MENU
‘यता ढडीया, उता जाल !’– कृष्णमुरारी भण्डारी
 : 540 views
  May 14, 2018

 

मुगलकालीन कवि गालीबले त सत्रौं शताब्दीमा त्यतिबेलाको समाजलाई व्यंग गर्दै गजल लेखे तर हामी एक्काइसौं शताब्दीमा अनुहारमा पोतिएको कालो हटाउन ऐना पुछिरहेका छौं !

 

 

गालीब, साहित्य अनुरागीलाई चिनाइरहनु पर्ने नाम होइन । उनी मुगलकालका अन्तिम कवि हुन् । उनको औपचारिक नाम हो–मिर्जा असदुल्लाह वेग खान । उनको उपनाम हो गालीब, जसको अर्थ हो–सिंह ! आज यो लेखको शुरुवात तिनै शेरको एउटा बहु चर्चित शायरबाट गरिएको छ, जो हाम्रो समाजमा हुबहु मिल्ने देखिन्छ–

 

जिन्दगीभर गालीब,

उही गल्ती गरिरह्यो !

धुलो अनुहारमा लागेको थियो,

जीवनभर ऐना पुछी रह्यो !

 

उर्दु भाषाको गजलको एक सेर अनौपचारिक अनुवाद गरिएको हो । उर्दु भाषामा पनि पढौं;

 

उम्र भर गालीब

यही भूल करता रहा

धुल चेहेरे पे थी

और आइना साफ करता रहा !

 

गालीवले त आफैंमाथि व्यंग कँसेर यो सेर लेखे तर नेपालको राजनीति, अर्थनीति, विदेशनीतिका गालीबहरुलाई कसले व्यंग गर्ने ? उपरोक्त सबै नीतिहरुलाई पंगु बनाउने शिक्षा नीतिका गालीबहरुलाई कसले औंल्याएर पाता फर्काउने ?

 

एमए–एमएस्सी–एमएड, पिएचडीधारी प्राध्यापक, शिक्षकहरुको पगरी गुथेका गालीबहरु मुलुकमा बग्रेल्ती छन् ! शिक्षाविद, राणनीतिबाज, योजनाकारको प्रमाणपत्र बोकेकाहरुले शिक्षा मन्त्रालयदेखि विश्वविद्यालयसम्म भरिभराउ छन् । तर यिनले न गालिबको ऐना पुछिरहेका छन् नत आफ्नो अनुहारमा पोतिएको कालो नै !

 

 

बरु यिनले त समाज, संस्कृति, शिक्षा, परम्परा, रितिस्थिति, विदेशनीति, विज्ञान–प्रविधि लगायत कुनै पनि नीतिलाई ध्वश्त बनाउन बाँकी राखेका छैनन् । यिनकै कारणले देश र जनता त्यस्तो माछोको जस्तो अप्ठेरोमा परेका छन्, ‘यता जाउ ढडीया, उता जाउँ जाल’मा पर्ने भएर नारायणहरि बनिरहेका छन् ।

 

 

सबैलाई लाग्थ्यो, राजनीति सुधारिएपछि सबैथोक सुधारिन्छ । यसकै लागि निरंकुश निर्दलीय व्यवस्थाविरुद्ध आन्दोलन भयो । निरंकुश राजतन्त्र गयो । त्यसपछि संसदीय प्रजातान्त्रिक व्यवस्था स्थापना भयो । पुन राजाको निरंकुशताले टाउको उठायो । लोकतान्त्रिक आन्दोलनले राजतन्त्रलाई नै बढारिदियो । देश गणतन्त्रमय भयो । गणतन्त्रलाई संघीयताले विस्तार ग¥यो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर पनि समस्या ज्यूँका त्यूँ छन् । किन ?

 

 

देशको राजनीति, अर्थनीति, सामाजिक नीति, शिक्षानीतिमा पहिरो गएको गयै छ । सिन्धुपाल्चोकमा भोटेकोशीलाई थुन्ने जुरेको पहिरोभन्दा पनि डरलाग्दो पहिरो वर्षौंदेखि बगेको बग्यै छ । एकदिन आएको पहिरोले त्यत्रो भोटेकोशी थुन्यो भने देशमा आइरहेकोले कति नदीनालाहरुलाई थुनिरहेको होला ? अब कुन तन्त्रले देशको बाह्रमासे पहिरोलाई नियन्त्रण गर्न सक्छ ?

 

 

हरेक क्षेत्रका व्यक्तिहरुसंग यो प्रश्न सोध्न थालेको धेरै वर्ष भैसक्यो तर जवाफ दिंदै प्रायले भन्छन्–यो भएन, उ भएन । यो हुन नहुने, गर्न नहुने…भन्ने जस्ता जवाफ त हरेकले दिए तर चित्तबुझ्दो जवाफ भने कसैले दिन सकेन । किसान, मजदूर, श्रमिक, व्यापारी, उद्योगपति, कर्मचारी, शिक्षक, प्राध्यापक, व्यवसायी, युवा, विद्यार्थी, गृहिणी, एनजीओकर्मी, सहकारीकर्मी, डकर्मी–सिकर्मी सबैलाई उही र एउटै सवाल सोध्न भने पनि कहिल्यै छाडिएन ।

 

 

सोध्ने काम जारी नै रह्यो, चित्तबुझ्दो जवाफ नआउने क्रम पनि रोकिएन । हिमाल, पहाड, तराई, उपत्यका, चुरे, भावर कहीं कतैबाट धितमर्ने जवाफ पाउन सकिएन । न प्रश्न सोध्नेले हरेस खायो, न जवाफ दिनेले नै बोल्न छाडे ।

 

 

यही क्रममा चैत १९, २०७४ का दिन एक महानुभावले अकस्मात नै भनौं चित्त बुझ्ने जवाफ दिए । आफू त जवाफ सुनेर हेरेको हेरयै भइयो । जवाफबाट मन प्रशन्न भयो । त्यसयता प्रशन्न चित्तले जवाफ दोहोरयाइ तेहेरयाइ बाँची रहिएको छ ।

 

 

उमेरले म भन्दा कान्छा ती नाता पर्ने पनि व्यक्ति होइनन्, कर्मका ती भाइले सबैभन्दा पहिला भने–दाइ हाम्रो देशमा दासप्रथा उन्मुलन भएको सन् १९२४ नोभेम्बर 28  तारिखमा हो । दासप्रथालाई चन्द्रशमशेरले उन्मुलन गरेको जस खाएर पनि उहिल्यै यो पृथ्वीबाट बिदा लिएका मात्र होइनन्, राणाहरुले कायम गरेको जहानिया शासन गएको पनि सत्तरी वर्ष पुग्न दुई वर्ष मात्र बाँकी छ !

 

तर तपाईले सोधेको सवालको जवाफ दिने न संस्था छन् नत थिंकट्याँक नै मुलुकमा छन् । कोही छैनन् ! बिचारको तहबाट जवाफ दिन सक्ने भनाउदाहरु पनि पार्टीका झोले र नेताका दौरा र फरियाको फेर समात्न तँछाड मछाड गरेर मरिहत्ते गर्दैछन् । दास प्रथा अहिले पनि कायम छ।

 

 

जनवर्गीय संगठनदेखि राजनीतिक दलको केन्द्रीय नेतृत्वसम्म चाकरवाज बुद्धिजीवीले घेरिएका छन् । यिनैलाई नेतृत्वले हली बनाइरहेको छ । यी जजस्का हली हुन्, तिनैको ज्यालापानीमा गुजारा गरिरहेका छन् । यिनमा न कुनै स्वाभीमान छ नत देशभक्ति ! यिनमा तीनवटा मात्र कुरा छ र, ती हुन्– चाकरी…चाकरी… चाकरी… ! भाटगिरी… भाटगिरी… भाटगिरी…! चम्चागिरी…चम्चागिरी…चम्चागिरी !

 

 

चाकरीवाहेक यिनमा मौलिक कुरो कन्थो केही बाँकी छैन । जोसंग ज्ञान, बुद्धि र योग्यता छ तिनीहरु चाकरी, भाटगिरी र चम्चागिरीभन्दा धेरै टाढा छन् । तिनीसंग यिनको कुनै साइनोसम्म हुने कुरो आएन । त्यसैले देश र जनताको भलाईमा लाग्ने संस्थागत छुट बुद्धिभएकाहरुले पाउँदैनन् । यी पूरै बेग्ल्याइएका र किनारामा पारिएका छन् ! तर खाँट्टी बुद्धिजीवीहरुको चुरो कुरो हो–यो देशका विकृति, विसंगति र व्यभिचार हटाउने हो भने शिक्षा क्षेत्रमा सुधार मात्र होइन, आमूल परिवर्तन नै गर्नुपर्छ !

 

 

उनीहरुको ठम्याइछ:  स्कूलको शिक्षा सकेर विश्वविद्यालयमा पढ्न जानेहरुहरुलाई विश्वका प्रख्यात कलेज, विश्वविद्यालयहरुले चार चरणबाट योग्य बनाउने गर्छन् । तर नेपालको जेठो त्रिभुवन विश्वविद्यालयमा यसको परिपालनाको त के कुरा, स्मरणसम्म बर्जित जस्तै छ ।

 

 

विश्वका चर्चित र सफल विश्वविद्यालयहरु भनौंन, प्लस टू सकेर स्नातक तह अध्ययन गर्न गएको विद्यार्थीलाई चार वर्षमा चार तहमा पारंगत गराउछन् र उ जीवनभर ज्ञानको खोजीमा लागिरहने बन्न पुग्छ ।

 

शिक्षाका चार तह

 

पहिलो तह: विश्वविद्यालयमा भर्ना हुन आउँदा पहिलो वर्ष विद्यार्थी जस्तालाई तस्तै गर्नपर्छ भन्ने मान्यता बोकेर आएको हुन्छ । उ ज्यानको बदला, ज्यान लिनुपर्छ भन्ने सोचमा एकदमै विश्वस्थ हुन्छ ।

 

 

दोस्रो तह: दोस्रो वर्षमा पहिलो वर्ष सकेका विद्यार्थीहरुलाई कुनै पनि कुरो तुलनात्मक रुपमा हेर्नु, बुझ्नु र व्यवहार गर्नुपर्छ भनेर दीक्षित गरिन्छ । त्यस अनुकूलको पाठ्यक्रम बनाइएको हुन्छ । यस चरणमा विद्यार्थीले कुनै पनि कुरालाई एकांगी बनेर होइन, निश्चित सन्दर्भमा हेर्नुपर्ने व्यापकता आफूमा बृद्धि गर्छ । शिक्षकहरुले त्यही कुरा सिद्धान्त र व्यवहारको रुपमा पढाउने र प्रयोग गर्ने गर्छन् ।

 

 

तेस्रो तह: तेस्रो वर्षमा विद्यार्थीले कुनै पनि विषय होस्, त्यसको ‘व्याकग्राउण्ड’मा हेर्नुपर्ने कारण र तरीका सिक्छ । यसले गर्दा कुनै पनि समस्या उत्पन्न भयो भने त्यसबाट अत्तालिने होइन, कुन विगत बोकेर आएको विषय हो यो भनेर त्यसलाई त्यही सन्दर्भबाट केलाउदै समाधान पहिल्याउनु पर्छ भन्ने जान्दछ ।

 

 

चौथो तह: तीन वर्ष लगाएर कलेज÷विश्वविद्यालयमा पढे, जाने, बुझेका कुराहरुलाई आफ्रनो जीवनको प्रयोगबाट पर्गेल्न थाल्छ । यही वर्ष विद्यार्थीले अनुसन्धान गरेर थेसिस तयार पार्छ अर्थात यसअघि पढेका कुराहरुलाई आफूलाई कति फराकिलो, कति गरिराई, चौंडाई, कति तिब्रता र कति उचाइबाट हेर्ने क्षमता विकसित गरेको छ, त्यसै अनुकूल उस्ले लिएको विषयलाई पर्घेलेर अगाडि बढ्छ ।

 

 

तर हाम्रो यथार्थ हो, पहिलो वर्ष कलेज÷विश्वविद्यालय आउदा जुन कुरा बोकेर आएको हुन्छ, त्यही मान्यता बोकेरै फर्र्र्किन्छन् जस्तो लाग्छ । अर्थात, कलेज प्रवेश गर्दा ‘जस्तालाई तस्तै’ गर्नुपर्छ भन्ने मध्ययुगीन बदला, मुढता, घमण्ड, नक्कलबाजी, तुजुकपना बोकेर आएको थियो, शायद त्यही बोकेर उ ‘स्नातक’ बन्छ ।

 

 

विश्वका प्रख्यात विश्वविद्यालयहरुले पालना गरेको यो पद्धतिलाई उनीहरु अहिले झन् तिखार्दै पालना गरिरहेका छन् तर हाम्रो त्रिभुवन विश्वविद्यालयलले त्यो पाठ्यक्रमलाई हाम्रा कक्षा कोठाहरुमा अनुवाद गर्न सकेको देखिदैन । गरेको भए, हाम्रा स्नातकहरुको ‘पर्फरमेन्स’ यस्तो गए गुज्रिएको हुने थिएन । यदि स्नातक पढेको विद्यार्थी चारवर्षमा पाठ्यक्रमअनुसार बदलिएको भए देशको अवस्था यो हालतमा कुनै पनि हालतमा रहिरहने थिएन । प्रमाणपत्र त हाम्रो स्नातकले पनि पायो तर उसले सिकेको देखिएन । पढाइसंगै उसमा समाज र विषयलाई हेर्ने देष्टिकोणमा परिवर्तन आएको पटक्कै सावित भएन । हुँदो हो त उसका पुराना मूल्य मान्यता परिवर्तन भैसकेको हुने थियो । त्यसको कारण समाज पनि परिवर्तन हुनै पर्ने थियो किनभने, यिनै स्नातक मुलुकको कर्मचारीतन्त्र, राजनीति, कुटनीति, समाज, अर्थतन्त्र आदि हरेक क्षेत्रको नेतृत्व तहमा पुगिरहेका जो छन् ।

 

यसको लागि तीनवटा उदाहरण काफी छन्;

 

पहिलो– बहुचर्चित डन चरी अर्थात, दिनेश अधिकारी प्रहरीसंगको इन्काउन्टरमा मारियो । सबैले ठीक भयो, पुलिसले मारयो भने । तर के कुरा अधिकांशले बिर्सिएको देखियो भने, यो देशमा मृत्युदण्डलाई उन्मूलन गरिएको छ र चरी इन्काउन्टरमा मारिएको हो कि प्रहरी हिरासतमा नै मारिएको हो कसैले खोजी गरेन । खोजी गर्ने प्रयत्न पनि गरेन ।

 

 

दोस्रो: प्रहरी इन्काउन्टरमै अर्को डन घैंटे अर्थात कुमार श्रेष्ठ मारियो । यसमा पनि सबैले पुलिसलाई वाह वाह नै गरे । मात्र संबिधानसभा सदस्य तथा युवा नेता गगन थापाले प्रहरीले गरेको हत्या भनेर बोले । मानव अधिकार आयोगमा पनि गए । तर गगनले यो सबै घैंटेसंगको संबन्धका कारण गरेका थिए । संबैधानिक रुपमा व्यक्ति हत्यामा जुन रोक लगाइएको छ, त्यसवारे भने कसैले सवाल नै उठाएको पाइएन ।

 

त्यसपछि अर्का मनोज पुन मारिए । सामाजिक संजालले यसलाई पनि बहुत ठिक भनेर प्रचार प्रसार गरे । अभिमतहरुले हत्यालाई उचित नै ठहरयाएको पाइयो ।

 

माथिका तीनवटै घटनामा रहेको समानता भनेको ‘जस्तालाई तस्तै’ अर्थात ‘टिट फर ट्याट’ हो । यसको अर्थ हो, नेपाली समाज, राजनीति, कर्मचारीतन्त्र, कुटनीतिलगायत हरेक क्षेत्र स्नातक भैसकेको छैन, नेपाली समाज र यसको नेतृत्व ! ग्राजुएट भएको भए, हरेक क्रियाको प्रतिक्रियामा ‘रिजनिङ्ग’ आउने थियो, ‘स्याल हुइया होइन’ ! गालीबले त सत्रौं शताब्दिमा त्यतिबेलाको समाजलाई व्यंग गर्दै लेखे तर हामी एक्काइसौं शताब्दीमा अनुहारमा पोतिएको कालो हटाउन ऐना पुछिरहेका त छैनौं ?

 

Comments

Competition middle banner