MENU
शिवरात्री, हिमानन्द गिरी र ओली –कृष्णमुरारी भण्डारी
 : 728 views
  Feb 12, 2018

आ–आफ्नो क्षेत्रमा अब्बल दुबै पात्र चरमोत्कर्षको यस्तो चरणमा रहेका छन् कि दुबैलाई स्थापित हुन नदिन राष्ट्रिय मात्र होइन, बिदेशी शक्ति पनि हात धोएर लागेका छन् । तर यिनलाई स्थापित गराउने शक्ति पनि कमजोर छैन । आमनेपालीको तन, मन र ध्यान यिनैको समर्थनमा दत्तचित्त छ ।

 

 

नेपालको इतिहासमा एकै पटकमा दुई जवर्जस्त पात्रहरु अवतरण गर्दैछन्, राजनेता र दुर्गाको अवतारमा ! के फन्टुस कुरा गरेको भन्ने लागिसक्यो होला तपाईलाई, होइन ? शंका नाजायज होइन तर अचम्म लाग्दो के भने, नेपालमा हजारौं नेताहरु बदनाम भैरहेको समयमा राजनेता र नवदुर्गाको अवतरणले शिवरात्रीको पूर्वसन्ध्यामा साँच्चिकै मुलुकलाई नयाँमार्ग निर्देश गर्न सक्ला ?

 

यी दुई पात्रलाई देखेर छक्क नपर्ने कोही छैन । छिमेकी मुलुक मात्र होइन, नेपालसंग सरोकार भएका सबै देश र ब्यक्ति यिनको आगमनलाई नियाली रहेका छन् । आमजनमा यिनलाई भनेजस्तै गर्न देलान् भन्ने भय पनि उत्पन्न हुन थालेको छ । नेपाल यतिखेर सिनेमाको क्लाइमेक्स जस्तै अवस्थामा छ !

 

राजनीतिक पात्र भन्ने बित्तिकै पाठकलाई कुन दलको होला भन्ने लागेको होला तर भनिहालौं, दुईमध्ये एकजना राजनीतिज्ञ हुन् भने अर्को आध्यात्मिक क्षेत्रको ब्यक्तित्व हो । आ–आफ्नो क्षेत्रका दुबै नेता यतिबेला यस्तो चरमोत्कर्षको चरणमा रहेका छन् कि दुबैलाई स्थापित हुन नदिन र नारायणहरि बनाउन राष्ट्रिय मात्र होइन, बिदेशी शक्ति पनि हात धोएर लागेका छन् ।

 

यिनलाई स्थापित गराउने शक्ति पनि कमजोर छैन । आमनेपाली जनता तन, मन र ध्यानले यिनैको पक्षमा यसरी लागेका छन्, भत्काउन चाहनेहरुको पिताम् चल्ने देखिदैन । नेपालका यी दुबै पात्र अब केही दिनमै स्थापित हुने दह्रो अपेक्षा गर्न सकिन्छ किनभने यिनको पछाडि जनमत छ ।

 

तपाईलाई खुलदुली भएको होला, को होलान् त दुई पात्र ? ती हुन्–नेपालको प्रधानमन्त्री बन्नै लागेका राजनेता केपी ओली र विश्वकै इतिहासमा पहिलो महिला शंकराचार्य बन्न लागेकी नेपाली चेली आध्यात्मिक जगतकी सर्वमान्य हिमानन्द गिरी ! संयोग, अचम्मको छ ! दुबै झापा जिल्लाका हुन् ।

 

नेपालमा हरेक दिन सूर्यको पहिलो किरण पर्ने पूर्वको समथर जिल्ला हो झापा ! नेपालको राजनीतिक र आध्यात्मिक जगतका यी दुई पात्रको उदय नै नयाँ नेपालको जन्म हुनलागेको संकेत हो ? हो भने, यो नेपालको इतिहासकै निर्णायक मोड सावित हुनेछ र होइन भने पनि दुबै पात्रको सत्तारोहण एकै पटक मिल्नुलाई संयोग भनेर मात्र पुग्ने देखिदैन । यो कवि गोपालप्रसाद रिमालले भनेजस्तै ‘एक युगमा एक पटक’ हुने संयोग हो, जसले लामो समयदेखि ऐंठनमा परेको मुलुक र हिन्दू जीवनपद्धतिमा नयाँ शुरुवात गर्ने पक्का छ ।

 

सनातन धर्मकी देवी

 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली चिनाइरहनु पर्ने पात्र होइनन् । यिनी त्यतीबेला निखारिएर चिनिए, जतिबेला भुकम्पले थिलथिलो भएको नेपालमाथि छिमेकी भारतले ज्यानमारा नाकाबन्दी लगाएर उपनिवेश बनाउन खोजेको थियो । ओलीले नेपाललाई भारतको उपनिवेश बनाउन मन्जुरी नदिएका मात्र होइनन्, उत्तरतिरबाट नेपाललाई समुद्रसम्म पुग्ने बाटो खोल्न सहमत गराए । यही बाटो खुल्ने संझौता चीन र नेपालबीच भएपछि भारतले एकपक्षीय रुपमा नकचरो बन्दै लादेको नाकाबन्दी फिर्ता लियो ।

 

तर हिमानन्द गिरी भने आम नेपालीबीच अझै चिनिइसकेकी पात्र होइनन् । यी सन्यासी हुन् र घरबार, परिवार र श्रीसम्पती त्यागेकी विदुषी हुन् । यतिकुरा थाहा पाएपछि यिनको स्थान थाहा पाउनु आवश्यक हुन्छ । यिनी हिन्दू सनातन परंपराकी त्यस्ती सन्यासी हुन्, जो शंकराचार्य मठसंग जोडिएकी छन् ।

 

हिन्दू धर्मको सबैभन्दा उच्च निकायको रुपमा शंकराचार्यका चार मठलाई मानिन्छ । आदि शंकराचार्यले सनातन हिन्दू धर्मबलाम्बीहरुलाई एकमत राख्नका लागि पंचरत्न स्तोत्र बनाएर शिव, विष्णु, शक्ति, गणेश र सूर्यलाई स्थापित गरेका थिए । उनैले त्यसको परिपालना गर्न गराउन बाह्र सय वर्ष अघि पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशामा मठ स्थापना गराए । आदि शंकराचार्यले स्थापना गराएकाले ती मठलाई शंकराचार्य मठ र त्यहाँ आसिन मठाधिशलाई शंकराचार्य नै भन्न थालियो ।

 

शंकराचार्य मठका शंकराचार्य

 

शंकराचार्यले पूर्व उडिसामा गोवर्धन पीठ स्थापना गरेर स्वामी श्रीपद्यपाद आचार्यलाई नियुक्त गरेका थिए । हाल स्वामी निस्चलानन्द सरस्वति पीठका शंकराचार्य रहेका छन् । पश्चिम द्वारिकामा जम्नानगर गुजरातमा शारदा पीठ स्थापना गरि स्वामी श्रीसुरेश्वर आचार्यलाई प्रथम शंकराचार्यमा नियुक्त गरेका थिए । हाल यस पीठमा स्वामी श्रीस्वरुपानन्द शास्त्री शंकराचार्य रहेका छन् ।

 

उत्तर दिशामा आदि शंकराचार्यले हाल भारतको उत्तराखण्डको बद्रीमा श्री ज्योतिष पीठ स्थापना गरे । जसको पहिलो शंकराचार्य थिए, स्वामी श्रीतोतका आचार्य । हाल ज्योतिष पीठको शंकराचार्यमा स्वामी श्रीस्वरुपानन्द शास्त्री रहेका छन् । दक्षिण दिशामा कर्णाटकको शृंगेरीमा शारदा पीठ स्थापना गरेर स्वामी श्रीहस्तमालका आचार्यलाई पहिलो पिठाधीश बनाए । हाल यस पीठको शंकराचार्यमा स्वामी श्रीभारती तीर्थ रहेका छन् ।

 

शंकराचार्यका चार पीठमध्ये पश्चिम र उत्तरको पीठमा यतिखेर स्वरुपानन्द शास्त्री शंकराचार्य रहेका छन् । धेरै वर्षदेखि उत्तरको शंकराचार्य मठको शंकराचार्य को रहने भन्ने विवाद अदालतसम्म पुग्यो । अदालतले शंकराचार्य स्वारुपानन्द शास्त्रीको मागलाई खारेज गरिदिएपछि यो विषयलाई निकाश दिन धर्ममहामण्डल, विद्वत परिषद र अखाडा परिषद लागेका छन् । उनीहरु यतिखेर उत्तर पीठ (जसलाई ज्योतिर्मठ, जोशीमठ पनि भनिन्छ) को शंकराचार्य छान्ने प्रकृयामा रहेका छन् ।

 

यसैक्रममा उत्तरको पीठ अन्तर्गत पर्ने क्षेत्रबाट छानिएका चार मध्ये नेपाली मठकी हिमानन्द गिरी बहुचर्चामा रहेकी छन् । यिनी किन पनि सबैतिर चर्चाको शिखरमा छन् भने यिनी शंकराचार्य बन्ने लहरकी प्रथम महिला हुन् । यति उच्च पदमा यसअघि महिला पुगेकै थिएनन् । भनिन्छ, शंकराचार्यको बाह्रसय वर्षको इतिहासमा महिला पिठाधीश नरहेको मात्र होइन, यति योग्य महिला दावेदार कहिल्यै देखिएका सम्म थिएनन् ।

 

हिन्दू धर्मको सर्वोच्च निकायमा नियुक्त हुने कुरा त परैराखौं सन्यासी बन्न पनि मानसम्मान, पद, प्रतिष्ठा, पैसा, घर परिवार छाडेपछि मात्र हुने पद्धति नै रहेको छ । त्यसै पद्धतिबाट छानिदै छानिदै महामण्डलेश्वरको जिम्मेवारीमा रहेकी हिमानन्द गिरी खासमा पशुपतिनाथ क्षेत्रमा रहेको शंकराचार्य मठलाई पुनस्र्थापित गरेर पाँचौं शंकराचार्य मठ बनाउन दत्तचित्त छिन् । उनको आग्रह नै धर्ममहामण्डल, विद्वत परिषद र अखाडा परिषदलाई आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको शंकराचार्य मठलाई पाँचौं मठको रुपमा विश्वभर स्वीकार गराउनु हो ।

 

पशुपति क्षेत्रको शंकराचार्य मठ, आदि शंकराचार्य नेपाल आएर पशुपतिनाथको मन्दिरमा पूजा गरी ब्यवस्थापन गराउदादेखिको मठ हो । यहीं शंकराचार्य बसेका थिए ।

 

पशुपतिमा रुद्राभिषेक

 

हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको मन्दिर अगाडि अहिले पनि रहेको शंकराचार्य मठलाई पाँचौं शंकराचार्य पिठको रुपमा घोषणा गरेर अरु चार मठको जस्तै हैशीयतमा पु¥याउनु हिमानन्दको अभियान हो । यो काम पहिल्यै हुनुपर्ने हो तर अहिलेसम्म हुनसकेको छैन । यसमा सफलता मिल्यो भने उनले प्रण गर्दै भनेकी छन्, यो मेरा लागि पशुपतिनाथको प्रसाद हुने छ र म पशुपतिनाथमै रुद्राभिषेक गर्नेछु ।

यो स्तरकी प्रथम सन्यासी महिलाको यो अठोटयुक्त मागलाई नेपालमा मात्र होइन, भारतका अन्य मठमा पनि गंभीर रुपमा लिइएको साधुसन्तहरु बताउछन् । उनीहरु भन्छन्, हिन्दू सनातन धर्ममा नेपाली महिला सन्यासीले नयाँ मोड मात्र होइन, ठूलो फड्को मार्नेगरी नेतृत्व गरेकी छन् । यो स्त्री शक्तिले हिन्दू सनातन संप्रदायलाई दिएको बरदान सावित हुनेछ ।

भनिन्छ, प्रथम महिला शंकराचार्य बनिन् भने हिमानन्दमार्फत शंकराचार्यको इतिहासमै पशुपतिनाथ मन्दिर परिसरमा पहिलो पल्ट अभिषेक हुनेछ ।
को हुन हिमानन्द ?

 

आमा स्टाफ नर्स र अदालतका जागीरे बाबुबाट बीरगंजमा जन्मिएकी हिमानन्द गिरी मावली झापामा हुर्किएकी हुन् । यिनका बाबुको थर ढुंगाना थियो । तीन पुस्तादेखि यिनको मातृ परिवारले सन्यास ग्रहण गरेको छ । यिनकी हजुरआमा, त्यसपछि यिनकी आमा र अन्त्यमा यिनले गेरु वस्त्र धारण गरेकी हुन् ।

 

आदि शंकराचार्यले बिभाजन गरेका चार मठमध्ये हिमबत खण्डको ज्योतिर्मठको क्षेत्राधिकारमा पर्छ आजको नेपाल । कुनै बेला यो मठ नै नेपाल अन्तर्गत पर्दथ्यो । हिन्दू सनातन धर्ममा नेपाललाई तपस्वी र ज्ञानीहरुको शिखरभूमि मानिन्छ किनभने यही क्षेत्रमा भगवान पशुनाथ, हिमालय पुत्री पार्वती, सीता र बुद्धको जन्म भएको हो । यस्तो पूण्यभूमिमा जन्मेको ज्ञानी शंकराचार्य बन्नु लरतरो कुरो होइन । त्यसैले महामण्डलेश्वर हिमानन्द गिरीले गरेको दावी स्वाभाविक नै लाग्छ ।

 

उनले भनेकी पनि के मात्र हो भने, पार्वती र सीताको जन्मभूमि क्षेत्रको ज्योतिर्मठको शंकराचार्य अब महिला हुनुपर्छ । यो यस्तो पवित्र भूमि हो कि संसारमै शिवभूमि भनेर चिनिन्छ । यहाँकी कालीगण्डकी नदीले नारायण बगाएर ल्याउछिन् जो संसारमा अन्यत्र कतै पाइदैन । विश्वभर पूजीने शालिग्राम यहींका नारायण हुन् ।

 

ज्ञान, विज्ञान, चेतना र वैरागको पराकाष्ठाको पद मानिने शंकराचार्य पदमा नेपाली चेलीको चयनलाई संसारभरका हिन्दूधर्म संस्कृतिको पालना गर्ने सनातन धर्मावलम्बीहरु आशाको नजरले नेपाल र हिमानन्द गिरीलाई हेरिरहेका छन् ।

 

महन्त भनेको एउटा मठ हेर्ने सन्यासी हुन् । श्रीमहन्त भनेका पाँच मठलाई नेतृत्व गर्दै अखाडालाई व्यवस्थित गर्ने जिम्मेवार सन्यासी हुन् । श्रीमहन्तलाई कुम्भमेलाले छनौट गर्छ । हेमानन्द गिरीलाई उज्जयनमा भएको कुम्भमेलामा उपस्थित लाखौंलाख सन्यासीहरुले दुई वर्ष अघि महामण्डलेश्वर चुनेर हिन्दू धर्मसंस्कारमा ठूलो फड्को मार्ने ऐतिहासिक निर्णय गरेका थिए । साधुसन्तको त्यही निर्णयले हिमानन्दलाई शंकराचार्य बन्ने बाटो खोलेको थियो ।

 

कुनै नेपाली सन्तान बाह्रसय वर्ष भन्दा लामो इतिहास भएको शंकराचार्य मठको प्रमुख अहिलेसम्म बनेका थिएनन् । यो रेकर्ड के नेपाली चेली हिमानन्द गिरीले तोड्न सक्लिन ? सबै सनातनीहरु उनीतिरै हेरिरहेका छन् । त्यस्तै अप्ठेरो समयमा राष्ट्रिय नेताबाट राजनेतामा फड्को मारेका केपी ओली आफूले प्रण गरेको समृद्ध नेपाल बनाउने सपना कार्यान्वयन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम प्रधानमन्त्री बनेर देशलाई कायापलट गर्ने पदमा पुग्लान् ?

 

ओली र हिमानन्द दुबै पात्र आआफ्नो क्षेत्रको शिर्षपदमा पुग्ने पक्का छ । नेपाली जनताले स्थानीय, प्रदेश र संघको चुनावमा ओलीका उम्मेदवारलाई लगभग तीनै तहमा दुई तिहायी सिटमा विजयी बनाइसकेका छन् । तर, ओलीलाई प्रधानमन्त्री बन्न नदिन मंसीरमा चुनाव सकिए पनि देउवा सत्ता हस्तान्तरण गर्न आलेटाले गर्दैछन् । त्यसैगरी हिमानन्दलाई पहिलो देवी शंकराचार्य बन्न नदिने षडयन्त्र पनि रोकिएको छैन ।

 

Comments