MENU
सम्बृद्धिको थेगो, कनिकुथी अंग्रेजी ! –अश्विनकुमार पुडासैनी
 : 731 views
  Feb 11, 2018

 

 

 

समृद्धिको छलफलमा नेपालको राम्रो पाटो भन्दा बढि नराम्रो कुराको चर्चा भयो । संसारको एक नम्बरको ‘डष्ट पोलुसन’ भएको देश । ‘जलबायु परिवर्तन’को ज्यादै नकारात्मक प्रभाव परेको देश । ‘ट्राफिक जाम’को समस्या भएको देश । ‘समाबेशीता’ नभएको देश । भारत–चीनको बीचमा रहेर पनि ‘प्रगति’ गर्न नसक्ने देश जस्ता नकारात्मक विषयहरुमा पो बहस चम्किएर चल्नथाल्यो ।

 

 

 

गत मंगलबार साँझ होटल हिमालय ललितपुरमा बीबीसी वल्र्ड सर्भिसले “वल्र्ड कोइसन्स” नामक कार्यक्रमको आयोजना ग¥यो । सहभागी अधिकांश युवा–विद्यार्थी थिए । श्रोत व्यक्ति–भूतपूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, राजनीतिक विश्लेषक सिके लाल र डकुमेन्ट्री फिल्म निर्माता सुविना श्रेष्ठ ।

 

बीबीसी वल्र्ड सर्भिसकी कार्यक्रम प्रस्तोताले उत्कृष्ट प्रश्न राख्ने नेपाली युवाहरुलाई प्रत्यक्ष प्रश्न सोध्ने अबसर प्रदान गरेकीले कार्यक्रममा त्यसै रौनक छाएको थियो । तर जब प्रश्नोत्तरको समय शुरु भयो, हलको रौनकता हराउँदै जान थाल्यो । रौनक केबल बाँकि थियो, कार्यक्रम प्रस्तोताको ताली बजाउने संकेतमा सम्पूर्ण सहभागीहरुको गड्गडाहट तालीको ।

 

पंतिकार, बीबीसी वल्र्ड सर्भिसको नियमीत श्रोता समेत रहेकोले यस्ता कार्यक्रमहरुमा आफ्नै भाषामा बोल्नेहरुको कमी हुँदैन भन्ने राम्रै थाहा थियो । तर त्यसदिन भने त्यो हलमा कोहि कसैले नेपाली भाषामा बोलेनन् । कनिकुथी, जबर्जस्ती अंग्रेजी नै बोले । सबैमा कमजोर भए पनि अंग्रेजीमै बोल्नुपर्छ भन्ने देखियो ।

 

राम्रो भन्दा नराम्रोको चर्चा

 

कार्यक्रममा नेपालको राम्रो पाटो भन्दा बढि नराम्रो कुराको चर्चा भयो । संसारको एक नम्बरको ‘डष्ट पोलुसन’ भएको देश । ‘जलबायु परिवर्तन’को ज्यादै नकारात्मक प्रभाव परेको देश । ‘ट्राफिक जाम’को समस्या भएको देश । ‘समाबेशीता’ नभएको देश । भारत–चीनको बीचमा रहेर पनि ‘प्रगति’ गर्न नसक्ने देश जस्ता नकारात्मक विषयहरुमा पो बहस चम्किएर चल्नथाल्यो ।

 

कार्यक्रम नेपालको प्रबद्र्धन गर्ने भन्दा आफ्नो तुष्टि पोख्ने फोरम जस्तो पो बन्यो । श्रोत व्यक्तिहरुले आफ्नै आँङ्गको कन्याएर छारो उडाउने हो कि होईन ? नेपालको प्रबद्र्धन गर्ने खालका प्रस्तुति हुनु पर्छ कि पर्दैन ? त्यो बेग्लै बहस को विषय हो । आगामी आलेखमा चर्चा गरौंला । आज चर्चा गर्न खोजिएको विषय भने समृद्ध नेपाल बनाउन नयाँ सरकारको प्राथमिकता के हुनु पर्छ भन्ने हो ।

 

पूर्व प्रधानमन्त्री, भूतपूर्व कम्युनिष्ट

 

कार्यक्रममा भूतपूर्व प्रधानमन्त्री डा.बाबुराम भटराईले आफु कम्युनिष्ट नभएर भूतपूर्व कम्युनिष्ट भएको खुलाशा गर्दै भने, आई एम नट अ कम्युनिष्ट नाउ, आई एम अ फर्मर कम्युनिष्ट । उनले यसो भनि रहँदा हलमा पछिल्लो हारमा पंतिmकारसँगै बसेका अंग्रजी भाषाका प्राध्यापक प्रकाश पौडेलले व्यङ्ग गरे “हि ईज नाईदर कम्युनिष्ट इन द पाष्ट, नर टु डे ।” उनले त आफूलाई हिजोको कम्युनिष्ट नामको ब्राण्ड एम्बेसडर देखाउन मात्र खोजेका हुन् ।

 

भट्टराईको आचरण र व्यवहार कहिल्यै कम्युनिष्ट नरहेको दाबी गर्दै प्राध्यापक पौडेलले भने, उनी हिजो कम्युनिष्ट नामको पार्टीको नेता रहेकाले आफूलाई भूतपूर्व भनेका हुन् । नेपालमा कोहि पनि कम्युनिष्ट न रहेको, न भएको मलाई लाग्छ । यहाँ केबल बामपन्थी मात्रै थिए, छन् र रहने छन् है । अहिलेका कम्युनिष्ट नामका सबै पार्टिहरु लोकतान्त्रिक बामपन्थी हुन् । त्यसैले यिनलाई प्रगतिशील लोकतन्त्रबादी भन्यो भने ठिक होला, प्राध्यापक पौडेलको दावी यही थियो ।

 

सम्बृद्ध नेपालको कुरा

 

हिजोआज हुने फोरमहरुका बहस, गोष्ठि, सेमिनार, कार्यशाला वा सामाजीक जमघटहरुमा समेत सम्बृद्ध नेपालको एउटा आइटम हुन्छ । बीबीसकी कार्यक्रमका श्रोत व्यक्तिहरुले पनि नेपालको सम्बृद्धिका कुरा बारम्बार दोहो¥याउने प्रयत्न गरे । अबको सरकारको प्राथमिकता के के हुनु पर्छ भन्नेमा आफ्ना राय पनि दिए तर सम्बृद्धि के हो ? कसको सम्बृद्धि ? कस्तो सम्बृद्धि ? भन्नेमा न श्रोतव्यक्तिहरुको प्रस्तुतिमा एकरुपता पाईयो न त स्पष्टता नै ।

 

देशका चुनिएका व्यक्तिहरुमा समेत अलमल र अस्पष्टता रहेकोले सम्बृद्धिको विषय र प्राथमिकताका क्षेत्रहरुलाई सबैको साझा बुझाईमा ल्याउन लेखक, स्तम्भकार र पत्रकारहरुले निरन्तर बहसमा ल्याउनु पर्ने माग प्राध्यापक पौडेलको छ । भन्छन्, सम्बृद्धि सबैको थेगो बनेको छ । जुनसुकै विषयमा कुराकानी भयो कि सम्बृद्धि र सम्बृद्ध नेपालको कुरो आइहाल्छ ।

 

हिजोआज समृद्धि ठ्याक्कै त्यस्तै भएको छ, संबिधान भन्दा पहिले शान्ति चाहियो । शान्ति चाहियो । शान्ति चाहियो । ०७३मा संविधान बनेपछि भन्न थालिएको छ, यत्र–तत्र–सर्बत्र सम्बृद्धि । सम्बृद्धि र सम्बृद्धि ।

 

के हो सम्बृद्धि ?

 

पूर्वीय मान्यता अनुसार व्यक्ति, परिवार, समुह, समाज र राष्ट्रमा आबश्यक सम्पूर्ण कुरा पर्याप्त मात्रामा हुनु र अरुका लागि पनि दिन सक्ने अबस्था रहनु हो । यसको अर्थ मानिसका लागि उपलब्ध हुनुपर्ने कुराहरुको अभावरहित अबस्था हो । शारीरिक तथा मानसिक, भौतिक एवं आर्थिक, चेतना एवं मानवीय संवेदनाका पक्षहरुमा समेत पूर्णता प्राप्तिको अबस्था हो । अभाव र दरिद्रता नहुनु नै सम्बृद्धिको लक्षण हो ।

 

ऐश्वर्य । भरिपूर्ण । मनका इच्छा र आबश्यकता पूरा गर्न सकिने अबस्था नै समृद्धिको मानक हो । देख्न सकिने । छुन सकिने । अरुमा हस्तान्तरण गर्न वा सार्न सकिने अबस्था । मानसिक एवं आध्यात्मिक किसिमले अनुभूति गर्न सकिने अबस्थालाई नै सम्बृद्धि भनि व्याख्या गरिएको पाईन्छ ।

 

नेपाली बृहद शब्द कोश अनुसार सम्बृद्ध शब्दको अर्थ हुन्छ, “धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको । उन्नतिशील, उन्नत र सम्मृद्धि भाव वा अबस्था, सम्पन्नता । उन्नति, अभ्युदय, बढि बढाउ । चाहिँदो मात्रामा धन सम्पत्ति भएको । विद्या सम्पन्न ।

 

अंग्रेजी शब्दकोश अनुसार प्रोस्पेरिटी भनेको सौभाग्यशाली, धन्य, आर्थिक सम्पन्नता र शारीरिक स्वस्थता भनि परिभाषित गरिएको पाईन्छ । ईस्वरीय बरदान प्राप्तिको अबस्था पनि भनिएको छ ।

 

विश्व बैंक र यूएनडिपि

 

अन्तराष्ट्रिय मुद्राकोष, आईएमएफ र विश्व बैंकको परिसूचक अनुसार बार्षिक प्रतिव्यक्ति अमेरीकी डलर १२,२३६ आय भएको देश सम्बृद्ध देशको सूचिमा पर्दछ । नेपालको प्रतिव्यक्ति आय अमेरीकी डलर ७५८ रहेको अबस्थामा नेपालले कम्तीमा १८ गुणा आय गरेमा मात्र विश्व बैंकको मापदण्ड अनुसारको सम्बृद्धि लक्ष हासिल गर्न सक्दछ ।

 

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम युयनडिपिले प्रत्येक बर्ष मानव विकास सुचकांक अध्ययन गरी नतिजा सार्वजनिक गर्दछ । जस अनुसार क्रयशक्ति, आर्थिक विकास, बाल मृत्युदर, शिक्षा, औसत आयु र स्वास्थ्यलाई मापनको मूल आधार बनाएको छ । पछिल्ला बर्षहरुमा सम्बृद्धि मापन जस्तै लाग्ने खुशीको सूचकांक ‘ह्याप्पीनेस इण्डेक्स’ तयार गर्न थालिएको छ ।

 

नेपाल ८९औं स्थानमा

 

बेलायतमा सन् २००७मा स्थापना भई संसारका विभिन्न मुलुकहरुको सम्बृद्धि मापन गर्ने संस्था लेगाटमले प्रत्येक बर्ष संसारका विभिन्न मुलुकहरुको सम्बृद्धि मापन गर्ने आधार बनाएको छ । सन् २०१७ मा १४८ देशहरुको सम्बृद्धि मापनका नौ वटा आधारहरु तय गरेको छ ।

 

पहिलोः आर्थिक गुणस्तर । दोस्रोः व्यवशायिक बातावरण अर्थात उद्यमशीलता । तेस्रो ः सुशासन । चौथो ः स्वास्थ । पाँचौंं ःशिक्षा । छैठौं ः राष्ट्रिय सुरक्षा र आन्तरिक शान्ति एवं सुरक्षित बाताबरण । सातौं ः व्यक्तिगत स्वतन्त्रता, सम्पत्ति आर्जन, उपभोग र हस्तान्तरण गर्ने अधिकारको सुनिश्चितता । आठौं ः समाजिक पूँजी एवं नागरिक सहभागिता र नबौ ः प्राकृतिक बातावरण अर्थात वातावरणीय सन्तुलय ।

 

यिनै बुँदाका आधारमा नतिजा समेत सार्बजनिक गरिएको छ । यसैलाई ‘लेगाटम प्रोस्पेरीटि इण्डेक्स’ भनिन्छ । यसका आधारमा उच्चतम सम्बृद्धि हासिल गरेका दश देशहरुमा पहिलोः नर्वे, दोश्रोः न्युजिल्यैण्ड, तेश्रोः फिण्डलैण्ड, चौथोः स्वीजरल्यैण्ड, पाँचौः स्वीडेन, छैटौंः नेदरल्याण्ड, आठौंः क्यानडा, नवौंः अष्ट्रेलिया र दशौंः बेलायत रहेका छन् । अन्य देशहरुमा अमेरीका १८औं, चीन ९०औं, भारत १००औं र नेपाल ८९औं स्थानमा रहेका छन् । सम्बृद्धि सूचकांकको नतिजा प्रोस्पेरिटि डटकममा समेत हेर्न सकिन्छ ।

 

जनजिब्रोमा सम्बृद्धि

 

हाम्रो समाजमा सम्बृद्धिलाई सम्पन्नता पनि भनिन्छ । नेपाली जनजिब्रोमा रहेको सम्बृद्धि वा सम्पन्नतालाई सफा एवं स्वस्थ परिकार पेटभरी खान पाईयोस् । विरामीमा उपचार गर्न पाईयोस् । शिक्षामा संसारका कुरा बुझ्न पाईयोस् । आर्थिक अभाव नहोस् । दरिद्रता देख्न नपरोस् ।

 

आवश्यक कुरा किन्न सकियोस् । परिआए खर्च गर्न सकियोस् । अरुलाई पनि दिन सकियोस् । घर परिवारमा सबै हासीखुशी होस् । परिवार र समाजका बीच सौहार्द्रता होस् । समाजमा सबैको इज्जत प्रतिष्ठा होस् । यत्ति भए सम्बृद्धि वा सम्पन्नता भएको भनि भन्ने गरिन्छ ।

 

सम्बृद्धिको चर्चा गर्दै राजनीतिशास्त्रका एक प्राध्यापकले भने “राष्ट्रियताको जागरण भएको । राज– नेताले नेतृत्व गरेको सरकार भएको । आर्थिक एवं उद्यमशीलताको जागरण भएको । आर्थिक क्रियाकलापमा संलग्न जनता । सन्तुलित विकास । दोषि दण्ड र असल गर्नेलाई न्याय । राजनीतिक स्थीरता । राष्ट्रिय हित र जनहितको विचार प्रवाह गर्ने सकारात्मक सोच र व्यवहार भएको राजनीतिक नेतृत्व भएको अबस्था कायम भएको देशलाई मात्र सम्बृद्ध राष्ट्र भन्न सकिने ठम्याई रहेको व्यक्त गरे ती प्राध्यापकले ।

 

श्रृजनशील उद्यमीको दृष्टि

 

श्रृजनशील पर्यटन व्यवशायी ज्योति अधिकारी सम्बृद्धिको बारेमा भन्छन्, पहिलो कुरा त हामी नेपालीहरुमा काम गर्ने संस्कार र सीपको जागरण ल्याउनुपर्छ । त्यसपछि कसको विकास ? किन विकास र कस्तो विकास ? भन्ने बारेमा पनि स्पष्ट हुनुपर्छ ।

 

अघिल्लो पुस्ता असन्तुष्टिको थुप्रो मात्रै हो । कुनै न कुनै रुपमा समाज र राज्यबाट मात्रै पालिएकाहरुले सम्बृद्धिको कुरा गर्न सक्दैनन् । सम्बृद्धिको कुरा गर्नेले पहिले आफ्नै कार्यक्षेत्रको, आफ्नै ठाउँको वा गाउँको विकासबाट सम्बृद्धिको थालनी गर्नु पर्छ ।

 

काठमाण्डौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले गरेर देखाएको धुलिखेल अस्पताल, डा.भगवान कोइरालाले गंगालालमा गरेर देखाए पौरख, कुलमान घिसिङ्गले विद्युतमा प्रमाणीत गरेको क्षमता । मीनबहादुर गुरुङ्गले भाटभटेनी चलाएर देखाएको व्यवस्थापन । यिनीहरु नै हुन्, हाम्रा कामगर्ने बहादुरहरु !

 

अब बाबुरामले आफ्नो गाउँमा के गरे त्यो हेरौं । विकास हेर्न बाबुरामको गाउँ जाँउ भन्न सक्ने काम गरे ? ज्योतिले प्रश्न गरे ?

 

हिजो भत्काउने । असन्तुष्टि देखाउने । खोट लाउने समय थियो । अहिले त्यस्तो अवस्था छैन । हिजो नेवारी भाषामा पढ्न पाउँनुपर्छ भनेर आन्दोलन गर्ने पद्यरत्न तुलाधरले आफ्ना सन्तानलाई नेवारी भाषामा पढाए त ? यी सबै सस्तो लोकप्रियताका लागि गरिने कुरा भए ।

 

अब त गर्ने हो । आफ्नो घर कस्तो बनाएको छ ? गाउँ कस्तो बनाएको छ ? अबका मुख्यमन्त्री र प्रदेशका मानिस त्यही बसेर गरेर देखाउन सक्नुपर्छ । जस्ले क्षमता प्रदर्शन गर्नु छ, त्यहीं गरेर देखाउ ।

 

ज्योतिले भने, मैले नेताहरुलाई गर्ने प्रश्न र दिने सुझाव यिनै हुन् । अब तपाई लेखक, पत्रकार र बुद्धिजीवीहरु पनि प्रश्न गर्नुहोस् । यस्ता विषयमा लेख लेख्नुहोस् । बहस चलाउनुहोस् । सफलताका कथाहरु लेख्नु होस् । नमूना कामको बारेमा जानकारी गराउँने अभियान नै चलाउनुहोस् । ‘अनसीन हिरो’ हरुको सफलताका कथा खोज्नुस् अनि आउँछ सम्बृद्धि । भाषणले होईन, कामले मात्र आउँछ सम्बृद्धि, उनले जोडदार ढंगल बताए !

 

सम्बृद्धिका प्राथमिक चरण

 

नेपाल र नेपालीको सम्बृद्धिको प्राथमिकता के हुन् ? ज्योति अधिकारीले फटाफट भने–
पहिलोः अधिकांश नेपालीको क्षमता विकासमा जागरण ल्याउनु पर्छ । किला ठोक्ने । ट्वाईलेट सफागर्ने । कपडा सफा सुग्घर बनाउने र अनि मात्र लगाउने । आफ्नो ओछ्यान, भान्छा, शौचालय र घर–आगँगन चिटिक्क पार्ने । पुरुष–महिला दुबैले काम गर्ने अभियान ल्याउनु पर्छ ।

 

देशभर सानासाना सीप सिक्ने जागरण ल्याउनुपर्छ । ड्राइभिङ्ग, प्लम्बिङ्ग, विरुवा उमार्ने, कलमी गर्ने र सार्ने, सिकर्मी–डकर्मी, पेन्टीङ्ग, पर्खाल लगाउने मान्छेको अभाव छ नेपालमा । सबै बाहिरी मान्छेले त्यस्तो काम गरिरहेका छन् । हाम्राहरु भने ढुङ्गाफोर्ने । बोक्ने । खन्ने काम मात्रै गर्छन जसको लागि मुढेबल भए पुग्छ, कुनै सिप चाहिन्न । त्यसैले देशव्यापी यी सिप सिप सिकाउनु पर्छ भन्ने जागरण अहिलेको जरुरी आवश्यकता नै हो । यसलाई ल्याऔं ।

 

बोट–विरुवा कसरी रोप्ने ? कसरी काँटछाट गर्ने ? कसरी कति व्यवशायिक खेतीको उत्पादन गर्ने र त्यसको विक्रीवितरण गर्ने ? यो अभियान ७५३ वटै स्थानीय निकायबाट शुरु गर्नु पर्छ । अहिल्यै । तब मात्र शुरु हुन्छ सम्बृद्ध नेपालको वास्तविक यात्रा । कक्षा ८ देखि नै विद्यार्थीहरुलाई सिकाउनु पर्छ यस्ता सिप ।

 

दोश्रोः कुन ठाउँमा के को विकास गर्ने हो ? प्राथमिकता र स्पष्ट वर्गीकरण गर्नु पर्छ । भनौ न, त्रिशुली उपत्यकामा केको विकास गर्ने हो ? अरुण उपत्याकामा के गर्ने हो ? दाङ्गको प्राथमिकता कहाँ पुग्यो ? पाँचथरमा के उब्जाउने हो ? रौतहटले के देखाउने हो ? तनहुँमा के भित्राउने हो ? ७५३कै बर्गीकरण र प्राथमिकता तोक्नु पर्छ ।

 

तेश्रोः अब कुन क्षेत्रमा, कुन भूगोलमा कस्तो पुर्वाधार हामीलाई चाहिन्छ ? सोहि अनुसारको भौतिक पुर्वाधार तयार गर्ने हो । सडक, विजुली, टेलिफोन, विद्यालय, खानेपानी, स्वास्थ्यसेवा, सुरक्षा आदिको व्यवस्था गर्ने हो । प्राथमिकताका आधारमा सडक, हवाई तथा रेल सञ्जालको विकास गर्ने हो । पहिलो काम नै प्राथमिकता निर्धारण र सोहि बमोजिमको पुर्वाधार बनाउने हो ।

 

चौथौः शिक्षामा व्यापक सुधार सहित सबैबालबालिकालाई अनिबार्य रुपमा एउटै गुणस्तरको विद्यालय शिक्षा दिनुपर्छ । सबै बालबालिका एकै हुन् सबैले समान गुणस्तरको विद्यालयस्तरको शिक्षा पाएनन् भने यसबाट प्रमाणीत हुन्छ–यस्तै ताल हो भने, नेपालले सम्बृद्धि हासिल गर्न दिन सकेन ।

 

विद्यालयपश्चात सिप सिकेर जीवनयापन गर्नसक्ने शिक्षाको अबसर दिनुपर्छ तबमात्र हामी धनी देशको लागि चौकीदार, पाले वा डट्रि, ड्यान्जर र डिफिडको काम गर्नै विदेश म्यानपावर सप्लाई गर्ने झण्झटबाट मुक्त हुन्छौं ।

 

पाँचौः सामाजिक सुरक्षा हो । हामीले स्वास्थ्यलाई पनि सामाजिक सुरक्षाको रुपमा राख्नुपर्छ । अत्यधिक परिश्रम गर्ने कार्यसँस्कृतिको विकास गरे पछि सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ सेवा उपलब्ध गराउनु पर्छ । म समाजमा सुरक्षीत छु भोलिको चिन्ता छैन भने मात्रै मान्छेले अत्याधिक श्रृजनशिलता र सिपको उपयोग गर्दछ । यस्तो विकास सम्भब हुँदैन, जहाँ सबै भविश्य अनिश्चित र त्रासदी होस् ।

 

छैटौं ः स्वरोजगारका अबसरहरु । यो चाहिँ उचित कार्य संस्कृति, जागरण, प्राथमिकताको निर्धारण, आबश्यक भौतिक पुर्वाधारहरुको निर्माण पश्चात स्वतहः आउने कुराहो । त्रिशुली भ्यालीलाई हरियाली बस्तीमा रुपान्तरण गर्ने । राजधानीबाट चार पाँच वटा यातायातको व्यवस्थापन गर्ने र हरियाली बस्ती बनाउँने भन्ने सरकारले निर्णय ग¥यो भने स्वतहः त्यसको लागि रोजगारीका अबसरहरु आउँछन् ।

 

व्यक्तिगतरुपमा त्यस विषयमा कामगर्ने उद्यमीहरु विदेश छोडेर स्वदेश फर्कन्छन् । त्यमिमात्र होईन । विदेशीहरु समेत रोजगारीको लागि नेपाल आउँने दिन त्यति टाढा हुँदैन । कतिपयलाई भ्रम छ । सरकारले रोजगारी दिने हो । त्यो होईन । सरकारले त रुल अफ ल, शान्ति सुरक्षा, आबश्यक प्राथमिकताका क्षेत्रहरु र भौतिक पुर्वाधार दिने हो । रोजगारी त कति हुन्छ र पाँच प्रतिशत होला । अत्याधिक हुँदा सात वा आठ प्रतिशत बाँकी नब्बे प्रतिशत जनता स्व रोजगारमा लाग्ने नै हो ।

 

पर्यटन आफैं विकास

 

पर्यटन व्यवसायी ज्योति अधिकारी आफुले पर्यटन व्यवसायमा खर्चेको पच्चिस बर्षे अनुभव सुनाउन थाल्छन् । नेपालको भुगोल नै यस्तो छ कि यहाँ आबश्यक कुरा आफै प्राकृतिक रुपमा बनेको छ । पर्यटन विकासको नाममा बनेका संरचनाले गर्ने खर्चले तात्विक फरक पार्दैन ।

 

हिजो स्वयंभु , पशुपति वौद्धनाथ बनाउनेले के सोचेका थिए होलान् ? त्यतिखेर योजना आयोग पनि थिएन । विश्व विद्यालयपनि थिएनन् । ईन्जीनियर आर्किटेक्चर पनि त थिएनन् । तर बने । अहिले हामीले त्यस्तो के गर्न सकेका छौं त ? यहि उदाहरण हेरे काफी हुन्छ । सम्बृद्धि सपनाले आउने हो । सपना अनुसार काम गर्ने हो । केही दर्शन र विज्ञता चाहिन्न । एस्एलसी पास नभएकाले पनि ल्याउन सक्छ सम्बृद्धि । त्यसको लागि चाहिन्छ केबल सपना र, निरन्तरको क्रियाशीलता ।

 

सुशासन र सम्बृद्धि

 

शिक्षा, स्वास्थ, भौतिक पुर्वाधार, व्यावसायीक कृषी, उद्यमशीलता, श्रोत परिचालन जेसुकै भने पनि सबै तहमा सुशासन, शान्ति सुव्यवस्था विना सम्बृद्धि सम्भब नै छैन । डन, अपराधी, तस्कर, माफिया, विचौलिया र भ्रष्टाचार मुक्त समाजमा मात्रै सम्बृद्धि सम्भब छ । नत्र सम्बृद्धि थेगोमात्रै बन्छ । कागजका ठेली प्रबचनका सिरिजहरु थपिँदै जान्छन् ।

 

व्यक्तिगत सम्बृद्धि खोज्नेहरु हिजो पनि ठाउँ सरेका छन् । आज पनि तिनीहरु अबसरको खोजीमा छन् । भोलि जहाँ पनि जान सक्छन् । यही सम्बृद्धि ल्याउने भनेको शासन गर्नेहरुले हो । सपना देख्नेले हो । योजना बनाउनेले हो । विज्ञताको उपयोग गर्ने जनताका प्रतिनिधिहरुले नै हो ।

 

Comments

Competition middle banner