MENU
मेरो जीवनमा मदन भण्डारी । –केपी ओली, एमाले अध्यक्ष
 : 69 views
  May 17, 2017

 


–केपी ओली, एमाले अध्यक्ष

मैले मदन भण्डारीलाई ०४४ साल साउन महिनामा पहिलो पल्ट भेटेको हूँ । त्यही वर्ष असार महिनामा म जेलबाट रिहा भएपछि मात्र उहाँलाई भेट्न संभव भएको हो ।
मदन म भन्दा कान्छो हुनुहुन्थ्यो । मेरो उहाँसंगको संगत जम्मा ६ वर्षको मात्र रह्यो तर त्यसले मेरो जीवनलाई अहिले पनि प्रभाव पारिरहेको छ ।

झापा बिद्रोहको क्रममा म ०३० सालमा थुनिए । चौध वर्षपछि छुटेको हुँ । म माक्र्सवादी दर्शनमा विश्वास गर्ने मानिस भएकोले अन्धविश्वासलाई कहिल्यै विश्वास गरिन किनभने माक्र्सवाद यथार्थमा आधारित दर्शन हो । यसले मानव विकासक्रमलाई ऐतिहासिकतामा र इतिहासलाई वैज्ञानिकताको कसीमा हेर्छ । दर्शनशास्त्रलाई विद्वानहरु अबोधगम्य बनाउन खोज्छन् । तर यो उनीहरुले भनेजस्तो अबोधगम्य होइन, सरल छ भन्ने मलाई लाग्छ ।

 

 

जेलमा बसिरहँदा माक्र्सवादी दर्शनशास्त्रको अध्ययन मात्र होइन, त्यसको आधारमा देशभित्र र बाहिर भएका घटनाहरुलाई हेर्ने, अध्ययन गर्ने र त्यसपछि विश्लेषण गर्ने गर्थें । ०३६सालको आन्दोलनपछि पत्रपत्रिकाहरु धेरै प्रकाशित हुन थाले, विद्यार्थीहरु लगायत राजीतिज्ञहरु पनि जेलमा आउने जाने क्रम बढ्यो ।
०३५ सालमा नेकपा माले गठन भैसकेको थियो । पार्टीका साथीहरुसंग जेलमा भेट्न र पार्टी प्रकाशन पनि पढ्न पाइनथाल्यो । पार्टीका दस्तावेजहरुमा मेरो सोचसंग मिल्दाजुल्दा बिचारहरु आउन थाले । कतिपय आमसंचारका माध्यममा प्रकाशित पनि हुन थाले । ती पढेर म छक्क पर्थें । किनभने सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाललाई म चिन्दथें । त्यसैले ती उहाँहरुबाट आएको विचार भन्ने लाग्दैनथ्यो । तर पार्टीमा त्यस्तै बिचार आइरहेको थियो, अनि मलाई लाग्दथ्यो कस्ले ल्याएको होला यी परिस्कृत बिचार ? यस्को खास बाहक को होला ?

 

जेलबाट छुटेपछि जब मैले मदन भण्डारीलाई भेटें, उहाँलाई तथाकथित सिद्धान्तको पिजडामा हैन, त्यसभन्दा बाहिर खुला र उन्मुक्त पाएँ । म उहाँबाट आकर्षित भैहालें ।
मदन भण्डारी कहिल्यै असफल, असान्दर्भिक कुरा बोक्न अभिसप्त रहेको पाइन । आफ्नो परिस्थिति र देशको अवस्थामा मौलिक ढंगले सोच्ने र त्यसै अनुसार चल्ने ब्यक्तिका रुपमा पाएँ । मैले आफ्नो बैचारिक लिक नै भेटें ।
मेरो बिचारमा अरु चिजजस्तो बिचार एउटा सही र अर्को गलत भएर आउदैन । यो रेजा लगाएर भरिने अब्जेक्टिभ प्रश्नपत्र जस्तो टिक लगाउदै जाँदा अनुमानका आधारमा दुइचारवटा त कसो नमिल्लान् भने जस्तो होइन ।

राजनीति, विद्यार्थीले जाँच दिंदा टिक मार्क लगाएपछि दुइचार वटा उत्तर मिले जसरी हुँदैन र चल्दैन पनि । यो बिचार र विश्लेषणमा आधारित हुन्छ । यसमा अन्यौल हुँदैन ।
राजनीतिमा के चाँहि हुन्छ भने कसैले ब्यक्त गरेको बिचारलाई संपुष्ट गर्न सबैले योगदान दिन सक्छन् । एउटाले निकालेको बिचार विभिन्नको समर्थन र बिरोधले झन् संपूष्ट हुन्छ ।
मदन भण्डारी र उहाँका बिचारहरुले मलाई एकदमै आकर्षित गरे । उहाँसंगको कुराकानीबाट मलाई ज्यादै सकारात्मक प्रभाव प¥यो । झन् निष्ठा, दृढता र निर्भिकतासाथ काम गर्न म उत्साहित बनें । यसले उहाँ र मेरोबीच झन् घनिष्टता बढ्यो ।
हामी दुईबीचको मित्रता त कतिसम्म घनिष्ट हुनपुग्यो भने, कुनै कुरा लिखित वा अरु कसैबाट सुनें भने पनि म मदन भण्डारीको बिचार यो हो कि होइन थाहा पाउन सक्दथें । मेरा बिचार र भनाइहरु पनि उहाँ थाहा पाउनुहुन्थ्यो !

 

कतिवटा अन्तर्वार्ता कोसंग लिइएको, कुन लेख कस्ले लेखेको हो भनेर सोध्दा हामी झुक्किन्थ्यौं । दुबैलाई ती आफ्नै, आफैंले बोले लेखे जस्तो लाग्ने गर्दथ्यो । मैले अथवा उहाँले लेखेको होइन तर विश्लेषण मिल्ने भएकोले नै हामीलाई आफ्नो भन्ने लागेको हुनुपर्छ ।
हामी दुईमा, म अली कम र मदन भण्डारी अली बढी नै लेख्ने ब्यक्ति हो ।
मदन निस्फिक्री भावको ब्यक्ति हुुनुहुन्थ्यो । केही कुरामा चित्त बुझेन भने पनि जे सुकै होस् भन्ने । उहाँलाई पार्टी महासचिवबाट कसैले हटाउनु पर्छ भने पनि पटक्कै चिन्ता मान्नु हुन्नथ्यो । देश र पार्टीको भविष्य छुट्याउन नसकिने गरी जोडिएकोले उहाँलाई आफू महासचिव नभइ हुँदैन भन्ने थिएन । मात्र इमान्दारी पूर्वक काम गर्ने तर पदप्रति सधैं बेफिक्री हुनुहुन्थ्यो ।
तपाईको सुरक्षाको सवाल छ भन्दा पनि उहाँ त्यसप्रति कहिल्यै गंभीर बन्नु भएन । सधैं निस्फिक्री ! उहाँ आफ्नो बिचार र भनाइप्रति सधै ढुक्क रहनुहुन्थ्यो किनभने ती वैज्ञानिक र तथ्यपरक हुन्थे । आज पनि उत्तिकै सान्दर्भिक छन् ।

मदन भण्डारीको अगुवाइमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद (जबज) ले नेकपा एमालेलाई गाइड गरेको छ भन्दा थोरै हुन्छ । वास्तवमा जनताको बहुदलीय जनवादले नेपाललाई नै दिशानिर्देश गरेको छ । उहाँको बिचार नेपालजस्तो विविधतायुक्त देशमा सामाजिक न्याय, समानता र राष्ट्रिय एकताको पक्षमा सुदृढ छन् ।
यस्तो ब्यवस्थित बिचार–सृंखला अरु कुनै पार्टीसंग छैन । मदनले गहन अध्ययनबाट ००७ सालको क्रान्ति, ०४६ सालको सफलता पनि किन असफलतामा परिणत भयो भनेर नेपालको सन्दर्भमा नेतृत्व विज्ञान र संगठनात्मक नीतिहरुको समूचित प्रयोग गर्नुभएको छ ।
जनताको बहुदलीय जनवादमा देश, पार्टी, आन्दोलन, छिमेक र वैदेशिक संबन्ध संचालन गर्ने बिचार मात्र होइन देश र समाज विकासको कार्यक्रम छ जो अरु कसैसंग पनि रहेको देखिदैन । त्यसैले देशलाई एक्काइसौं शताब्दिमा हाँक्ने बारेमा एमालेमा कुनै अलमल छैन ।

 

 

नेपालमा कम्युनिष्ट राजनीतिको विजारोपण पुष्पलाल श्रेष्ठले गर्नुभयो । विसृंखलित कम्युनिष्टहरुलाई झापा विद्रोहले नयाँ ढंगबाट आन्दोलित गरायो । बैचारिक रुपमा मदन भण्डारीले नेपाली कम्युनिष्टहरुलाई आधार दिनु भयो । आमचुनाव भन्दा चार महिना अघि मनमोहन र साहना प्रधानको पार्टीसंग एकता गरी नेकपा एमाले बनाउदै मनमोहन अधिकारीलाई पार्टीको नेतामा स्थापित गर्नुभयो । पहिलो संसदीय चुनावमा एमालेलाई सशक्त प्रमुख प्रतिपक्षी दल बनाउनु भयो । अधिकारीलाई संसदीय दलको नेता बनाउनु भयो । आफूलाई सदा झै लो प्रोफाइलमा राखेर मनमोहनको महासचिव बन्नुभयो ।
उहाँ भन्नुहुन्थ्यो, हाम्रो पार्टी यति मजबुत जगमा अडेको छ यसलाई कसैले पछाडि पार्न सक्दैन । जनताको बहुदलीय जनवाद नै एमालेको जग हो, जसको आधार नै उर्वर, उत्पादक, कल्पनाशील र सिर्जनात्मक छ ।
त्यसैले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक हुँदा पनि एमाले जनतावीच लोकप्रिय नै रह्यो । खासमा एमाले राष्ट्र निर्माणको नायक हो ।

 

मदन आश्रितको २४ औं स्मृति दिवसका अवसरमा बुधवार बल्खुमा आयोजित कार्यक्रम ।

तस्वीर: मैत्य घर्ती मगर

 

त्यसैले मदन भण्डारीको सोचबाट बनेको एमाले अरु पार्टीले जस्तो पचास वर्षमा अलीकति भए पनि देश विकास गर्छौं भन्ने जस्तो होइन । यस्तो बेलामा पनि एमालेले भन्छ, हामी मुलुककै तीब्र परिवर्तन गर्नेछौं । नेपाली समाज परिवर्तनलाई एमालेले जहिलेसुकै सकारात्मक गति दिइरहन्छ ।
यो आँट एमालेले किन गरिरहेको छ भने यो पार्टी मदन भण्डारीको जनताको बहुदलीय जनवादको जगमा रहेको छ । पार्टी मजबुत छ किनभने संगठन जबजको बलीयो धागोमा उनिएको बिचारमा आधारित छ । राष्ट्रिय र जनहीतको समर्पणमा समर्थित छ । एमालेको संगठन र सिद्धान्त भनेकै जबज हो जो अरुको नक्कलमा होइन, आफ्नो मौलिक बिचारमा अडिएको छ ।
एमाले कुनै पनि कारणले अनुचित बिचार बोक्न बिवस नभएको, मौलिक ढंगले चल्न प्रतिबद्ध, निष्ठाको राजनीति गर्ने संगठित, स्वतन्त्र र मौलिक बिचार भएको राजनीतिक पार्टी हो ।
मदनले नेकपा एमालेको नेतृत्व म भन्दा धेरै छोटो समय गर्नुभयो । तर उहाँले बिचार र संगठनको विशाल आधार भएको संगठन एकदमै छोटो समयमा बनाइदिनु भयोे । म अहिले ६६ वर्षको भएँ तर मदन ४१ वर्षको उमेरमा बित्नुभयो । दाशढुंगा ‘दूर्घटना’ योजनाबद्ध रुपमा गरिएको हत्याकाण्ड हो ।

 

मदन आश्रितको २४ औं स्मृति दिवसका अवसरमा बुधवार बल्खुमा आयोजित कार्यक्रम ।

तस्वीर: मैत्य घर्ती मगर

पार्टीमा मात्र साँढे तीन वर्ष मदन महासचिव बन्नुभयो । तर नेपाली राजनीतिलाई मदनले जुन गतिदिनु भयो, त्यसलाई केलाउने हो भने सबैले जिब्रो काड्ने छन् किनभने तीनवर्षको बीचमा उहाँले यो विशाल पार्टीको आधारहरुमात्र बसाउनु भएन, निर्वाचनमा जनताको भोटबाट चुनाव जितेर देखाइ पनि दिनु भयो ।
मदन भण्डारी ०४६ सालको जनआन्दोलनको बैचारिक संगठक मात्र होइन, त्यो संयुक्त आन्दोलनको सूत्रधार पनि हो । नेकपा माले (तत्कालिन) को चौथो महाधिवेशन, ०४६ भदौमा पार्टीको महासचिव बन्नुभयो मदन । पार्टी महासचिव भएको ६ महिना नबित्दै मदनले देशमा काँग्रेसलाई कम्युनिष्टसंग एकता गर्न मंजुर बनाउदै बामपन्थीहरुबीच पनि बामतालमेल गराएर बाममोर्चा गठन गर्न पनि उत्तिकै सशक्त भूमिका निर्वाह गर्नुभयो । फलस्वरुप मदन महासचिव भएको छ महिनामा निरंकुश राजतन्त्र ढल्यो र पंचायती ब्यवस्था समाप्त भयो । देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो ।

मदनमा नेतृत्व गर्न सक्ने अद्भुत क्षमता थियो । ०४६ सालको सफलतापछाडिको मूल कारण उनै थिए । ०४७को संविधान ल्याउदा मदनले आलोचनात्मक समर्थन गरेर पार्टीका कट्टर कम्युनिष्ट क्रान्तिकारिलाई चित्त बुझाउदै कानूनी राज, पारदर्शीता र भ्रष्ट आचरण नभएको शासनको यात्रातर्फ डो¥याउनु भएको थियो । राष्ट्रप्रति इमान्दार, जनपक्षीय पार्टी मुलुकलाई चाहिएको छ र त्यो जिम्मेवारी एमालेले पूरा गर्न सक्छ भनेर एमालेलाई विकासतर्फ अग्रसर पार्टी बनाउनु पर्नेमा मदन जोड दिइरहनुहुन्थ्यो ।
मदन भण्डारीको स्मृति दिवसमा हामी एमालेका संगठक, सिद्धान्तकार र राजनीतिक नेताप्रति श्रद्धाले शिर झुकाउदै उहाँकै सिद्धान्त र कार्यक्रम अनुसार हाम्रो जमानाको अझ सशक्त एमाले बनाउने प्रण गर्दै एमालेमाथि लगाइएको भ्रम, आरोप र अन्योलको बादल हटाउने दृढता ब्यक्त गर्छौं ।

मदन आश्रितको २४ औं स्मृति दिवसका अवसरमा बुधवार बल्खुमा आयोजित कार्यक्रम ।

तस्वीर: मैत्य घर्ती मगर

(कृष्णमुरारी भण्डारीसंगको कुराकानीमा आधारित)

Comments