MENU
अन्तर्राष्ट्रिय महिला दिवसको ‘राष्ट्रियकरण’ कहिले ? –लक्ष्मी न्यौपाने 
 : 608 views
  Mar 08, 2018

 

 

लक्ष्मी न्यौपाने 

क्यानडामा तीन दिदी बहिनीले गरेको आन्दोलनको सम्झना गर्दै नेपालमा हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ । न्यूयोर्क र जर्मनीका आन्दोलनको सम्झना गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि मनाइन्छ तर, महिला अधिकार र न्यायिक एवं समतामूलक समाजको लागि आवाज उठाउँदै आफ्नै देशभित्रै ६८ जनाले संयुक्त रुपमा जलसमाधि लिएको दिनलाई हामी सम्झनासम्म पनि गर्दैनौं । के यो महिला अधिकार क्षेत्रको विडम्बना होइन ? यसले हामी आफूलाई महिलावादी अधिकारवादी भन्नेहरुको लाछीपन प्रदर्शन गर्दैन ?

असार २१ लाई ‘राष्ट्रिय महिला पर्व’ घोषणा गर !

 

 

हरेक वर्ष मार्च ८ का दिन तामझामका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आउँछ र शान्त बनेर सकिन्छ । यो वर्ष पनि ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने नारा सहित १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस धुमधामकासाथ मनाइने घोषणा गरिएको छ । नेपाली महिला अधिकारकर्मीहरूले हरेक वर्ष अन्तर्राष्ट्रिय जगतमा घटित महिला आन्दोलनका घटनाहरु स्मरण गर्दै यो दिवस मनाउने परंपरा त बस्यो तर राष्ट्रिय मुद्धाहरुलाई अगाडि सारेर अन्तर्राष्ट्रिय दिवस मनाउने थालनी अझै हुनसकेको छैन । असार २१ लाई ‘राष्ट्रिय महिला पर्व’ घोषणा गर !

 

 

न्यूयोर्कको स्मृति

 

 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस न्यूयोर्कका महिलाले गरेको संघर्षको स्मृतिमा मनाउन थालिएको हो । सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र १० घण्टा कार्यदिनको माग गर्दै संघर्ष सुरु भयो । अर्कोवर्ष सन् १९०८ मार्च ८ मा श्रमिक महिलाहरुले मताधिकार पाउनु पर्ने माग पनि अघि सारियो ।

 

 

तिनै दिनको सम्झनामा सन् १९१० देखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन शुरु भयो । तर दुर्भाग्य हामीले महिला दिवसलाई नेपालीकरण भने कहिल्यै गर्न सकेनौं । चाहे सोह्र दिने अभियान होस् वा श्रमिक महिला दिवस यी दुबै कार्यक्रम अन्तर्राष्ट्रिय रुपमा महिलाले गरेको संघर्ष र बलिदानको संस्मरण गर्दै मनाइन्छ ।

 

 

विदेशका महिलाले गरेको संघर्षको स्मरण गर्दा हरेक वर्ष हामीले आफ्नै देशभित्र महिलाका लागि र महिलाद्वारा गरिएका योगदानलाई भने संझन सम्म पनि सकेका छैनौं, यसैलाई विषयवस्तु बनाउनु त कता हो कता ?

 

 

अन्तर्राष्ट्रिय दिवस मनाउदा मनाउदै हामी आफ्नै इतिहास भने विर्सिंदै त छैनौ ? विगतमा वर्षैपिच्छे अन्तर्राष्ट्रिय दिवसमा नेपाली महिलाले आवाज बुलन्द गर्दै ऐक्यवद्धता जनाएका छन् । संघर्षमा बलिदान पनि दिएका छन् ।

 

 

नेपाली महिलाहरुले आफ्नो अधिकार स्थापित गर्न देशमा ठूूला ठूला आन्दोलन गरेका छन् । राणाकालमै योगमायाको नेतृत्वमा अरुण नदीमा सामुहिक जल समाधि, साधना–साहना प्रधान तथा मंगलादेवी सिंहले नेपाली महिलाको मताधिकार प्राप्तिका लागि राणाकालमा गरेका बहादुरीपूर्ण आन्दोलन, निरंकुश पंचायतीकालमा होस कि लोकतन्त्र स्थापनाका लागि गरिएका शान्तिपूर्ण आन्दोलन, माओवादी जनयुद्धमा महिलाले गरेको सशस्त्र संघर्ष, महिला मैत्री संविधान प्राप्तिका लागि गरिएको निरन्तरका आन्दोलन, संघर्ष र बलिदान समेत छायाँमा परेका छन् ।

 

 

आफूले गरेका आन्दोलन, संघर्ष र त्यसबाट प्राप्त सफलता र सामना गर्नु परेका चुनौतिहरुलाई लिपिबद्ध गरी नेपाली महिलाहरुको संघर्षगाथा तयार गरिनु आवश्यक छ । इतिहासदेखिका राष्ट्रिय, क्षेत्रीय र स्थानीय आन्दोलन, नेतृत्व गर्ने विरांगना र सहमागी आममहिलाको योगदानलाई आत्मसात गर्न सकिएन भने महिला आन्दोलनको इतिहास पनि गर्भमै तुहिन बेर लाग्दैन । हामीलाई हाम्रै पुस्ताले धिक्कार्ने छ ।

 

 

पछिल्ला दिनहरुमा ठूला सभा–सम्मेलन र प्रदर्शनीहरु आयोजना गरिए तर हामीले महिला आन्दोलनमा नेपाली महिलाहरुले पूर्व मेचीदेखि महाकालीसम्मका दिदी–बहिनी, आमा–सानिमाहरुले गरेको वलिदानलाई सम्झना गर्दै उनीहरुलाई सम्मान गर्न सकेनौं इतिहासले हामीमाथि पनि न्याय गर्न सक्ने छैन ।

 

 

यही कुरालाई संझना गर्दै केही साता अघि राजधानीमा आयोजना गरिएको एउटा ठूलो महिलावादी कार्यक्रमको शुरुवात महिला आन्दोलनमा नेपाली महिलाले गरेको बलिदानीबाटै गर्ने प्रयत्न भएको थियो, जसमा योगमायाको विशेष चर्चा गरिएको थियो । विदेशी सहभागीहरुले आश्चर्य प्रकट गर्दै सोधका थिए, ओहो…नेपालमा पनि यस्तो भएको थियो ?

 

 

त्यस कार्यक्रमबाट लिइएको शिक्षा हो, हामी आफैंले आफ्नो खुट्टामा उभिएर गरिएको आन्दोलनको बल धेरै नै हुनेरहेछ । त्यसले दिवसका बेला तात्ने र अरु बेला सेलाउने दोषारोपण खेपिरहेका महिलावादी आन्दोलनकारीहरुको आत्मसम्मान मात्र बढएन, त्यसले त हरेक महिलालाई आफूले दह्रोसंग आफ्नै भूमिमा टेकिरहेको अनुभव पनि गरायो ।

 

 

को हुन योगमाया ? 

 

 

‘योगमाया न्यौपाने’ महिला अधिकारको क्षेत्रमा गौरव गर्नुपर्ने नाम हो । नेपाली महिला आन्दोलनको इतिहासमा योगमाया न्यौपाने न्यायिक तथा समतामूलक समाजको पक्षमा आवाज उठाउदै विद्रोह गर्ने अग्रज महिला हुन् । समाजमा विद्यमान सामाजिक असमानता, अन्याय, शोषण एवं भ्रष्टाचारको विरोध गरी त्यसमा सुधार ल्याउन आफ्ना अनुयायीहरुको साथ–सहयोगमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरसमक्ष लिखित जाहेरी गरिन् ।

 

 

श्री ३ प्राइममिनिष्टरले उनको कुरालाई ओठे समर्थन नै सही धर्म पालना गर्ने आश्वासन दिए । धेरै समय पछि पनि त्यो प्रतिबद्धता कार्यान्वयन भने गरेनन् । गर्छु भनेका कुरा पनि कार्यान्वयन नभएपछि योगमायाले पुनः मागपत्र (भिक्षापत्र) राख्दै अुनयायीहरुसंग मिलेर प्रचार–प्रसार समेत शुरु गरिन् ।

 

 

राणा प्रधानमन्त्री समक्ष आफूले राखेका माग पूरा होलान् भन्ने आशामा उनले धेरै समय सम्म बाटो हेरिन, तर त्यसको झिनो संकेतसम्म पाइनन् । केही नलागे पछि उनले बिसं १९८७ मंंसिर पूर्णिमाको दिन अरुण नदी छेउ मजुवामा ठूलो यज्ञको तयारी गरिन । उक्त यज्ञमा योगमाया र उनका २४० जना अनुयायीहरुले अग्नीमा प्रवेश गरी प्राण त्याग्ने निर्णय गरे ।

 

 

 अग्नी प्रवेश योजना

 

 

‘हामी २४० जना एकैसाथ सती भई अग्नी प्रवेश गरी प्राण त्याग गर्छौं । हामी आफूखुसी जान तयार भएको हुँदा सरकारबाट रोकतोक नहोस् । पुराना थोत्रा कानून लगाई हाम्रो सत्य कबुललाई वाधामा डालेर सो डाल्ने उपर नयाँ उपयुक्त कानुन चल्ने छैन’ भन्ने सूचना समेतको विन्तीपत्र प्राइम मिनिस्टर जुद्ध शमशेरलाई पठाइन् ।

 

 

योगमायाले ‘सत्य–धर्म–भिक्षा’ भन्दै सरकारसमक्ष २६८ वटा मागपत्र प्रस्तुत गरिन । उनका चेतावनीयुक्त मागहरुः समाज सुधार र सामाजिक न्यायको पक्षमा, महिला र विधवाको अधिकारको पक्षमा, सामाजिक विसंगति र विकृतिको रुपमा रहेका प्रचलन, अन्धविश्वास, घुषखोरीको विरुद्ध, वनजङ्गल, वातावरण र चरन सुरक्षा, जातपात र छुवाछुत सानाठूलाको भेदभाव, मानापाथी, चर्को व्याज, आदिको नियन्त्रण सम्बन्धमा केन्द्रित थिए । माग पुरा हुनुको साटो उनले त जेलनेल पो भोग्नुपयो ।

 

 

राज्यबाट धर्म र न्याय नपाइने र आफूले पनि केही गर्न नसकेर रहने अवस्था उत्पन्न भयो भने पनि सरकारलाई चेतावनी दिनुपर्छ, छाड्नु हुँदैन ! उनले त्यो चेतावनी आत्मदाहलाई वनाउने निर्णय गरिन् । आफूले लिएको यो जब्बर निर्णय आफू पछिका सन्ततिले न्याय पाउने प्रतिक बन्नसक्छ भन्ने उनलाई लाग्यो ।

 

 

अन्तमा जलसमाधी 

 

 

त्यही मान्यता अनुरुप योगमायाको नेतृत्वमा वि.सं. १९८८ साल असार २१ गते हरिशयनी एकादशीका दिन २४० मध्ये ६८ जनाले अरुण नदीको उर्लदो भेलमा सामूहिक रुपमा हामफाली देह त्याग गरे ।

 

 

क्यानडामा तीन दिदी बहिनीले गरेको आन्दोलनको सम्झना गर्दै नेपालमा हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ । न्यूयोर्क र जर्मनीका आन्दोलनको सम्झना गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि मनाइन्छ तर, महिला अधिकार र न्यायिक एवं समतामूलक समाजको लागि आवाज उठाउँदै आफ्नै देशभित्रै ६८ जनाले संयुक्त रुपमा जलसमाधि लिएको दिनलाई हामी सम्झनासम्म पनि गर्दैनौं । के यो महिला अधिकार क्षेत्रको विडम्बना होइन ? यसले हामी आफूलाई महिलावादी अधिकारवादी भन्नेहरुको लाछीपन प्रदर्शन गर्दैन ?

 

 

नेपाली महिलाले हरेक वर्ष योगमाया र उनका साथीहरुले सामूहिक रुपमा आत्मदाह गरेको दिन असार २१ वा हरिशयनी एकादशीलाई राष्ट्रिय महिला दिवसको रूपमा मनाउन शुरु गर्नु पर्छ ।

 

 

६८ जना हाम्रा अग्रज नेपाली अधिकारकर्मीको स्मरण ८ मार्च वा सोह्र दिने अभियानभन्दा कम राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको छैन । यो संसारभरकै महिलाले गरेको जबर्जस्त हाँकको रुपमा स्थापित हुनसक्छ । यसले नेपाली महिला आन्दोलनलाई संसारकै उदाहरणीय प्रतीक बन्नुपर्छ ।

 

 

योगमाया र उनका साथीहरुले एकसाथ जलसमाधि लिएको दिनलाई हामी महिला अधिकार क्षेत्रको महत्वपूर्ण दिवसको रुपमा घोषणा गर्न किन ढिला ? यतातिर जिम्मेवार निकाय र व्यक्तिहरुको ध्यान जाओस् । खबरदार, नेपाली महिला आन्दोलनको इतिहास नबिर्सौं , नबिर्स !

 

 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाली महिलाले एउटा महत्वपूर्ण राष्ट्रिय दिवसको घोषणा यसैवर्ष गर्न जरुरी छ । अहिलेसम्म ढिला भए पनि अब ढिलाई नगरौं ।

 

 

यो आवाज उठाउन थालेको पाँच वर्ष भैसक्यो र आज फेरि नेपाली महिलाको तर्फबाट यही आवाज दोहोर्याएर  उठाउँदै छु :   हरिशयनी एकादशी वा असार २१ गतेलाई राष्ट्रिय पहिला पर्व घोषणा गरौं ! 

 

 

(न्यौपाने अधिकारकर्मी हुन् ।)

laxmineupane2@gmail.com

 

Comments

Photography