MENU
नैतिकता र ईमान सिकाउने पाठशाला
 : 782 views
-सञ्जीव कार्की   Aug 07, 2018

 

 

 

स्वार्थ सिद्ध गर्न जोसुकैसंग मीत लगाउछ मान्छे । स्वार्थको भरेङ उक्लन जतिसुकै फोहोर र दुर्गन्धित भए पनि त्यहींबाट हिंड्न् हिच्किचाउदैन आजको मान्छे !

 

 

श्रमिकले काम गर्छ । ज्याला पाउदैन । साहुले चर्को ज्याला तिर्छ । ज्याला अनुसारको काम पाउदैन ।

 

 

समस्या काम गराउनेमा मात्र हैन, गर्नेमा पनि छ । पहिले–पहिले सुनिन्थ्यो, राजाको काम कहिले जाला घाम !

 

 

आज पनि कर्तव्यलाई आममान्छेले राजाको कामको रूपमा बुझेका छन् । काम गर्ने मान्छे । काममा इमान राख्दैन । उ मात्र इनाम खोज्छ ।

 

 

आजको मान्छे इमानको हैन, इनामको भोकमा छ ! काम गराउने मान्छे ज्याला तिर्न परेपछि ज्वरो निकाल्छ । हजारौं बहानाबाजी गर्छ । लोभी सासुले बुधबार बारे जस्तो बार र बहाना गर्न माहिर भैरहेछ मान्छे ।

 

 

नभएर ईमान नदेखाएको होइन मान्छेले, भएर पनि इमान देखाउदैन मान्छे । परिस्थितिले बेइमान हुनु बेग्लै कुरा हो, तर सुस्थितिमा पनि बेइमान बनिदिन्छ मान्छे । समग्रमा आज मान्छे बेइमानी , बेइज्जती र बेथितिमा बाचेको छ । रमेको छ ।

 

 

इमान जमानको बोल–कबोल धोका, भ्रम र कपट अनि छिर्के दाउमा रुपान्तरण भएको छ । जमाना अनुसार चल्ने दुहाई दिएर मान्छे बदमासी र झुठको जालोमा बेरिएको छ । जमाना अनुसार नचले दुख पाइन्छ भनेर मान्छे जमानाको नाममा छल, धोका, भ्रम र कपटमा लिप्त छ ।

 

 

छल्नु, धोका दिनु, इमान बिर्सनु, अर्काको मर्ममा प्रहार गर्नुलाई मान्छे आफ्नो धर्म सम्झदै छ । हरि हराएको छ मान्छेमा । सम्वेदनशीलता गुमेको छ मान्छेमा । सम्वेदनहीन र कृत्रिम भय र कृत्रिम कृतिमा छ मान्छे ।

 

 

नैतिकता , अनुशासन र शिष्टता आफ्नो अनुकुल प्रयोग गर्छ मान्छे । सर्वब्यापी , सर्वोच्च र सर्वमान्य नैतिकता र इमानलाई आफू खुशी, आफ्नो र आफ्ना सजिलोका लागि व्याख्या र अपब्याख्या गर्छ मान्छे ।

 

 

आफूले गर्दा नैतिक भएको कुरा गर्नेले अर्काले गर्दा अनैतिक भएको तर्क पेश गर्छ मान्छे । फलानोले गर्दा हुने ? मैले गर्दा किन नहुने भनेर गल्ती र त्रुटि दोहो¥याउन मरिहत्ते गर्छ मान्छे ।

 

 

स्वार्थ सिद्ध गर्न जोसुकैसंग मीत लगाउछ मान्छे । स्वार्थको भरेङ उक्लन जतिसुकै फोहोर र दुर्गन्धित भए पनि त्यहींबाट हिंड्न् हिच्किचाउदैन मान्छे ।

 

 

भनौ न, नरकको बाटो हिडेर पनि कुत्सित अभिलाषा प्राप्तिको मार्ग छोडदैन मान्छे । पूर्वाग्रह , दुराग्रह र दुराशयपूर्ण अहम् बोकेर हिंडेको छ, मान्छे ।

 

 

सकारात्मक अहम् छोडेर नकारात्मक अहम्को लिङ्ग उभ्याउन लागि परेको छ, आजको मान्छे । मूर्खतापूर्ण अभिष्ट बोकेर यात्रारत छ, मान्छे । सच्चापन , नैतिक, अनुशासन र कर्तव्यबोध गर्ने मान्छे असामाजिक भएको छ ।

 

 

समाजले सच्चरित्र र समभाव राख्ने मान्छेको सामान्य हेक्का राख्छ तर साथ दिदैन । इमान्दार समेत भन्छ तर उसको इमानदारीको कदर गर्दैन ।

 

 

देश हाक्ने सोच, शैली, बिचार, दृष्टिकोण, आचरण र व्यबहारले सुन्दर मान्छे । चुनावमा होमीयो भने उसको दुर्गति निश्चित छ । लाजमर्दो छ । भोट पाउछ ।

 

 

इज्जत , सम्मान , मर्यादा र महत्वको बदला घृणा , अपमान र असन्तुष्टिको तिखो र निर्मम चक्कु छुरी प्रहार गर्छ मान्छे । आदर्श लाग्नु पर्ने शिक्षक सबैभन्दा दूर्नाम पात्र भएको छ ।

 

 

एउटा शिक्षक विद्यार्थीलाई आफ्नो दुब्र्यसनी पार्टनर बनाउछ । चुरोट, खैनी र रक्सी विद्यार्थीलाई खुवाएर आफू खान्छ शिक्षक । जनताको भर–अभरको सहयोगी, पहरेदार, शान्ति सुरक्षाको प्रत्याभूति दिने पुलिस चोर समाएर र नसमाएर सेवाग्राहीसंग बार्गेनिङ गर्छ ।

 

 

चोर समाउन पुलिस घुष माग्छ । राष्ट्र सेवक कर्मचारी शासक प्रशासकको दम्भ देखाएर रैतीको व्यबहार गर्छ, सामान्यजनलाई । सेवाभावले गर्नु पर्ने काम हप्की, दप्की, छल, छाम र अनेक प्रपन्चसहित टेबलमूनि हात पु¥याउन बाध्यकारी बनाइन्छ । न्यायालय गयो । न्याय आफै तराजु बोकेर पैसाको बिटोमा किनबेच भएको छ ।

 

 

न्याय माग्दा पाइनु पर्ने चिज, खरिदबिक्रीको दोकान भएको छ । सबैतिर भौतारियो । सास्ती खेप्यो अनि दुख गुनासो लेखिदे भनेर पत्रिकाको कार्यालय पुग्यो । पत्रकार सोधपुछ गर्छ । कति सम्मको लेख्ने ? कति पैसा दिने ? ल्याकत छ ?

 

 

म पनि लेख्छु तर मसंग पनि आग्रह , पूर्वाग्रह र दूराग्रह नहोलान् भन्ने कुनै ग्यारेन्टी छैन । किनकि म पनि यहि समाजको उत्पादन हुँ ।

 

 

समाज भन्दा बेग्लै भिन्न धारमा उभिन एउटा छुट्टै , बेग्लै साहस चाहिन्छ । फरक क्षमता चाहिन्छ । अलग्गै स्थान र वृत्ति चाहिन्छ । त्यो मंसग नहुन सक्छ ।

 

 

मलाई पढाउने विश्वविद्यालयका गुरु आज स्वत स्थायी हुनुपर्ने । माग राखेर आन्दोलनमा जानुभयो । म प्रतिस्पर्धा गर्न डराउछु या गर्छु । त्यो जिम्मा हाम्रो पाठ्य सामाग्रीले लिनुपर्छ सायद ?

 

जिन्दगीमा मर्ने रहर कसैलाई हुन्न । बिरामी रोगीको कुनै बर्ग हुन्न । वाद हुन्न । जात हुँदैन । त्यसैले डाक्टरकोमा नजानु पर्ने कसैलाई हुदैन । सबै जसो मान्छे कुनै न कुनै दिन डाक्टरकोमा जानुपर्छ, जान्छ । डाक्टरकोमा रोगी रोग लिएर जान्छ । डाक्टर उसको बैंक ब्यालेन्स सोध्छ ।

 

 

गरिब दिन हिनले घर खेतको लालपूर्जा बोकेको छ कि छैन ? उसको झुम्रे खल्तीमा डाक्टर चिहाउछ । रोग सोध्नु भन्दा पहिले बैन्क ब्यालेन्स र खल्तीको लालपूर्जाले महत्व पाउनुको अर्थ के ?

 

 

रोगी मान्छे हो या खल्तीको लाल पुर्जा ? डाक्टर मृत्युुको भय देखाएर ठूलो व्यापारी बनेको छ । हाम्रो सामाजिक मानसिकतामा डाक्टर भगवान हो । भगवानको स्थानमा राखेर डाक्टरलाई हेरिन्छ । बुझिन्छ । तर आजको डाक्टर भगवान हैन ब्यापारी बनेको छ । फगत ब्यापारी ।

 

 

मानवीय धर्म, सेवा र सहयोग पैसामा बदलिएको छ । सेवा ब्यापारीकरण भएको छ । पैसा भए, सबथोक छ । पैसा छैन भने इमान बिक्दैन । पैसा बिक्छ, इमान बिक्दैन । म इमान नबिक्ने देशको नागरिक भएको छु । त्यसैले मलाई पनि इमान खासै मन पर्दैन । नबिक्ने र नटिक्ने चिज कसलाई मन पर्छ र ?

 

 

जता गए पनि इमान र नैतिकता नचलेको देखेर भगवानको शरणमा गए । नबोल्ने भगवान बोलेनन् तर जो भगवान कहलाइए, भगवान नै द्रुत प्रचारित गरिए । त्यसैले शान्ति खोज्न, बौद्ध स्तुपा गएँ ।

 

 

रातो वस्त्रधारी भिक्षु हत्या हिंसाको अभियोगमा पक्राउ पर्दै रहेछन् । बिरक्त भएर मन्दिर गए । मठाधीश भेट्न पुगें । मठाधीश स्वयं बलात्कारको आरोपमा बर्कोले मुख ढाकेर अदालत लगिदै रहेछ ।

 

 

मलाई म जन्मेको, म हुर्के बढेको समाज, मैले भोगेको परिवेश र संस्कारसंग ठूलो गर्व र खुशी थियो । तर यावत घटना र उदाहरण आफैले भोग्दै, बुझ्दै आए पछि गर्व ग्लानीमा अनुवाद भैरहेको छ ।

 

 

मेरो भोगाइ, मेरो निजत्व मात्र हैन भलै मेरो दृष्टि सबैतिर पुगेन र छैन होला । तर मेरो यो आवाज आजको समाजको बिम्ब हो, समाजको पहिचान हो । समाजले मुखरित गरेको चरित्र हो । चित्र हो ।

 

 

समाजप्रति मेरो पूरै निराशा र निरपेक्ष आग्रह पनि होइन । अनि समाजमा आशाको दियो बालेर बस्ने इमानको सलेदो जोगाइ राख्नेहरुप्रतिको मान मर्दन पनि हैन । तर स्खलित हुँदै गएको हाम्रो सामाजिक मूल्यको सोध भर्ना कसरी गर्ने ? कसले गर्ने ? चिन्ता यही हो ।

 

 

कुनै पनि आवरणमा, कुनै पनि धर्म, संस्कृति र झन्डाको आडमा शक्तिको भरोसामा कसैको पनि ज्यादती र बदमासीको ढाकछोप गर्न मिल्दैन । हुँदैन ।

 

चरित्र देखिने गरी परिवर्तन जरुरी हुन्छ । चित्र फेरीने गरी परिवर्तन गर्नु पर्छ । यसको लागि इतिहासकै शक्तिशाली मध्येका प्रधानमन्त्रीबाट इमान देखाएर चरित्र फेर्न, एउटा गहकिलो सन्देश दिन र सो अनुसारको नीति निर्माण गर्न आग्रह गर्नुपर्छ । राज्य कोषबाट प्रधानमन्त्री के पी ओलीले आफ्नो औषधोपचार गर्नको लागि लिएको करिब अठार करोड बालकोटको घर जग्गा राज्यलाई दिएर शुरुआत गर्ने हो कि ?

 

 

प्रधानमन्त्रीको यो इमान र नैतिकताले देशको लागि ठुलो महत्व र दुरगामी प्रभाव पार्ने छ । इमान देखाउन कुनै साइत र समय चाहिन्न । जति छिटो ग¥यो उति समाजको खस्केको नैतिक धरातल माथि उठन सक्छ ।

 

 

रोटी खोज्नेलाई पिज्जा र बर्गर दिउला त्यसैले यो साल भोकै बस भनेर सपना देखाउने हैन । आवश्यकता र औचित्यको आधारमा समस्याको वर्गीकरण गर्ने, प्राथमिकिकरण गर्ने र सामाधान गर्ने हो ।

 

 

इमानको खडेरी परेको बेला, नैतिकताको अनिकाल परेको समयमा, समाजमा कर्तव्यबोधको सहकालको आवश्यकता छ । त्यसैले, कर्तव्य, नैतिकता, अनुशासन, सदाचार, मानवता र मान्छे हुनुको अर्थ बुझाउने एउटा स्कुल खोल्ने कि ? जहाँ नैतिकवान मान्छेका छोराछोरी हुनुपर्ने बान्छ्नीय योग्यता राख्ने हो कि ?

 

 

नैतिक स्कुूलमा छोराछोरी पढाउन राखिएको बान्छ्नीय योग्यताको कारण समाजमा मान्छे, मान्छे हुने कसरत गर्छन । कम्तिमा छोराछोरी पढाउन पनि बाबुआमा नैतिक हुनु, इमानदार हुनु आवश्यक हुन्छ ।

 

 

अनैतिक र अनावश्यक मान्छे समाजमा उजागर हुन्छ्न् । पथभ्रस्ट, मतिभ्रष्ट र गतिभ्रष्ट मान्छेको समाजमा कुनै मूल्य हुन्न । कहीं कतै रहन्न पनि ।

Comments

NIC Asia