MENU
सकारात्मक पत्रकारिता
 : 1,319 views
  Mar 21, 2018

 

–डा. रामचन्द्र लामिछाने

पत्रकार समाजका गुरु हुन भने सञ्चार माध्यम आमजनताका ‘गाईड बुक’ ! जसले प्रस्तुत गरेका सूचना र ती सुचनाको व्याख्या–विश्लेषणले आमनागरिकको दैनिक जीवनलाई निर्देशित गर्दछ ।

 

समाजमा हुने सबै विषयवस्तुसंग सम्वन्धित नियमित वा आकस्मिक कृयाकलाप र विषयवस्तुका विवरण संकलन र सम्पादन गरी शब्द, आवाज वा तस्वीरलाई सञ्चार माध्यमद्वारा जनतासमक्ष प्रस्तुत गर्नु पत्रकारिता हो ।

 

पत्रकारिताको उद्धेश्य जनतालाई सुसूचित गर्नु मात्रै नभई, सत्य र तथ्य आकडाहरुको सदुपयोग गर्दै सही र विश्वासिलो निर्णय गर्न सक्ने अवसर सिर्जना पनि गर्नु हो । आम मानिसले सञ्चार माध्यमवाट प्राप्त सामाजिक घटना, परिघटनाका सूचनाको आधारमा व्याख्या र विश्लेषण गरेर तदनुरुपका धारणा वनाउछन । ती धारणाअनुसार नै व्यवहार गर्दछन । कालान्तरमा त्यस्तै व्यवहार नै समाजिक संस्कार वनेर वस्दछन र समाजलाई निर्देशित गर्दछन ।
पत्रकार भनेका समाजका गुरु हुन भने सञ्चार माध्यम भनेका आम जनताका लागि गाईड बुक हुन्, जसले प्रस्तुत गरेका सूचना र ती सुचनाको व्याख्या तथा विश्लेषणले आमजनताका दैनिक जीवनलाई निर्देशित गर्दछन ।

 

विकास, सुरक्षा र रुपान्तरणका लागि सञ्चार माध्यम अपरिहार्य भएका कारण यतिका धेरै सञ्चारका माध्यम सञ्चालन हुन संम्भव भएको हो । सञ्चार माध्यमले जे कुरालाई वढ्ता ध्यान दिन्छन ती कुराहरु नै सामाजिक वास्तविकता वन्दछन ।

 

सञ्चार माध्यमले नै सामाजिक मुद्धाहरु निर्धारण गरेर नयाँ वास्तविकता निर्माण गर्दछन् । यस अर्थमा सञ्चार माध्याम नै सामाजिक वास्तविकताका सहनिर्माताहरु पनि हुन । प्रत्यक्ष वा परोक्ष रुपमा समाजलाई पश्चगमनमा डोर्याउने कि यथास्थितिमा राख्ने वा आमुल रुपान्तरणको दिशामा निर्देशित गर्ने भन्ने कुरा सिंगो सञ्चार जगतले निर्धारण गर्दछ ।

 

हाम्रो समाज, विश्वविद्यालय, विद्यालय, राजनीतिक पार्टी र व्यापारिक प्रतिष्ठानहरु सवै परम्परागत मनोविज्ञानमा आधारित परिवर्तनका नियमवाट निर्देशित छन् । परम्परागत मनोविज्ञानअनुसार समस्याको समाधान वा गल्ती कमजोरीको सुधार नै परिवर्तन हो । त्यसकारण हाम्रा सवै प्रयास समस्या समाधान वा भनौ गल्ती कमजोरी सुधार्नमा मात्रै केन्द्रित हुन्छन ।

 

सामान्य वोलीचाली, छलफल वहसदेखि योजना आयोगले योजना तर्जुमा गर्दा पनि कमजोरी वा समस्या पत्ता लगाई ती समस्याको समाधानका उपाय मात्रै खोजिन्छ । यस विधिको प्रयोगमा हाम्रो पूरा ध्यान विगतका असफलताका कारण र प्रभावको व्याख्या र विश्लेषणमा केन्द्रित रहन्छ ।

 

यस विधिअनुसार शत प्रतिशत उपलब्धी प्राप्त भए भने पनि समाज यथास्थितिभन्दा अगाडि वढ्दैन । यथास्थितिको प्राप्ति नै यस विधिको अधिकतम उपलब्धी हो ।

 

हालसम्म अरबौ रकम खर्च हुँदा पनि नेपालको विकास नहुनु, योजना निर्माण पद्धतिमा यस विधिको प्रयोग कै कारण हो । यस विधिको मूल मान्यता नै सवल पक्षहरु त रहि नै रहन्छन, ती कमजोरीहरु के के छन ? त्यसतर्फ ध्यान दिउ भन्ने सिद्धान्तवाट निर्देशित छ ।

 

यसै मान्यताअनुसार नै आम सञ्चार जगत र सिंगो पत्रकारीता पनि निर्देशित रहेको छ । जसले गर्दा पत्रकारीतामा पनि कमजोरी औल्याउने, गल्ती सुधार गर्ने वा गल्ती वा कमजोरीका कारण र तिनले पारेका प्रभावको विश्लेषण गरेर भविष्यको पूर्वानुमान गर्ने गरिन्छ ।

 

परम्परागत मनोविज्ञानले भनेअनुसार कमी कमजोरीहरु पत्ता लगाएर तिनको समाधान गर्न अभिप्रेरित गरिन्छ । समाज रुपान्तरणको मूल माध्यम आमसञ्चार भए पनि नेपालको पत्रकारिता परम्परागत मनोविज्ञानमा आधारित भएको कारण यसको मूख्य उपलब्धि यथास्थितिको निरन्तरतामा नै सिमित रहेको छ ।
मुख्यत वर्तमानमा वसेर समाचारका श्रोत नियाल्दा विगतका सफलता एवम असफलताहरु, तिनका कारणहरु, तिनले पारेका असर र प्रभावहरु हुन भने भविष्यका संम्भावना र चुनौतीहरु नै मुख्य श्रोतहरु हुन । कुनै पनि पत्रकारले वर्तमानमा समाचार तयार गर्दा विगतका सफलता तथा असफलता वा भविष्यका संम्भावना र चुनौतीहरु भित्र रहेर नै तयार गर्दछन ।

 

नेपाली पत्रकारीता परमपरागत मनोविज्ञानमा आधारित भएको हुनाले अधिकाँश समाचार विगतका कमी कमजोरीहरु र तिनको कारण र प्रभावको व्याख्यामा केन्द्रित हुन्छ । कथमकदाचित भविष्यलाई हेर्दा पनि भविष्यका चुनौतीलाई अनुमान गरेर समाचार वा दृष्टिकोण तयार गरिन्छ ।

 

विगतका समस्या र भविष्यका चुनौतीको संयोजन गरेर समाचार तयार गर्दा होस वा दृष्टिकोण निर्माण गर्दा होस त्यसवाट नकारात्मक परिणाम नै प्राप्त हुन्छ र चाहेर वा नचाहेर सञ्चार माध्यामले नकारात्मक सन्देश फैलाइरहेका हुन्छन ।

 

जव समाचार माध्याममा अत्याधिक नकारात्मक विषयवस्तु प्रस्तुत हुन्छन तव आम जनमानसमा नकारात्मक मनोविज्ञान विकास हुन्छ र देशमा अव केही पनि हुदैन, यहाँ भविष्य छैन, न्याय पाइदैन, जुन जोगी आए पनि कानै चिरेको जस्ता अत्यन्तै नकारात्मक धारणा विकसित हुन जान्छन ।

 

आम रुपमा यस्ता धारणा विकास हुदै जादा सेवा प्रदायकले गुणस्तरीय सेवा नदिदा पनि सेवाग्राहीले कहि कतै उजुर गर्दैनन । जसले जति लुटे पनि जनताले चासो वा सरोकार राख्दैनन । समाजमा उत्कृष्ट काम गर्ने ओझेलमा हुन्छन र वेइमान र फटाहा चर्चाको शिखरमा हुन्छन ।

 

इमान्दार नेता, कर्मचारी एवम् समाजसेवी अल्पमतमा पर्दछन र देश नै एक कुशासनको कुचक्रको शिकार हुन्छ । यसको ठीक विपरित सकारात्मक मनोविज्ञानले देश, समाज र जनतालाई गतिशिल वनाउदछ ।
आधुनिक सकारात्मक मनोविज्ञानअनुसार मानिसको सञ्चालन शक्ति भनेको उसको संवेगात्मक भावना हो । यदि संवेगात्मक रुपमा उसले राम्रो महशुस गर्न सक्यो भने मात्रै उसमा सकारात्मक सोचाइ आउँदछन र अकल्पनीय क्षमता प्रष्फुटन हुन्छन ।

 

सकारात्मक सोचाइले मात्रै सकारात्मक कार्य गर्न सक्दछ । वारम्वार गरिने सकारात्मक कार्यले मात्रै समाजमा सकारात्मक सँस्कृतिको विकास हुन्छ र समाज सकारात्मक रुपान्तरणको दिशामा अगाडी वढ्दछ । नकारात्मक सोचलाई प्रतिस्थापन गरेर सकारात्मक सोच धारणा गर्नको लागि हर क्षेत्रका प्रयाप्त उत्साहवर्धक र सकारात्मक सूचना र जानाकारीको आवश्यकता पर्दछ । समाजमा सकारात्मक गतिविधी हुनका लागि जनता सकारात्मक संवेगात्मक रुपमा जोडिनु आवश्यक छ ।

 

सकारात्मक संवेगले नै एक अर्कामा सहयोग, सदभाव, सहकार्य, सिर्जनशिलताको वातावरण तयार गर्दछ । जातीय छुवाछुत लगायतका सवै प्रकारको विभेदको लागि सवै जनता एक अर्कासँग संवेगात्मक रुपमा जोडिनु आवश्यक हुन्छ ।
मानिसहरु एक अर्कामा अन्तरसम्वन्धित हुन्छन र यो अन्तरसम्वन्ध जति मजवुत हुन्छ त्यती नै समाज अग्रगमनको दिशामा अगाडी वढदछ । एक अर्काका सकारात्मक पक्षको उजागार गरेर एकले अर्काको प्रशंसा गर्ने परम्परा र सँस्कारले भावनात्मक रुपमा सामाजिक एकता मजवुत हुन्छ ।

 

जव समुदायका सदस्य एक आपसमा सहकार्य र सदभाव व्यक्त गर्न थाल्दछन तवमात्र उन्नत र परिस्कृत समाज निर्माणको प्रकृयामा सहभागी हुन्छन । विविधायुक्त नेपाली समाजमा एक समुदायले अर्को समुदायको पहिचान र आत्मसम्मानलाई सम्मान र रक्षा गर्दै सम्वन्धको विकास गर्नु पर्दछ ।

 

यसो गर्नाले सम्पुर्ण तिक्तता निर्मुल हुन्छन, सम्वन्धमा मिठास आउदछ अनिमात्र नयाँ र सम्मानित अवस्थाको निर्माण हुन्छ । जव नयाँ सम्वन्ध घर÷घरदेखी व्यक्ति÷व्यक्ति वीच स्थापित हुन जान्छन तव मात्र सम्वन्धको नयाँ अर्थ निर्माण हुन्छ र यस नयाँ अर्थले नयाँ समाज निर्मााणको आधारशीला तयार गर्दछ । मनोवैज्ञानिक रुपमा नयाँ भविष्यको आधारशिला तयार भएपछि मात्रै नयाँ समाज प्राप्तीमा फड्को मार्न सकिन्छ ।

 

यसरी परम्परागत पत्रकारीताको वदलामा सकारात्मक पत्रकारीताको माध्यमले सहज तवरले नयाँ समाज प्राप्त गर्न सकिन्छ । जव देशभरीका सञ्चार माध्यमले देश भित्रका विविध पक्षमा अन्तरनिहित सकारात्मक सन्देश प्रवाहित गर्न थाल्दछन तव देश भरी सकारात्मक वातावरण निर्माण हुन्छ ।
सकारात्मक पत्रकारीतालाई रुपान्तरणकारी पत्रकारीता पनि भनिन्छ । यसले विगतका सफलताको लेखाजोखा गर्दछ र के कति कारणले ती सफलता प्राप्त भएको थिए र ती सफलताले समाजमा कहाँ÷कहाँ के के सकारात्मक प्रभाव पार्न सके भन्ने कुराको सोधखोज गरेर सोही मुताविक समाचार तयार गर्दछ ।

 

वर्तमानमा वसेर भविष्यमा के कस्ता संभावना छन, के कति कारणले ती संभावना अवसरमा परिणत हुन्छ र आम जनताले नयाँ÷नयाँ अवसर प्राप्त गर्न सक्दछन, ती अवसर प्राप्त गर्न सकियो भने के कस्ता सकारात्मक परिणाम प्राप्त हुन्छन, ती सकरात्मक परिणामले कहाँ÷कहाँ के के प्रभाव पार्दछन भन्ने विषयमा विस्तृत खोज गरेर लेखा÷जोखा गरि समाचार वा दृष्टिकोण तयार गर्न अभिप्रेरित गर्दछ ।

 

यसरी तयार गरिएका समाचार वा दृष्टिकोणहरु निसन्देह सकारात्मक हुन्छन । यस्ता समाचारले अविश्वास र अन्यौलतामा रुमलिएका दर्शक एवम पाठकलाई सुन्दर भविष्यतर्फ मार्ग निर्देश गरेर सोच र व्यवहारलाई आमुल रुपमा रुपान्तरण गर्न अभिप्रेरित गर्दछ । मैले गर्न सक्छु, मैले गर्न पर्दछ भन्ने सोचको विकास गराएर सम्पुर्ण जनसमुदायलाई गतिशिल र सिर्जनशिल वनाईदिन्छ ।

 

आमुल रुपान्तरणको संघारमा उभिएको यस सुर्वण अवसरमा नेपाली सञ्चार जगतले सकारात्मक पत्रकारीताका माध्यामले नेपालको आमुल रुपान्तरणको प्रकृयामा अतुलनीय योगदान दिन सक्दछन । सबैमा शुभकामना ।

(लेखक, सामुदायिक रेडियो प्रचारक संघका कार्यकारी निर्देशक हुन् ।)

 

Comments