MENU
चिन्तन नभएको साहित्य र विवेक नभएको राजनीतिको के अर्थ ? –ललिजन रावल
 : 476 views
  Feb 08, 2018

 

–ललिजन रावल

नेपाली गजलले ०४० को सेरोफेरोमा पुनर्जारण प्राप्त गरिरहँदा गजलको संरचनात्मक सिद्धान्त र अनुशासनलाई आत्मसात गर्दै पर्फेक्ट गजल लेख्ने गजलकार एउटै थिए र ती हुन्– मनु ब्राजाकी ।

तीस वर्ष अघि २०४४ सालतिर मनु ब्राजाकीसँग मेरो पहिलो भेट भएको हो । ०४२ को अन्त्यतिर मेरो पहिलो गजल सङ्ग्रह प्रकाशन भएपछि मनुले मलाई भेट्न खोजिरहेका छन् भन्ने खबर मैले त्यस बेला कवि विमल निभामार्फत जानकारी पाएको थिएँ ।

 

नयाँ सडकमा कवि निभाको पुस्तक पसल भएकोले कवि–लेखकहरूसँग भेटघाट गर्ने त्यो भरपर्दो स्थल थियो । त्यसै बेला हाम्रो भेटघाट नजुरे पनि त्यसको झण्डै एक वर्षपछि अर्थात् ०४४ सालतिर भएको भेट नै हाम्रो प्रथम भेट थियो । त्यस भेटमा गजलका बारेमा हामीले लामो कुराकानी ग¥यौँ । नेपालीमा गजलकृति प्रकाशित भएकोमा उनी ज्यादै खुसी भएको मैले अनुभव गरेँ ।

 

मनु ब्राजाकीको नेपाली साहित्यमा विशेषतः कथा विधामा निकै ठूलो योगदान छ । आधुनिक नेपाली कथाको विकास क्रममा चुलिएको उनको उचाइ र उनका कथाको शिल्प–सौन्दर्यका साथै विषयको गहिराइलाई नेपाली पाठकले अनन्त कालसम्म स्मरण गरिरहनेछन् । अत्यन्त सरल र सालिन व्यक्तित्वका धनी मनुसँग लामो समयसम्म निकट रहने जुन मौका मैले पाएँ त्यो मेरो साहित्यिक जीवनको ठूलो उपलब्धि हो भन्ने मैले अनुभव गरेको छु ।

 

मनु प्रायः आफ्नो जन्मस्थल औरही, महोत्तरीमा बस्थे र बेला–बेलामा काठमाडौँ आउँथे । महोत्तरीमा बस्दा उनले मलाई दर्जनौँ पत्रहरू पठाएका थिए । आफ्ना पत्रमा एउटा–दुईटा गजल उनी जहिल्यै लेखेर पठाउँथे । नेपाली मात्र होइन, उनले हिन्दीमा पनि कैयौँ गजलहरू मलाई पठाउने गर्थे । ती हिन्दी गजल पढ्दा उनको हिन्दी भाषामा भएको दखल मैले नजिकबाट अनुभव पनि गरेको छु । पछिल्ला दश–बाह्र वर्षमा हाम्रो भेटघाट पातलिए पनि सिर्जनाका दृष्टिले हाम्रो निकटता कायमै थियो । अझ भन्ने हो भने गजलले हामीलाई सधैँ निकट बनाइरह्यो ।

 

नेपाली गजलले ०४० को सेरोफेरोमा पुनर्जारण प्राप्त गरिरहँदा गजलको संरचनात्मक सिद्धान्त र अनुशासनलाई आत्मसात गर्दै पर्फेक्ट गजल लेख्ने गजलकार एउटै थिए र ती हुन् मनु ब्राजाकी । गजलको सौन्दर्य शास्त्रका बारेमा नेपालीमा कुनै भरपर्दो सामग्री नभएको समयमा मधुपर्क र समकालीन नेपाली साहित्यमा प्रकाशित उनका दुई लेख आधिकारिक सामग्रीका रूपमा अङ्कित छन् । २०५१ सालमा प्रकाशित उनको पहिलो गजल सङ्ग्रह गजल गङ्गाको भूमिका पनि त्यत्तिकै उल्लेखनीय छ र त्यसपछि काँडाका फूलहरू र के हेरेको ए जिन्दगी शीर्षकमा उनका दुई गजल सङ्ग्रह प्रकाशित छन् ।

 

नेपाली आधुनिक गजलका अग्रज गजलकार मनु ब्राजाकीले विविध भावभूमिका उत्कृष्ट गजलहरू नेपाली साहित्यलाई दिएका छन् । पे्रम र प्रणयको भावलाई उनी सन्तुलित र श्लील रूपमा यसरी व्यक्त गर्छन् –

 

सुनेकै हो मैले पनि बूढापाकाबाट
मुटुसम्म जाने बाटो हुन्छ आँखाबाट

 

यसरी नै पौराणिक बिम्बहरूको प्रयोग गर्दै उनी वर्तमानका विसङ्गतिप्रति व्यङ्ग्य गर्दै यसो लेख्छन् –

 

अयोध्यामा आजभोलि पाइँदैन काम
सीता पोइल गएपछि खुसी छ यो राम

 

गजलका विभिन्न शेरहरूमा आफ्नो र आफ्ना साथीभाइहरूको नामको प्रयोग गर्दै चमत्कारपूर्ण अभिव्यक्ति कलामा उनी खप्पिस छन् –

 

मेरो बोली सुनेपछि जब तिम्रो मौन बोल्छ
नपग्लिने हिमशिला आगोभन्दा बढी पोल्छ

पेशलीय प्रतिभा चैँ ‘ललिजन’ होला तर
‘ज्ञानुजी’ र ‘मनुजी’को मात पनि अनमोल छ ।

 

गफैगफका क्रममा उनले एक पटक भनेको वाक्य म बेला–बेलामा सम्झिने गर्छु – ‘चिन्तन नभएको साहित्य र विवेक नभएको राजनीतिको कुनै अर्थ छैन ।’ साहित्यिक मात्र होइन उनमा इतिहास, संस्कृति र समाजशास्त्रका बारेमा पनि उत्तिकै ज्ञान र चेत थियो ।

 

अपार बौद्धिकताले सम्पन्न भए पनि उनमा कहिल्यै अहङ्कार र अभिमान देखिएन । अत्यन्त सरल रूपमा जोसुकैसामु प्रस्तुत हुने उनमा गुण थियो । यसैले पनि उनलाई नजिकबाट चिन्ने जोसुकैका लागि उनी सधैँ प्रिय भइरहे ।

 

नेपाली साहित्यका यस्ता विराट र शिखर व्यक्तित्व भौतिक रूपमा अब हाम्रा सामु छैनन् तर उनका मर्मस्पर्शी सिर्जनाले सधैँ–सधैँ उनको सम्झना ताजा गराइरहनेछ र हाम्रा हृदयमा उनी सधैँ जीवित रहनेछन् । वास्तवमा स्रष्टाले मृत्युलाई जितिसकेको हुँदोरहेछ । तर पनि स्रष्टा कहिलेकाहीँ यस्तो भन्न बाध्य हुँदोरहेछ र त मनुले यस्तो भने –

 

कता–कता पुल हालूँ दुई दिनको चोला रै’छ
वारि पनि खोला रै’छ पारि पनि खोला रै’छ ।

 

Comments

Photography