MENU
माखो नमार्ने भयौ ! -अश्विनकुमार पुडासैनी
 : 74 views
  Sep 09, 2017

 

किन लेख्छौ हो, लेखक स्तम्भकार भन्ने साथीहरु हो ? बन्द गर बुद्धिजीवी भन्नेहरुले आफ्ना स्तम्भ ! सबै विश्लेषक भन्नेहरु । पाना भर्न र स्तम्भ नियमित छ भन्न मात्रै लेख्ने हो कि क्या हो ? सजाय व्यतित गरिसकेपछि भ्रष्टाचारीलाई राजनीतिमा आउन दिनपर्छ भनेर ऐन संसोधन गर्न लाग्ने सांसद महोदयका विषयमा किन लेख्दैनौ ?

 

 

आफ्ना लेखहरु पढ्ने । पढेर कमेन्ट गर्ने । सुझाब दिने । कतिपय सन्दर्भमा विषय बस्तु नै पस्कने साथीहरु पाउनु लेखकका लागि दुर्लभ अबसर हो । यो सबै खाले लेखकले गर्ने अनुभूति हो । लेखकीय कला कौशलताको विकास पनि यसैबाट छिटो हुन्छ । आम पाठकहरुले पनि परिष्कृत लेख पढ्न पाउँछन् । छरिएका विषयहरु पनि समावेश हुन्छन् । लेखहरुमा नविनता पनि त्यसै गरि आउँछ । समसामयीक विषयहरुले पनि निकाश पाउँछन् । धेरै आयाम प्रस्तुत गर्न सकिन्छ । बुझ्न सकिन्छ । बुझाउन सकिन्छ । ती कुरा पढ्नेले पनि केहि ज्ञान र आईडिया पाउँन सक्छन् । सहि निर्णय गर्न सक्छन् । नीति बनाउन र आत्मा विश्वास बढाउन सक्छन् ।

 

यस्ता सुखद संयोगहरु कमै लेखक र स्तम्भकारहरुलाई मिल्ने गर्दछ । अध्ययन अनुसन्धान गर्नेहरु पनि त्यसै भन्छन् । पुस्तक प्रकाशित भएपछि समिक्षा हुन्छ । लेख वा स्तम्भ छापिएपछि टिक्का टिप्पणी हुन्छ । आलोचना हुन्छ । प्रसंशा पनि हुन्छ । प्रतिक्रिया आउँछ । आवेश प्रवेग प्रस्तुत हुन्छन् । सहमति असहमतिहरु पनि त्यत्तिक्कै आउँछन ।

 

स्थायी स्तम्भ बत्तीमुनि उज्यालोको गत शनिवारको आलेखका बारेमा टिप्पणी गर्दै एक मित्रले भने “आउँ कफि खाँदै गफ गरौं”। सिर्जनशिल, युवा पर्यटन व्यवसायी मित्रले बेफूर्सदी हुँदा हुँदै पनि कफि खाँदै आफ्नो आलेखका बारेमा कुरा गर्ने निम्तो पाएकोले निर्धारित समय भन्दा पहिल्यै उनलाई भेट्न पुगेँ ।

 

दूई वटा कफि, पानी र क्रशनको अर्डर दिँदै उनले कुरा शुरु गरे । के लेख्छौ साथी यस्ता साना मसिना कुरा । अर्ती बुद्धि कत्ति दिन्छौ । त्यो त विश्वविद्यालयका बिद्यार्थीहरुलाई बाँडेकै छौ । विभिन्न तालिमहरुमा प्रशिक्षार्थीहरुलाई बुझाएकै छौ । त्यति मात्रै हो र सार्वजानिक मञ्च र फोरमहरुमा पनि यस्तै यस्तै खाले कुरा पस्केकै छौ । लेखन समाजमा भईरहेका कुरा । राष्ट्रमा भएका कुरा । निर्वाचनका कुरा । निर्वाचनमा टिकट हडप्न चाहने हरुका कुरा । राजनीतिक पार्टिहरु विस्तारै माफियाहरुको चञ्गुलमा पर्दै गरेका कुरा । राजनीतिका धु्रविकरणको आबश्यकताका कुरा । कुटनीति र अन्तराष्ट्रिय सम्बन्धका कुरा । नेपाल–भारतसम्बन्ध, नेपाल–चीन सम्बन्धका कुरा । बढो गम्भिर हुँदै उनले भने —खै स्थानिय तहमा निर्वाचितहरुले गर्ने कामका कुरा लेखेको ।

 

उनी अगाडि थप्दै गए —काठमाण्डौ महानगरपालिकाको स्थायी बासिन्दाले के खोजेका छन् त्यसका बारेमा खै कुरा आएका । तिमी पनि त यस शहरका बासिन्दा हौ । सरोकारवाला नागरिकको रुपमा पनि तिम्रो कलम चल्नु प¥यो नी मित्र । सय दिनमा एक सय एक काम गर्छु भन्ने महानगरका मेयरका क्रियाकलाप देख्दैनौ ।

 

दूई नम्बर क्षेत्रमा चुनावी भिडण्तमा को कता छन् । जनतालाई । शिक्षितलाई । अशिक्षितलाई । धनीलाई । गरिवलाई । मध्यमबर्गलाई । शिक्षकलाई । विद्यार्थीलाई । व्यापारीलाई । कर्मचारीलाई । किसानलाई । मजदुरलाई । ज्येष्ठ नागरिकहरुलाई । महिलालाई । दलितलाई । पछाडि पारिएकाहरुलाई । अपहेलितहरुलाई । छुवाछुत र जातियतामा प्रताडित भईरहेकाहरुलाई । खै लेखेको तिमीले ।

 

एक्काइसौं शताब्दीमा पनि बोक्सो र बोक्सीको आरोप खेप्न विवश निसहायहरुलाई । इनारको पानी छोयो भनेर दण्डीत भएकाहरुलाई । स्कुल जान नपाएकाहरुलाई ।

 

विद्यालयमा शौचालय नहुँदा स्कुलजान बञ्चित भएका नानीहरुलाई । दाईजो दिन नसक्दा छोरीको घर उजाड भएको देखेर प्रताडित हुनेहरुलाई । छोरी मात्रै पाएको भन्दै पति, परिवार र आफन्तैबाट अपहेलित हुनेहरुलाई । घरै अगाडि अरुले फोहोरफाल्दा पनि बोल्न नसक्नेहरुलाई । तिमीहरुका कलमले किन लेख्दैनन् । गाउँ गाउँमा प्राकृतिक श्रोत र साधनहरुको दोहन गरेको टुलुटुलु हेर्नेहरुलाई । दलालहरुको मतियार बन्नेहरुको लागि । किन लेख्दैनन् स्तम्भकारका कलमहरुले । लेखक विश्लेषकहरुले देख्दैनन् कि देखेर पनि लेख्दैनन् ।

 

कर छलिमा भएका भ्रष्टाचारहरु । न्यायालयमा भइरहेका सेटिङ्गहरु । न्यायालय नै भ्रष्टिकरण भएका कुरा । सुरक्षा निकायहरुका निकक्मापनका कुरा । साँसदछन् । दलका युवा नेता छन् । भविष्य भएका गगन, रविन्द्र रेखाहरु पनि मौन छन् । एनसेलको लाभकरमा पनि सबैले कुम्ल्याए कि क्या हो ? कोहि बोल्दैन । मेडिकल कलेजका माफियाहरु मौलाई रहेका छन् । दलका नेताहरुपनि तिनकै पक्षमा देख्दा पनि लेख्दैनौ ।

 

त्यसो भए किन लेख्छौ हो । लेखक स्तम्भकार भन्ने साथीहरु हो ? बन्द गर बुद्धिजिवि भन्नेहरुले आफ्ना स्तम्भहरु । सबै विश्लेषक भन्नेहरु । पाना भर्न र स्तम्भ नियमित छ भन्न मात्रै लेख्ने कि ? क्या हो । भ्रष्टाचारिलाई सजाएँ व्यतित गरि सकेपछि राजनीतिमा आउन दिनपर्छ भनेर ऐन संसोधन गर्नलाग्ने साँसद महोदयहरुका विषयमा किन लेख्दैनौ ?

 

तिमिहरु कसको लागि लेख्छौ हँ । आयल निगमको जग्गा खरिद प्रकरणमा कोहि बाँकि छैनन् कि क्या हो? सबैले भाग शान्ति जय नेपाल गरिदिए त? संसदमा अझै पनि प्रतिपक्ष नै छैन जस्तो छ । जनताका कुरा कसले लेख्ने । जनताका पक्षमा कसले कलम चलाउने हो । हेर सबै निरिह बनेर । लाचार बनेर । मलाई त यो देशै छोडेर कतै गएर खेतिपाति गरेर बसौं झै भैरेछ ।

 

नयाँबजार बहती पोखरी जाने बाटो तीन बर्ष देखि पिच भएको छैन । कारण के हो थाहा छ तिमीलाई । नगरपालिकाले ठेकेदारलाई दिएको छ । केहिघरहरुले बाटो मिचेकाछन् । नगरपालिका त्यसमा मिलेमतोमा छ । ठमेलमै पनि लाखौं भाडा उठाउँछन् । खै कर प्रणाली । झोलामै स्कुल बनाएर शिक्षा कार्यालयबाट रकम कुम्ल्याउनेहरुका कुरा खै लेखेको ।

 

नेपालमा दुई हजार परिवार होलान् जसको आम्दानीको लेखा जोखा कहिँ राज्यलाई थाहा हुँदैन । सबै माफिया गिरिमा गै सक्यो । हामी अफ्रिकी मोडेलमा मासिँदै जाँदै छौ ।

 

दुईचार जना पनि बाँकि नरहलान् जस्तो छ । डा. गोविन्द के.सी.हरु अनसन बस्छन् मेडिकल माफियाले नै फाईदा लिन्छ । भगवान कोईराला र माथेमाहरु प्रतिवेदन बुझाउँछन् । सिण्डिकेट चलाउँनेले फाईदा लिन्छ । कर्मचारीलाई थाहा नभएको होइन नी । तर गर्दैनन् । सुरक्षा निकायलाई पत्तो नहुने कुरै छैन । तिनीहरु पनि कमाउ धन्दा मात्रै बुभm्छन् ।

 

जागिरेहरुको पनि त एउटा धर्म हुन्छ हो । त्यो भनेको आफ्नै संस्थालाई र पेशागत मर्यादामा आँच नआउनेहद सम्म मौन रहने हो । यस देशको सचेत नागरिकको रुपमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता । आफ्नो देश प्रतिको दायीत्व । नागरिकले तिरेको करको पैसाले तलब भत्ता सुविधा लिएका राष्ट्रसेवक भन्नेहरुको पनि दायीत्व हुन्छ नि । आफ्नै जागिरको उमेरहद सेवा अवधि बढाउने जस्ता काममा मात्रै लाग्ने भए पछि । कसरी हुन्छ । आफ्नो काम त सबैले गर्नुपर्छ नि ।

 

प्रत्येक नागरिकको दैनन्दीनिसँग सम्बन्धीत कुराहरुमा खै लेखेको । राजा महाराजाहरु गैसके यहाँ त नयाँ महाराजाहरुको अबतारको रुपमा प्रस्तुत हुने नेताहरुको विधि व्यावहारहरुको बारेमा खै लेखेको ।

 

नेताहरुको पुत्र मोह । सन्तान दरसन्तान सम्म आफ्नै लागि हो राज्य सत्ता दोहन गर्ने ? यो अबसर हाम्रो लागि हो । भाषण गर्ने अर्को कुरा हो भन्दै देश दौडाहामा हिड्नेहरुको हविगतका बारेमा खै जागरुक बनाएको ।

 

काम पर्दा मात्रै खोज्ने । सबै लाई उपयोग गर्ने मात्रै हुन् नेपालका नेताहरु भन्ने तिमीलाई त पक्कै थाहा हुनु पर्ने हो । कि गुटको । कि लुटको पात्रहरुको लागि मात्रै काम गर्नेहरुको बारेमा पनि तिमीलाई भन्नुपर्छ र । नत्र मुलुकको अबस्था बारेमा कुन नेतालाई थाहा छैन । भ्रष्टाचारीको हो । समाजका कर्मचारी, वकिल, पत्रकार, प्राध्यापक, व्यापारी, सेना, प्रशासन, पुलिस, सबैलाई थाहा छ । किन सबै मौन छन् । लेख न मित्र लेख । तब न अर्को पुस्ताले त बुभm्छ । यो देशमा दलाल बिचौलीया माफीयाको चँगुलमा सबै परिरहेका छन् । सबै उनीहरुले हो चलाउने । कसलाई कहाँ प्रयोग गर्ने सबै उनीहरुले नै हो । यी तिमीले देखेकाहरु त कठपुतली मात्रै हुन् । यी सबै प्रयोग मात्रै हुने हुन् मित्र । यी बाट आस गर्नै पर्दैन क्या । बुभm्दैनौ र ।

 

म एकोहोरो सुनीमात्र रहेँ । उनी अझै थप्दै गए । अरु लेखक स्तम्भकारहरुसँग पनि भेला हुन सक्दैनौ । छलफल कुराकानी गर्न सक्दैनौ । अरुले स्पोन्सर गरेकाको कार्यक्रमका मात्रै उपस्थीत हुने त होइन होला नी । त्यसो त तिमी रक्सी पनि खाँदैनौ । की रक्सी नभई यी कुरा नबुझ्ने भयौ ।

 

एक दलको । एक गुटको । एक नेताको । एक क्षेत्रको । एक भुगोलको । एक जातको । एक धर्मको । एक समुदायको । एक सम्प्रदायको । एक भाषाको । एक टुकडिको । एक विषयको । एक विधाको । एक विटको मात्रै लेख्ने हुँ भन्छौ भने । तिमी नै भन त मित्र कसले लेख्छन् जनताका कुरा । तिमिहरु किन आगो ओकल्न सक्दैनौ हँ । यो त आगो ओकल्ने समय हो । तिमीहरुले लेखेनौ भने हाम्रो पुस्तौं पुस्ता सम्म विदेश पलाएन हुने महाँरोग फैलँदैछ । त्यता पनि त लेख्नु पर्छ ।

 

खुब रुल अफ ल का कुरा गछौं नि ख्यै कानुन । कानुन बनाउनेहरु नै आजिवन भत्ता असुल्ने धुनमा लागेका कुरा लेखन मित्र । संविधानले पच्चिस सदस्यीय मन्त्रीमण्डल बनाउने भनेकोछ । अन्तिम भोज खाएँझै पचास नाघीसक्यो खै लेखेको । कहाँ देख्छौ मित्र उज्यालो । खै कहाँ छ बत्ती बलेको मित्र । यी आदर्श कुराले देश बन्दैन मित्र । सबै तीर जागरुक बनाउँन लेख्नै पर्छ ।

 

मित्रका कुरा न सकिए पछि जबरजस्त उनलाई रोकेर बोलेँ । हो तिम्रा कुरा सहि होलान् मित्र तर बत्तिमुनी उज्यालो स्तम्भमा त सफलताका कथाहरु । उज्याला कुराहरु देख्ने र लेख्ने हो नी । ती अध्यारो भित्र रहेका उज्याला धर्साहरु खोज्ने हो । सकारात्मकता जगाउने हो । प्रेरणाका श्रोतहरु बटुल्ने हो । मेरो व्याख्या नसकिँदै मित्र जङ्गिए “तिमी पनि अरु जोगि जस्तै नारायणहरि हुने भयौं । माख्खो नमार्ने भयौ !”

Comments