MENU
एउटी साहसी र निडर महिला नेतृको संझना !
 : 4,573 views
  Jun 12, 2018

बीपी कोइरालाले काँग्रेसले सशस्त्र आन्दोलन संचालन गरिरहेको समयमा शैलजा आचार्यलाई संझदै लेखेका छन् । ‘अहिले शैलजा जेलमा नभएर मसंग भएकी भए मलाई के सल्लाह दिन्थी होला ? कसरी अगाडि बढ्नु पर्छ भन्थी होली ? यतिबेला जेलमा उ कसरी बसेकी होली ???

 

 

बीपीको लेखाइबाट  नै थाहा पाउन सकिन्छ, शैलजा उनको कति नजीक थिइन् ? उनी बीपीको अति भरोसाको पात्र थिइन् !

 

 

हुन पनि शैलजा बीपीसंग यति अभिन्न थिइन् कि बीपी कोइराला ०३३ सालमा राष्ट्रिय मेलामिलापको नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्किंदा शैलजा पनि बीपीसंगै काठमाण्डौंको त्रिभुवन विमानस्थलमा उत्रिएकी थिइन् । विमानस्थलबाट बीपी गणेशमान पक्राउ परेर सुन्दरीजल जेलमा पु¥याइए भने शैलजालाई महिला कारागार त्रिपुरेश्वर लगियो । उनले पुलिसको गाडीबाट हात हल्लाउदै सबैलाई अभिवादन गरेकी थिइन् ।

 

 

 

शैलजाको परिचय यतिले मात्र खुल्दैन । यी त्यस्ती निडर र साहसी महिला नेत्री हुन् जसले सत्र बर्षको चढ्दो जवानीको उमेरमा राजा महेन्द्रलाई कालो झण्डा देखाएर उनको प्रजातन्त्र मास्ने, जननिर्वाचित सरकारलाई पदच्युत गर्ने कदमको सशक्त विरोध गरेकी थिइन् ।

 

 

 

नेपालमा सैनिक शासन लागु गरेर राजा महेन्द्र टुंडीखेलमा आयोजित आमसभामा संबोधन गर्दै थिए ।  त्यो सभामा कालो झण्डा देखाउनु भनेको जीवन माया मार्नु नै थियो । तर सेना र प्रहरीको कठोर जाँचबुझलाई पार गर्दै शसस्त्र सेना प्रहरीको किल्लामा प्रवेश गर्नु सानो आँटको काम थिएन । यो नै गाह्रो काम थियो ।

 

शैलजा कालो सल ओढेर टुंडिखेलभित्र पुगिन् र त्यसैलाई कालो झण्डाको रुपमा फहराएर राजा महेन्द्रलाई चुनौति दिइन्, तिमीले प्रजातन्त्रको हत्या ग¥यौ । हामी यसको विरोध गर्छौं । कोही कसैले चुँु सम्म गर्न नसकिरहेको समयमा एउटी किशोरी युवतीले हाकाहाकी प्रदर्शन गरेको त्यो साहसले निरंकुश राजालाई ठाडै परास्त ग¥यो । सशस्त्र सेनाले उनलाई लछार पछार गर्दै क¥याप कुरुप पा¥यो र पक्राउ ग¥यो ।

 

 

(शैलजा एक्लैले यो काम गरेकी थिइनन्, उनलाई साथ दिने उनकै उमेरकी अर्की किशोरी थिइन् गौरी राणा ! शैलजा त जीवनभर राजनीतिमै अविछिन्न रुपमा सक्रिय रहिन् तर गौरीले जेलबाट छुटेपछि शिक्षाको मोर्चा सम्हालिन् । उनी स्कूल खोलेर युवा युवतीलाई अहिले पनि सचेत बनाइरहेकी छन् ।)

 

 

शैलजाको संझना

 

 

आज शैलजाको संझना गरिदैछ किनभने उनको निधन भएको आजै आठ वर्ष पूरा भएर नवौं वर्ष लाग्दैछ । उनको जन्म सन् १९४४सालमा भएको थियो भने निधन, १२ जुन २००९मा । नेपालको प्रजातान्त्रिक आन्दोलनकी सशक्त र प्रतिवद्ध यी योद्धाको निधन भएको यतिका वर्ष वितिसक्दा पनि यिनी प्रजातान्त्रिक आन्दोलनकारीको मनको धुकधुकी नै रहेकी छन् । कोइराला परिवारकी भान्जी भन्दा पनि यिनको कद यिनको बिद्रोही, हठी र निरन्तर आफूले राजनीतिक परिवर्तनको निम्ति लागिरहिन् । प्रजातान्त्रिक आन्दोलनमा कहिल्यै यिनी डगमगाइनन् ।

 

 

जीवनभर लगनशील मात्र होइन, त्यसैप्रति प्रतिबद्ध बनिरहिन् । आस्था, निष्ठा र सुशासनमा कहिल्यै संझौता गरिनन् । सधैं जुझारु नेता नै रहिरहिन् । जीवन यसैका लागि न्यौछावर गरिन् । त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शैलजाको छुट्टै पहिचान छ । भारतमा निर्वासनमा रहँदाको समय होस वा नेपालको जेल वा निगरानीको अथवा प्रजातन्त्र पुनस्र्थापना भैसकेपछि जनप्रतिनिधि बन्दा होस् वा मन्त्री वा उपप्रधानमन्त्री अथवा पार्टीको केन्द्रीय नेतृत्वमा रहँदा होस्, शैलजा सधैं गतिशील रहिरहिन् । उनमा कहिल्यै सुस्तता आएन । कुनै फेरबदल देखिएन ।

 

 

आफ्नै कान्छा मामा गिरिजाप्रसाद कोइरालाको नजीक रहेर पनि उनले पार्टीले लिएका गलत नीति र पाटीका प्रस्थापनाविरोधी अडानहरुविरुद्ध लडाइ लडिरहिन् । पार्टीबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई किनारा लगाउने नीतिलाई कहिल्यै समर्थन गरिनन् । अन्त्यमा मामाजीको त्यही नीतिको शिकार उनी स्वयम् भइन् ।

 

 

 

जीवनको अन्तिम क्षणसम्म पनि शैलजा नेपाली काँग्रेसमा बीपीले स्थापना गरेका मूल्य, मान्यता, बिचार र सिद्धान्तप्रति प्रतिबद्ध रहिन् । त्यसबाट कहिल्यै बिचलित भइनन् । सधै डटेर त्यसैको पक्षपोषण गरिरहिन् । विवाद, घेराउ, आलोचना, अपजस र औंला ठड्याइलाई बाल मतलब गरिनन् । मन्त्री र उपप्रधानमन्त्री बनिन् तर न कहिल्यै पदको लागि मरिहत्ते गरिन् नत गुलामी । पदमा बसेर जनताको हितमा निर्णय गर्न कहिल्यै हच्किनन् । कृषिमन्त्री हुँदा रासायनिक मल काण्ड होस् वा जग्गा हिनामिनाको, भ्रष्टाचारको डटेर विरोध गरिन् ।

 

 

अन्त्यमा प्रधानमन्त्री गिरिजाप्रसादसंग असहमती जाहेर गर्दै कृषि र सहकारी मन्त्रिपदबाट राजीनामा नै गरिन् तर आफ्नो निष्ठा र आत्मसम्मानमा चोट आउन दिइनन् । उपप्रधान र जलस्रोत मन्त्री रहँदा जलमाफियाविरुद्ध जेहाद छोडिरहिन् । साना, मध्यम र स्वदेशीले बनाउने जलविद्युत योजनाहरुलाई अगाडि बढ्ने आधार स्थापना गरिनै छाडिन् ।

 

 

नेपाली काँग्रेस पार्टीभित्र यति सशक्त, निर्भिक र निरन्तर आस्था, निष्ठा र सुशासनका लागि संझौताविहिन रुपमा अगाडि बढ्ने महिला नेतृ अरु देखिएका छैनन् । आफ्नो समयकी यस्ती जाज्वल्य नेतृ शैलजा आचार्यको जीवन यात्रा हरेकका लागि प्रेरणास्पद रहेको छ । उनको जीवन गाथाका उतार चढाउ नेपाली महिला मुक्तिका लागि पनि उत्तिकै शिक्षास्पद र अनुकरणीय हुनसक्छ । तर नेपाली काँग्रेस पार्टी आफ्नी यस्ती योद्धावारे मौन छ ।

 

 

 

जतिबेला महिला अधिकार र सशक्तिकरणबारे पढ्दा मानिसका शरीरमा काँडा उम्रन्थे त्यतीबेला शैलजा जीवनमा ती कुरा प्रयोग गरिरहेकी थिइन् । उनको ६५ वर्षसम्मको जीवन यात्रा, अविवाहित जीवन, सधै सशक्त र उर्जाशील रहने तागत कहाँबाट प्राप्त गर्थिन होला ? यो नै बिद्रोही नेतृ, आफूलाई निर्वाचनमा विजयी गराउने जनताप्रति प्रतिवद्ध सांसद र मन्त्रिपरिषदका कुनै पनि बैठकमा आफ्नो अडानबाट एक इन्च पछाडि नहटी लगनशील रहिरहने राजनीतिज्ञको उचाइ कतिरहेछ ? बल्ल देखिदैछ । अहिलेका लिलिपुट सांसद, नेता र मन्त्रीहरुसंग  तुलना मात्रैले नेपाली राजनीतिकी यी धरहराको उचाइ, समर्पण र त्यागबारे थाहा पाउन सकिन्छ ।

 

तस्विरहरु: चन्द्रशेखर कार्की 

Comments

NIC Asia