MENU
ब्यापार घाटाको दबाई बालुवागिट्टि
 : 630 views
-भीम भुर्तेल   Aug 10, 2018

 

 

ढुङ्गा बालुवा र गिट्टि जस्ता साधनश्रोतको पहाडमाथि बसेर त्यसको निर्यात गर्नेतर्फ सोच नराख्ने तर व्यापार घाटा बढ्यो भनेर राग अलाप्न सुहाउने बिषय होइन ।

 

 

नेपालको कुल वैदेशिक व्यापारको आकार नेपालको संघीय बजेट जत्रो भएको छ । यो अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनको झण्डै ४५ प्रतिशतको आकारको छ । गत आर्थिक वर्ष २०७४-७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । नेपालको कुल ग्राहस्थ उत्पादन ३० खर्बको हाराहारीमा रहेको छ । यसले नेपाल आर्थिक रुपले धेरै उदार देशको रुपमा देखिन्छ । अमेरिकाको वैदेशिक व्यापार अहिलेसम्ममा जिडिपीको १५ प्रतिशतको हाराहारीसम्म मात्र पुगेको तथ्याङ्कले देखाउँछ । यो अमेरिका भन्दा पनि उदार देश जस्तो देखिन्छ ।

 

 

तर, यो तथ्याङ्क अलिकता केलाएर हेर्दा चाँही अलिक कहाली लाग्दो तस्विर देखिन्छ । सवा १३ खर्ब वैदेशिक ब्यापार मध्ये नेपालले ८१ अर्ब १९ करोड रुपैयाँको नेपाली वस्तु विदेशी बजारमा निर्यात गर्छ भने १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्र आयात गर्छ । ब्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेकोे छ । यो घाटा आर्थिक वर्ष २०७३-०७४ को तुलनामा २७.५३ प्रतिशतले बढी हो ।

 

 

एकतर्फ आयात रकेट उडेजस्तो बढ्दै जाने यसको ठिक विपरित निर्यात चाँही नबढ्ने भएकोले देशको व्यापार घाटा डरलाग्दो गरि बढेको छ । रोचक त के छ भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सवै सदस्यका अर्थतन्त्रसंग हाम्रो देशको वैदेशिक व्यापार घाटामा छ ।

 

 

नेपालसहित आठ मुलुक सदस्य रहेको सार्कमा नेपालको सातवटै मुलुकसँग व्यापार घाटा रहेको नेपाल व्यापार प्रवद्र्धन केन्द्रको तथ्यांक बताउँछ ।

 

 

भारतबाट गत आर्थिक वर्षमा ६ खर्ब ४१ अर्ब ४२ करोडको वस्तु नेपालतर्फ आयात हुँदा भारततर्फ ४१ अर्ब ६४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाई हिस्सा भारतसँगको रहेको छ । गत आर्थिक बर्षमा नेपाल पाँच खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटामा भएको छ।

 

 

अर्थशास्त्री, आर्थिक नीति निर्माता, बाणिज्य तथा आपुर्ती मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरु नेपालको वैदेशिक ब्यापार घाटा बढनुलाई नेपालमा पुर्तिपक्षीय समस्या छन् । नेपालले विदेश पठाउँने वस्तु तथा सेवाको उत्पादन नै हुँदैन । त्यसैले नेपालको व्यापार घाटा घटाउँने उपाय भनेको विजुली निर्यात र पर्यटन व्यवसायको विस्तार हो भन्ने रेडिमेट जवाफ पाइन्छ ।

 

 

नेपालको वैदेशिक व्यापार घाटाको कारण भारतले नेपालप्रति गरेको ‘अनफेयर ट्रिटमेन्ट’ पहिलो हो । करिब ५०० अर्बको भारतसंगको व्यापार घाटा दोस्रो, नेपालले प्रतिस्पर्दात्मक वस्तु तथा सेवा उत्पादन गर्न पुर्वाधारको अभाव हो । हामीसंग सडक, रेल, एयरपोर्ट, जलमार्ग, र उर्जा जस्ता गुणस्तरीय पुर्वाधारको अभाव छ । यसले गर्दा वस्तु तथा सेवा उत्पादनमा लागत बढि पर्छ । उत्पादन लागत बढि भएपछि सस्तोमा उत्पादन विक्री गर्न सकिदैन । तेस्रो चाँही उत्पादन लागत कम गर्न उत्पादन प्रविधिको उपलब्धता हो । नेपालमा उच्च प्रविधि छैन जसले गर्दा सस्तो वस्तु उत्पादन गर्न सकिदैन । चौथो समस्या चाँही नेपालले आफ्नो निर्यात गर्ने वस्तु पहिचानको समस्या हो ।

 

 

नेपालले भारतसंग व्यापार घाटा आधा जतिले कम गर्नको लागि बालुवा तथा गिट्टिको निर्यात गर्न सक्छ । चुरे वा महाभारत पर्वतमा रहेको पहाडमा ढुङ्गा, गिट्टी तथा वालुवा उत्पादन गरेर बेच्न सक्छ । नेपालले भारत, बंगलादेश, श्रीलंका र माल्दिप्सलाई ढुङ्गा, गिट्टी तथा वालुवा बेच्न सक्छ ।

 

 

ज्ञातव्य रहोस सिंगापुर विश्वको एक नम्वर वालुवाको बजार हो । संसारभरिका वालुवा बेच्ने र किन्नेको जमघट हुन्छ । त्यो बजारमा संसारको सवैभन्दा कान्छो पहाड भएको जसमा संसार कै सवैभन्दा राम्रो बालुवा र गिट्टि पाइने देशको उपस्थिति नै छैन । आफ्नो देशमा भएको वस्तु बेच्न नजान्ने तर, व्यापार घाटा डरलाग्दो गरि बढ्यो भनेर कोकोहोलो गर्नुको कुनै तुक छैन । साथै सिंगापुर आफै करिब चार करोड टन बालुवा खपत गर्छ । भारतको सडक तथा रेलवेको निर्माण र पुननिर्माणमा ठुलो मात्रामा ढुङ्गा, गिट्टी तथा वालुवाको माग छ । यो माग पुर्ति गर्न सकियो भने व्यापार घाटा मात्र होइन वस्तु तथा सेवा व्यापार धनात्मक बन्छ ।

 

 

अर्कोतर्फ देश भित्रै पनि ढुङ्गा, गिट्टी तथा वालुवाको अभावमा विकास निर्माणका काम रोकिएका उदाहरण पनि छन् ।

 

 

अब बालुवा र गिट्टि बेच्दा प्राकृतिक साधन श्रोतको दोहन भयो भन्ने बिषय उठन सक्छ । वातावरण विनाश भयो भन्ने प्रश्न पनि उठ्छ । भएको श्रोत र साधनको उपयोग नगरिकन विकास तथा आर्थिक वृद्धि हुदैन ।

 

 

अहिले पर्यावरणको आधुनिकीकरण अर्थात ‘मोर्डनाइजेशन अफ एकोलोजी’को समय हो । यो अवधारणाअनुसार आर्थिक विकास र वृद्धि हासिल गर्दै पर्याबरणलाई पनि आधुनिकीकरण गर्दै लैजान सकिन्छ भन्ने हो । यो अवधारणाअनुसार औधोगिकरण र आर्थिक वृद्धिको लागि पर्यावरणको पुनःअनुकुलन (रिएडोप्टेशन) गर्न सकिन्छ भन्ने हो । यो अबधारणाले क्यानडा र अमेरिका र अष्ट्रेलियासमेतमा प्रयोग भएको पाइन्छ ।

 

 

अहिले नेपालले यो अवधारणाको प्रयोग गर्दै विश्व बालुवा र गिट्टि बजार नेपाली बालुवा र गिट्टि लैजान आवश्यक छ । त्यसको लागि निश्चित स्थानहरुको छनौट गर्ने । त्यसको एकातर्फबाट ढुङ्गा, बालुवा र गिट्टि उत्पादन गरेर त्यसलाई निर्यात गर्ने । यसरी बालुवा र गिट्टि निकालेको स्थानमा फेरी नयाँ खालको विरुवा लगाउने र वन जङ्गल बढेपछि जङ्गली जनावर ल्याएर छोड्ने र त्यसको संरक्षण र व्यवस्थापन गर्ने हो ।

 

 

यसो गर्न कुनै स्थानमा पहिला भएको वनस्पति तथा जीवको विविधताको गणना गर्ने र बालुवा र गिट्टिको खानी सञ्चालनपछि त्यतिकै मात्रमा वनस्पति तथा जीवको विविधताका कायम गर्न सकिन्छ । यो धेरै प्रचलनमा आएको अवधारणा हो ।

 

 

देशभर भएको यत्रो ढुङ्गा बालुवा र गिट्टिको साधनश्रोतको पहाडमाथि बसेर त्यसलाई निर्यात नगरि व्यापार घाटा बढ्यो भनेर राग अलाप्दै हिड्ने सुहाउँदै । त्यो काम नीजि तथा सरकारी साझेदारीमा गर्न सकिन्छ ।

 

 

सरकारलाई कर राजश्व आउँछ । कम्पनी कर्पोरेशनको आम्दानी र नाफा हुन्छ । जनताले रोजगारी पाउँछन । ‘एकोलोजी मोर्डनाइजेसन’ गर्नको लागि सरकारले उठेको करबाट र कम्पनी र कर्पोरेशनको नाफाबाट एक ‘फण्ड’को ब्यवस्था गर्ने र त्यो ‘फण्ड’मा जम्मा हुने रकमले सो स्थानको पर्यावरणको पुनःअनुकुलन गर्न सकिन्छ । नीति निर्माता र सरकारको यता ध्यान जाला की ?

 

 

Comments

Photography