MENU
प्रचण्डको ‘रोमान्टिसिज्म’ले अर्को राजनीतिक दुर्घटना निम्त्याउदै -भीम भुर्तेल
 : 2,726 views
  Jun 08, 2018

रुसी प्राज्ञ भासिली क्ल्यूचेस्कीको कथनमा भनिए जस्तो प्रचण्डले निकट विगतको इतिहासबाट केहि सिकेको जस्तो देखिदैंन । यदी प्रचण्डले विगतको इतिहासबाट सिकेनन भने उनलाई यसले निकै कठोर दण्ड दिने छ । त्यो कस्तो दण्ड हुन्छ भन्ने पनि इतिहास कै गर्भमा छ ।

 

‘इतिहासले कसैलाई पनि केहि सिकाउँदैन तर, इतिहासबाट नसिक्नेलाई कठोर सजाय मात्र दिन्छ ।’  – भासिली क्ल्यूचेस्की, रुसी पुरातत्वविद्ध तथा इतिहासकार

 

नेपाल कम्युनिस्ट पार्टीका स–अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा अत्यन्तै ‘अनप्रिडिक्टेबल’ व्यक्तित्व हुन । उनको यो आकलन गर्न नसकिने ‘अनप्रिडिक्टेबल’ राजनीतिक व्यक्तित्वले उनलाई कतिपय अवस्थामा ‘करिष्मेटिक’ व्यक्ति पनि बनाएको छ । करिब दश बर्षको गृहयुद्धमा फसेको देशलाई शान्तिको बाटोमा फर्काउँन कुनै कालखण्डमा फासीवादी भनेर सवैभन्दा धेरै गाली गरेका गिरिजाप्रसाद कोइरालासंग हात मिलाउन पुगे । पहिलो निर्वाचनमा सवैभन्दा ठूलो राजनीतिक दल बन्यो । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने । प्रधान सेनापति प्रकरणमा अप्रत्यासित रुपमा राजीनामा दिए, धेरैले आकलन गरे विपरित ।

 

संविधान निर्माण नभैकन उनले माओवादी सेनाको जे जस्तो भए पनि समायोजन-व्यवस्थापन गरे । यसैको कारण पार्टी पनि फुट्यो । उनी संविधानसभाको दोस्रो पटकको निर्वाचनमा भाग लिए । आफ्नो दल तेस्रो भयो । तरपनि, उनले संविधान निर्माणमा आफुले गर्न सक्ने पहल पनि गरे र धेरै बिषयमा अडान पनि लिए ।

 

 

संविधान निर्माणपछि भारतले नाकावन्दी लगायो । टुडिखेलको भाषणामा ‘मर्न तयार छु तर विदेशी शक्ति अगाडि झुक्दिन’ भने । तत्कालिन माओवादी, नेपाली कांग्रेस र एमाले वीचमा भएको सहमतिअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाए पनि । एक बर्ष नपुगि ओली सरकार ढालेर आफै प्रधानमन्त्री भए । त्यसको ९ महिना पनि नपुगी आफैले राजीनामा दिएर सत्ताको साँचो शेरबहादुर देउवालाई बुझाए । स्थानीय निकाय निर्वाचनमा कांग्रेससंग गठबन्धन गरेका प्रचण्डले तेस्रो चरणको स्थानीय निर्वाचनसम्पन्न भएको एक महिनापछि नै नेकपा एमालेसंग चुनावी गठबन्धन गरे । गठबन्धनले निर्वाचनमा सोचेभन्दा राम्रो परिणाम पनि ल्यायो । निर्वाचन जितेको केहि महिनामा एमालेसंग पार्टी एकिकरण पनि गरिसकेका छन् । यी सवै घटनाक्रम हेर्दाखेरी उनी एक गतिशिल राजनीतिज्ञको रुपमा देखिन्छन् ।

 

 

कतिपय अवस्थामा उनलाई उनको त्यहि गुणले भुइँमा पछारेको पनि छ । पछारिएपछि उठेर कोटको घुलो टक्टकाएर फेरी राजनीतिको धुरी चढ्न पनि जानेका छन् । तर, एकपटक धुरीबाट झरीसकेपछि फेरी त्यति नै उचाईको घुरी चढ्न चाँही समस्या हुने रहेछ भन्ने तथ्यलाई उनले त्यति धेरै मनन गर्न नसकेको प्रतित हुन्छ । साथै, उनी केहि न केहि विजाई नगरिकन बस्नै नसक्ने गुण पनि रहेको देखिन्छ । यसरी उनलाई कुत्कुति लागेर विजाइ गर्दा त्यसको मुल्य चाँही निमुखा र निम्छरा जनता जसको लागि उनी राजनीति गरेको दावी गर्छन, उनीहरुले तिर्नु पर्दछ ।

 

 

सन्दर्भ  के हो भने तत्कालीन समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले सुधारिएको संसदीय व्यवस्थासहितको संविधान जारी गरे । अहिले यो व्यवस्थाअनुसार ५ बर्षमा दुइवटासम्म सरकार बन्छन, यदि प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावको आधारमा हटाइएको सन्दर्भमा  ।

 

 

यस्तो अवस्थामा अहिले केहि बर्ष यहि व्यवस्था अन्तर्गत  केहि बर्ष स्थीर सरकार चलाएर जनताको जीवनमा तात्विक फरक आउने केहि काम गर्न सके संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्छ । राजनीति धेरै भयो अब देशको आर्थिक उन्नती र जनताको जविनस्तरमा तात्विक सुधार गर्नु पर्यो भन्ने माग उठिरहेको छ । तर, यसको विपरित वामपन्थीले बहुमत ल्याएकोले ‘भुइमा न भाडाँमा, कुकुर टाँढमा’ भन्ने नेपाली उखान जस्तै संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन प्रणाली लागु गर्नेतर्फ बाटो खुलेको अभिव्यक्ति दिएका छन् ।

 

 

उनले ‘अहिले सबै संघीयता पक्षधरको गठबन्धन र एकता हुनुले अब नेपालको शासन एक विचारले मात्र लामो समयसम्म गर्न सक्ने आधार बनेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्ने समाचारमा आएको छ । ‘अब विचार मिल्नेसँग एकीकरण गरेर कार्यकारी प्रमुख जनताबाट निर्वा्चित हुनेगरी नै संविधान संशोधन हुनेछ, जसले गर्दा देशमा स्थायी सरकार र विकासको गति लिने विश्वास नेकपाले लिएको छ’, ‘अहिलेसम्मको राजनीतिक अस्थिरता र गतिहिनता संसदीय व्यवस्था र त्यसमा पनि कमजोर अवस्था रहेका कारणले भएको भन्ने ठहर गर्दै राष्ट्रपतीय प्रणालीतर्फ जाने तयारी गरिएको हो।’ उनले बताएको भनेर समाचार आएको छ ।

 

 

प्रचण्डले राष्ट्रपतीय प्रणाली पक्षधर सबै शक्तिहरू सरकारमा रहेकोले आउँदो चुनाव अगाडि नै संविधान संशोधनमार्फत राष्ट्रपतीय प्रणाली घोषणा गर्ने सकिने बताएको भन्ने खबरले शहरमा चर्चा पाएको छ । उपेन्द्र यादव पहिलादेखी नै कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा थिए र उनलाई सरकारमा सहभागि गराइनुले संविधान संसोधन गरेर राष्ट्रपतीय प्रणालीमा जानको लागि त हैन भन्ने संसयका साथ हेर्न पनि थालिएको छ । स्थीर सरकार भन्ने शब्दको उत्पादन नै निरकुशतावादी शासन लादनको  लागि हो भन्ने कोणबाट ‘राजनीतिक संकथन’ (पोलिटिकल न्यारेटिभ) निर्माण भै रहेको छ ।

 

 

अहिले देशको आर्थिक विकासको आधारभुत आधारशिला निर्माण गर्ने, संघीयता कार्यन्वयन गर्ने, पारदर्शी, जवाफदेयी, प्रभावकारी सेवा प्रवाह गर्ने खालको शासन व्यवस्थाको निर्माण गर्ने समयमा संविधान जारी भएको ३ बर्ष नपुगी र आम निर्वाचन सम्पन्न भएको एक बर्ष पनि नपुगी यस्ता बचकना बिषय उठाउन थाले भने प्रचण्डको हविगत चियाको कपमा खसेको माखो जस्तो हुने छ ।

 

 

प्राथमिकता के हो भन्ने निर्धारण गर्न नसक्दा र आलाकाचा साथीहरुको सल्लाहको लहैलहैमा लागेर प्रधान सेनापतिलाई हटाउने हठात निर्णय गर्न पुग्दा उनी प्रधानमन्त्री पद गुमाउन मात्र पुगेनन प्रचण्डको राजनीतिक गुरुत्व कहिल्यै नर्फकिने गरि गुमाउनसमेत पुगे । उनको पार्टी छिन्नभिन्न भयो ।

 

 

त्यसवेला उनको विरुद्ध गठजोड गरेर बसेका देशी, विदेशी शक्तिको कारणले उनलाई उनकै मातहतको बिशिष्ट श्रेणीको अधिकृत सहरको कर्मचारीले भुईमा पर्छान पुग्यो । विगत केहिबर्षयता माओवादीले सर्वसत्तावाद लाद्न खोजेको मैलै रोकेको भनेर मिडियावाजी गर्ने अवसर मात्र जुटाई दिए रुकमाग्द कटवाललाई ।

 

 

अहिले फेरी प्रचण्डले त्यहि गल्ति दोहोर्याईरहेका छन् । नेकपाले राष्ट्रपतीय प्रणालीमा परिवर्तन गर्नको लागि यो जनादेश पाएको होइन । त्यस्तो प्रयत्न गरे देशी विदेशी शक्तिले एउटा यस्तो ताक पार्छन, गोपाल पराजुलीलाई न्याय परिषदको उपसचिवले पदबाट हटाइ दिए जस्तो यो सरकार सत्ताबाट धुलोमा झारिदिन्छन । फेरी उठेर कोट टक्टक्याएर हिड्ने अवस्थै नआउन पनि सक्छ । अहिले संघीयतालाई कार्यमा रुपान्तरण गर्नको लागि आवश्यक कानुन निर्माण, आर्थिक विकासको गति अगाडि बढाउने, असल शासन व्यवस्थाको सुनिश्चितता, र सरकारले ‘डेलिभरी’ गर्ने समय हो ।

 

 

एकपछि अर्को विजाइ गर्ने र राजनीति अस्थिर गर्ने बिषयमा मात्र दिमाग लगाउने प्रचण्डले अलिक ‘रेस्ट्रेन’ गर्न आवश्यक छ । ‘रोमाटिसिज्म’ले आफु त डुब्छन नै अरुलाई पनि डुबाउँने छ, प्रचण्डका यस्ता अभिव्यक्ति र व्यवहारले । यो आलेखको सुरुमै भासिली क्ल्यूचेस्कीको भनाई प्रचण्डमा पनि लागु हुन्छ । प्रचण्डले निकट विगतको इतिहासबाट केहि सिकेको जस्तो लाग्दैन । यदी इतिहासबाट प्रचण्डले सिकेनन भने उनलाई इतिहास निकै कठोर दण्ड दिने छ । फेरी एकपटक रुसी प्राज्ञको दोहोर्याउँ,‘इतिहासले कसैलाई पनि केहि सिकाउँदैन तर, इतिहासबाट नसिक्नेलाई कठोर सजाय मात्र दिन्छ ।’

 

Comments

Photography