MENU
निर्लज्ज दलहरुका गैरजिम्मेवार प्रधानमन्त्री -श्रीकृष्ण अनिरुद्ध गौतम
 : 341 views
  Sep 12, 2017

 

* देउवाले पशुपतिशम्शेर जंगबहादुर राणालाई खुशी पार्न अहिले फेरि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । किनभने पशुपतिशम्शेर खुशी भएपछि समस्त शम्शेर खलक नै खुशी हुन्छ । 

* कुनै प्रधानमन्त्रीले सय जना नै मन्त्री बनाए पनि के त्यसलाई हामी रोक्न सक्छौं ? संसदीय प्रथा, त्यसमाथि झन् समानुपातिक हुलिएको यस विकृत प्रथाबाट हामी के अपेक्षा राख्न सक्छौं ? 

* विकृत प्रथामा असल, इमानदार मानिस आउनै सक्दैनन् । विकृत मानिस नै आउँछन् । 

 

कुरा, दुई तीन महिना पहिला, दरबार मार्गको एउटा होटलको हो । त्यहाँ एउटा भेटघाट सकिएर म बाहिर निस्कनै लागेको थिएँ । त्यहीं टुप्लुक्क एक परिचित आइपुगे । उनका आसपास यस्तै, दुई तीन पुलिस थिए । उनले नमस्ते गरे, मैले फर्काएँ । तिनी मतिर आए । तिनले मसँग के कसो छ सोधे । यस्तो प्रतीत हुन्थ्यो तिनी मसँग बोल्न उत्सुक थिए, म अडिएँ । तर मनमा जिज्ञासा आयो, तिनी पुलिसको घेरामा किन ? पुलिसको घेरामा कि त कुनै अपराधमा पक्राउ परेको मानिस हुन्छ कि भने मन्त्री । तिनको अनुहार हेर्दा पक्राउ परेको मानिस प्रतीत हुँदैनथ्यो । मैले गमें, पक्कै मन्त्री भएछन् यिनी ।

 

अनायास मेरो मुखबाट निस्कियो, तपाईं पनि मन्त्री हुनु भयो कि क्या हो ? तिनी अकमक्क परे । अलिकति असहज भयो तिनलाई पक्कै । किनभने धत्, तिनी त मन्त्री नै भइसकेका रहेछन् । ती परिचित व्यक्ति मन्त्री भएको मलाई थाहै थिएन ।

 

यता, दोस्रो संविधानसभा निर्वाचनपछि धेरैजसो देखेभेटेकै मानिस मन्त्री भएका होलान् भन्ठान्छु । प्रधानमन्त्री नै चार जना भइसके । तिनका मन्त्री कति भए, को को भए जानकारी राखिसाध्यै छैन । राखेको छैन र राख्नु जरुरी पनि छैन ।

 

सुशील कोइराला प्रधानमन्त्री हुँदा को को मन्त्री थिए, तपाईंलाई थाहा छ ? मलाई खासै थाहा छैन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका कमल थापाबाहेक उनका मन्त्रीहरुको नाम सम्भवतः उनी आफैंलाई थाहा छैन । प्रचण्डका एक दुई जना मन्त्रीको अनुहार सम्झिइएला, नाम आउँदैन । किनभने मन्त्रीपद मन्त्री हुनेलाई, उसको परिवारलाई महत्वपूर्ण होला, तर अरुका लागि हास्यको पात्र भइसकेको छ ।

 

अचेल त प्रधानमन्त्री नै किन बन्छन्, सरोकारको विषय हुन छाडेको छ भने बिचरा मन्त्रीप्रति कसको के सरोकार !

 

केही पहिले चौथो पटक प्रधानमन्त्री बन्न पुगेका शेरबहादुर देउवाले मन्त्री थप्दै मन्त्रिपरिषद्को संख्या ५४ पुर्याएका छन् । यसरी उनले मन्त्री बनाउनेमा कीर्तिमान खडा गरेका छन् । (पूर्ववर्ती प्रधानमन्त्रीहरु पनि कम थिएनन्, उनले सबैलाई उछिनेका मात्र हुन्) । मन्त्री बनाएर मान्छे खुसी पार्ने, आफ्नो प्रधानमन्त्रित्व सुरक्षित राख्ने देउवाकै शैली हो । यस मामिलामा उनी गुरु र प्रचण्ड प्रबल समर्थक तथा ओली र बाबुराम भट्टराई चेला हुन् । देउवा नेपालको इतिहासमा आजसम्मकै ठूलो मन्त्रिपरिषद्का अध्यक्ष हुन् ।

 

पछिल्लो पटक भने विशेष गरेर उनले पशुपतिशम्शेर जंगबहादुर राणालाई खुशी पार्न मन्त्रिपरिषद् विस्तार गरेका हुन् । भन्नेहरु भन्छन्, पशुपतिशम्शेर जंगबहादुर राणा, यो देशमा राणा शासन नै चलिरहेको भए श्री ३ महाराज हुन्थे । राणा खलकसँग देउवाको पारिवारिक सम्बन्ध छ, उनकी अर्धांगिनी राणापुत्री हुन् । यद्यपि उनको निजी र पारिवारिक सम्बन्धमा म यहाँ जान चाहन्न तर लोकमा भइरहेका टिकाटिप्पणीले त्यतै इंगित गरिरहेका छन् । शम्शेर राणाहरुसँग उनको अधिक हिमचिमको कारण पनि यही हो भन्ने गरिन्छ । नत्र, कहाँ डडेलधुराका सोझासिधा निम्न मध्यमवर्गीय पृष्ठभूमिबाट आएका देउवा, कहाँ १०४ वर्ष जहानियाँ शासन चलाउने राणा । यी दुईबीच मेल सम्भवै थिएन ।

 

यो मेल सम्भव भयो, म्याडम देउवा अर्थात् आरजु राणाका कारण । यसैकारण देउवाको सामान्य नेपालीबाट घरानियाँमा पदोन्नति भएको हो । घरानियाँहरुसँग सम्बन्ध गाँसिदा धेरै फाइदा छन्, तिनीहरु पर्खालबाहिर फोहोर फालेर आफू सफा आवासमा बस्छन् । तिनीहरु आम मानिसमाझ हुँदैनन् । अग्लो पर्खाल लगाउँछन्, त्यहीं पृथक टापू बनाएर बस्छन् । तिनीहरु बाहिर धुलोमैलो सफा गर्ने, गराउने कष्ट गर्दैनन् । बाहिर दुर्गन्ध भए आफ्नो पर्खाल अझ अग्लो बनाउँछन् ।

 

देउवा भाग्यले भनौं अथवा परिबन्दले त्यस्तै टापूमा पुगेका हुन् । त्यस्तो टापूमा पुगेपछि पशुपतिशम्शेरलाई खुशी पार्नैपर्छ । किनभने पशुपतिशम्शेर खुशी भएपछि समस्त शम्शेर खलक नै खुशी हुन्छ ।

 

नेपालमा शम्शेर प्रतीक हो कुलीनताको । फेरि, अचेल एक किसिमको प्रतिस्पर्धा नै छ, विगतका अकुलीनहरु कुलीन बन्ने । नेपाली सर्वहाराहरुका महान् नेता  प्रचण्ड त्यही प्रतिस्पर्धामा छन् । उनी पनि कुलीनतातर्फ नै आकर्षित छन् । मान्यवर ओली पनि यस प्रतिस्पर्धामा पछाडि छैनन् । उनकै मन्त्रिपरिषद् पनि संविधानले तोकेको २५ सदस्यीय मर्यादामा रहेको थिएन र छविमा छवि, सर्वाधिक कलुषित छवि भएका कमल थापा उनैका परराष्ट्र मन्त्री थिए ।

 

देउवाले अहिले तिनै थापाका चेला दीपक बोहरालाई मन्त्री बनाएका हुन् । प्रचण्ड त्यही सरकारमा साझेदार छन् ।

 

यहाँ प्रश्न केवल मन्त्रिपरिषद् यति ठूलो किन भन्ने मात्र होइन । यो आफैंमा कारण होइन, परिणाम हो । यो सवाल हो प्रणालीको जसले यस्तै मानिसलाई पुनः पुनः प्रधानमन्त्री, मन्त्री बन्न मार्ग प्रशस्त गर्छ ।
भन्नुहोस्, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई नबनाउने के हाम्रो हातमा छ ? के देउवा नचिनेको हो र नेपाली कांग्रेसले ? उनैलाई पार्टीको सभापति बनाएको छ, प्रधानमन्त्री उनैलाई । कुनै प्रधानमन्त्रीले सय जना नै मन्त्री बनाए पनि के त्यसलाई हामी रोक्न सक्छौं ? संसदीय प्रथा, त्यसमाथि झन् समानुपातिक हुलिएको यस विकृत प्रथाबाट हामी के अपेक्षा राख्न सक्छौं ? विकृत प्रथामा असल, इमानदार मानिस आउनै सक्दैनन् । विकृत मानिस नै आउँछन् ।

 

यो यस्तो प्रथा हो, यसमा न राजनीतिज्ञ जिम्मेवार हुनु आवश्यक छ,  नत जनताप्रति उत्तरदायी हुनु नै जरुरी ।

Comments