MENU
सबैलाई थाहा छ, मधेशी मोर्चाका नेताहरुलाई मधेशकै जनताको समर्थन छैन । हुँदो हो त, चुनावबाट उनीहरु भाग्ने थिएनन् । चुनाव जितेर सत्तामा पुगेका बेला यिनले गरेका लखनौ लुट र नातावाद क्रिपावाद जगजाहेर छ । —कृष्णमुरारी भण्डारी
  Apr 21, 2017

लोकतन्त्रमा निषेधको राजनीति !

—कृष्णमुरारी भण्डारी
०७३ फागुन २३ गते सप्तरी जिल्लाको राजविराजमा नहुनुपर्ने दूर्घटना भयो । प्रहरीको गोली लागेर चार जनाको मृत्यु भयो ।
एमालेलाई प्रदेश नम्बर २मा शान्तिपूर्ण सभा सम्म गर्न नदिने मधेशी मोर्चाका नेताले निषेधको राजनीति गर्न कार्यकर्ता उतारे । एमाले नेता—कार्यकर्ता पूर्वनिर्धारित कार्यक्रम अनुसार राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आए र सभा सम्पन्न गरिसकेपछि फर्कन लागे । एमालेको यो सफलताले मधेशी मोर्चा अत्तालियो भने एमालेमा उत्साह थपियो । तर त्यो अवस्था मिनेट भर टिकेन ।
विरोधमा निस्किएका मधेशी मोर्चाका कार्यकर्तालाई अकस्मात कसैले उकास्यो । संचारमाध्यमहरुमा प्रेसित खवर अनुसार फर्कन लागेका एमाले जनसभाका नेता तथा सहभागीहरुसंगै सुरक्षार्थ खटिएका प्रहरीमाथि नियोजित रुपमा तोडफोड, आगजनी र पेट्रोल बम प्रहार गरिएकोले प्रहरी र स्थानीय प्रशासनले सुरक्षाको लागि भन्दै अश्रुग्याँस, हवाइफायर र त्यसपछि मात्र गोली चलेको बताएको छ । गोली लागेर तत्काल दुइजनाको र अस्पताल पु¥याएपछि थप एक एकजनाको पनि मृत्युभयो । राजविराजमा भएको यही हो ।
तर यसपछि मधेशी मोर्चाले आफ्ना कार्यकर्तामाथि प्रहरीले गोली चलाएर हत्या ग¥यो भन्दै तत्कालै मधेश बन्दको आह्वान ग¥यो । साँझ एमालेले पनि सरकारबाट गोली प्रहार भएकोमा स्तब्ध भई तीन दिनका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

राजविराजमा शान्तिपूर्ण सभा गरेर आफ्ना विचार राख्ने एमालेविरुद्ध निषेधको राजनीतिको नेतृत्व मधेशका नेताहरुले गरे । उनीहरुले आह्रवान गरे हामी एमालेलाई दुइ नम्बर प्रदेशमा प्रवेश गर्न दिदैनौं । एमाले नेतृत्वले भन्यो, शान्तिपूर्ण रुपमा जनसभा गर्न कसैलाई रोक्न पाइदैन । आफ्ना कुरा राख्न मन छ भने, आफ्नै कार्यक्रम गर । एमाले नेताले भने, हामीले आफ्ना कुरा कार्यक्रम गर्नु अघि नै प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय प्रशासन र माओवादी तथा कांग्रेस नेतृत्वलाई मात्र होइन, स्वयम् मधेशी मोर्चाका नेताहरुलाई पनि जानकारी गराएका थियौं । गृहमन्त्रीसंग त एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलनमै मधेशी नेताहरुलाई उचालेर एमालेको खुलेआम विरोध गरेको भन्दै आलोचना गरेका थिए ।

राजनीतिमा पोलिटिक्स

एमालेलाई मधेश पस्न नदिइएपछि आफ्नो एकलौटी बर्चस्व मधेशमा कायम हुने अपेक्षा मधेशी मोर्चाका नेताहरुको थियो । काँग्रेस—माओवादीका नेताहरुको मधेशी र एमाले जुधेभने हामीलाई फाइदै हुन्छ भन्ने अवसरवादी दाउले राजनीतिमा फोहोरी पोलिटिक्स मिसिइसकेको थियो । यो राजनीतिक अवसरवादको खुलेआम पक्षपोषणले अनायास मनमा जर्मनीका कवि मार्टिन निमोल्लेरको विश्वचर्चित कविताको संझना गरायो । जर्मनीमा नाजीबादी हिटलर र इटलीमा फाशिष्ट मुसोलिनीको उदयपछि उनीहरुले लोकतन्त्र, जनता र देशलाई तहसनहस पारेको कुरा दोहो¥याइरहन पर्दैन । यही क्रममा कवि स्वयम् आठ वर्ष कठोर कारावासमा परेका थिए । युद्धको भुमरीमा हिटलर र उसको राजनीतिले कसरी जर्मनीका लाखौं लाख निर्दोष जनतालाई होम्यो भन्ने कविता कवि निमोल्लेरले लेखे । विश्वभर ‘राजनीतिक वेवास्ताले सिर्जना गर्ने खतरा’

भनेर उद्धरण गरिने जवर्जस्त कबिता यसप्रकार छ ः
तिनीहरु आए,
पहिलो पल्ट उनीहरुले सोसलिष्टलाई खोजे,
तर म केही बोलिन, किनभने म सोसलिष्ट थिइन !

त्यसपछि तिनीहरु ट्रेड युनियनवादीहरुलाई खोज्दै आए
म केही बोलिन किनभने म ट्रेड युनियनवादी पनि थिइन !

फेरि तिनीहरु यहुदीहरुलाई खोज्दै आए,
त्यतिवेला पनि म बोलिन किनभने म यहुदी थिइन !

अब भने तिनीहरु मलाई खोज्दै आए,
तर त्यतीबेला मेरो गल्ती छैन भनेर बोलिदिने कोही पनि बाँकि थिएन !
—(गुगलबाट साभार)

युद्धको कालो बादल

सप्तरीमा भएको घटनालाई धेरैले आश्चर्यका साथ लिए पनि मलाई भने यो त्यस्तो लागेको छैन किनभने महाभारतमा भगवान कृष्णले भनेझैं युद्धको कालो बादल नेपाली आकासमा धेरै पहिलेदेखि मडारिइरहेको छ । जसको कारण आन्तरिक होइन, बाह्य रहेको जगजाहेर छ । एउटा छिमेकी नेपालको आन्तरिक मामिलामा यसरी हस्तक्षेप गरिरहेको छ कि उसको दुतावास नेपाललाई असफल बनाउन हात धोएर लागिरहेको छ । नलाग्दो हो त, बिधि र प्रकृयाबाट समस्या समाधान हुँदै जाने थिए । स्वयम् भारत स्वतन्त्र हुँदा तेह्र राज्यमा सिमित थियो आज त्यहाँ २९ बनिसकेका छन् । अमेरिकामा १४ वटा राज्यबाट शुरु भएको प्रदेशको संख्या ५१ पुगेको छ । तर नेपालमा नब्बे प्रतिशत संविधानसभाका सदस्यहरुले बनाएको संविधान निर्वाचन मार्फत एक पटक पनि कार्यान्वयन नहुदै मधेशी मोर्चाका नेताहरुलाई उनीहरुले भने अनुसार बनाउनु पर्ने जवर्जस्त ढिपी गरिरहेछन् । दोस्रो संविधानसभामा चुनाव हार्दा एक मधेशी नेताले भनेका थिए, यो भारतको हार हो । त्यही हारको बदला उनीहरु भारतसंग मिलेर उद्यत बनिरहेका छन् तर चुनावमा जाने साहस गरिरहेका छैनन् । हिंशा, अपराध र विखण्डनको धम्कीले उनीहरु सिंगो नेपाली जनतालाई ब्याकमेल गर्न अग्रसर छन् । अब त हुँदाहुँदा शान्तिपूर्ण सभा जुलुश गर्न पनि उनीहरुको भनाइ नमान्ने दललाई मधेशी दलले निषेध गर्दै सांघातिक आक्रमणमा उत्रिएका छन् । बर्तमान सत्ताका सहयोगी मधेशी दलहरुको यो चरम अराजनीतिक, अप्रजातान्त्रिक, हिंस्रक तथा अमानवीय ब्यवहारलाई सत्तामा बसिरहेका प्रधानमन्त्री प्रचण्ड र काँग्रेस शेरबहादुर र बाबुरामहरु पराजीत गर्नु त कता कता, भण्डाफोर पनि गर्न सकिरहेका छैनन् । उनीहरुलाई ती जर्मन कबिलाई झैं लागेको हुनुपर्छ, यो खिचातानी मधेशी दल र एमालेबीचको मात्र हो ।
खासमा यो मधेशमा बर्चस्व भएका र संविधानसभामा मधेशी मोर्चाका नेताहरुलाई पराजीत गरेर आउने कांग्रेस, एमाले र माओवादी सांसद र मतदाताहरु विरुद्ध पनि हो । एमालेलाई शान्तिपूर्ण सभा जुलुस गर्न रोक्न खोज्ने मधेशी मोर्चाका जातीवादी नेताहरुले काँग्रेस माओवादीहरुलाई तराईका जनताबीच पुग्न देलान् ?
लखनौ लुट !

सबैलाई थाहा छ, मधेशी मोर्चाका नेताहरुलाई मधेशकै जनताको समर्थन छैन । हुँदो हो त, चुनावबाट उनीहरु भाग्ने थिएनन् । चुनाव जितेर सत्तामा पुगेका बेला यिनले गरेका लखनौ लुट र नातावाद क्रिपावाद जगजाहेर छ । उनीहरुसंग जनसमर्थन भएको भए जुनसुकै चुनावमा काँग्रेस, एमाले र माओवादी उम्मेदवारलाई हराउने मात्र होइन, संसदबाट बहुमतले संविधान पनि संशोधन गरेर देखाइदिने थिए । तर मधेशी मोर्चाका नेताहरु स्थानीय निर्वाचनबाटै तर्सिएका छन् । नतर्सिउन् पनि किन, तिनले गरेका एक एक हिसाव मधेशका जनता राखेर बसेका छन् ।

त्यसैले मधेशी मोर्चाका नेताहरु संसदीय क्षेत्रको निर्वाचन पनि मधेशका जनताको शान्तिपूर्ण मतदानबाट होइन, बुथक्याप्चर र शक्ति प्रयोग, त्रास सिर्जना गरेर मात्र हात पार्न सकिनेमा विश्वस्त छन्, नहुँदा हुन् त चुनावमा लागिहाल्ने थिए र जे कुराको लागि संघर्षरत भन्दैछन्, त्यो सबै शान्तिपूर्ण रुपमा चुनावबाट गरेर देखाइदिने थिए ।

जहाँसम्म मधेशका जनतालाई अधिकार सम्पन्न बनाउने कुरा छ, यसमा सायद नै कसैले विमती राख्छ । जस्ले मधेशका जनतासंग विमती राख्छ, निर्वाचनमा जनताले मतदानद्वारा तिनलाई नारायणहरि बनाइदिनेछन् । तर लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध गएर मधेशी मोर्चाका नेताहरुले आफ्नै खुट्टामा बंचरो हानेका छन् । किनभने संसारभर कहीं पनि गलत मनसाय र उपाय अपनाएर गरिने विरोध सफल भएको छैन । कठोर से कठोर संघर्ष पनि शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट सफल अनि दिगो रुपमा अगाडि बढेका छन् । मधेशमा उपेन्द्र यादव र जयकृष्ण गोइतबीचको भिन्नता नै यही हो । तर यिनीहरुबीचको भिन्नता मेटिन थालेको देखिदैछ । लोकतान्त्रिक होइन अतिवादी धारमा धसिरहेका छन्, उपेन्द्र, महन्त, महेन्द्र र राजेन्द्र ।
गोइतले चुनाव हारेर हतियार बोके तर उपेन्द्र जनताबीच नै लोकप्रिय रहे र सत्तामा पुगे । तर गुट, फूट र अन्य स्वार्थले गर्दा उपेन्द्रले आफ्नो साध्य र साधनलाई लोकतान्त्रिक र शुद्ध राख्न सकेनन् । उनी अतिवादी धारमा धकेलिदैछन् । गलत तरीका, अलोकतान्त्रिक साधन प्रयोग गरेर प्राप्त गर्ने साध्यवारे प्रश्न उठेको मात्र छैन, संसारभर असफल पनि भएका छन् ।

के अमेरिकामा ट्रम्पले चुनाव जिते भनेर ओबामाले देशका दैनन्दिनीय काम पनि हुन नदिने र निषेधको राजनीति गर्ने ? भारतमा मोदीले जिते भनेर सोनिया वा राहुल गान्धीले मोदीका सभाहरु हुनै नदिने जस्तो लोकतन्त्रविरोधी काम गर्लान भन्ने कल्पना पनि गर्न सकिदैन ।

यसअर्थमा मधेशमा भएको अहिलेको घटना अनिवार्य दूर्घटना हो । विदेशीको सहयोग र धापमा प्रचण्डलाई सत्तामा पु¥याएर मधेशी मोर्चाका नेताहरु जेगर्न चाहिरहेका छन्, त्यो कदापि संभव छैन । देशकै ठूलो पार्टीका नेता शेरबहादुर देउवालाई प्रतिक्षारत प्रधानमन्त्री बनाएर जे बार्गेनिंग गर्न खोजीदैछ, यो पनि लामो समय चल्नेवाला छैन । देश भनेको देश नै हो, जालझेलले यो चल्न सक्दैन ।
आफ्नै सहयात्रीलाई गोली !

यथार्थ, कुनै पनि बेला जगजाहेर हुने रहेछ । यस दृष्टिबाट हेर्दा भारतले धाप दिएर बनाएको यो सरकार रणनीतिक रुपमा लैनचौरको ग्रीपमा रहेका गृहमन्त्री बिमलेन्द्र निधिको नेतृत्वमा राजविराजमा जुन गोली प्रहार भएको छ, यदि चर्चा गरे अनुसार मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने यो सरकार टिकीरहन सक्दैन । नेपाली काँग्रेसले मात्र यो गठबन्धनलाई टिकाउन सक्ने देखिदैन । यसो भयो भने, सरकार मधेशी मोर्चाको सहयोगमा बनाउने र तिनै लगाएर सरकारलाई बन्दी बनाउने छिमेकी कार्यनीति फेरिनेछ । निषेधको राजनीति गर्ने, तिनलाई पालनपोषण पनि गर्ने अनि तिनैलाई गृहमन्त्रालयबाट आदेश दिएर पुलिसमार्फत गोली प्रहार गर्ने र आफैलाई संसदमा विजयी बनाउनेका कार्यकर्तालाई मरवाउने खेला अब छताछुल्ल हुने भएको छ । यतिमात्र होइन, काँग्रेसका कार्यकर्ता नै निषेधको राजनीतिमा सक्रिय रहेको मात्र होइन, आफ्नै गृहमन्त्रीको आदेशको गोलीले जीवन गुमाउन पुगेको खबरले मधेशी मोर्चालाई यो गलत बाटो तर्फ लाग्न उचाल्ने काँग्रेसको पनि पर्दाफास भएको छ । प्रधानमन्त्री प्रचण्ड त केही दिन अघि मधेशी मोर्चाका नेताहरुलाई खै, आन्दोलन पनि गर्न सक्नु हुन्न भन्दै उकास्दै थिए भनेर चर्चामा रहेको वाक्य धेरैका मनमा ताजै छ ।

राजविराजको घटना अनपेक्षित नै हो । यो हुनुहुन्थेन । तर भयो । दूर्भाग्य र निन्दनीय । यसले राजनीतिमा घुसेको पोलिटिक्सलाई नराम्रोसंग उदांगो बनाइदिएको छ । त्यसअर्थमा एमालेले मेची महाकाली राष्ट्रिय अभियान शुरु गरेर अर्कै राजनीतिक पटाक्षेपलाई उदांग पारिदिएको छ । लोकतन्त्रको विशेषता नै यही हो, जनता कहाँ पुगेपछि केही छिप्दैन । त्यसैले एमाले मात्र होइन, राजधानीको रत्नराज्य क्याम्पसमा सोमबार चुनाव विथोलिएपछि भेटिएका एमएका एक मधेशी विद्यार्थीलाई राजविराजमा भैरहेका घटनावारे सोध्दा उनले उल्टै गंभीर सवाल तेस्र्याए, डाँकाका सरदार, अपराधी र बिचौलीयाहरु नै दलका नेता बनेपछि के हुन्छ ? लामोसमयदेखि मधेश तिनैको बन्दी बनिरहेको छ । न चुनाव हुन्छ नत कसैलाई जान दिइन्छ । एमालेले समस्या पहिल्याएर आँट गरेकै हो, तर सप्तरीमा थोरै मान्छेले उत्तेजकस्थिति उत्पन्न गरे र गोली चल्यो । अब यसैको नाउमा अरु खेती बढाइन्छ ।

समाधान के त ? उनले औल्याए, मधेशीहरु नै मधेशीबाट पिडित भैरहेछन् । बुद्धिजीवीहरु चुइँक्क बोल्न सक्दैनन् । बोल्यो र फिल्डमा उत्रियो भने, तीनजना पूर्व प्रधानमन्त्री र शक्तिशाली दलका नेताहरुलाई त दागा धर्न खोज्छन् भने अरुको के हालत हुन्छ होला ? त्यसैले मधेशी निषेधविरुद्ध हामी तैंचुप मैचुप हुनुको विकल्प छैन ।

संघीयता, लोकतन्त्र, गणतन्त्र र चुनाव चाहने पार्टी र नेतामात्र होइन, लेखक, बुद्धिजीवी, कलाकार, पत्रकार, कवि, डाक्टर, इन्जिनियर, महिला अधिकारकर्मी, अर्थशास्त्री, मानवअधिकारवादी, प्रकृतिप्रेमी, किसान, मजदूर, विद्यार्थी, वकिलहरु मधेशमा पुगे भने आममधेशी जनताको वेदना र संभावना हेर्ने, सुन्ने र देख्ने थिए । जनताले पनि संविधानसंगै हरेकलाई छाम्न, देख्न, सुन्न, नियाल्न र अनुभूत गर्न पाउने मात्र होइनन्, बाबु—आमा मरेका बेला बिचार लिएर आउनेसंग जस्तै संवेदनाहरु ब्यक्त गर्ने थिए ।

ढाडस दिन जालान् ?

तर के ती मधेशी युवाले भनेझैं पत्रकार÷विश्लेषक युवराज घिमिरे, श्रीकृष्ण अनिरुद्ध गौतम, अच्युत वाग्ले, धु्रवहरि अधिकारी, शरच्चन्द्र वस्ती, किशोर नेपाल, सुधीर शर्मा, किशोर श्रेष्ठ, देवप्रकाश त्रिपाठी, बविता बस्नेत, नारायण वाग्ले, महेन्द्र विष्ट, टिकाराम राई, अमीत ढकाल, सौरभ, गुणराज लुइटेल, तारा दाहाल जालान् ? सुलोचना मानन्धर, अभी सुवेदी, हरि रोक्का, नारायण ढकाल, विष्णुनिष्ठुरी, शिव गाउले, सुरेश आचार्य, पुरुषोत्तम दाहाल, अमृता बाँस्कोटा तराईका गाउगाउमा एनजीओ÷आइएनजीओ कसैको स्पोन्सर्सिप बीना पनि जालान् ? देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, डा सुन्दरमणि जालान् ? स्वर्णीम वाग्ले, पिताम्बर शर्मा, लोकराज बराल, कृष्ण खनाल हिड्लान् ? सुरेन्द्र केसी इतिहास बताउन पुग्लान् ? डा उपेन्द्र देवकोटा, केदार नरसिंह, डा केदारभक्त माथेमा, प्रत्युश वन्त, डा गोविन्द केसी, वकीलहरु शंभु थापा, शेरबहादुर केसी, युवराज संग्रौला, टिकाराम भट्टराई, गोपाल घिमिरेहरु पुग्लान् ? अमृत गुरुंग, आनी छोइंग, मदनकृष्ण—हरिवंश, धुर्मुस सुन्तली, शंभुजीत, राजेश हमाल, किरण मानन्धर, रागीनी उपाध्याय, विवेकशील नेपाली, गु्रप—२५, पापड, दलित, अपांग, सिस्नुपानी गएर मधेशी भूमि पुत्रपुत्रीलाई निरंकुशता, दवदवा र गुण्डागर्दीबाट राहत र ढाढस दिन पुग्न सक्लान् ?

(अन्नपूर्ण दैनिकमा फागुन २५, ०७३मा प्रकाशित)

Comments