MENU
उता मोदीलाई लाभैलाभ, यता के भयो ओलीलाई ? –श्रीकृष्ण अनिरुद्ध गौतम
 : 957 views
  May 15, 2018

प्रधानमन्त्री ओलीले गएको प्रतिनिधिसभामा जुन मुद्दामा जनादेश पाएका हुन्, उनी त्यसका ठीक उल्टो दिशामा गए । भारतका सामु उभिनु, संवाद गर्नु त ठिक हो तर घटनाक्रम र उनको तौरतरिकाले के देखियो भने उनी पनि विगतका अरुहरुजस्तै लम्पसारै परिदिए ।

 

गएको साता घटनापूर्ण रह्यो । यति घटनापूर्ण कि हरेक अखबारका पानाहरुहरुमा एउटै समाचारका विविध आयाम छरिएका थिए, भरिएका थिए । अनलाइनमा बाढी नै आएको थियो । रेडियो, टिभी, जता हेर्यो त्यतै मोदी नै मोदी । मोदी अर्थात् भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी । बैशाख २८ मा आए, २९ मै फर्के तर उनको त्यो दौडाहाले नेपालको राजनीतिक दृश्यपटलमा आँधीबेहरी नै ल्यायो । त्यो आँधीबेहरीमा भूकम्पले आक्रान्त भएकाबेला हतार हतार अन्तिम रुप दिइएका संविधानका धाराले बनाइएको, नाकाबन्दीमा बगेका आँशुले लिपेको उच्च राष्ट्रवादी महल नराम्ररी, छिया छिया, क्षतिग्रस्त हुनपुग्यो ।

 

मोदीलाई अतुल्य लाभ भयो । लाभ पनि एउटा होइन, बहुआयामिक थियो । पहिलो लाभ त उनले जनकनन्दिनी सीताको जन्मस्थलमा स्थित जानकी मन्दिरमा पूजा अर्चना गरे । त्यहाँ पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री नै उनै भए । ईश्वरीय सत्ताप्रति आस्थामा एउटा असीम र भावातीत आनन्द हुन्छ, मोदीले भावातीत आनन्द अनुभव गर्ने सौभाग्य प्राप्त गरे । यता नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली त ईश्वर नै छैनन् भन्नेमा परे । नास्तिक हुन्, त्यसैले उनले मन्दिरका मूर्ति हेरे, मूर्तिमा कलाकारिता देखे, त्यहाँ कुनै अपरिमित अदृश्य सत्ता देखेनन् । अर्थात् मोदीले त्यहाँ जे देखे, ओलीले देखेनन् ।

 

त्यसपछि मोदी काठमाडौं आए । ओलीसँग वान–अन–वान कुरा गरे, अंकमाल गरे । फोटो खिचाए । भोलिपल्ट, अर्थात् शनिबार बिहानै उनी मुस्ताङ गए । मुक्ति क्षेत्रमा विधिपूर्वक भगवान श्रीमुक्तिनाथको दर्शन गरे । त्यसको एउटा लाभ विश्वभरका धर्मप्रेमीहरुलाई पनि भयो । उनीहरुले समेत भगवान श्रीमुक्तिनाथको भर्चुअल दर्शन गर्ने अवसर प्राप्त गरे । फर्केर काठमाडौं आए, भगवान श्री पशुपतिनाथको दर्शन गरे । जोजो भेटे, भलाकुसारी गरे ।

 

दुई ठाउँ अर्थात् मिथिला नगरी र काठमाडौंमा नागरिक अभिनन्दन गरियो । दिल खोलेर भाषण गरे । निश्चय नै २०७२ सालको नाकाबन्दीको कष्ट र पीडा सम्झेर, धेरै मानिसले मनमनै र प्रकटमा उनको आगमनको विरोध गरे तर विरोधै गरे पनि उनका कुरा भने सुने । नेपालीहरु मोदी नेपालमाथि नाकाबन्दी लगाएकोमा माफी मागुन् भन्ने चाहन्थे तर नाकाबन्दीका कारण दुःखेका नेपालीसँग माफै चाहिँ मागेनन् । नेपालप्रति आफ्नो स्नेह, प्रेम, सद्भाव रहेको कुरा भने पटक पटक भनिरहे । त्यसैलाई कतिपयले मोदीले घुमाएर माफी मागे भन्ने अर्थ लगाए ।
भेटघाट गरे । अघिल्लो र पछिल्लो दिन गरी उनले प्रशस्तै सामूहिक र एक्लाएक्लै भेटे, आफ्ना अनुभव सुनाए । नेपाली कांग्रेसलाई निर्वाचनमा परास्त भएकोमा नआत्तिन भन्दै सान्त्वना दिए । मधेस केन्द्रित दलहरुलाई विधिअनुसार अघि बढ्न सुझाव दिए । नराम्रो लाग्ने, घोच्ने कुरा कसैसँग गरेनन् किनभने उनी मुख्यतः तीर्थाटनमा आएका थिए । ओलीको सक्दो प्रशंसा गरे । हो पनि, आतिथ्य प्रदान गर्ने मुलुकका प्रधानमन्त्रीको प्रशंसा गर्न कन्जुस्याईं गर्नु भएन, त्यसैले गरेनन् ।

 

मोदी शनिबार नेपाल तीर्थाटनबाट स्वदेश फर्के । आफ्नो काम गरे, गए । तर उनको आगमनलाई के के न आए जस्तो गरेर प्रस्तुत गरियो । सरकारले जुन तामझाम गर्यो त्यो किमार्थ पाच्य थिएन । हुन त ओली आफैंले पनि कमी कमजोरी भएको स्वीकारेका छन् तर अनावश्यक तामझाम कमी कमजोरीभित्र परे परेनन्, त्यो भने ओलीलाई नै सोध्नुपर्छ । मोदीलाई स्वागत गर्न जनकपुर जानु कति जरुरी थियो, यद्यपि गए पनि मोदी र आफूले उस्तै वस्त्रधारण किन गर्नुपर्या होला ! यो अहिले धेरैको जिज्ञासाको विषय भएको छ । हुने थिएन तर विगतमा उनको जुन भारतविरोधी प्रस्तुति थियो, त्यसकारण बिचरा वस्त्र पनि विवादित भएको छ । फेरि घोषित रुपमै नास्तिक भइसकेपछि मन्दिरको के नै अर्थ भयो र ! मोदी पो ईश्वर मान्छन्, त्यसैले उनले मन्दिर भने पछि हुरुक्कै हुनु स्वाभाविक हो । ओलीजस्ता ईश्वर नै नमान्नेलाई केको मन्दिर, केको पूजा !

 

जनकपुर उपमहानगरपालिकाले गरेको मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धीको सम्बोधन आफैंमा हास्यास्पद त थियो नै आपत्तिजनक पनि थियो । हास्यास्पद किनभने त्यो समारोह अभिनन्दनका लागि आयोजन गरिएको थियो, वादविवाद र बहसका लागि होइन । यतिसम्मको ज्ञान नभएको पात्र मुख्यमन्त्री बनाइनु यथार्थमै हास्यास्पद हो । अझ, जुन संविधानअन्तर्गत उनी पदमा छन्, त्यसमा के लेखिएको छ, त्यो नै थाहा नहुनु अर्को हास्यास्पद विषय हो । उनको हरकत देखेर वास्तवमा नेपालीलाई भन्दा मोदीलाई नै अप्ठयारो लागेको हुनुपर्छ किनभने स्वागत सत्कारका लागि पाहुना बोलाएर आफ्नै घरको बेथिति सुनाइन्छ र ! पाहुनालाई, धत् कस्ता मान्छे बस्दा रहेछन् यहाँ भन्ने पक्कै लाग्छ !

 

साथै, विवेकशील साझा पार्टीले मोदीको स्वागत गर्दै नाकाबन्दी सम्झेको थियो । उसले आफ्नो पार्टी अफिसमा ब्यानर टांग्यो त के बिगा¥यो ? पुलिसलगाएर ब्यानर निकाल्नुपर्ने किन ? ओलीलाई के मोदी भेट्नासाथै नाकाबन्दी सम्झिनु पनि अपराध भयो ? दुःख पाउने त जनता थिए र ओलीलाई स्मरण रहोस् प्रत्येक नेपालीका मनमा नाकाबन्दी सधैं आलै रहने घाउका रुपमा विद्यमान छ । उनले बिर्सन सक्छन् किनभने नाकाबन्दीमै पनि उनलाई कुनै किसिमको अभाव थिएन । न त उनको आवागममा कुनै बाधा थियो, न औषधोपचारमा कुनै अभाव । तत्कालीन समयमा उनले नेपाली जनमानसले बेहोरेको कष्ट, पीडा, दुःखदैन्यलाई आफ्नो वाणीमा मुखरित गरेका थिए । जनताले त्यसैको गुन मानेका थिए, त्यसैले तीन तहकै निर्वाचनमा उनको दल एमालेलाई एउटा राष्ट्रवादीले नेतृत्व गरेको पार्टी भनेर जिताएका थिए ।

 

तर दोस्रो पटक प्रधानमन्त्री नबन्दैदेखि ओलीको चालचलन र झुकाव नाकाबन्दी लगाउनेतर्फ नै भएको देखियो, प्रधानमन्त्री बनेपछि उनको बोली झन् फेरिन थाल्यो । चैतमा चीनको बोआओ सम्मेलन छल्दै उनी भारत भ्रमणमा गए । अनि, फेरि उनी चीन नजाँदै भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आए । यी घटना सतहमा हेर्दा जतिसुकै स्वाभाविक लागे पनि ग्राह्य भएनन् । भएनन् किनभने शेरबहादुर देउवा अथवा पुष्पकमल दाहालबाट यस्तो भएको भए, स्वभाविकै मानिन्थ्यो तर उनका, यताका क्रियाकलाप संविधान निर्माण र जारी हुँदादेखि निर्वाचनको अवधिसम्म बनाएको छविका ठीक विपरीत भए । जुन मुद्दामा उनले जनादेश पाएका हुन्, उनी त्यसका ठीक उल्टो गए । भारतका सामु उभिनु, संवाद गर्नु त ठिक हो तर घटनाक्रम र उनको तौरतरिकाले के देखियो भने उनी पनि विगतका अरु कतिपयहरुजस्तै लम्पसारै परिदिए ।

 

परिणाम के भयो थाहा छ, नेपालमा आजका मितिमा राष्ट्रवाद व्यंग्यको, हाँसोको विषय भएको छ । उता मोदीलाई जानकी दर्शन, श्रीमुक्तिनाथ र पशुपतिनाथको पूजा अर्चनास्वरुप प्रत्यक्ष कृपा आशीर्वाद प्राप्त भएको छ । पछिल्लो समाचारअनुसार कर्नाटक विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी सर्वाधिक अगाडि छ । अर्थात् उनको  पार्टी  पुनः अर्को प्रदेशमा विजयश्रीका एकदमै नजिक छ ।

Comments

Competition middle banner