MENU
माओवादी विद्रोहले नेपालमा के गर्यो ? – भीम भुर्तेल
 : 740 views
  Feb 13, 2018

माओवादी विद्रोहको  वार्षिकी 

इतिहासको त्रासदी र भद्धा मजाक !

‘इतिहास आफै दोहोरिन्छ, पहिलो त्रासदीको रुपमा र दोस्रो भद्धा मजाकको रुपमा’ कार्ल मार्क्सको यो प्रशिद्ध उक्ति अहिले नेपालमा आफूलाई उनको सवैभन्दा पछिल्ला र सच्चा अनुयायी दावी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डमा ठ्याक्कै लागु भएको छ । इतिहास कसरी भद्धा मजाक भएर दोहोरिन्छ भन्ने प्रत्येक नेपाली प्रत्यक्ष अनुभूत गरिरहेका छन् ।

 

कार्ल मार्क्सको एउटा सानो तर राजनीतिबारे बेजोड पुस्तक छ, ‘एइट्टिन ब्रुमेयर अफ लुई बोनापार्ट’ । वास्तबमा यो आफै पुस्तक थिएन । उनका अमेरिकी मित्र जोसेफ वेडमेयरले न्युर्यार्कबाट एक ‘पोलिटकल विक्ली’ प्रकाशन गर्ने योजना बनाएका थिए । त्यस साप्ताहिकको लागि मार्क्ससंग फ्रान्सको तत्कालिन राजनीतिक घटनाबारे लेख्न अनुरोध गरेका थिए । पछि जोसेफले आफ्नो पहिलाको इरादा परिवर्तन गरे । र, पछि ‘डाइ रिभोल्युसन’ नामको मासिक प्रकाशन गरे ।

 

 

मार्क्सले जोसेफको पत्रिकामा ‘एइट्टिन ब्रुमेयर अफ लुई बोनापार्ट’ शीर्षकमा तत्कालिन फ्रान्सेली क्रान्तिको बिषयमा टिप्पणी गर्दै लेख्ने वचन दिएका थिए । तर, पहिलो अंकमा मार्क्सले लेख लेखेपछि जोसेफको देहान्त भयो । यो पुस्तक त्यहि पहिलो ‘डाइ रिभोल्युसन’मा छापिएको लेख र त्यसको लागि लेखिएका तर प्रकाशित नभएका डिसेम्वर १८५१ देखि मार्च १८५२ सम्म लेखेका लेखहरु संग्रह गरेर पछि प्रकाशन गरेका हुन् ।

 

 

मार्क्सले उक्त पुस्तकको भूमिकामा सो पुस्तक लेख्नुको उद्धेश्य “कसरी फ्रान्सको बर्ग संघर्षमा हास्यास्पद छिपछिपे (ग्रोस्टेक  मिडियोकोर)हरुले फ्रान्सको राजनीतिमा नायकको भूमिका खेल्ने अवस्था र सम्वन्ध स्थापना गर्ने परिस्थिति निर्माण गरे भन्ने प्रकाश पार्नु हो” भनेका छन् ।

 

 

त्यस पुस्तकमा उल्लेख गरिएको फ्रान्सको सर्वहारा क्रान्ति, संविधानसभा र गणतन्त्रका बिषयमा टिप्पणी गर्ने उद्धेश्य आज गर्न लागिएको होइन । उक्त पुस्तकको लामो सन्दर्भ लिएर यहाँ टिप्पणी गर्न खोजेको बिषय चाँहि नेपालको माओवादी विद्रोहले कसरी नेपाली समाजमा तत्कालिन फ्रान्सको जस्तै अवस्था सिर्जना गर्यो भन्ने टिप्पणी गर्नको लागि मात्रै हो ।

 

 

विक्रम संबत २०५२ सालको फाल्गुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोह गरेको दिन हो । आज यसको २३ बर्ष लागेको छ । माओवादीले ४० बुँदे माग राखेर शुुरु गरेको सशस्त्र विद्रोह ४० बुँदे मागमाथि टेकेर भएको विद्रोह थियो । त्यसैको कारण नेपालमा राजतन्त्र समाप्त भइ देश गणतन्त्र बन्यो ।

 

 

“इतिहास आफै दोहोरिन्छ, पहिलो त्रासदीको रुपमा र दोस्रो भद्धा मजाकको रुपमा” कार्ल मार्क्सको प्रशिद्ध उक्ति अहिले नेपालमा आफूलाई उनको सवैभन्दा पछिल्ला र सच्चा अनुयायी दावी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डमा ठ्याक्कै लागु भएको छ । इतिहास कसरी भद्धा मजाक भएर दोहोरिन्छ भन्ने प्रत्येक नेपाली प्रत्यक्ष अनुभूत गरिरहेका छन् ।

 

 

नेकपा माओवादीले सशस्त्र विद्रोह गर्दा तत्कालिन संसदीय व्यवस्थाका सवै विकृति र विसंगतिलाई राजनीतिक मुद्धा बनाएका थिए । राजनीतिमा तमाम विकृति र विसंगती भित्रिएको भन्ने उनको आरोप थियो । प्राडो पजेरो, पुरुष सांसदले सुत्केरीको औषधी खाएको विल पेश गरेको, सांसद अपहरण र किनबेच, ठुलठुला भ्रष्टाचार काण्डले संसदीय प्रजातन्त्र नै बदनाम थियो । ‘बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने’ संसदीय व्यवस्थाले नेपाली समाजका अन्तर्विरोधको हल गर्न सक्दैन भन्दै प्रचण्डले हिंसात्मक बाटो समाएका थिए ।

 

 

०५२ साल यता, बाग्मतीमा धेरै ढल बगिसकेको छ । ‘टुइनअटर’ विमान चलाउँन मैलै जानेको छैन, मैलै उडाउने जानेको त ‘जम्बोजेट’ नै हो भन्दै २०५२ सालमा ४८ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए, प्रधानमन्त्री शेरबहादुर देउवाले । त्यसबेला गरिब र सानो देशमा ठुलो मन्त्रीमण्डल आर्थिक बोझ र भ्रष्टाचारको श्रोत भन्दै विद्रोह गर्ने प्रचण्डको पार्टी उनै देउवाको ६० सदस्यीय मन्त्री मण्डलको सरकारमा सामेल भए ।

 

 

मन्त्री मण्डलको संख्या त सांकेतिक उदाहरण मात्र हो । संसदीय पद्धतिका सवै विकृति दोहो¥याउने मात्र होइन, विकृतिको गणतान्त्रिक रेकर्ड कायम गराउने यो सरकार निर्माणको एक प्रमुख किरदारको भूमिका प्रचण्डले नै निर्वाह गरेका थिए । यस्तै कारणले नेपालको राजनीतिक इतिहासमा १० बर्ष जनयुद्ध त्रासदीको रुपमा आयो देशमा र यसको अन्त्य भद्धा मजाकको रुपमा भयो ।

 

 

त्यसैगरी जुनयुद्ध शुरु भएको करिब १५ बर्षपछि समय यस्तो आयो कि पढाइमा सधै प्रथम हुने भनिएका र आफूले आफैलाई सवैभन्दा सदाचारी प्रचार गराइएका तत्कालिन माओवादी नेता बाबुराम भट्टराईले २०६८ सालमा ४९ सदस्यीय मन्त्रीमण्डल गठन गरेर देउवाको रेर्कडलाई उछिने ।

 

 

नेपालमा सवैभन्दा धेरै भ्रष्ट सरकार उनकै पालाको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले ‘करप्सन पर्सेप्सन इन्डेक्स’ प्रकाशन भएयता सवैभन्दा धेरै भ्रष्टाचार उनको पालामा थियो । त्यतीबेला नेपालको स्थान सन २०११ मा १८३ देशहरुमा १५४ औ र २०१२ मा १७६ देशहरुमा १३९ औ थियो ।

 

 

आलिमूनि हस्तक्षेप रोक्न ४० बुँदेमा माग राख्ने प्रचण्ड त्यसको करिब २० बर्ष पछि त्यहि महान पार्टीको महान नेता प्रचण्डले आफैले आलीमूनिको निर्देशनमा ४६ सदस्यीय मन्त्रीमण्डल बनाएर नेपालको तेस्रो ठूलो मन्त्रीमण्डल भएको सरकारको रेकर्ड बनाएका थिए ।

 

 

२०५२ सालपछि नेपाली राजनीतिमा जे जस्ता विकृति र विसंगति देखिए, २०६५ सालपछिको कालखण्डमा त्यो भन्दा धेरै विसंगति थपिएका छन् । अहिले उनै शेरबहादुर देउवासंग मिलेर २०५२ सालको आसपासमा भन्दा धेरै ठूला दुष्कर्महरु भैरहेका छन् । यो नेपाली राजनीतिको सवैभन्दा ठुलो मजाक होइन र ?

 

 

त्यति मात्र होइन, देशमा पछिल्लो समयमा सवैभन्दा ठूला घोटाला भएका छन् । एनसेल लाभ प्रकरण, आयल निगमको जग्गा प्रकरण, कर फच्र्यौट प्रकरण, न्यायालयको घुष प्रकरण आदि यसका केहि नाम मात्र हुन । तमाम घटनाले राजनीति अझ धेरै विकृत र विसंगत बन्दै गैरहेको पुष्टि गर्छन् ।

 

 

क्रान्तिकारीहरु कसरी समाज परिवर्तन गर्ने भनेर समाजभन्दा पहिला आफै परिवर्तन हुँदा रहेछन् ? समाज बदल्नु छ भने पहिला आफै बदलिनु पर्छ भन्ने आत्मज्ञान भएर त होइन ?मार्क्सले आफै धेरै पटक उद्धरण गरेको हेनरिक हेइनको भनाई प्रचण्डले संविधान निर्माणको क्रममा संविधानसभामा नै गलत उद्धरण गर्दै भनेका थिए “ड्रयागनको दारा रोपेर उपियाँ फलाए” (आइ ह्याभ सोअन दि ड्रयागन टिथ एण्ड हारभेष्टेड फिलिज’) ।

 

 

माओवादी जनयुद्धले सिर्जना गरेको अवस्था भनेको हास्यास्पद मिडियोकोरले समाजमा हिरोको भूमिकामा रोल गर्ने वाताबरण सिर्जना गरयो  ।

 

 

केहि प्रतिनिधिमूलक उदाहरण हेरौ –राष्ट्रपति बन्ने दिनसम्म राजावादी रहेका रामबरण यादव देशको पहिलो राष्ट्रपति नैं बन्न पुगे । सवै गणतन्त्र विरोधीहरु नै उनका सल्लाहकार भए ।

 

 

रुकमाङ्गद कटवाल जस्तो हास्यास्पद मिडियोकोरले देशमा लोकतन्त्र जोगाउने महान हिरोको भूमिका खेलेको दावी गर्ने मौका पाए  । अहिले पनि उनका मिडियोकोर पुस्तकबारे समाजमा बेलाबेलामा चर्चा हुन्छ ।

 

 

अर्को मिडियोकोर भएर नेपाली समाजमा हिरोको भूमिका खेल्ने मौका पाएको व्यक्ति डा बाबुराम भट्टराई हुन् । उनी अन्य बिषयमा त कुरा छोडौ, आफ्नै बिषयमा मिडियोकोर रहेको पुष्टी हुन्छ ।

 

 

उनले आफ्नो पार्टी नयाँ शक्तिको निर्वाचन घोषणापत्रमा “उच्च लगानी र त्यसको निरन्तरताबाट मात्र माथि उल्लेखित लक्ष्यहरू हासिल गर्न सकिन्छ । यसका लागि सरकारी तथा निजी, स्वदेशी तथा विदेशी लगानीलाई प्रभावकारी तरिकाले परिचालन गरी, आगामी ५ वर्षसम्म स्थीर पूँजीको अंश कूल गार्हस्थ उत्पादनको ३५ प्रतिशत, त्यसपछिका १० वर्षसम्म औसतमा ४० प्रतिशत र अर्को १० वर्षसम्ममा ४५ प्रतिशत पुर्याएर दुई अंकको वृद्धिदर हासिल गरिनेछ” भनेका छन् ।

 

 

तर आर्थिक सर्भेक्षणले अहिले नै जिडिपीको ४० प्रतिशतभन्दा धेरै २०१० देखि नै नेपालमा लगानी भएको देखिन्छ । उनको तथ्याङ्कको प्रस्तुति नै गलत छ । उनको प्रतिवद्धता पत्रमा गर्ने भनेर उल्लेख भएको लगानीभन्दा धेरै अहिले नै लगानी भैरहेको छ । यो स्तरको लगानीले गर्ने भनेको विकास उडन्ते विकास मात्र हो ।

 

 

साथै सञ्चार, अनुसंन्धान, विज्ञान तथा प्रविधि क्षेत्रको विकास, विस्तार र सुदृढीकरण गर्नका लागि गरेको प्रतिवद्धता पनि हावादारी छ । अनुसन्धान, विज्ञान तथा प्रविधि विकासमा ५, १५ र २५ वर्षमा जिडीपीको क्रमशः १५, २५ र ३५ प्रतिशत लगानी पुर्याइनेछ भनेका छन् (पृष्ठ २६) । यो गाजा वा धतुरोको खाएर त्यसको नशाको ‘ह्यालुसिनेसन’मा लेखेको हुनुपर्छ । सद्धे व्यक्ति वा समान्य मानसिक अवस्थाको मान्छेले यस्तो कुरो गर्देन ।

 

 

संसारका सवैभन्दा विकसित देशमा यो ५ प्रतिशत पनि छैन । इजरायलमा यो जिडिपीको ४.१, जापानमा ३.५८ र अमेरिकामा यो २.७३ प्रतिशत रहेको छ । अगनाइजेसन अफ इकोनोमिक कोअपरेशन एण्ड डेभलपमण्ट (ओइसिडी)का अधिकांश देशमा यसको १.५–२ प्रतिशत छ । एक गरिब देशमा यो ०.२ भन्दा कम छ ।

 

 

नेपालमा यो ०.३ मात्र छ, अहिले । नेपालमा राजश्व नै जिडिपीको २२ प्रतिशतभन्दा थोरै छ । यस्तो अवस्थामा संसारमा कहि पनि नभएको जिडिपीको ३५ प्रतिशत लगानी विज्ञान र प्रविधिमा पुर्याइने हावादारी दावी हो । यसैबाट उनी आफ्नै बिषयमा मिडियोकोर रहेको सावित हुन्छ ।

 

 

यसै जनयुद्धको कारण धेरै मिडियोकोरहरुले नेपाली राजनीतिमा हिरोको भूमिका खेल्न पाए । व्यवस्थापन र प्रशासकीय क्षमता शून्य भएका नेताहरु सवैभन्दा ठुला काम गर्ने भए । विजुलीको विल नर्तिने सरकारी कार्यलयको विजुलीको आपूर्ती बन्द गर्ने उर्जा मन्त्री गोर्कण बिष्ट हिरो भए ।

 

 

निजामति सेवा ऐनमा विदेशी आवसीय भिसा लिएकाले कि जागिर छाड्नु पर्ने वा आवसीय भिजा त्याग्नु पर्ने संसोधन गराउन सक्ने मन्त्री लालबाबु पण्डित सवैभन्दा हिरो भए । आय वितरणको टेवलमा लाइन अफ इक्वल फिटबाट टाढा भएको लोरेन्ज कर्भको जिनी कोफिसियन्टको मान लाइन अफ इक्वल फिटको नजिकभन्दा थोरै हुन्छ भन्ने रिपोर्ट प्रकाशित गर्ने डा. रामेश्वर खनाल समाजको सवैभन्दा हिरो अर्थशास्त्री बनाइए र अर्का राष्ट्रिय योजना आयोगका उपाध्यक्ष आफ्नै माताहतको राष्ट्रिय तथ्याङ्कक विभागमा त्यहि रिर्पोट राख्न लगाएर महान योजनाकार भै राखेका छन । ।

 

 

त्यस्तै पत्रकारमा राजा ज्ञानेन्द्रको मन्त्री बन्न दौरा सुरुवाल लगाएर ठिक्क परेका व्यक्ति मन्त्री बन्न नपाएपछि गणतन्त्रको लागि काम गर्ने हिरो पत्रकारको रुपमा समाजमा स्थापित बन्यो ।

 

 

त्यस्तै खिलराज रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाउँदा शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको मर्म विपरित हुने अरण्यरोदन गर्ने कथित युवा नेताहरु त्यहि मन्त्रीपरिषदले गराएको निर्वाचनमा भाग मात्र लिएनन् संविधानसभाको निर्वाचन जितेर मन्त्रीसमेत भए । थोरै नैतिकता भए त्यस्तो गर्ने थिएनन् । मिडियोकोरको पराकाष्टा हो त्यो । समाज नै यस्तो बन्यो भने हरेकका सामाजिक र व्यवसायिक जीवनमा मिडियोकोरहरु हिरो बन्ने मौका पाए ।

 

 

नेपाली समाजले रुपान्तरण खोजेको हो । रुपान्तरण भनेको पहिला मान्छे बन्ने हो । मान्छे बने पछि देशको रुपान्तरण र विकास रुपन्तरण भएकोे मान्छेले गर्ने हो । सडक, पुल, विजुली बत्तिले मान्छे बन्ने होइन, मान्छेले त्यो बनाउने हो ।

 

 

देशमा दासप्रथा उल्मूलनको घोषणा भएको सयबर्ष जति भै सक्दा पनि क्रान्तिकारीहरुले समेत दास प्रथा कायम गरे । राजा हटाएर गणतन्त्र ल्याएको लोकतान्त्रिक व्यवहार, आचार विचार निर्माणको लागि थियो । तर, आवरणमा राजतन्त्र सकिए पनि हरेक नेपाली राजनीतिज्ञको टाउकोमा श्रीपेच कायमै छ । मिडियोकोरले हिरोको भूमिका खेल्ने वातावरण बनाउनको लागि मात्र १७ हजार मानिसले ज्यान गुमाएका हुन् ?

 

Comments

Competition middle banner