MENU
नेपाली क्रिकेटको ‘जय’
 : 27 views
  Sep 07, 2017

 

५० को दशकको सुरुवातसँगै अन्तर्राष्ट्रिय क्रिकेटले निकै फड्को मारिसकेको थियो । यो पाँच दिनेबाट ५० ओभरको फटाफट क्रिकेट हुदै २०–२० ओभरको झ्याम्म–झ्याम्म क्रिकेट तर्फ उन्मुख हुदै थियो । त्यतिवेला नेपाली क्रिकेट प्रेमीहरू पनि आफ्नो देशको क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटले समाएको त्यो गतिलाई भेटाओस भन्ने चाहन्थे ।   हो, त्यतिवेला क्रिकेटलाई यथास्थितिमा राखेको भन्दै शाहको आलोचना नभएको होइन ।

शाहको सबैभन्दा ठूलो योगदान भनेको नेपाली क्रिकेटलाई क्षणिक लाभको लोभमा पर्न नदिनु नै हो । 

 

 

 

 

वि स २०४० को दशकसम्म आइ पुग्दा नेपालमा केही खेलले अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्ने सम्भावना देखाएका थिए । तर खेल आफैमा निरन्तरता हो र यसको गतिमा कुनै किसिमको व्यवधान उत्पन्न भएमा खेलले दूरगामी नकारात्मक परिणाम वेहोर्नु पर्छ । खेलकुदमा अलिकति पनि रुची राख्ने सबैलाई थाहा हुनु पर्छ नेपालका केही खेलहरूले त्यही नियतिलाई वेहोर्नु परेको थियो । तर नेपाली क्रिकेटले आफूलाई नियतिको त्यो पञ्जाबाट जोगाउन सफल भयो । भलाद्मी खेलले आज नेपालमा आफूलाई अहिलेको स्थानमा ल्याउनमा धेरै योगदान नेपाली क्रिकेटका पूर्व प्रमुख जयकुमारनाथ शाहलाई जान्छ ।

 

नेपाल क्रिकेट संघ (क्यान)का तिनै पूर्व अध्यक्ष शाहको बुधबार निधन भएको खबरपछि मानसपटलमा धेरै विचारहरू आए । शासक वर्गको रुचिका कारण देशमा भित्रिएको खेललाई अहिलेको स्थितिमा ल्याउन शाहले गरेको मिहिनेतलाई अहिले केलाउन त्यति सजिलो छैन । तर अहिले नेपाली खेलकुदको अवस्थालाई हेरेर त्यतिवेलाको स्थितिका बारेमा अनुमान मात्र लगाउन सकिन्छ ।

 

हो, तत्कालीन शासक वर्गको सौखमा भित्रिएको क्रिकेट केही समयसम्म विभिन्न दरवारका फराकीला आँगनमा सिमित भए पनि पछि यो वामे सर्दै काठमाडौंको टुंडीखेल लगायत भारतीय सिमासँग जोडिएका नगरहरूमा पुग्यो । तर एउटा खेलले गति प्राप्त गर्न त्यतिमात्र पर्याप्त हुदैन । अझ त्यतिवेला यो खेलले सर्व साधारणको रुचीमा आफूलाई भिजाउन सकेको थिएन । त्यस्तो अवस्थामा क्रिकेटलार्ई औपचारिक जामा पहिराउदा त्यसको सारथीका रुपमा तिनै शाह छानीएका थिए ।

 

त्यतिवेलाको नेपाल त अहिलेको जस्तो थिएन भने नेपाली खेलकुद अनी त्यसमाथी केही सिमित व्यक्ति तथा स्थानको पहुचमा अलमलिएको क्रिकेटको स्थिति वारे सहजै अनुमान लगाउन सकिन्छ । यस्तो अवस्थामा देश भित्र यसलाई जोगाउनुकासाथै अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो अस्तित्व स्थापित गर्दै जानु कम कठिन काम थिएन ।

 

त्यस्तो स्थितिमा नेपाली क्रिकेटको अगुवायी गर्दा शाहको मनमा के थियो ? खेल जगत स्वयं स्थापित हुन नसकेको अवस्थामा क्रिकेट जस्तो अधिकान्स जनताका लागि विरानो खेललाई अगाडि बढाउनका लागि त्यतिवेला उनको मनमा के कस्ता योजना थिए ? अहिले सम्झदा आश्चार्य लाग्छ ।

 

कुनै पनि कुराको विकासका लागि लागि राजनीतिक नेतृत्व, साधन, श्रोत तथा सम्बन्धित विषय प्रति सामाजिक सोँचले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यस अर्थमा त्यति वेलाको नेपाली क्रिकेटको त के कुरा समग्र खेल जगत नै साधन, श्रोत, सरकारी सहयोगबाट लगभग वञ्चित त थियो नै खेल प्रतिको सामाजिक सोँच निकै नकारात्मक थियो । त्यस्तो अवस्थामा शाहको नेतृत्वमा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले खेलको गतिमा कमसेकम व्यवधान उत्पन्न हुन दिएन ।

 

त्यतिवेलाको नेपाली क्रिकेट जन्मे लगत्तै केही खान नपाएको वालक सरह नै थियो धेरैपछिसम्म । अहिले केही पाइने आशामा खेलकुद अथवा कुनै पनि संघ सस्थामा छिर्न तँछाड र मछाड गर्नेहरूलाई विश्वास नलाग्ला, शाह निकैपछिसम्म पनि विदेशमा भएका अन्तर्राष्ट्रिय स्तरका वैठकमा नेपालको प्रतिनिधित्व गर्न आफ्नो निजी खर्चमा जाने गर्थे ।

त्यसवाहेक विस २०३६ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटलाई समाहित गराउन उनी सफल भएका थिए । तर त्यस अघि नै नेपालमा क्लब क्रिकेटको संस्कार वसी सकेको थियो । र हरेक वर्ष आयोजना हुने जय ट्रफी राष्ट्रिय प्रतियोगिताले क्रिकेटलाई निश्चित गतिमा भए पनि देशभरी फैलन मदत पु¥याएको थियो ।

 

५० को दशकको सुरुवातसँगै अन्तर्राष्ट्रिय क्रिकेटले निकै फड्को मारिसकेको थियो । यो पाँच दिनेबाट ५० ओभरको फटाफट क्रिकेट हुदै २०–२० ओभरको झ्याम्म–झ्याम्म क्रिकेट तर्फ उन्मुख हुदै थियो । त्यतिवेला नेपाली क्रिकेट प्रेमीहरू पनि आफ्नो देशको क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटले समाएको त्यो गतिलाई भेटाओस भन्ने चाहन्थे । क्रिकेट प्रेमीको यो चाहना अघि नेपाली क्रिकेटको गति भने निकै सुस्त थियो पहिले जस्तै ।  हो, त्यतिवेला क्रिकेटलाई यथास्थितिमा राखेको भन्दै शाहको आलोचना नभएको होइन । तर नेपाली क्रिकेट न त यथास्थितिमा थियो न त द्रुत गतिमा नै यो त वास्तवमा कछुवाको चालमा थियो । तर त्यो खरायोको चुनौति स्विकार गरेको कथाको कछुवाको चाल थियो । त्यो कछुवाको चालमै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मानचित्रमा आफूलाई स्थापित गराएरै छाड्यो । त्यही समयमा नेपाललले पहिलो एसियाली क्रिकेट काउन्सिल (एसिसि) ट्रफीमा भाग लिदै अन्तर्राष्ट्रिय क्रिकेटको ढोका मात्र ढकढक्याएन वरु दोस्रो एसिसि ट्रफीको आयोजना समेत गर्न भ्यायो । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटको ध्यान नेपालमा मोडेर नेपाललाई तटस्थ क्रिकेट स्थलका रुपमा स्थापित गराउन टेम्पो लिजेन्ड कपका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना समेत ग¥यो ।

 

तर शाहको सबैभन्दा ठूलो योगदान भनेको नेपाली क्रिकेटलाई क्षणिक लाभको लोभमा पर्न नदिनु नै हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) र एसियाली क्रिकेट काउन्सिल (एसिसि)ले नेपाल लगायतका उदयीमान सदस्य राष्ट्रहरूलाई अन्तर्राष्टिय स्पर्धामा निश्चित संख्यामा विदेशी खेलाडीलाई सम्बन्धित देशबाट खेलाउन स्विकृति दिएका थिए । त्यसका आधारमा केही राष्ट्रले आफ्नो टिममा भारतीय, श्रीलंकाली तथा पाकिस्तानी खेलाडीलाई समावेश गरेका थिए । नेपालमा पनि यसको माग नउठेको होइन । तर शाहको नेतृत्वमा रहेको नेपाली क्रिकेटले क्षणिक सफलताको त्यो लोभको वदला दूरगामी फाइदालाई हे¥यो । नेपालको यो कदमको एक पूर्व अष्ट्रेलियाली खेलाडीले आफ्नो एक लेखमा प्रशंसा गर्दै लेखेका थिए–यो निर्णयका लागि म नेपाली क्रिकेटलाई सलाम गर्छु । हुन पनि नेपाली क्रिकेटले अहिलेसम्म प्राप्त गरेको उपलब्धि कुनै विदेशी खेलाडीको सहयोगमा नभइ आफ्नै क्षमतामा हो, आफ्नै वलमा हो ।

 

 

कुनै पनि व्यक्तिको उपलब्धिलाई पहिचान गर्न उसले प्राप्त गरेको उचाइलाई नाप्ने गरिन्छ । तर यस मामिलामा भने शाह अपवाद हुन पुगेका छन् । यदि शाहको उपलब्धि र योगदानको पहिचान गर्ने हो भने नेपाली क्रिकेटले छोएको उचाइलाई मात्र नापेर पुग्दैन, वरु शाहले दशकौँ लगाएर तयार पारेको नेपाली क्रिकेटको जगको गहिराइको पनि मापन गर्नु पर्छ अनी मात्र उनको योगदानको सही मुल्याङ्कन हुने छ ।

Comments