MENU
विश्व कप लडाईका चार टोली
 : 353 views
-बेदप्रसाद भुर्तेल   Jul 08, 2018

 

 

ब्राजिलका साहित्यकार पाउलो सेलोले फरक प्रशंगमा लेखेका छन् “विजयी एक्लै उभिन्छ ।” लडाई वा खेलको अन्त्यमा विजयी एक्लो हुन्छ र शत्रुहरु धेरै कमाउँछ । विश्व कप, २०१८ अब उत्कर्षमा पुगेको छ । जित्नेहरु हारेका छन् र हारेकाहरुले हराएका छन् । विश्वका केही फुटबल शक्तिहरु निरास भएको छन् भने नयाँ फुटबल शक्तिको उदय भएको छ । कौशल भएकाहरुले समर्थकलाई निरास बनाएका छन् भने नयाँ प्रतिभाले कौशलका कारण धेरैको मन जितिरहेका छन् । विश्व कपका पूर्व आठ विजयी टोलीमध्य यो प्रतिस्पर्धामा रहेका ७ टोली अब जारी विश्व कपमा दुई टिममा सिमित भएका छन् ।

 

 

शेर जस्तो गर्जन गर्दै आएका टोलीहरु विरालो जस्तै म्याउँ गर्दै फर्किएका छन् । कजानमा त धेरैका लागि अप्रिय घटना घटेको छ । एकै मैदानमा विश्व कपका मुख्य दाबेदार तथा पूर्व विश्व कप विजयी तीन टोलीको अस्तित्व यो विश्व कपका लागि समाप्त भएको छ । समुह चरणमा जर्मनी, प्रिक्वाटरमा अर्जेन्टिना र क्वाटरफाईनलमा ब्राजिलले कजानमै दुर्घटना व्यहोरेका छन् । यही उतार चढाव पछि चार टोली फ्रान्स, बेल्जियम, ईङ्गल्याण्ड र क्रोएसियाले अन्तिम चारमा स्थान बनाएका छन् । दुवैतिर एक एक पूर्व विश्व कप विजयी छन् भने एक एक टिम हालसम्म विश्व कपको फाईनल नपुगेका टिम छन् ।

 

 

चार बर्षको फुटबलको यो महासंग्रामका विभिन्न चरण पार गर्दै २०८ राष्ट्रहरुमध्यबाट ४ टोली गए रातिसम्ममा सेमीफाईनलमा छानिएका छन् । पूर्वी टिमोरको डिलीमा सन् २०१५ मार्च १२ मा मंगालिया र पूर्वी टिमोरको खेलबाट शुरु भएको यो प्रतिस्पर्धाको शिलशिला रसियामा अन्तिम लडाई लड्न ३२ राष्ट्रहरु भेला भएका थिए । रसियामा एक विजयी छान्न ६४ खेल खेल्ने पूर्व निर्धारित कार्यक्रम अनुसार हिजो सम्म ६० वटा खेल समाप्त भए । अब चार खेलहरु बाँकी छन् । जुलाई १५ को राति यो संस्करणको विश्व कप समाप्त हुने छ । मस्को र सेन्ट पिटर्सवर्ग यी बाँकी खेलहरु गराउँन आतुर छन् । विश्व कप फुटबलको यो महासंग्राममा महिला माथि हुने हिंसा विश्व कपको दौरान बढी भएका घटना बाहेक रसियाले हालसम्म राम्रो व्यवस्थापन तथा सुरक्षाको प्रबन्धसहित यो विश्व कप आयोजना गरिरहेको छ । अब सेन्टपिटर्सवर्ग र मस्कोमा एक एक वटा सेमीफाईनल र क्रमशः तेश्रो स्थान तथा उपाधीका लागि प्रतिस्पर्धा हुने छन् ।

 

 

 

सेमीफाईनलको पहिलो खेल जुलाई १० मा सेन्ट पिटर्सवर्गमा राति ११ः४५ बजे हुँदैछ । सो खेल जारी विश्व कपको स्पर्धामा अहिले सम्मको सबै खेल जितेको बेल्जियम र एक खेल बराबरी सहित उत्कृष्ट खेल खेलको फ्रान्स बिचमा हुँदैछ । यो प्रतियोगिताकै सबैभन्दा शक्तिशाली यी दुई टिमको प्रतिस्पर्धा जारी विश्वकपको सबैभन्दा हाईभोल्टेज मुक्काबिलाको रुपमा हेरिएको छ । यो विश्व कपको सम्भावित विजयता तथा तेश्रो टोली नै बेल्जियम वा फ्रान्स हुने सम्भावना छ । त्यस्तै सन् १९९० पछि पहिलो पटक विश्व कपको सेमीफाईनल खेल्न ईङ्गल्याण्ड मस्कोको लुझ्निकी रंगशालामा जुलाई ११ को मध्य राति ११ः४५ मैदान प्रवेश गर्ने छ । ईङ्गल्याण्डको सपनालाई चकनाचुर गर्न क्रोएसिया हाजिर हुने छ । यी दुई सेमीफाईनलको प्रतिस्पर्धा के हुन सक्छ भनी भविष्यबाणी तथा अनुमान आगामी अंकमा चर्चा गरिने छ ।

 

ईङ्गल्याण्डले बजायो घण्टी विश्व कपको

 

स्वीडेनलाई २–० ले हराउँदै ईङ्गल्याण्डले विश्व कप विजयको अभियान कायमै राखेको छ । पहिलो हाफमा ईङ्गल्याण्ड र स्वीडेनको बिच देखिएको खेल प्रदर्शनको फरकले खेलको नतिजा नै निर्धारण ग¥यो । ईङ्गल्याण्डले हरेक सुचकमा अब्बल खेल खेलेर स्वीडेनमाथि सहज जित हासिल गरेको हो । ईङ्गल्याण्डको जितमा नायक बने गोलकिपर पिकफोर्ड । उनले यो खेलको नतिजा पुरै कन्ट्रोल गरेका थिए । त्यही भएर उनी यो खेलको म्यान अफ द म्याच पनि बने । उनको खेल प्रदर्शन सर्वोकृष्ट थियो जसले ३ निश्चित गोलहरुलाई बचाएका थिए । तर उनको रवैया अनुशासित र कुशल खेलाडीको गरिमा अनुकूल थिएन ।

 

 

 

खेलमा अग्रता ३० औं मिनेटमा ईङ्गल्याण्डका सेन्टर डिफेन्डर मगुरको हेडरबाट दिलाए । पहिलो हाफ खराब खेलेको स्वीडेनले दोश्रो हाफमा ३ गोलको मौका बनायो तर गोलकिपर बाधक बने । उता स्वीडेनले दोश्रो हाफमा पनि डेले अल्लीको गोलमा दोश्रो गोल खायो । खेलमा फर्किन पुरा प्रयत्न गरेपनि स्वीडेनले खेलको ८० मिनेटपछि आक्रमणको प्रभावशाली प्रहार गर्नै सकेन । खेल स्वीडेनले २–० ले हार्दा सन् १९९४ पछि सेमीफाईनल खेल्ने स्वीडेनको सम्भावना विलिन हुन पुग्यो । ईङ्गल्याण्डले प्रभावशाली खेल खेल्दै फाईनल यात्राका लागि क्रोएसियालाई चुनौति दिएको छ ।

 

 

आक्रमक ४–४–२ को रणनीतिमा मैदान ओर्लिएको स्वीडेन थियो । उता ३–५–२ को मध्यभागमा बल खेलाएर विस्तारै आक्रमण गर्ने रणनीतिमा रहेको ईङ्गल्याण्ड रणनीति अनुसार खेल खेल्न सकेको देखिन्थ्यो । खेलका अधिकांस सुचकहरुमा ईङ्गल्याण्डले स्वीडेनलाई पछि छोडेको थियो । ईङ्गल्याण्डले ५० प्रतिशत मध्य भाग र २६ प्रतिशत स्वीडेनको भागमा बल खेलाउँदा स्वीडेनले मध्य भागमा ५० प्रतिशत नै बल खेलाएपनि ईङ्गल्याण्डको गोल क्षेत्रमा १४ प्रतिशतमात्र बल लैजान सकेको थियो । ईङ्गल्याण्डले २ लक्ष्यमा सहित १२ प्रहार गर्दा २ प्रहार गोलमा परिणत भएको थियो । उसका ६ वटा प्रहार स्वीडिस रक्षकले बचाएका थिए । आक्रमणमा कमजोर स्वीडेनले ३ लक्ष्यमा सहित ७ प्रहार गर्दा सबै लक्ष्यमा रहेको प्रहार ईङ्गल्याण्डका गोलकिपरले उत्कृष्ट बचाउँ गरे । ईङ्गल्याण्डले ५७ प्रतिशत समय बलमाथि नियन्त्रण राख्न ५२४ वटा पास खेलेको थियो । उसको ८० प्रतिशत पास सफल भएको थियो । जम्मा ३७८ वटा मात्रै पास खेलेको स्वीडेनको सफल पास प्रतिशत पनि ७४ प्रतिशत मात्र थियो ।

 

 

 

 

पहिलो हाफमा ईङ्गल्याण्डले ५ प्रहार गर्दै १ गोल गरेको थियो । ईङ्गल्याण्डका केन, स्टार्लिङ्ग, हेन्सरसन तथा लिङगार्डले एक एक प्रहार गरेका थिए भने मगुरले गरेको एक मात्र प्रहारबाट ईङ्गल्याण्डले अग्रता बनाएको थियो । पहिलो हाफमा धेरै नै दबाबमा देखिएको स्वीडेनका क्लिस्सनले मात्र एक पटक गोलका लागि विपक्षी ईङ्गल्याण्डको गोलपोष्ट लाईनमा प्रहार गरेका थिए । पहिलो हाफको १९ औं मिनेटमा गतिलो मुभ सहित ह्यारी केनले डिबक्स बाहिरबाट ग्राउण्ड सट हाने । उत्त सट स्वीडेनको गोलपोष्टको दायाँबाट बाहिरियो । खेलको ३० औं मिनेटमा ईङ्गल्याण्डले कर्नरको मौका पायो । एस्ले योङ्गको कर्नरमा ह्यारी मगुरले हेडरबाट सुन्दर गोल गरे । स्टार्लिङ्गले गोलकिपर ओल्सनसँग वान भर्सेस वानको अवस्था ४५ औं मिनेटमा प्राप्त गरेको मौका गुमाए । गोलकिपरले सामान्य छोएको बललाई ढिलो प्रहार गरेका कारण गोल गर्न चुके र रक्षकले उनको प्रहार सफल भए । बल कर्नर भयो, तर कर्नरलाई गोलमा परिणत गर्न ईङ्गल्याण्डले सकेन ।

 

 

दोश्रो हाफमा स्वीडेनले सुधारिएको खेल पस्कियो । पहिलो हाफमा १ मात्र प्रहार गर्न सकेको स्वीडेनले ६ प्रहार दोश्रो हाफमा गरेको थियो । उता ईङ्गल्याण्डले पनि आक्रमणलाई निरन्तरता दिँदै ७ प्रहार स्वीडेनको गोल क्षेत्रमा हानेको थियो । स्वीडेनको ६ प्रहारहरु मध्य ३ प्रहारहरु लक्ष्यमा थियो भने ईङ्गल्याण्डको केवल एक प्रहार मात्र लक्ष्यमा थियो । तर ईङ्गल्याण्डले गरेको सो प्रहार गोलमा परिणत भएको थियो । दोश्रो हाफमा स्वीडेनका वर्गले २ प्रहार, क्लिस्सनले २ प्रहार, अगस्टिनसनले १ प्रहार तथा तोईभोनेनले १ प्रहार गर्दा वर्गका दुवै प्रहार तथा क्लेस्सनको १ प्रहार सटिक थिए । तर उनीहरुको प्रहार ईङ्गल्याण्डका गोलकिपर पिकफोर्ड बचाएका थिए । ईङ्गल्याण्डका लागि दोश्रो हाफमा लिङगार्डले ३ प्रहार, डेले अल्लीले २ प्रहार, स्टर्लिङ तथा मगुरले एक एक प्रहार गरेका थिए ।

 

 

 

दोश्रो हाफमा खेलको ४७ औं मिनेटमा अगस्टिनसनको क्रसमा वर्गले हेडरबाट गरेको प्रहार गोलकिपर पिकफोर्डले बचाए । खेलको ५९ औं मिनेटमा लिङगार्डले डिबक्स बाहिरबाट दिएको क्रसलाई डेले अल्लीले हेडरबाट गोल गर्दै ईङ्गल्याण्डको अग्रता दोब्बर बनाए । गोलकिपर ओल्सनले आफ्नो टाउकैमाथि आएको हेडरको प्रहार पनि पञ्च गर्ने सकेनन् । डेलेले गरेको गोल नै खेलको अन्तिम गोल पनि बन्यो । खेलको ६२ औं मिनेटमा वर्गको डिबक्स भित्रबाट दिएको व्याक पासमा पेनाल्टी सुट हान्ने स्थानबाट क्लिन्सनले हानेको प्रहारलाई गोलकिपरले फर्काए । वर्गले पेनाल्टी स्पटबाटै ७२ औं मिनेटमा हानेको प्रहार पनि गोलकिपरले हल्का माथि उठाई कर्नर बनाए । स्वीडेनले सो कर्नरमा गोल गर्न सकेन । दोश्रो हाफमा दुई गोल अघि भएको अवस्थामा ईङ्गल्याण्डको गोलकिपर तथा रक्षकको रवैया भने निन्दनीय थियो । स्वीडेनका खेलाडीहरुले आक्रमणको प्रयास गर्दा मसलको प्रयोग दुवैबाट भएको थियो तर स्वीडिस खेलाडी सामान्य प्रतिक्रिया दिँदा ईङ्गल्याण्डका गोलकिपर तथा रक्षक बढी नै आक्रोसित भएका थिए ।

 

 

ईङ्गल्याण्डले स्वीडेनलाई हराउँने कारणहरुमा पहिलो हाफमा स्वीडेनले खेलको कमजोर खेल हो । साथै यी दुई टिमका गोलकिपरले हिजो गरेको प्रदर्शन नै बढी कारक रहेको थियो । स्वीडेनका रक्षकले अफसाईट ट्रयाप बनाउँन खोज्दा दोश्रो गोल स्वतन्त्र भई हेड गर्ने मौका बनेको थियो । उता स्पष्ट तिन गोल हुने प्रहारहरु ईङ्गल्याण्डका गोलकिपरले बचाए थिए । गोल खाएर पनि स्वीडेनले प्रहार भने कम गरेको थियो । रणनीतिलाई फिल्डमा पहिलो हाफमा प्रदर्शन गर्न नसक्नुले खेलमा पहिलो हाफमै स्वीडेन फिक्का भएको थियो । दोश्रो हाफमा गरेको स्वीडेनको प्रयास खरायोको प्रयास झै भएको थियो । यो प्रदर्शन पछि विश्व कपको रेसबाट स्वीडेन फिर्ता भएको छ ।

 

 

उर्जाशील आयोजक रसियालाई स्ट्रोक

 

 

 

रसियाको गति तथा आक्रमणका हिसाब जारी विश्वमा मात्र होईन सन् १९९४ देखि यताकै सबैभन्दा सशक्त खेल हिजो खेलेपनि सडेन डेथमा क्रोएसियालाई परिणाम सुम्पिएको छ । रसियाले प्रारम्भ अत्यन्तै उत्कृष्ट गरेको थियो । पहिलो हाफको २५ मिनेट पछि उसको उर्जामा केही ह्रास आए जस्तो भयो, भने दोश्रो हाफ पुरै क्रोएसियाले राज ग¥यो । रोमाञ्चकताले भरिएको खेलको निर्धारित ९० मिनेटमा एक एक गर्दै रसिया तथा क्रोएसियाले बराबरी खेलका थिए । क्रोएसियाले एक गोलले पछि परेको स्थितिलाई पहिलो हाफमा नै बराबरी गरेको थियो । रसियाका चेरिफोभले अत्यन्तै सुन्दर गोल गर्दै बनाएको ३१ औं मिनेटको अग्रता ८ मिनेट भन्दा बढी टिकेन । क्रोएसियाले ३९ औं मिनेटमा क्रमारिकको गोलमा रसियासँग बराबरी ग¥यो । दोश्रो हाफमा जति नै पोले पनि क्रोएसियाले रसियाको रक्षालाई चिर्न सकेन ।

 

 

साथै क्रोएसिया दुर्भाग्यशाली देखियो । क्रोएसियाको प्रहार गोलपोष्टमा लागेर ६१ औं मिनेटमा फर्कियो र ९० मिनेटमै नतिजा निस्कन सकेन । खेलको थप मजा अतिरिक्त समयको खेलमा भएको थियो । अतिरिक्त समयको पहिलो हाफमा १०१ औं मिनेटमा भिडाले गोल गर्दै क्रोएसियालाई जित तर्फ उन्मुख त गराए । तर खेलको ११५ औं मिनेटमा दाहिने तर्फका डिफेन्डर फर्नान्डेजले गोल गर्दै रसियालाई खेलमा बनाई राखे । त्यसपछि पेनाल्टीको पालोमा सुभासिकले पहिलो प्रहार नै बचाएका थिए । रसियाका गोलकिपर अकिन्फिभले पनि दोश्रो प्रहार बचाएका थिए । ११५ औं मिनेटमा गोल गरेर हिरो भएको फर्नान्डेजले पेनाल्टीमा बल आउट हान्दा जिरो भए । खेल पेनाल्टी सुट आउटमा ३–४ ले रसियालाई हराउँदै क्रोएसियाले जित्यो ।

 

 

समान ४–२–३–१ को बलमाथि नियन्त्रण र राम्रो मुभ सहितको आक्रमणमा गर्ने रणनीतिमा उत्रिएका थिए क्रोएसिया र रसिया । प्रदर्शनको हिसाबले रणनीति अनुसार खेल्न क्रोएसियाले बढी सकेको देखियो । रसियाले लक्ष्यमा बढी प्रहार गरेपनि आधा जसो प्रहार मात्र शक्तिशाली दिए । क्रोएसियाले ३ वटा प्रहार लक्ष्यमा सहित १७ प्रहार गर्दा रसियाले ७ वटा लक्ष्यमा सहित तेह्र प्रहार गरेको थियो । क्रोएसियाको एक प्रहार गोलपोष्टमा लागेको थियो भने ४ प्रहार रसियाका रक्षकले रोकेका थिए । रक्षाको सुचकमा रसिया क्रोएसिया भन्दा राम्रो देखिन्थ्यो । प्रदर्शनको हिसाबमा रसिया क्रोएसिया भन्दा धेरै नै कमजोर देखिन्थ्यो ।

 

 

 

 

रसियाले केवल प्रारम्भको ३० मिनेट तथा अतिरिक्त समयको २० मिनेट राम्रो खेलेको थियो । क्रोएसियाले समग्रमा नै रसियालाई पछि छोडेको थियो । क्रोएसियाले ६२ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको थियो । क्रोएसियाले ८२ प्रतिशत सफल पास सहित ७५३ पास खेल्दा रसियाले ३९९ पास खेलेर केवल ६९ प्रतिशत पासमात्र सटिक गरेको थियो । त्यही भएर रसियाका खेलाडीहरु क्रोएसियाका खेलाडी भन्दा ९ किलोमिटर बढी दौडिए । क्रोएसियाका रेविक, मोड्रिक, क्रमारिक, मान्डजुसिक, पेरिसिक र राकिटिकले निरन्तर रसियालाई दबाब दिईरहे । रसियाका चेरिसेभ, द्जीयुवा, इरोखिम, कुजिएभ र सोमोलोभले क्रोएसियामाथि आक्रमण गरेका थिए ।

 

 

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । पहिलो हाफमा क्रोएसियाले ७ वटा प्रहार तथा रसियाले ६ वटा प्रहार गोलका लागि गरेका थिए । रसियाका दुई प्रहार लक्ष्यमा थिए भने क्रोएसियाको एक मात्र प्रहार लक्ष्यमा थियो । पहिलो हाफको प्रारम्भमा रसिया हाबी भयो भने दुई तिहाई समयमा क्रोएसिया हाबी भयो । क्रोएसियाले पहिलो हाफमा ६५ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको थियो । खेलको ३१ औं मिनेटमा द्जीयुवाले दिएको पासलाई डिबक्स बाहिरबाट चेरिसेभले हानेको प्रहार क्रोएसियाको जाली चुम्दा गोलकिपर सुवासिक हेरेका हेरै भए । चेरिसेभको प्रहार अत्यन्तै सुन्दर थियो । विपक्षीको आँखाको झमकमा बलले जाली चुमेको थियो । माण्डजुकिकले दिएको पासमा ३९ औं मिनेटमा क्रोएसियाका क्रमारिकले हेडरबाट गोल गरेका थिए । क्रोएसिया खेलमा फर्कियो ।

 

 

 

 

दोश्रो हाफमा कुनै गोल भएन । त्यसपछि खेल अतिरिक्त समयमा लम्बियो । अतिरिक्त समयमा दुवै टोलीले एक गोल गरे । दोश्रो हाफ तथा अतिरिक्त समयमा रसियाले ७ प्रहार ग¥यो । अतिरिक्त समयमा रसिया बढी आक्रमक देखिन्थ्यो । त्यस्तै क्रोएसियाले १० वटा प्रहार गरेको थियो । क्रोएसिया खेललाई ९० मिनेटमै सक्न प्रयासरत थियो । तर भाग्यले क्रोएसियालाई साथ दिएन् र उसको प्रहार पोलमा लागेर फर्कियो । पहिलो हाफमा उत्कृष्ट भई चार प्रहार गरेका चेरिसेभ दोश्रो हाफको २२ मिनेटमा कुनै प्रयास नै गर्न सकेनन् । उनलाई रसियाका खेलाडीले बल नै दिन सकेनन् । उता मोड्रिक तथा क्रमारिकले क्रोएसियालाई आक्रमक बनाई राखे । खेलको ६१ औं मिनेटमा क्रोएसियाले आकर्षक मुभ बनायो ।

 

 

 

रसियाका गोलकिपरले क्लियर गरेको गोललाई नियन्त्रण लिँदै सानो डिबक्स नजिकैबाट पेरिसिकले गरेको प्रहार गोलपोष्टको दाँया खब्बामा लाग्दै बायाँ तर्फको डिबक्समा फर्कियो । यो बल गोलमा रुपान्तरण नहुँदा खेल १२० मिनेट तथा पेनाल्टी सुट आउटसम्म लम्बिएको थियो । अतिरिक्त समयको १०१ औ मिनेटमा क्रोएसियाले कर्नर पायो । सो कर्नरमा भिडाले सामान्य हेडर गर्दै गोलको दिशा देखाए । बल गोलपोष्टमा छि¥यो । क्रोएसियाले खेलमा अग्रता बनायो । ११५ औं मिनेटमा रसियाले डिबक्सको कर्नर ठिकबाहिरबाट ह्याण्डपछि फ्रिकिक पायो । फ्रिकिकमा आएको बललाई सटिक हेडर गर्दै रसियाका रक्षक हर्नान्डेजले गोल गरि रसियालाई खेलमा कायम राखे । त्यसपछि गोल हुने सकेन ।

 

 

 

अतिरिक्त समयपछि पनि खेल २–२ को बराबरीमा सकिएपछि सडेन डेथबाट फैसला भएको थियो । रसियाले हानेको ५ प्रहार मध्य क्रोएसियाका गोलकिपरले एक रोके भने एक प्रहार बाहिरिएको थियो । उता क्रोएसियाले हानेको ५ प्रहारमा १ प्रहार रसियाका गोलकिपरले बचाए पनि ४ वटा प्रहार गोलमा बदलियो । पेनाल्टीको निर्णायक गोल क्रोएसियका राकिटिकले गरे । रसियाका लागि द्जोगोइभ, ईग्नासेभिच, कुजिईभले गोल गरेभने फितलो र शक्तिहिन प्रहार स्मोलोभले गरे । खेलमा फर्काएका फर्नान्डेजले बाहिर प्रहार गरेर रसियालाई विश्व कपबाट बाहिर पठाए भने रसियाली जनताका आँखाका आँसु पनि बाहिर निकाले । क्रोएसियाका कोभाकिकले गरेको दोश्रो प्रहार रसियाका गोलकिपरले बचाए पनि ब्रोजोभिक, मोड्रिक, भिडा र राकिटिकले सहि प्रहार गरे । खेल प्रदर्शनको हिसाबले ९० मिनेटमै आउँनु पर्ने नतिजा सडेन डेथबाट भयो । क्रोएसियाले अब सेमी फाईनलमा ईङ्गल्याण्डको सामना गर्नेछ ।

 

 

 

Comments

Photography