MENU
प्रचण्डको फड्को स्थगित ! – श्रीकृष्ण अनिरुद्ध गौतम
 : 986 views
  Feb 13, 2018

 

केन्द्र र प्रदेशसभाका चुनावपूर्व दुई कम्युनिस्ट पार्टीले चुनावी तालमेल गर्ने र चुनाव लगत्तै एकता गर्ने पुष्टकारी बाँडेका थिए । दुबै पार्टीका कार्यकर्ताले गदगद हुँदै पुष्टकारी खाएका थिए । सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका नेता खड्गप्रसाद शर्मा ओली र बिछडिएर भेटिएका पुष्पकमल दाहाल अर्थात् प्रचण्ड, दुबैले बाबुराम भट्टराईसहित भइ मुड्की उचाल्दै फेरि कहिल्यै नछुट्टिने वाचा गरेका थिए । कार्यकर्ताहरुका आँखाबाट खुशीका बलिन्द्रधारा आँशु झरेका थिए । तर आँशुको भेलबाट उछिट्टिएर बाबुराम भने नेपाली कांग्रेसको कित्तामा पुगे । त्यो आँशुले देशभर बाढी नै ल्यायो, नेपाली कांग्रेसको घर खेत बारी सबै बगायो, कांग्रेस नेताहरुलाई बेघरबार बनायो । धन्न बाबुराम बचे ।

 

 

तर त्यतिका खुशियाली, त्यतिका भावनालाई जगाएर भएको मंसीरको चुनाव, नभन्दै दुबै कम्युनिस्टको गठबन्धनले अत्यधिक बहुमत ल्याएर चुनाव जित्यो । जबकि, चुनाव लगत्तै हुने भनेको एकताले बल्ल फागुनको शुरुमा आएर आकार लिएको छ । कुरेर बसेका कार्यकर्ताका आँखा पिल्पिलाउन थालेका थिए । कतिखेर आँशु छुट्ने थाहा थिएन । यसैबीच प्रचण्डले ठूलै फड्को हान्ने भन्ने खबर आएको सुनेर कार्यकर्ताको मुटुको वेग बढिरहेको अवस्थामा दुई पार्टी साँच्चै एक हुने सुनेर एमाले माओवादी कार्यकर्ताका मन मयुर भएका छन् । साँच्चै फड्कै हानेको भए कतिको धडकन रोकिने थियो । फेरि अर्कातिर, ६ वटा प्रदेशमा गठबन्धनका सरकार बन्ने क्रममा छन् । चारवटा प्रदेशमा एमाले र दुईमा माओवादी केन्द्र । ६ प्रदेशमै पदीय तालमेल छ ।

 

 

यहाँ चिन्ता के भने प्रचण्डले केन्द्रमा फड्को हानेकै भए प्रदेशको समीकरण के हुन्थ्यो ! उनले भनेको फड्को पक्कै कांग्रेस, मधेस केन्द्रित र आफू मिलेर सरकार बनाउनु हुनुपर्छ, अर्को त कुन फड्को बाँकी नै थिएन ! त्यस्तो भयो भने चुनावअघि गरिएका सबै वाचा, हिन्दीमा भन्ने गरिएझैं गई भैंस पानी में, हुने नै थिए, प्रदेश सरकारहरु पनि एक दुई अपवाद बाहेक गरल्र्यामगुर्लम ढल्ने अवस्था आउने नै भयो । उनी त्यो अवस्था पनि विचार गरेर बोलेका थिए कि एमालेलाई घुर्की लगाउन मात्र बोलेका थिए, अहिलेसम्म यसबारे कसैलाई सत्यतथ्यका जानकारी छैन ।

 

 

जे होस्, प्रचण्डको फड्कोको सूचना होस् अथवा धम्कीले मज्जाले काम गर्यो । सम्भवतः त्यसैका फलस्वरुप ओलीले तत्कालै एकाताका निम्ति तत्परता देखाए । हो पनि, प्रचण्डका मनस्थितिको के विश्वास, कहिले यता कहिले उता गरिआएकै हुन् ।

 

 

यद्यपि एकता प्रक्रिया अघि बढेसँगै फड्को अलि असान्दर्भिक भयो कि भन्ने लाग्न सक्छ तर साँच्चै हानेकै भए के हुन्थ्यो, त्यसमाथि एउटा समीक्षा गरिहाल्दा केही फरक पर्दैन । फेरि एकता भए पनि मान्छेको स्वभाव बन्न गएको बानी त्यतिकै जाँदैन ।

 

 

सम्भवतः उनको फड्को हान्ने पछिल्लो भनाइ विशेष गरेर, संघीयताबारे साधारण जानकारी पनि नहुनुको प्रभाव हो । किनभने, देशमा अहिले केन्द्रमा मात्र सरकार हुने होइन, प्रदेशमा पनि गठबन्धन छ, सरकार धमाधम बन्दैछन् । अब नेताहरुले फड्को, छलाङजस्ता शब्दावलीका साथै व्यवहार पनि फेर्नुपर्छ । एकातिरको मानो कम भयो भनेर अर्कातिर ताक्ने बेहोरा बदल्नुपर्छ । कहिले एमालेसँग लभ त कहिले कांग्रेससँग अब त्यस्तो सहने अवस्थामा देश छैन । देशमा एउटा सरकार मात्र रहँदासम्म, यद्यपि पाच्य नभए पनि, अस्थिरता सहि आइएको हो, अब भने त्यस्तो हुँदा, काठमाडौंका साथै प्रदेशहरुको राजनीतिक समीकरण नै चर्मराउने हुन्छ ।

 

 

एमालेलाई भन्दा माओवादीका कार्यकर्तालाई एकता गर्न हतार हुनु अस्वाभाविक होइन । एमालेलाई एमालेपंक्तिलाई पक्कै पनि माओवादीतर्फ कुनै उच्च पद नदिइ एकता गर्न पाए उत्तम लाग्नु अस्वाभाविक होइन किनभने सानो पार्टी ठूलो पार्टीसँग एकता गर्नु भनेको, नयाँ नाम जे राखे पनि, प्रकारान्तरमा विलय नै हो । पार्टी विलयमा सानो पार्टीलाई उच्च अथवा उच्चतम पद दिने जोखिम बिरलै लिइन्छ किनभने यसको असर सम्पूर्ण संगठनमाथि नै पर्छ । जबकि माओवादीको चाहनाचाहिं पार्टी अध्यक्ष अथवा प्रधानमन्त्री पाउने हुनसक्छ यद्यपि यो सबैलाई थाहा छ, एमालेले अहिले, प्रधानमन्त्री कुनै पनि हालतमा माओवादीलाई दिँदैन र दिन पनि मिल्दैन ।
त्यसैले हुनुपर्छ दुबै पार्टीका प्रमुख द्विअध्यक्षीय समझदारीमा पुगेका हुन् ।

 

 

मानिलिउँ, माओवादीलाई अध्यक्ष दिएर पार्टी एकता गरिएको होस्, त्यतिखेर पार्टी हेडक्वार्टरको व्यवस्थापनमा प्रचण्डका विश्वासपात्रहरु नै रहने हुन जान्थ्यो, एमालेपंक्तिका मानिस स्वतः किनारामा पर्न जाने हुन्थ्यो । ओलीको अल्झो यो पनि यही थियो शायद । आफू सरकारको नेतृत्वमा प्रचण्ड पार्टीको अध्यक्ष, कालक्रममा मन नमिल्दा प्रचण्डले फड्को हाने के गर्ने भन्ने द्वन्द्व पनि थियो होला । त्यसैले हुनुपर्छ ओली सहअध्यक्षमा सहमति गर्ने निष्कर्षमा पुगेका हुन् ।

 

 

निश्चय नै एमाले र माओवादीको सैद्धान्तिक जग एउटै हो तर अभ्यासगत मूल्यपद्धतिमा एकरुपता छैन । एमाले लोकतान्त्रिक अभ्यासमा लागेको करीब तीन दशक व्यतीत भइसकेको छ, माओवादी शान्तिपूर्ण राजनीतिक प्रक्रियामा अवतरण गरेको एक दशक बितेको भए पनि उसको बन्दूकको गन्धसँग प्रेम छुटेको भर्खरै हो भित्रभित्रै (मनका अन्तरकुन्तरमा) नछुटेको पनि हुनसक्छ) । बलात् होस् अथवा स्वेच्छाले प्रेम छुटे पनि, त्यहाँ बन्दूक खेलाएकै हातहरुको बाहुल्य छ । यसले जीवनमूल्य र संस्कारमा फरक पर्छ । एकता हुने भयो होस् तर एकता झट्ट सुन्दा जति सुरिलो सुनिए पनि यसको ट्युनिङ त्यति सजिलो छैन ।

 

Comments

Photography