा होला अरु राजनीतिज्ञहरुको तुलनामा उनीसँग म आफु धेरै निकट भएको महसुस गर्द थिएँ । तर दूर्घटनाको खवर सुनेर म हतप्रभ नै बनिरहेको थिएँ ?
साँढे सात बजे तिर मदन भण्डारी चढेको गाडी दूर्घटनामा परेको पुष्टि नै भयो तर नेताहरुको स्थिति अज्ञात नै रहेको भन्ने खवर मैले काम गरिरहेको कान्तिपुर दैनिकमा आइनै रह्यो । बास्तवमा, यतिबेलासम्म पत्रकारिता के हो, मैले राम्रोसँग बुझेको पनि थिइन । तस्वीर खिच्थेँ, छापिन्थ्यो यसैमा म रमाउँथे ।

पत्रकारिता भन्दा पनि मदन भण्डारीको सामिप्यले मलाई घटनास्थल जानैपर्छ भन्ने लाग्यो । सम्पादक योगेश उपाध्यायलाई भने, तर उनले घुमाउरो शैलीमा नजान भनेपछि म भुटभटिएँ ।
दूर्घटनाको खबर थाहा पाएर प्रकाशक श्याम गोयन्का पनि कान्तिपुर कार्यालय थापाथली आइपुगे । मैले पनि संपादकलाई छाडेर प्रकाशकलाई दासढुंगा गएर फोटो खिचेर आउछु भनेर अनुरोध गरें । उनले खल्ती छामछुम गर्दै पाँचसय रुपैया निकालेर भने, अफिसमा अरु गाडी छैन चन्द्रशेखरजी, स्टाफ पुर्याउने भ्यान छ, त्यही लिएर जानुहोस् । उनले त्यती के भनेका थिए, रवी अधिकारी, रमेश केसी र कृष्ण उपाध्यायलाई लिएर म राती आठ बजे घटनास्थल चितवनको दासढुंगा तर्फ लागिहालें ।

राती एघार बजे तिर घटनास्थल पुगेर फोटो खिचे । त्यहीबाट नारायणगढ, चितवन पुगेर समाचार टिपायौं । भोलीपल्ट क्रेनको सहयोगमा त्रिशुली नदिबाट मोटर निकाल्दा नेता जीवराज आश्रितको शव मात्र भेटियो । भारी मन लिएर हामी काठमाण्डौं फर्कियौं ।
मदन भण्डारीको शव जेठ ५ गते मात्र भेटियो । जेठ ८ गतेको दाहसंस्कार पशुपति आर्यघाटमा हुँदा हजारौं जनताको उपस्थितिले उनी जनताका बीचमा कति लोकप्रिय भैसकेका थिए, त्यसैबाट स्पष्ट हुन्थ्यो ।
आज पनि राजनीतिक भीडमा कहिलेकाँही मेरा आँखाले मदन भण्डारी खोज्न थाल्छन् ? तत्कालै चिरिक्क हुँदै मेरो मनले आँखालाई संझाउन थाल्छ, उनी त पचास साल जेठ ३ गते नै कहिल्यै नफर्कने बाटो गए !

 

 

Comments