MENU
ओलीको अहंकार
 : 1,566 views
  Nov 13, 2017

 

चुनाव जित्न नै प्रतिस्पर्धा गरिन्छ, तर साथसाथै के पनि ख्याल गर्नुपर्छ भने लोकतन्त्रमा व्यक्तिको आत्मसम्मान र प्रतिष्ठा सर्वोपरि मानिन्छ । ओली पनि यद्यपि बारम्बार आफू लोकतन्त्रप्रति प्रतिबद्ध भएको बताइरहन्छन् तर उनले शायद कतैबाट थाहा पाएका रहेनछन् कि लोकतन्त्र केवल प्रक्रिया होइन शालीन र सभ्य संस्कृति भएको जीवन पद्धति निर्माणको विधि हो ।

 

 

झापा ५ का नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीको नाम, देशभर कमैले सुनेका होलान् । उनी अहिलेका जल्दा बल्दा र चर्चाका शिखर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् । हालै ओलीले उनैलाई कटाक्ष गर्दै अधिकारी आफ्ना प्रतिस्पर्धी नै नभएको व्यंग्य गरे ।

 

निश्चय नै अधिकारी ओलीको टक्करका प्रतिस्पर्धी होइनन् तर प्रतिस्पर्धीचाहिं हुन् । उनको त्यस व्यंग्यले वास्तवमा ओली जति अग्लो व्यक्तित्वका धनी हुन् भन्ने मानिएको थियो त्यस्तो होइन भन्ने देखिएको छ किनभने चुनावमा प्रतिस्पर्धाको तात्पर्य अर्को व्यक्तिको अवमूल्यन गर्ने स्वतन्त्रता किमार्थ होइन । लोकतन्त्रमा आफ्नो प्रतिस्पर्धी नयाँ छ, अनुभवी छैन र उसको व्यक्तित्व प्रस्फुटित भइसकेको छैन भन्दैमा होच्याइहाल्नुपर्छ भन्ने हुँदैन । त्यसै पनि कसैको प्रतिष्ठालाई होच्याउन खोज्नु भनेको आफ्नै अपसंस्कारको परिचय हो ।

 

चुनाव जित्न नै प्रतिस्पर्धा गरिन्छ, तर साथसाथै के पनि ख्याल गर्नुपर्छ भने लोकतन्त्रमा व्यक्तिको आत्मसम्मान र प्रतिष्ठा सर्वोपरि मानिन्छ । ओली पनि यद्यपि बारम्बार आफू लोकतन्त्रप्रति प्रतिबद्ध भएको बताइरहन्छन् तर उनले शायद कतैबाट थाहा पाएका रहेनछन् कि लोकतन्त्र केवल प्रक्रिया होइन शालीन र सभ्य संस्कृति भएको जीवन पद्धति निर्माणको विधि हो ।

 

अचेल राजनीतिक प्रत्याशीले आफ्ना प्रतिस्पर्धी अथवा प्रतिस्पर्धी दलको मनोबल गिराउन कुनै मर्यादाको पालन नगर्नु सामान्य मानिन्छ । त्यतिमात्र होइन, सामाजिक मर्यादामाथि प्रहार गर्न पनि कुनै कसर बाँकी राखिँदैन र यस्ता प्रवृत्तिको अग्रपंक्तिमा प्रमुख नेताहरु नै छन् भने निर्वाचनपछि मुलुकले कस्तो नेतृत्व पाउँछ, अहिले नै अनुमान गर्न सकिन्छ ।

 

ओली एक प्रतिनिधि पात्र हुन् र उनले निर्वाचनमा विजय एवं कम्युनिस्ट गठबन्धनले बहुमत हासिल गरेमा उनी नै प्रधानमन्त्री बन्ने छन् । एउटा ठूलो दलको अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं सम्भावित भावी प्रधानमन्त्रीको बोलिचाली संयमित त हुनुपर्छ नै लोकतन्त्रप्रति प्रतिबद्धता बोलाइमा मात्र नभएर आचरणमा पनि देखिनुपर्छ । तर यको अभाव भने उनीजस्तै अरु नेताहरुमा पनि देखिएको छ ।

 

जल्दोबल्दो उमेरको उच्च शिक्षित युवा, एउटा विश्वविद्यालयको शिक्षकको पेसाबाट राजीनामा दिएर ओलीसँग प्रतिस्पर्धा गर्दैछ भने यो प्रतीकात्मक पनि हो कि यस देशका युवाहरु केवल विदेश हेरिरहेका छैनन्, सार्वजनिक जीवनमा हस्तक्षेप समेत गर्न उत्सुक छन् । यस्तोमा ओलीले आफ्ना प्रतिस्पर्धीले, चुनाव हार्ने निश्चितप्रायः हुँदाहुँदै पनि जोखिम स्वीकारेको विषयको प्रशंसा गर्नु पथ्र्यो, नकि अवमूल्यन ।

 

परिवर्तित नेपालका सामु थुप्रै चुनौति छन् र यसमा प्रमुख चुनौति राजनीति नै हुँदै गएको छ । प्रमुख राजनीतिज्ञहरुमा अरुलाई गन्दै नगन्ने अहंकारले गाँजेको छ, टिकट वितरणदेखि प्रचारको शैलीमा समेत आफ्नो विकल्पहीनता दर्शाउने अहंकारकै प्रदर्शन हुने गरेको छ । नेताहरुबाट आफूमात्र गतिलो अरु सबै तुच्छ हुन् भन्ने भावभाषाको प्रयोग बग्रेल्ती भइरहेको छ । फलस्वरुप, उनीहरुका अनुयायीले पनि त्यस्तै आचरण सिक्ने सम्भावना बढ्दो छ ।

 

यसबाट राजनीतिको गिर्दो साख अरु गिर्ने छ नै, आशलाग्दा मानिस सार्वजनिक जीवनबाट निराश र अलग हुने छन् । ओलीले यसर्थ आफ्ना अभिव्यक्तिमा प्रतिस्पर्धी उम्मेदवार र दलप्रति राजनीतिक मर्यादाभित्र रहेर टिकाटिप्पणी गरे, अरुका लागि पनि मार्गदर्शन हुनेछ, अन्यथा राजनीति भनेको समाजका उच्छृंखल पात्रहरुको खेल हो अरु केही होइन भन्ने संदेश प्रवाहित भइरहने छ । यसको परिणाम भनिरहनै पर्दैन, ओलीले आफैं अनुमान गर्न सक्छन् ।

Comments

NIC Asia