MENU
मुस्ताङ्गमा गाडीको चरम सिण्डिकेट !
 : 901 views
कृष्णमुरारी भण्डारी   Jul 09, 2018

 

लो–मान्थाङ्ग डायरी

मुस्ताङ्ग रुटका गाडीका डनविरुद्ध बाहिरका मानिससंग लागेर स्थानीयले पनि झगडा गर्यो भने पछि हामीलाई दिनु दुख दिन्छन् । सडकमा हिंडिरहेको समयमा गाडीले धकेलेर कालि गण्डकीतिर पु¥याएर नारायणहरि पारिदिए भने !

 

 

उपल्लो मुस्ताङ्गको सुखद यात्राको जस कसैलाई जान्छ भने त्यो आफ्नै श्रीमती लक्ष्मीजीलाई जान्छ ! उनले नै रन्केको, सन्केको र हदैदर्जाको अपमानबाट फतक्क गलेको मलाई यातायातको चरम सिन्डीकेटमा पनि थुम्थुम्याएकोले गर्दा देशकै अपूर्व क्षेत्रको भ्रमण संभव भएको हो । होइन भने आफूलाई त जोमसोमको यातायात सिण्डिकेटले नारायणहरि बनाइसकेको थियो !

 

 

बिहान सात बजे टिकट काउन्टरमा बोलाएर टिकट काटेपछि आधा घण्टामा छुट्छ भनेको जीप साँढे एकबजे सम्म पनि चलेन । कहिले यात्रु पुगेन गाडी रिजर्भ गर भन्छ कहिले सात जनाको भाडा तिर्छौ भने लान्छौं भन्छन् । जब मानिस पुगे अनि भन्छ, अरु मान्छे आउदैछन्, यो जीपमा अड्दैनन् । अर्को गाडी छैन । खोजेर पाइयो भने पठाउँला ।

 

 

कहिले चौध जना भैसके दुईवटा जीपका १८ र त्यसपछि त ठूलो बसको तीस बत्तीस सिटको १४ जनाले तिर भनेर लाज घीन सरम पचाएर मुस्तांग यातायातका सिण्डिकेटका डनले दिनु दुख दिए ।

 

 

स्थानीय यात्रीसंग विद्रोह गर्ने कुरा ग¥यो, यहाँ त यस्तै हो । जोमसोम रुटका डनविरुद्ध बाहिरका मानिससंग लागेर झगडा ग¥यो भने पछि हामीलाई त दिनु दुख दिन्छन् । के बेर सडकमा हिंडिरहेको समयमा गाडीले धकेलेर कालि गण्डकीतिर पु¥याएर नारायणहरि पारिदिए भने ! उनीहरु यथार्थ ओकलिरहेका थिए । उनीहरुले यसो भनिरहँदा केही साता मात्र अघि गृहमन्त्री रामबहादुर थापासंग गरेको कुराकानी र त्यसपछि लेखेको आफ्नै लेख संझिरहें । झन् हिनताबोध भयो ! सिण्डिकेट त भक्तपुर बनेपा धुलिखेलको मात्र पो तोडिएको रहेछ । अन्यत्र तोडिएको भए, यस्तो विचल्ली हुने थिएन होला ।

 

 

नेपाली यात्रुहरुको त यो हाल थियो भने मुक्तिनाथ दर्शन गर्न आएका खास गरेर दक्षिण भारतीय यात्रुहरुलाई मर्काउन मुस्तांगको गाडी सिण्डिकेट मर्काउनु मर्काइरहेका थिए । करीव पच्चीस किलोमिटरको यात्रा लागि पन्ध्रहजार बढी असुलीरहेका थिए । हैन कति महंगो भनेर पल्याक पुलुक हेर्छन । सिण्डिकेटका डनहरु थर्काइहाल्छन्, तिमीहरु यो गाडीमा नजाने हो भने अर्को गाडी अब पाइदैन । तिमीहरु होटलमै बस्नु पर्छ ।

 

 

छेउमा कहिले काँहि देखिने प्रहरी भाइलाई भन्यो, जवान लापर्वाह किसिमले भन्छ, यहाँको सिण्डिकेट नै यस्तै हो । उ आफैेंले भिरिरहेको सत्यसेवा सुरक्षा लेखिएको विल्लाको घोर अपमान गरेर पन्छियो । उसलाई जयनेपाल भन्नु बाहेक अरु शब्द थिएन । कहाँ जाने कस्लाई भन्ने ? सार्वभौमसत्ता सम्पन्न नागरिक बनेपछि यति निर्धो त अहिलेसम्म बन्नु परेको थिएन । मुक्तिनाथ क्षेत्रको यात्रामा नारायणहरि नै बनियो !

 

 

अन्त्यमा जीपको पैसा तिरेको टिकटबाट खटारा बसमा पैंतिस किलोमिटरको लामो छुसांगसम्मको यात्रा गरियो । त्यहाँबाट पन्ध्रसय रुपैयाँ तिरेर गर्नु पर्ने भनिएको यात्रा सिंगै बाँकि थियो, उपल्लो मुस्तांगको राजधानी लोमान्थाङ्ग पुग्न । घडीको सुईले चार छुन आँटिसकेको थियो ।

 

 

छुसाङ्ग पुगेपछि लोमान्थाङ्ग लैजाने गाडी कालिगण्डकी पारी पुगेर पाइन्छ भन्ने जानकारी पाइएको थियो । तर टिकट खोलो वारी नै काट्नु पर्ने बाध्यता रहेछ । टिकट काट्ने काउन्टरको मान्छे खोजीएपछि भन्छ, आज ढिला भयो । गाडी अघि रित्तै गयो । तीनचार जना मान्छे पुग्दैन कि पूरै गाडीको भाडा तिर कित मेरो होटलमा आज बस भोलि मान्छे पुगे भने जाउँला ।

 

 

छुसाङ्गबाट लोमानथाङ्गको लागि एक हजार पाँचसय भाडा लाग्ने रहेछ । तर त्यहाँ जोमसोमको भन्दा कम बिचल्ली भएन । लाज पचाएर टिक काट्ने भन्छ, मेरो कि मेरो होटलमा बस, कि त नपुगेका यात्रीको भाडा पनि तिरेर जाउ । तै पनि गाडी पाउन मुस्किल छ किनभने यहाँको ड्राइभरले बिदा लिएकोले मैले अर्को गुरुजी खोज्नुपर्छ । पाइयो र उ राजीभयो भने गाडी रिजर्भ गरेर जान सक्छौ । यति भनिसकेपछि उसले के निगाह ग¥यो भने, मेरो एउटा काम छ, त्यो सकेर म आउछु, तपाईहरु रिजर्भ गर्ने हो भने पैसा उठाउदै गर्नोस् र नपुगेको थप्दै गर्नुस् ।

 

 

जम्मा भएका यात्रुले भने, ढिला भैसक्यो तपाई हामीलाई पठाएर मात्र आफ्नो काममा लाग्नोस् । उसले के भन्यो भने, केही छैन आज गाडी नगए भोली गैहाल्छ । होटलमा म बस्न दिइहाल्छु । आत्तिनु पर्दैन । ढुक्क भएर बस्नु भए हुन्छ । यो तपाईकै होटल हो ।

 

 

यात्राको झन्झट र अझै पाँच÷सात घण्टासम्म हिमालय सृंखलालाई दक्षिण पारेर उत्तर लाग्नु पर्ने विरानो तिब्बती पठारको धुले बाटोको यात्रा संझेर जीपको नभरिएको सिटको पैसा सातजना यात्रुले पूरै भुक्तानी गरेर जीप चढियो । उकालो लागियो । नलागेको भए खान बस्न गरेर उस्ले हामीलाई सुमर्न छाड्ने थिएन ।

 

 

तल कालिगण्डकी नदीको खोंच र घुमाउरो धुले बाटो ! मुखमा लाउने पेरुंगो नलगेको भए त धुलोले च्याप्ने रहेछ । धन्न काठमाण्डौंको धुलोको लागि खल्तीमा हालेको मास्कले ठूलो संकटबाट जोगायो । काठमाण्डौंमा धुलो नभएको भए खल्तीमा मास्क हुने थिएन । मास्क नभएको भए उच्च हिमाली क्षेत्रको धुलोले माया पिर्ती नलागाई छोड्नेवाला रहेनछ !

 

 

झ्याल लगाउदै खोल्दै, कहिले धुलो अगाडि कहिले पछाडि पार्दै, यात्रा चलिरह्यो । चलिरह्यो । उज्यालो छउन्जेल मरुभूमिको बिचमा देखिने सानो हरियो गाउ जस्तो ‘ओआसिस’ र त्यसको शिर वा बीचमा माटोले छापेका घरहरुको झुण्डको रुपमा गाउहरु ! अचम्म के भने हरेक गाउ पर्खालले घेरिएका ।

 

 

पर्खालले नघेरिएका त कुनै गाउ नै छैनन् । नत स्याउ बारी वा खेतीपाती पर्खालले घेरिनु त्यहाँको विशेषता रहेछ । रात नपरुन्जेल त टाढा टाढा सम्म मरुभूमि जस्ता डाँडाहरु खुबै हेरियो । तर झमक्कै साझ परेपछि ती पनि देख्न छोडियो । बुङ्गबुङ्ग धुलो उडेको छ, लोमान्थाङ्गको अत्तोपत्तो छैन ।

 

 

राती साँढे नौ बजेतिर ल लोमान्थाङ्ग भनेर ड्राइभरले गाडीबाट यात्रुहरुलाई झारे । होटल खोजेर ठीक पार्ने र त्यती राती पनि तातोखाना खुवाउने गुन भने पोखराबाट जीपमा जोमसोम जाँदाका सहयात्री लोमान्थाङ्गका बहुचर्चित फर्निचरवाला शेरबहादुर तामाङ्ग उर्फ शेरेले लगाए । रसुवा घर भएका यी तामाङ्ग जोमसोम एयरपोर्ट बनाउने काममा मुस्ताङ्ग पसेका रहेछन् ।

 

 

जोमसोमको काम तीनवर्षमा सकेपछि कामको खोजी गर्दै सोह्रसत्र वर्षअघि लोमानथाङ्ग पुगेछन् । त्यहाँ उनले नबनाएका घर, फर्निचर नै रहेनछन् । घर वनाउदा बनाउदै त्यहीकी घरवाली पनि जोडे छन् । त्यसपछि त यहीका स्थायी बासिन्दाका ज्वाईं बनेका शेरबहादुरको जेठो परिवार र तिनका सन्तान भने रसुवा नै बस्दा रहेछन् । शेरबहादुर भने मृगौलाको रोगले डायलेसिस गराएर पोखराबाट फर्र्किएका बिरामी भन्ने थाहा पाइयो ! उनलाई शुभकामना छ, चाडै उनको रोग निकोहोस् !

 

 

पोखरा जोमसोम यात्राकै क्रममा लेतेमा भेटिएका थिए, लोमान्थाङ्गमाथि छोसेरको दिब्यदिप हाइस्कूलमा गणीत र विज्ञानका शिक्षक हिरा गौंडेल । लेख्न र पढ्न साह्रै रुचि राख्ने यी चितवनका युवा विद्यार्थीकालदेखि मेरो स्तंभ मोही माग्ने ढुंग्रो लुकाउनेका नियमित पाठक रहेछन् ।

 

 

अब तपाई मेरोमा बस्नुपर्छ, उनी कर गर्न थाले । म लोमान्थाङ्ग छेउमै बस्छु । म तपाईलाई मेरा साथीको मोटरसाइकलमा राखेर सबै ठाउ घुमाउछु । त्यसपछि तपाईले यो ठाउका संभावना र समस्यावारे मज्जाले लेख्नु हुनेछ । यो कुरा मलाई थाहा छ ।

 

 

मैले यी सहृदयी पाठकलाई भने, म एक्लै छैन । मेरी पत्नी पनि छन् । ठीकैको होटलको एउटा सुविधाजनक कोठा खोज्न सघाइदिनुहोस् न । सक्नु हुन्छ ? लोमान्थाङ्ग धेरै महंगो ठाउ भन्ने सुनेको छु ।

 

 

उनले भनिहाले, यहाँ तपाई पटक्कै हिच्किचाउनु पर्दैन । तपाईहरुलाई विदेशीलाई जस्तो महंगो होइन, सुपथ मूल्यको राम्रो कोठा खोज्ने जिम्मा मेरो । ढुक्क हुनुहोस्, अहिले टुरिष्ट सिजन होइन । तपाईलाई एकदमै सस्तोमा राम्रो कोठा म खोजी दिन्छु । मेरै साथीहरुका होटल छन् । गाडीबाट उत्रिएपछि मोबाइलमा गौंडेलसंग पनि संपर्क भयो । उनले होटलको नाउ मेसेज गरिसकेका रहेछन् ।

 

 

शेरबहादुरजीले नजीकैको होटल मिस्टिक हिमालयमा चित्तबुझ्दो कोठा चित्तबुझदो भाउमा मिलाइसकेका रहेछन् । तातोपानीको समेत व्यवस्था भएको कोठा न्यानो, सुविधाजनक र केन्द्रमै थियो ।

 

 

त्यसबाहेक विश्वकप फुटवलका सोखिन साहु र जुनसुकै बेला जे चाहियो उपलब्ध गराउने फरासिली र साह्रै नम्र साहुनीसंग राम्रोसंग चिनापर्ची पनि गराइ दिए । शेरबहादुर फर्किसकेपछि साहुले सोधे, यो शेरेसंग तपाईको चिनजान पहिलेदेखि थियो ? रुम त उसैले लिने भाउमा पो तपाईलाई आफ्नो मान्छे भनेर हामीलाई दिन बाध्य बनायो !

 

 

ए हो र ! हाँसेर साहुलाई नै सोधें, हेर्नुस साहुजी तपाई कुरो बुझिहाल्नु हुन्छ–शेरसंग कि दोस्ती हुन्छ कि दुस्मनी ! बडा दुखले जुरेको दोस्ती हो हाम्रो । अनि उनले हाम्रो हित नहेरे कस्ले हेर्ला ? विश्वास गरिसकेपछि कि पूरै गरिन्छ कि गरिदै गरिदैन…हो हो भन्दै साहु हाँसे । हामी पनि हाँस्यौं । त्यतीनै बेला दक्षिण कोरियाका खेलाडीले जर्मनीलाई दोस्रो गोल ठोकेर वातावरणलाई नै सनननननन पारिदिए !

Comments

Photography