MENU
ओलीको आसन्न चीन भ्रमण: के हो प्राथमिकता ? –श्रीकृष्ण अनिरुद्ध गौतम
 : 308 views
  Jun 12, 2018

आफ्नो चीन भ्रमणका क्रममा ओलीले यातायात पारवहन सम्झौतालाई कार्यान्वयनको मार्ग प्रशस्त गरे, गर्न सके भने यही नै सर्वाधिक उल्लेख्य उपलब्धि हुनेछ । किनभने व्यापार र पारवहनमा भारतप्रतिको निर्भरताकै कारण अहिलेसम्म नेपालको व्यक्तित्व खुल्न र फैलिन सकेको छैन । एकतर्फी निर्भरताका कारण हेपिनु त छँदैछ, व्यापार असन्तुलन पनि भयावह हुँदै गएको छ । चीन आजको भोलि नै नेपालका लागि भारतको विकल्प बनिहाल्छ भन्ने होइन तर यातायात र पारवहनसँगै अरु विविध क्षेत्रहरु स्वतः खुल्दै जानेछन् ।

 

 

असारको पहिलो साता प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली चीन भ्रमणमा जाने तयारी गर्दैछन् । उनको आसन्न भ्रमणलाई विभिन्न कोण र क्षेत्रबाट अत्यन्त जिज्ञासाका साथ हेरिदैछ । हेरिदैछ किनभने पछिल्ला निर्वाचनमा उनी, उनको दल र त्यतिबेला उनको सहयोगी रहेको र अहिले उनैमा विलय हुन आएको माओवादी केन्द्रको विजयमा चीन फ्याक्टरको मुख्य प्रभाव रहेको थियो ।

 

२०७२ भूकम्पको त्रासदी भोगिरहेका नेपालीहरुले त्यसै वर्ष अर्को भयावह त्रासदी भोग्नु परयो । भूकम्प त प्राकृतिक कोप थियो तर अर्को कोप थियो नाकाबन्दी, मानव निर्मित कहालीलाग्दो त्रासदी । भूकम्पकै त्रासद अवस्था चल्ते राजनीतिक दलहरुले संविधान जारी गर्ने मौका छोप्ने उद्यम गरेका थिए एकातिर भने अर्कातिर भारतलाई नेपालको संविधान आफू अनुकूल चाहिएको थियो ।

 

भूकम्पको त्रासद अवस्था, पालमुनीको बासमा पुगेका बेघरबार लाखौं मानिसको यथोचित व्यवस्था नहुँदै दलहरु र भारतबीच संविधानलाई लिएर तनाव बढ्यो । तनावकै बीचमा त्यसै वर्षको असोज ३ मा संविधान जारी गरियो ।

 

भारतले दलहरुले आफूले भनेको नमानेको निहूँ र झोंकमा नेपालमाथि पाँच महिनाभन्दा बढी समय आर्थिक नाकाबन्दी लगायो । त्यसै समयको सेरोफेरोमा तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बने । उनले भारतसामु नझुक्ने अडान लिए । आफ्ना निकटतम छिमेकीको कोपमा परेर कष्टकर जीवन बाँचिरहेका नेपालीहरुले ओलीलाई भरपूर र मनैदेखि साथ दिए । नेपाली जनमानसमा भारतलाई हेर्ने दृष्टिकोणमा बिम्ब प्रतिस्थापन अर्थात् प्याराडाइम सिफ्ट नै भयो । बालबालिकादेखि वृद्धवृद्धासम्म भारतको भर गरेर हुन्न भन्ने मनोभाव बन्न गयो । ओली नेपाली जनमनका नायक बने । जसोतसो पाँच महिनापछि नाकाबन्दी त हट्यो तर नेपालीहरुका मनमा बिझेको काँडो यथावतै रह्यो । त्यो काँडो छँदैछ, बिझिरहन्छ ।

 

ओलीले त्यसैबखत आफ्नो चीन भ्रमणका क्रममा अर्थात् आफ्नो पहिलो प्रधानमन्त्रीत्वमा चीनसँग यातायात पारवहन सम्झौता गरेका थिए । यसले प्रतीकात्मक नै सही नेपालीहरुलाई धेरै ठूलो मानसिक राहत भएको थियो । साथसाथै चीनसँग सोझो कनेक्टिभिटीका लागि चिनियाँ सहयोगमा रेल, ऊर्जामा लगानी जस्ता बहुद्देश्यीय योजनाहरु अघि बढाउने प्रस्ताव अघि सारेका तथा समझदारी गरेका थिए । यसले नेपालमाथि भारतको एकछत्र प्रभाव र दबदबालाई निमिट्यान्नै नपारे पनि कम अवश्य गर्छ भन्ने भावभूमि तयार भयो र यसको प्रत्यक्ष प्रभाव निर्वाचनमा प¥यो । फलस्वरुप, ओली नेतृत्वको गठबन्धनको दिग्विजय भयो ।

 

ओलीको आसन्न चीन भ्रमण यसै पृष्ठभूमिमा हुन गइरहेको छ । आफ्नो भ्रमणका क्रममा उनले यातायात पारवहन सम्झौतालाई कार्यान्वयनको मार्ग प्रशस्त गरे, गर्न सके भने यही नै सर्वाधिक उल्लेख्य उपलब्धि हुनेछ । किनभने व्यापार र पारवहनमा भारतप्रतिको निर्भरताकै कारण अहिलेसम्म नेपालको व्यक्तित्व खुल्न र फैलिन सकेको छैन । एकतर्फी निर्भरताका कारण हेपिनु त छँदैछ, व्यापार असन्तुलन पनि भयावह हुँदै गएको छ । व्यापार घाटा र बजेटको आकार झण्डै बराबर हुन पुगेको छ । यसको तात्पर्य घाटा सन्तुलनमा आइहाल्छ र चीन आजको भोलि नै नेपालका लागि भारतको विकल्प बनिहाल्छ भन्ने होइन तर यातायात र पारवहनसँगै अरु विविध क्षेत्रहरु स्वतः खुल्दै जानेछन् ।

 

ती विविध क्षेत्रमा रेल यातायात समेत पर्छ । हुन त किन चाहियो नेपाललाई रेल भन्नेहरु पनि छन् । भन्न त कुनै बेला चक्रपथ (रिङरोड) नै किन चाहियो भन्नेहरु पनि थिए । चक्रपथ नभएको भए आज उपत्यकाको के हालत हुन्थ्यो, कल्पना पनि गर्न सकिँदैन । नेपाललाई रेल चाहिएको विशेष गरेर पारवहनकै सन्दर्भमा हो । यसले नेपालका मुकामहरुबाट समुद्रसम्मको पहुँचलाई सहज बनाउने छ । यसबाट देशभित्र एउटा भरपर्दो पूर्वाधार त बन्छ नै समुद्र नहुनाको दुःख समेत धेरै हद्सम्म शमन हुनेछ ।

 

त्यस्तै विद्युत् आदान प्रदानको विषय छ । जबसम्म नेपालमा उत्पादन हुने विद्युत्को अर्को बजार खोजिदैन, भारतसँग नेपालको बार्गेनिङ क्षमता वृद्धि हुन सम्भवै छैन । अहिलेसम्म भइआएजस्तै हरेक आयोजनामा भारतकै शर्त र दररेट प्रभावी हुनेछ, विद्युत् लेनदेनमा पनि उसको शिकन्जाबाट नेपाल कहिल्यै फुत्किन सक्ने छैन । फेरि भारतले उसैको शर्तमा पनि काम गरिदिए त हुने नि, पञ्चेश्वर हेर्नुहोस्, काम गर्दैन, २२ वर्षदेखि ओगटेर बसेको छ ।

 

त्यसैले केही ठूला आयोजनाहरु चीनसँग सहकार्य गर्दै गर्नैपर्छ ताकि भारतलाई पनि नेपालमा काम गर्दा तत्परताका साथ गर्नुपर्छ भन्ने बोध हुन सकोस् । साथै एक दुई बिन्दुमै सही नेपाल चीनबीच विद्युत आदान–प्रदान लागि प्रसारण लाइन विस्तार हुनुपर्छ, यसले कमै भए पनि भारत निर्भरतालाई होलो बनाउने छ । यसर्थ यसपालि प्रधानमन्त्री ओलीले यस कार्यमा एक पाइलै सही प्रगति गरेकै हुनुपर्नेछ । निश्चय नै भारतसँग विविध कारणले नेपालीहरुको विशेष सामिप्य छ ।

 

यसमा भौगोलिक, सांस्कृतिक त छन् नै तर साथसाथै उत्तरतर्फको सीमापार सम्बन्ध विस्तारलाई खासै महत्व नदिएकाले पनि नेपालीहरुमा हरेक मामिलामा भारतकै मुख हेर्ने बानी परेजस्तै भएको छ । अब यो बानी बदल्नुपर्ने भएको छ किनभने भारतप्रति निर्भर हुँदहुँदै नेपालीहरुमा कुनै नकुनै आश्रय बिना अघिबढ्नै सक्दैनौं भन्ने मनोभाव बनेको छ । यो मनोभाव स्वभावमा रुपान्तरित भइरहेको छ ।

 

समृद्धिका जति गफ गरे पनि आश्रयमा रमाउने स्वभावले समृद्धिका लागि कर्म गर्ने ढोका कहिल्यै खोल्दैन । यसर्थ भारतका अतिरिक्त चीनको भूमि हुँदै समुद्र पुग्ने मार्ग अब खुल्नैपर्छ र त्यही मार्गको पर्मिट हो पारवहन सम्झौता । यसर्थ, यातायात–पारवहन सम्झौतालाई क्रियान्वयनमा ल्याउनु नै ओलीको आसन्न चीन भ्रमणको प्रमुख प्राथमिकता हुनुपर्छ ।

Comments

Competition middle banner