MENU
बैकल्पिक राजनैतिक धारको खोजी र ‘म’वाद
 : 1,834 views
-युवराज आचार्य   Aug 08, 2018

 

 

तिनमा न कुनै घटनाको साझा पीडा छ, न साझा पारिवारिक र वैचारिक पृष्ठभूमी, न कुनै साझा इतिहास । यिनको साझा भनेको त्यही नाममा भएको ‘साझा’ शब्द र भावनात्मक रुपले जोड्ने तत्व भनेकै त्यसको नाममै रहेको ‘विवेक’ भन्ने शब्द मात्र छ ।

 

 

‘तिमिलाई आफ्नो गन्तब्य थाहा छैन भने जुनसुकै बाटोले पनि तिमिलाई त्यहाँ पुय्राउनेछ ।’

 

 

‘परिलोकमा एलिसको साहसिक यात्रा’ (एलिस एडभन्चर्स इन वन्डरल्याण्ड) लगायत धेरै बाल साहित्यका सर्जक, बेलायती  लेखक लेविस क्यारलले कुन प्रसङ्गमा यी पङ्ति लेखे मलाई थाहा छैन । तर, नेपालको गन्तव्यहीन राजनीतिमा एउटा बाल क्लबको उदय र पतनतर्फको यात्रा हेर्दा मलाई दशकौँ पुरानो त्यो उद्दरण ठ्याक्कै सुहाए जस्तो लाग्छ ।

 

 

हामी लोकतन्त्रको अनन्त यात्रामा छौँ करीव ७० बर्षदेखि । हजुरबाले त्यो यात्रा २००७ मा अन्त हुन्छ ठानेका थिए, तर भएन । बाले २०४६ मा र मैले २०६३ मा त्यस्तै ठान्यौँ, फेरी पनि भएन । यात्रा जारी छ तर, गन्तब्य थाहा छैन । हरेक क्षितिजलाई गन्तब्य ठान्छौँ,  टाकुरामा चढे क्षितिज लम्बिन्छ, बिचैमा लडे यात्रा लम्बिन्छ । मपछिको पुस्ताले  २०७४ मा गन्तब्यमा पुगेको ठानिरहेको छ ।

 

 

यो पुस्ताले ठान्नु पर्ने निश्चित कारण छन । नेपाल एउटा अर्ध—औपनिवेशिक मुलूक भनेर त्यो पुस्ताले पढेको थियो । अव त्यो कायम रहेन, अर्धसामन्ती मुलूक थियो, त्यो रहेन, सामन्तवादको रक्षक राजतन्त्रको  जरै उखेलियो, ६७ बर्षसम्म ‘भारतीय दलाल’को आरोप खेपेको  शक्ति संसदको एउटा कुनामा थन्कियो ।

 

 

‘वास्तविक सत्ता’ भनिएको सेना, पुलिस, कर्मचारीतन्त्र सबै सत्ताका कनिष्ठ साझेदार बने, ‘जनपक्षीय’ निर्णय उल्टाइदिने अदालत टुहुरो बन्यो । हिजोसम्मका विदेशी प्रभु झुकेर मित्रताको हात बढाए, पदमात्रै ओघट्ने काम नगर्ने पत्तासाफ भए । त्यस्तै जाती धर्म, क्षेत्रका कुरा गरेर अस्थिरता ल्याउन खोज्नेहरू वैधानिक रुपमै पाखा लागे । एक प्रकारले लोकतन्त्रको यात्राले सबै चुनौती पार गर्यो ।

 

 

सिद्धान्त आफैँमा कुनै साध्य  थिएन, केवल साधन मात्र  थियो । जव हामी चौबाटोमा उभिन्छौ र कता जाने थाहा हुँदैन, सिद्धान्तले हामीलाई बाटो देखाईदिन्छ, गन्तब्यसम्म पुग्ने । फलानोले यो बाटो गएर यसरी गन्तब्यमा पुग्यो, ढिस्कानो त्यो बाटो गएर पुग्योसम्म भन्छ । तर, तिमी यो बाटो जाऊ भन्दैन । अर्थात बिकल्प दिएर हामीलाई छनौटको स्वतन्त्रता पनि दिन्छ । तर, हामीले गन्तब्यबारे प्रष्ट नभै आफूले रोजेको बाटोको प्रतिरक्षामा सबै शक्ति लगाउँदा लगाउँदै हजूरबाले थालेको हाम्रो यात्रा नातीसम्म पुगेको हो । सबै गन्तब्यबारे स्पष्ट नभएका तर, पुग्ने बाटो वा सिद्धान्तमा मात्रै झगडा गर्ने दलहरूका कारण ।

 

 

यही गन्तब्य किटान नभै पुग्ने बाटोबारे झगडा गर्ने हाम्रो अनुभवका जगमा खुले ३ वटा बैकल्पिक क्लबहरू । श्रम बेचेर जीविका चलाउने ‘श्रमजीवि’ जस्तै वुद्धि बेचेर जीविका चलाउने ‘वुद्धिजीवी’को एउटा समानता हुन्छ, ति दुबै आफैँ कुनै सत्तालाई चुनौती दिएर आन्दोलनको नेतृत्त्व गर्दैनन् ।

 

 

तर, आन्दोलनको सफलतामा सबैभन्दा ठुलो भूमिका खेल्छन । सहरीया मध्यम बर्गीय बुद्धिजीविमा त्यो गुण झन धेरै हुन्छ ।  सत्तारूढ र सम्भाब्य सतारोहीहरूको विरुद्ध सोझै नबोले पनि त्यो समूह राजनीतिक आडमा रातारात धनी भएको, शक्ति आर्जन गरेको भूईफुट्टा बर्गको तडकभडकबाट आजित छ । आफैँ अघि नसर्ने तर, अर्काले नेतृत्व गरिदिए  राजनीतिको फरक धारमा सामेल हुन त्यो तप्का तयार छ ।

 

 

राजनैतिक वादको वाइह्यात झगडामा नरुमल्लिने, तर नेपालीे जनतामा नयाँ आशा जगाउने नाराका साथ जन्मिएका तीनवटा राजनैतिक समूहलाई नेपाली राजनीतिको फरक धार निर्माणको पहिलो पाइला मानिन्छ, म पनि त्यही मान्छु -डा.बाबुराम भट्टराईको नयाँशक्ति, रवीन्द्र मिश्रको साझा पार्टी र उज्ज्वल थापाको विवेकशील पार्टी ।

 

 

एउटा राजनैतिक दल टुक्रिएर बनेको, राजनीतिको आधार स्पष्ट नभए पनि नेताको माक्र्सवादी धङ्धङी बेला-बेलामा फुत्त देखिने (भट्टराई दम्पत्तिको यूरोप यात्राका नोट हेर्नुस) भएकोले नयाँ शक्तिको बारे अलग्गै चर्चा गर्नु ठीक हुन्छ ।

 

 

त्यसैले, शब्दका लागि माफ गर्नु होला, एउटा बाल क्लबबाट मेरो आजको चर्चा शुरु गर्दैछु । अरू सबैले सत्तारूढ नेकपा र प्रतिपक्षी काँग्रेसबारे अनगिन्ती भजन-किर्तन, गाली-गलौज र अर्ति-उपतिमा अमूल्य शब्द खर्चिँदा मलाई भने त्यो बाल क्लबका खेलाडीको मनोदशामा रुमल्लिन मन लागि राखेको छ । अर्थात विवेकशील साझा पार्टीको गन्तब्यबारे । फरक धारको राजनीति गर्नेबाट फरक ढाँचाको दल सञ्चालन विधीको अपेक्षा गर्नु कुनै नौलो चिज होइन ।

 

 

हाम्रा स्थापित दलहरू आन्तरिक सामन्ती संस्कारले थलिएका छन । चरम गूटतन्त्र, नातावाद, कृपावाद, पैसावाद, कति हो कति यस्ता बिकृति हावी छन ।  पार्टी भित्रका नीतिनिर्माण र निर्णय प्रकृयाको बारेमा अर्को कोणबाट हेर्ने जमात या चुप छ यात चुप लगाइएको छ, र भजन किर्तन पार्टीको आन्तरिक बहसको पर्याय बनेका छन । अर्को शब्दमा पार्टी भित्रको ‘आलोचनात्मक चेत’ निष्कृय छ ।

 

 

बाह्य शक्तिको त्रासमा होस वा र राम्रो अवसरको आशमा होस आन्तरिक लोकतान्त्रिक अभ्यास सकैको प्राथमिकतामा छैन । र, पार्टीका बैठकहरू जुद्ध शम्शेरको भारदारी सभा जस्तै छन ।  पचासौँ बर्ष राजनीति गरेका कार्यकर्ता छन, युवा भनेकै नेतासमेत धेरैले ५० नाघेका छन । बिद्रोह गर्ने समय छैन ।

 

 

तर, राजनीतिलाई पेशा नबनाएका, स्वयमसेवा गर्छु भनेर बिभिन्न पेशाबाट आएका, राजनीतिक दलका अभ्यासबाट बिरक्त युवाहरूलाई बैकल्पिक धारमार्फत राजनीतिमा सकृय गराउन र राजनीतिलाई निराशाबाट आशातर्फ, घृणाबाट सम्मानतर्फ  डोहो¥यााउछौँ भनेर आएका  मानिसहरूको एक बर्षे कृयाकलाप हेर्दा ती परम्परागत दलको भन्दा फरक हुने देखिँदैन ।  तिनका गुटीय झगडा, भागबण्डाको झगडा र हुकुमी निर्णय प्रकृयालाई लिएर भएको कार्यशैलीगत झगडा आदि सतहमा आइसकेका छन् ।

 

 

नयाँ राजनीतिक धारको निर्माणमा हिँडेको दल चुनावी राजनीतिमा आफू परिपक्व नभैकनै होमियो । पार्टीको बैचारिक आधार, राजनैतिक दृष्टिकोण,  गन्तब्य, आन्तरिक पार्टी सञ्चालन विधी, केही  तयार नगरी होमिए पनि सहरीया युवाहरूको आन्दोलनको रुपमा यसले स्थानीय र राष्ट्रिय चुनावमै केही ठाऊँमा राम्रो जन समर्थनसमेत पायो ।

 

 

एउटा खेप त  गयो, तर जीन्दगी गएको छैन । एउटा बैकल्पिक धार मात्रै होइन बैकल्पिक बिचारसमेत निर्माण गर्ने  अवसर चुकेकै हो । तर, नयाँ अवसर पनि सिर्जना  भएको छ । ५ बर्षलाई अर्को कुनै राजनीतिक प्रतिस्पर्धाको ठाऊँ छैन । ढुक्कले पार्टी निर्माण, विचार निर्माणको लागि समय प्राप्त भएको छ । ‘क्याडर बेस्ड’ पार्टी बनाउने कि, ‘मास बेस्ड’ बनाउने कि, पार्टी भित्र प्रत्यक्ष लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने कि काङ्ग्रेस र कम्युनिष्टको जस्तो ‘सिन्डिकेट’लाई प्रबर्द्धन गर्ने कि सबै बिषयमा गम्भीर बहस गर्ने अवसर जुरेको छ, यस पार्टीलाई ।

 

 

तर, यो अवसरको सदुपयोग गर्न भने यसका केही नेताहरूको ‘म’वादी प्रबृत्तिले नदिने निश्चित छ ।  ‘म’वादी  रोग यहाँ मात्रै होइन सबै प्रमुख दलमा छ । चुनावमा पार्टीबाट भन्दा नेताबाट बढी खर्च भए । बल्खु÷धुम्बाराही, कोटेश्वर, सानेपाभन्दा बालकोट, खुमलटार र  बुढानीलकण्ठमा चहलपहल बढी देखिए । यस अर्थमा हेर्दा माक्र्सवादी, लेनिनवादी, माओवादी, प्रजातान्त्रिक-समाजवादी, उदारवादी  सबै देखाउने दाँत मात्रै हुन । खासमा पार्टीहरू ‘म’वादी भए सके । अझै झाङ्गिँदो ब्यक्तिवाद हेर्ने हो भने पार्टीका वेभसाइट बन्द वा निष्कृय भएर खुलेका नेताका ब्यक्तिगत वेभसाइटमा जानुपर्छ ।

 

http://cpnuml.org

http://ncp.org.np

http://kpsharmaoli.com.np

http://cmprachanda.com

http://madhavnepal.com

http://jnkhanal.com

http://www.ishwarpokhrel.com

 

 

मैले कुनै हेयबाची शब्द प्रयोग गरेको होइन ।  विचार परिपक्व नभएको, राजनैतिक संस्कार नबसिसकेको, पार्टीको रुपमा काम गर्न सिक्दै गरेको, राजनीतिको सैद्धान्तिक कुरा पढे पनि ब्यवहारिक खेलमा धेरै नफसेको समूह भएकोले बाल क्लब भनेको हो । बालक भएकोले यो समूहसङ्ग सिक्ने क्षमता छ, सिक्ने समय छ र सिकेका कुरा लागू गर्ने क्षमता छ ।
त्यो क्लब पहिले राजनीतिक संस्कार सिकाउने, अहिलेसम्मका राजनीतिक बिकृतिको समीक्षा गर्ने, नयाँ तरीकाको राजनीतिको लागि बिमर्श गर्ने र नयाँ-नयाँ सोचहरूको मन्थन गर्ने एउटा थलोको रुपमा पहिले स्थापित हुनुपर्छ ।  राजनीतिलाई हेर्ने सोचमै, राजनीतिलाई बुझ्ने  ढाँचामै र राजनीति गर्ने  तरीकामै राम्रो लगानी नगरी सार्बजनिक पदमा भिड्न र जित्न सक्ने दलको रुपमा यसलाई विकास गर्दा कसै-कसैको नेता बन्ने अभिष्ट पुरा होला, तर फरक ढङ्गको राजनीति देख्ने जनताको अभिलाशा भने पुरा हुँदैन ।

 

 

यो पनि चरम ‘म’वादी भासमा पस्दो छ । यसको बनौट्ले नै यसलाई जति रोक्न खोजे पनि ब्यक्तिवाद तिर तान्छ । अरू राजनैतिक दलको जस्तो यसमा संलग्न एउटा ब्यक्तिको व्यत्तित्व बनाउन अर्काको कुनै योगदान छैन, एउटाको बेलायतमा बन्यो, अर्काको जापानमा, अर्काको सिंहदरबारमा बन्यो, अर्काको आफ्नै कम्प्युटर ल्याबमा ।

 

 

न तिनमा कुनै घटनाको साझा पीडा छ, न साझा पारिवारिक पृष्ठभूमी, न कुनै साझा इतिहास । यिनको साझा भनेको त्यही नाममा भएको ‘साझा’ शब्द र भावनात्मक एकताको तत्व भनेकै त्यो नाममै रहेको ‘विवेक’ भन्ने शब्द ।  र यसका दुई सम्पत्ति पनि यिनै हुन । पार्टी कम्तिमा सबै समर्थकको ‘साझा’ बन्न सक्यो भने र यसको काम कारवाहीमा तिनको ‘विवेक’ले स्थान पायो भने  यसले बैकल्पिक राजनैतिक धारको रुपमा आफूलाई स्थापित गर्नेछ, नत्र अर्को चुनाव नदेखिकनै यसको अवसान हुने छ ।

 

 

दुई चार युवा भेला पार, कुनै बहाना खोज, प्लेकार्ड बोक, चोकमा आऊ, अरू दलका असन्तुष्ट कार्यकर्ता आउँछन, चुनाव लड, जो जित्ला जस्तो छ त्यहीसङ्ग केही सिट माग, तिम्रो राजनैतिक उपस्थिति  त त्यसै भै हाल्छ  ।  ‘तिमीलाई आफ्नो गन्तब्य थाहा छैन भने जुनसुकै बाटोले पनि तिमीलाई त्यहाँ पुर्याउँने छ ।’

Comments

Photography