MENU
हुलाकी सडक: स्थानीय निर्वाचनको प्रमुख मुद्धा    –चन्द्रकिशोर 
 : 156 views
  Sep 13, 2017

 उत्तरी क्षेत्रबाट पूर्व–पश्चिम राजमार्ग बनाईदा तत्कालिन समयमा त्यसले नेपाललाई जोड्ने काम त गर्‍यो नै, साथसाथै दक्षिणको तुलनामा नदीहरुको बहाव साँघुरो क्षेत्रमा भएको हुँदा यसले पुल निर्माणको खर्चलाई पनि कम पार्‍यो, जो केही अर्थमा त्यतिखेरको परिस्थितिमा ठीक निर्णय मान्न सकिन्छ । 

स्थानीय तहको निर्वाचन प्रदेश नं. २ मा हुन गईरहेको छ, त्यसका प्रक्रियाहरु प्रारम्भ भइसकेका छन् । यस क्षेत्रका जनता स्थानीय तहमा नयाँ जनादेश दिन आतुर देखिएका छन् यो राम्रो पक्ष हो । एउटा जिल्लाबाट अर्को जिल्लामा जान पूर्व–पश्चिम राजमार्गको नै बढी भर पर्नु पर्ने स्थिति छ । वीरगंज देखि कलैया सम्मको बाटो त ठिक छ तर वीरगंजवाट ठोरी जानु पर्‍यो भने गार्‍हो । कलैयावाट सिमरौनगढ हुदै गौर जानु पर्‍यो भने अहिले जान सकिदैन । बाटो ठीक छैन ।

 

यसरी तराईका जिल्लाहरुलाई दक्षिणी सीमा क्षेत्रमा पूर्व–पश्चिम जोड्ने मार्गको माँग र चाहना लामो समयदेखि हुदै आएको छ । तर त्यो अहिले सम्म हुन सकेको छैन । वीरगंजवाट गौर जानु पर्‍यो भने पहिला पथलैया जानु पर्‍यो, त्यसपछि राजमार्ग समातेर चन्द्रनिगाहपुर जानु पर्‍यो र त्यहाँवाट गौर जानु पर्‍यो । अर्थात वीरगंजदेखि गौरसम्मको छोटो बाटो नभएर अहिले चल्तीको लामो बाटो समाउनु परेको छ । हेर्दा यो सामान्य झै लाग्छ तर यसले सामाजिक र आर्थिक क्ष्ोत्रमा ठुलो असर पुर्‍याई रहेको हुन्छ ।

 

हुलाकी सडक भएपछि तराई भूगोलमा उत्तरी क्षेत्रको सम्पन्नता र दक्षिणको विपन्नता बीच सन्तुलन र समन्वय ल्याउने छ भन्ने एक बुझाई छ । उत्तरी क्षेत्रबाट पूर्व–पश्चिम राजमार्ग बनाईदा तत्कालिन समयमा त्यसले नेपाललाई जोड्ने काम त गर्‍यो नै, साथसाथै दक्षिणको तुलनामा नदीहरुको बहाव साँघुरो क्षेत्रमा भएको हुँदा यसले पुल निर्माणको खर्चलाई पनि कम पार्‍यो, जो केही अर्थमा त्यतिखेरको परिस्थितिमा ठीक निर्णय मान्न सकिन्छ ।

 

यसै राजमार्गमा मेचीनगर, इटहरी, इनरुवा, लहान, रत्ननगर, भरतपुर, बुटवल, महेन्द्रनगर नगरपालिका नै विकसित हुदै आयो भने यतिखेर सरकारले घोषणा गरेका नगरपालिका/उपमहानगरपालिका मध्ये विर्तामोड, उर्लावारी, मोहनपुर–कल्याणपुर, रुपनगर, मिर्चैया, हरिवन, निजगढ, सिमरा, चन्द्रनिगाहपुर, कोहलपुर यसै राजमार्ग मै पर्दछन्  ।

 

उता यो राजमार्ग बनेपछि दक्षिण सीमांचल क्षेत्रका पुराना बजारहरु ओझेलमा पर्दै गए, वा जो सहरहरु सीमामा विकसित भएका छन् ती सहरहरुबाट सोझै पूर्व–पश्चिमतिर जोड्ने काम भएको भए त्यो छोटो र पायक हुन्थ्यो । जसरी वीरगंजबाट सोझै सिम्रौनगढ हुदै गौर पुग्यो त्यहाँबाट मलंगवा, जलेश्वर, सिरहा, राजविराज, रंगेली जोड्दै गयो भने अहिलेको घुम्ती यात्राभन्दा समयको बचत बढी हुन सक्थ्यो ।

 

 

पूर्व–पश्चिम राजमार्गसंगै नेपालमा प्राय: उत्तर–दक्षिण सडक बनाउने काम हुदै रह्यो, पूर्व–पश्चिम समानान्तरमा अर्को बैकल्पिक राजमार्ग बनाउने तिर ध्यानै दिइएन । पूर्व–पश्चिम राजमार्ग निर्माण पछि चरणवद्ध रुपमा पनि हुलाकी सडक वा सीमांचल क्षेत्रमा अर्को पूर्व–पश्चिम सडक संजाल खडा गर्न सकिएको भए अहिले देखा परेको सामाजिक–आर्थिक असन्तुलन र रिक्तता देखा पर्दैन्थ्यो ।

 

त्यस्तै पहाडबाट र नेपाल बाहिरबाट भएका बसाई सराईले उत्तरी क्षेत्रमा जनसांख्यिक बनावटलाई अस्वाभाविक बनाउदैन्थ्यो, त्यो कुन अर्थमा भने बढ्दो जनसंख्या यसरी थेग्रिदै गयो जसले सामाजिक–आर्थिक पर्यावरणलाई नै नराम्ररी कमजोर बनाई दिएको छ ।

 

जतिखेर पूर्व–पश्चिम राजमार्ग बन्यो त्यतिखेर त्यो क्षेत्रमा एकदम कम आवादी थियो । प्राय: ठाउँमा जंगल फडानी गरेर बाटो बनाउनु पर्‍यो । त्यसले पुर्‍याएको नकारात्मक असर यतिखेर दक्षिणका वस्तीहरुले भोग्नु परिरहेको छ । पूर्व–पश्चिम राजमार्ग चुरे शिवालिक क्षेत्रको काखमा रहेको छ, व्यापक वन फडानी, बढ्दो जनघनत्व र त्यसले गर्ने दोहनले गर्दा चुरे क्षेत्रमा वनस्पतिको ढकाव कम हुदै जाँदा जमीनमा परेको पानी सोसिन पाउदैन र वर्षाको पानीको अत्यधिक हिस्सा सतहमा बग्दछ, जसले गर्दा खोला र खहरेहरुमा बाढी आउँछ ।

 

यसको कारणबाट खोला तथा खहरेहरुले जमीन तथा खेतवारीहरुको कटान गर्ने, तराईको खेती योग्य जमिन पुर्ने, सिंचाई कुलाहरुलाई प्रभाव पार्ने, विकासका संरचनाहरु विगार्ने, धनजनको क्षति जस्ता दुस्प्रभावहरु देखिइ रहेका छन् ।

 

‘चुरे विनासको असरको नजिता यी गाउँहरुमा पानीको सतह घट्दै गएको बारा जिल्लाको कोल्हवीका बासिन्दाहरु बताउँछन् । पानीको सतह घट्दै जाँदाको प्रत्यक्ष असर माछापोखरीहरुमा पर्न थालेको देखिन्छ । त्यसैगरी बोधवनका कृषकहरु गर्मीयाममा पर्याप्त पानी नहुँदा माछा पालन व्यावसायमा संकट आएको बताउँछन् । ‘पोखरी नजिकै बोरिङ्ग धसाएपनि पानी पर्याप्त आउदैन्’, उनीहरु चिन्तित हुदै प्रतिप्रश्न गर्छन्–‘पानीको स्रोत नै घटेपछि आओस पनि कसरी ?’ खेतीपाती र जनजिविकामा पनि दक्षिणतिर असर पारेको छ ।

 

यसलाई तराई केन्द्रित राजनीतिमा मधेसलाई पछाडि धकेल्ने राज्यको नियतको रुपमा अथ्र्याइन्छ । आज जसरी पहाडैपहाडलाई जोडने लोकमार्गको अपरिहार्यता छ त्यो भन्दा कम हुलाकी राजमार्गको थिएन । सडकले राज्य सत्तामा विभिन्न सामाजिक–आर्थिक वर्गको प्रभाव, पहुँच र समावेशीकरणको अनुपात पनि देखाउने अभिमत राख्दछ । पूर्व–पश्चिम राजमार्गले गर्दा जसरी तराईका उत्तरतिर समृद्धि देखा पर्‍यो, त्यतिकै नै असन्तुलन दक्षिणतिरमा पर्‍यो । अर्थात हुलाकी सडक निर्माण नहुँदा आर्थिक–सामाजिक जीवन नै दक्षिणको मत्थर हुदै गयो । दक्षिणी क्षेत्रमा बेलाबखत चर्किने द्वन्दको एउटा कारण पछौटेपन पनि हो ।

 

सीमावर्ती उत्तर प्रदेश र विहारमा पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग निर्माणको काम धेरै हदसम्म सकिसकेको अवस्था छ । पूर्व–पश्चिम राजमार्ग र छिमेकी राजमार्गको बीचमा एउटा डार्क बेल्ट (अँध्यारो क्षेत्र) सीमान्त गाउँहरु देखा पर्न थालेको अवस्थामा हुलाकी सडक निर्माणको सन्दर्भले यदाकदा आशा देखाउँछ तर यो सडक निर्माण वीरवलको खिचडी भएको छ ।

 

विगतमा पनि विभिन्न दाताहरुको सहयोगमा हुलाकी सडक बनाउने सपना नदेखिएको होइन, तर त्यो व्यवहारमा कुर्दा वर्षौ वितिरहेको छ । यस परिप्रेक्ष्यमा स्थानीय तह निर्वाचन र त्यस उपरान्त हुने प्रदेश र संघको चुनावको बेला हुलाकी राजमार्ग निर्माण वारे एजेन्डा बन्नु पर्छ । नेपाल सरकारले यसलाई प्राथमिकता राख्नु पर्छ । स्थानीय र प्रदेशको राजनीतिक एजेन्डा त्यो बन्नै पर्छ ।

 

क्रमवद्ध रुपमा हुलाकी सडकलाई निर्माण गर्दै जानु पर्दछ । तर अब हुलाकी सडक बनाउदा विगतमा उत्तरी क्षेत्रमा बनाईदाताका भएका त्रुटिहरुलाई सच्याउदै जानुपर्छ । त्यो भनेको यो सडक हरित सडकको सोंच अनुसार बनाईनुपर्छ । हुलाकी सडकका दुईटैतिर वृक्षारोपण गरिनुपर्दछ । नदीहरुमा पुल बनाईदा नदीको बहावलाई दुईटैतिरबाट तटबन्धको राम्रै प्रबन्ध गरिनुपर्छ, नत्र भने बहाव परिवर्तनका कारणले सडक कटानमा पर्न सक्छ ।

 

हुलाकी सडकको निर्माण संगै कृषिको परम्परागत तौरतरिकामा पनि बदलाव आउँछ । बजारलाई केन्द्रित गरी उत्पादनका किसिमहरुको थालनी हुन्छ । उत्पादित सामग्रीको सहज पहुँच बजारसंग हुन्छ । पुराना बजारहरु गुलजार हुदै जान्छन् । दक्षिणका गाउँहरुमा जीवन फर्किन थाल्छ । सडक आफैमा ठूलो सम्भावना लिएर दक्षिणी गाउँघरतिर गुज्रिन थाल्छ । यसले मुलुकका अन्य भागमा पनि आपूर्ति व्यवस्थापनमा टेवा पुर्‍याउँछ । यी सबै पक्ष स्थानीय सरकारको विषय पर्छ । स्थानीय तहमा जनजीविका र जीवन स्तरमा बदलाव ल्याउनमा हुलाकी सडक सहयोगी बन्न सक्छ ।

 

यो भन्दा पनि महत्वपूर्ण हुलाकी सडकले राष्ट्रियतालाई मजबूत बनाउँछ । दक्षिणी क्षेत्रका वासिन्दालाई आफ्नै मुलुकभित्र ओहोरदोहोर गर्न छिमेकी भारतीय राज्यहरु भएर गुज्रिनु पर्दैन । स्थानीय प्रशासनलाई सीमावर्ती क्षेत्रमा राज्यको प्रभाव बढाउन सहज हुन्छ । सीमा व्यवस्थापन कार्य र सीमा निगरानीमा नेपाली पक्षलाई अप्ठ्यारोको सामना गर्नु पदैन । सीमा क्षेत्रमा नियमित प्रशासनीक ओहोरदोहोरले गर्दा सीमापार अपराध नियन्त्रण, अवैध कारोवारमा कमी, सीमा अतिक्रमणमा विराम लाग्न सक्छ ।

 

यो सडक भारतलाई पनि पश्चिमको उत्तराखण्डबाट पूर्वोत्तर राज्यहरुमा जान छोटो मार्गको रुपमा प्रयोजन सिद्ध हुन सक्छ । विश्वको उदाउदो अर्थतन्त्र भएको छिमेकी देश चीन र भारत वीच रहेको कारणबाट नेपालले निकै फाइदा लिन सक्छ ।

 

धेरै अर्थमा हुलाकी सडक ट्रान्जिट रुट सिद्ध हुन सक्छ । त्यसैले यो सडकको महत्वलाई केवल दक्षिणी क्षेत्रका वासिन्दहरुको आवश्यकताको रुपमा नहेरी राष्ट्रको एउटा आवश्यकताका रुपमा हेरी यसको निर्माणका लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय स्रोतहरुको खोजी गर्नुपर्दछ ।

 

त्यसका साथै अहिलेको स्थानीय आवश्यकता, लागत, पूर्वाधार र सम्भावनाहरुलाई दृष्टिगत गरी त्यसको रेखांकन अविलम्ब गरिनुपर्छ र निर्माणको समय सीमा पनि निर्धारण गरिनुपर्छ । फेरि पनि यो सडकको नियति भद्रपुरको मेची पुल जस्तो नहोस वा सधैको राजनीति गर्ने एउटा प्रियतावादी नाराको रुपमा देखा नपरोस ।

 

अर्थात प्रदेश नं. २ का लागि हुलाकी सडक मेरुदण्ड नै हुने भएको हुनाले सबै राजनीतिक शक्तिहरुको साझा सरोकार र प्रतिवद्धता निर्वाचनको बेला मात्र होइन पछि पनि  देखिनु पर्छ ।

 

Comments