MENU
एनआरएनको तहल्का
 : 945 views
  Oct 14, 2017

 

विशेष टिप्पणी

* जब जब एनआरएन अर्थात् गैर आवासीय नेपालीका अधिवेशनको चर्चा चल्छ, तब तब धेरैको मनमा प्रश्न उठ्छ, हो यो के चिज ?

* गैरआवासीय नागरिक नेपालको जनसंख्यामा गणना भएका हुँदैनन् र उनीहरुले राजनीतिक अधिकार उपभोग गर्न पाउँदैनन् । ती नेपालका मतदाता हुँदैनन् र मतदाता हुन् भने गैरआवासीय होइनन् र मानिनु हुँदैन ।

* यता काठमाडौंमा अग्लो पर्खाल लगाएको बडेमानको बंगला छ । तर, बडो गजब छ । त्यसको मालिक आफू गैरआवासीय हुँ भन्छ । आवास छ, तर गैर आवासीय ! अनौठो । नेपालभित्र घर भइ, नेपालकै नागरिकता र राहदानी बोक्छन्, दुई चार वर्ष बाहिर गइ बसेका छन् तर आफूलाई एनआरएन भनेर चिनाउँछन् र चिन्नेहरु पनि त्यसरी नै चिनिदिन्छन् ।

 

* नेपालको नयाँ संविधानले सार्क मुलुकबाहिरका नेपाली जो विदेशी नागरिक भइसकेका छन्, तिनलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

एनआरएनए अर्थात् गैर आवासीय नेपाली संघको आठौं अधिवेशन शनिबार असोज २८ मा प्रारम्भ भएर असोज ३०, २०७४ मा सम्पन्न हुन गइरहेको छ । यसले यस संघको नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

 

तर यो टिप्पणी गैरआवासीय नेपालीका अधिवेशनको समाचार दिन तयार पारिएको होइन । प्रश्न उठाउन लेखिएको हो । किनभने, जब जब एनआरएन अर्थात् गैर आवासीय नेपालीका अधिवेशनको चर्चा चल्छ, तब तब धेरैको मनमा प्रश्न उठ्छ, हो यो के चिज ?

 

नामअनुसार यो नन् रेजिडेन्ट नेपाली अर्थात् गैर आवासीय नेपालीको विश्वव्यापी संस्था हो । ती नेपाली सन्ततिहरु जो कुनै अरु नै देशका नागरिक हुन्, जसको नेपाली नागरिकता छैन, जो नेपालको नागरिकता त्यागेर अरु कुनै देशका भइसकेका छन्, अथवा जसका पुर्खा नै अन्यत्र गइ बसे, तिनका सन्तान नन् रेजिडेन्ट अर्थात् नेपालमा नबस्ने, गैर आवासीय नेपाली हुन् । तर, जसको नेपालमा घरद्वार परिवार छ, नेपालको नागरिकता र राहदानी छ, तिनीहरु नन् रेजिडेन्ट नेपाली होइनन् अर्थात् एनआरएन होइनन् ।

 

यस अर्थमा अरब मुलुकमा काम गर्न गएका नेपाली एनआरएन होइनन् । मलेशिया, कोरिया, जापान काम गर्न जाने जो निश्चित समयमा फर्किने तालिकामा गएका हुन्छन्, तिनीहरु नेपालकै आवासीय नागरिक हुन् । जर्मनी बसुन् कि अमेरिका अथवा विदेशमा कतै काम गर्न गएका र नेपालै फर्किने जोहो गरेर बसेकाहरु ती पनि एनआरएन होइनन् ।

 

यता काठमाडौंमा अग्लो पर्खाल लगाएको बडेमानको बंगला छ । तर, बडो गजब छ । त्यसको मालिक आफू गैरआवासीय हुँ भन्छ । आवास छ, तर गैर आवासीय ! अनौठो । नेपालभित्र घर भइ, नेपालकै नागरिकता र राहदानी बोक्छन्, दुई चार वर्ष बाहिर गइ बसेका छन् तर आफूलाई एनआरएन भनेर चिनाउँछन् र चिन्नेहरु पनि त्यसरी नै चिनिदिन्छन् । निश्चय नै नेपालको नयाँ संविधानले सार्क मुलुकबाहिरका नेपाली जो विदेशी नागरिक भइसकेका छन्, तिनलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

यस्ता गैरआवासीय नागरिक नेपालको जनसंख्यामा गणना भएका हुँदैनन् र उनीहरुले राजनीतिक अधिकार उपभोग गर्न पाउँदैनन् । ती नेपालका मतदाता हुँदैनन् र मतदाता हुन् भने गैरआवासीय होइनन् र मानिनु हुँदैन ।

 

नेपालको संविधानले गैर आवासीय भनेको को हो भन्ने प्रस्ट्याएको छ । यसमा संघले दोहोरो मापदण्ड अपनाउनु हुँदैन । नेपालका आवासीय नागरिकहरुलाई नै सदस्यता दिएर गैरआवासीय नामको तहल्का मच्चाइन्छ भने त्यस्तो कृत्यलाई किमार्थ मान्यता दिइनु हुँदैन ।

 

हुन त एनआरएन वास्तवमा अनुकरण हो, एउटा फेसन हो । यो यथार्थमा भारतीयहरुको अनुकरण हो । भारतीय मूलका कतिपय मानिस पुस्तौंदेखि विदेश बसे, उतै प्रशस्तै धन आर्जन गरे । त्यो धनको केही अंश भारतमा लगानी गर्न चाहे । उनीहरुले लोककल्याणका कामदेखि व्यापार व्यवसायमा केही योगदान होस् भन्ने प्रयोजनले भारतमा आफ्नो धन ल्याउन सरकारसँग सहुलियत मागे ।

 

त्यसै मेसोमा एनआरआइ अर्थात् नन् रेजिडेन्ट इण्डियन अर्थात् गैर आवासीय भारतीयको अवधारणा बन्यो । भारतमा एनआरआइ, विदेशमा स्थायी बसोवास गरेका भारतीय मूलका विदेशी नागरिक हुन् । उनीहरु भारतवंशी भएका कारण, भारतप्रति उनीहरुको प्रेमभावबाट शुरु भएको थियो एनआरआइ ।
निश्चय नै भारतमा पनि एनआरआइको अवधारणामा विकृति नआएको भने छैन । तैपनि, भारतवासी, भारतकै आवासीय नागरिकलाई एनआरआइ भनिएको थाहा छैन । एनआरआइ हुनलाई कम्तीमा पनि, भारतीय नागरिकता त्यागेको र विदेशमा स्थायी बसोवास भएकै हुनुपर्छ ।

 

एनआरआइकै अनुकरण गर्दै एनआरएन बनाइएको भए पनि यसमा अधिकांश नेपालमै स्थायी ठेगाना भएका, नेपाली नागरिकता नत्यागेका, त्यही नागरिकताका आधारमा राहदानी पाएका नै सदस्य छन् । नेपाली मूलका विदेशी नागरिकहरुको संख्या भने औंलामा गन्न सकिन्छ । भन्नुहोस् त कति छन् त्यहाँ अमेरिकी नेपाली अथवा ग्रिन कार्ड भएकाहरु, बेलायती नेपाली कति र कति छन् अष्ट्रेलियन नागरिकता भएका नेपाली सन्तति र त्यस्तै अरु ?

 

निश्चय नै विदेशका भइसकेका नेपाली रक्त सन्ततिहरुले नेपालप्रति आफ्नो सद्भाववश, स्नेहवश यहाँ लोककल्याण र देशको समृद्धिका लागि काम गर्ने अवसर पाउनुपर्छ, विदेशी पूँजी भित्र्याउन नेपालमा लगानी गर्न पाउनुपर्छ । तर एनआरएन नाम राखेर नेपालकै आवासीय नेपाली राहदानी वाहकहरु यसमा सक्रिय छन् भने त्यसमा राज्य खुकुलो होइन, सचेत र सतर्क हुनुपर्छ । किनभने, माथि पनि भनियो, केही समयका लागि कामदारका रुपमा होस् अथवा कुनै लब्धप्रतिष्ठित पदमा विदेशमा आफ्नो सेवा दिन गएका नेपाली राहदानी वाहकहरु नै एनआरएन भएर देखिने प्रथालाई प्रोत्साहित गरिनु हुँदैन र गैरआवासीय भन्दैमा पुल्पुल्याउनु पनि हुँदैन ।

 

 

Comments

NIC Asia