MENU
सावधान !  तक्मा र पदकदेखी 
 : 1,799 views
-सञ्जिव कार्की   Sep 11, 2018

 

 

कसैको घरमा पुग्दा कोठा र चोटामा दराजभरि पदक सुसज्जित देखियो भने त्यो व्यक्ति पक्कै पनि फटाहा हो भन्ने निश्कर्ष निकाल्नु पर्ने अवस्थामा आउँदैछ । यसको विपरित इमान्दार मान्छेले झुक्किएर पदक पाइहाल्यो भने पनि अपमानित हुने डरले सातकोश पर भाग्नु पर्ने परिस्थिति बन्दैछ ।

 

 

 

 

मान, सम्मान त्यसको लागि उचित हुन्छ जो यसको वास्तविक भागिदार हो । जो भागिदार होइन उसको भागमा यो छुचुन्द्राको टाउकोमा चमेलीको तेल भन्ने उखान जस्तै हो । योग्य र योग्यतमले पाउनु पर्ने मान सम्मान अयोग्य, अक्षम र भ्रष्टको हातमा पुग्नु भनेको असभ्य हुनु हो, सभ्यताको मार्गबाट विचलन हुनु हो । हामी कतै अपचलन र अयोग्यता र बर्बादीको बाटोमा त गै राखेका छैनौ ?

 

 

सन्र्दभ हो, सरकारले प्रत्येक वर्ष दिने मान, पदवी, सम्मान, आभुषण, अलंकार र तक्मा आफ्नाका लागि माइती, मावली र ससुरालीले दिने दाइजो, पेवा, उपहार, कोसली र बक्सिस मात्रै हो ? किन अवमूल्यन गरिदैछ, राष्ट्रका पदक, मान पदवी र तक्मालाई ? गोपाल पराजुली, बिधाानन्द माझी तीर्थ खनिया जस्ता पात्रको हातमा जानू भनेको सत्पात्रको बेइज्जत, अवमूल्यन र अपमान हुदैन र ?

 

 

सिद्धान्ततः समाज र राष्ट्रलाई उत्कृष्ट सेवा पुर्याउने व्यक्तिलाई तक्मा दिने चलन हुन्छ । तर, जहाँ र जहिले पनि केहि वास्तविक राष्ट्रसेवी र बाकीँ तत्कालिन सरकारी समुहका उपल्लोस्तरका अनुचरहरु नै तक्माको भागीदार र तावेदार देखिएका छन । विकसित र सुसम्पन्न भनिएका देशसमेतमा तक्मा र पदक विवादरहित भने हुदैनन् । यसैले यसलाई मानवीय कमजोरी पनि भन्न सकिएला ।

 

 

तर, हाम्रो देशमा अहिलेसम्म तक्मा पाएका मध्येबाट उत्कृष्ट राष्ट्रसेवक खोज्नु अंधेरी रातमा आकाशमा जुन खोज्नु जस्तै हुन जान्छ, केहि अपवाद छोडेर । राष्ट्रलाई बिशिष्ट योगदान गर्ने व्यक्तिलाई मानपदवीवाट विभूषित गर्नु राष्ट्रको संस्कृति र परम्परा हो ।

 

 

तर, यो “बिशिष्ट योगदान“को प्रष्ट र पारदर्शी परिभाषाको आबश्यकता खड्केको छ । आफैले आफ्नालाई पदीय जिम्मेवारी भित्रका नियमित काम गर्दा वा बिगतमा देशलाई नोक्सान गरेका व्यक्तिलाई पनि बिभुषित गर्ने अभ्यास रहने हो भने यस्ता बिभुषणको कुनै अर्थ हुदैन । तर, नागरिकका आवाज कसले सुन्ने ? मान पदवी छनौटमा रहेका मान्छेहरु स्वयंले आफुलाई र आफ्ना मान्छेलाई, आफ्नो निकटमा रहेर धुप बाल्ने, भजन किर्तन गर्ने, आरति उतार्नेलाइ सिफारिस गर्नु जस्तो भद्दा मजाक अरु के हुनसक्छ ?

 

 

असल र खराव छुट्टाउन नसक्ने विवेकहिनको हातमा शक्ति, पद र अधिकार भएपछि लाज स्वयंले लजाउँनुको परिणति हेर्न, भोग्न र ब्योहोर्न बाध्य हुनुपर्छ जनता । कुपात्रको हातमा पदवी भनेको सुपात्रको गर्दनमा अपमान हो कि होइन ? पदक पद्को लागि, पैसाको लागि, पदको बलमा पैसा, पैसाको बलमा पदक के शोभनीय हुन्छ र ? पद पनि तिनैलाई पदक पनि तिनैलाई, त्यो पनि पदको दुरुपयोग गरे वापत । वाह मेरो देश ! पदक असल व्यक्तिको सम्मानका लागि दिनुपर्ने हो, असल र गुुुणवेत्तालाई प्रोत्साहित गर्न उसको योगदानलाई चीरकालसम्म र जीवन प्रयन्त राख्न राज्य समाज र विभिन्न संस्थाले पुरस्कार दिने प्रचलन हुन्छ, र छ । तर, आपसमा बाँडीचुँडी खाने र बनाउनेतर्फ गयो पदक वितरण । ईमानदार र केही गर्नेका निम्ति अपमानको प्रतिक र लज्जाको छनौट बन्यो, पदक दिने प्रचलन ।

 

 

कसैको घरमा पुग्दा कोठा र चोटामा दराजभरि पदक सुसज्जित देखियो भने त्यो व्यक्ति पक्कै पनि फटाहा हो भन्ने निश्कर्ष निकाल्नु पर्ने अवस्थामा आउँदैछ । यसको विपरित इमान्दार मान्छेले झुक्किएर पदक पाइहाल्यो भने पनि अपमानित हुने डरले सातकोश पर भाग्नु पर्ने परिस्थिति बन्दैछ । चोर, फटाहा, भ्रष्ट र नालायकसंग एकै हाराहारी भएर कसरी थाप्नु योग्य, लायक र सत्पात्रले पदक ? मान, पदवी, सम्मान र अभिनन्दन चाप्लुसी र चाकरीको बिल्ला र प्रमाणपत्र होइन पक्कै पनि । न्यायिक सभ्यता र सुसंगत संस्कृत थीतिको लागि हुनुपर्छ, सम्मान ।

 

 

तर अप्रिय, दुर्गन्धित, दुषित र कुत्सित मनसाय अनि बफादार चाकर, पात्र र प्रवृतिको पहिचान बन्दैछ, पदक र शुशोभन प्रणाली । सम्मान गर्नुको अर्थ उसले गरेको गलतलाई पनि सही र ठिक भनेर उसलाई निकृष्ठ काम गर्न उत्प्रेरित गर्नु हँुदैन । दण्डको भागीदार पुरस्कारको हकदार हुँदा कसको रगत उम्लदैन ? को चाँही सालिन र धैर्य भएर बस्न सक्छ । कानुनको दनक पाउनेहरु यसको विपरित पदकले सुशोभित हुँदा नदुख्ने र नरुने आत्मा हुन्छ्न र ? बेइज्जतिको अन्तिम प्रमाणपत्र पदक र बिभुषण होइन होला नि ?

 

 

किन यति विरुप र कुरुप बनाइयो पदक वितरण प्रणाली ? पदक पाउने योग्यता र हकदार भनेको उच्च ओहोदा र पहुँच मात्र हो ? पदले पदक पाउने हो कि, सेवा, धर्म, न्याय, निष्ठा, इमानदारीता र सुकर्मले ? असल र उदाहरणयोग्य काम गर्न कुनै सरकारी या गैरसरकारी पद धारण नै गर्नुपर्छ र ? केन्द्रिय भुमिकामा नै देखिनुपर्छ र ? पदको भुमिका केन्द्रमा होइन सेवाको, प्रतिभाको, अनि विषय विज्ञताको भुमिका केन्द्रमा हुनुपर्छ होइन र ? बेअर्थमा कसैलाई खुशी पार्न मात्र दिइने बाँडिने सस्तो र महत्वहिन हुनुले पदक समग्र राष्ट्रकै ओज र गरिमा स्खलित हुनपुग्छ । असल संस्कृति र परम्पराको रूपमा विश्वमा नै प्रचलित सम्मान, पुरस्कार, पदक र तक्मा किन हाम्रोमा विकृतिमय बन्दैछ यसको कारण खोजौ ।

 

 

सुकृतिको लागि हुने पदक विकृतिमा पुग्नुमा पक्कै अन्र्तनिहित केही कारण र प्रभावहरु छन जसको पुनर्संरचना, पुर्नसमिक्षा र पुनःपरिभाषा आवश्यक छ । राज्यकोषबाट वितरण गरिने ३४३ बिभुषन गहन र गरिमामय हुनुपर्नेमा सामान्य स्कुल जीवनमा विद्यार्थीले गलाभरी भिरेको मेडल जत्तिकै पनि नहुनु दुखद कुरा हो । मान, पदवी, पदक कम मुल्यको अधिक मुल्यको नभई बहुमुल्य हुनुपर्छ, र बनाउनुपर्छ, कुनै पनि भौतिक मुल्यमा यसलाई तौलनु हुन्न र तौलने खिया लाग्ने, अनि अवमूल्यनको विषय बनाउनु हुन्न ।

 

 

बिभुषण छनौट समिति पनि वस्तुपरक दृष्टि राख्ने विद्वत बर्गको नेतृत्वमा गठन हुनुपर्छ नकि राजनीतिको मुलबाट आएका राजनीतिकर्मिको नेतृत्वमा । छनौट समितिले पदमा रहेकाको पदलाई होइन उचित कर्म र अनुकरणीय कामलाई प्रतिनिधित्व गर्नेगरी काम गरून् । नियमित कामका लागि आर्मी, प्रहरी, विभिन्न सुरक्षाकर्मी, निजामति प्रशासन र तिनका नेतृत्व तहमा बस्नेलाई पहुँचको आधारमा होइन उचित कामको लागि पुरस्कार र अनुचित कामको लागि दण्ड भागिदार बनोस ।

 

 

पदक वितरणको सर्वमान्य विधि र विधान बनोस, गृहमन्त्रालयको बिभुषण शाखाले पदक सम्बन्धि काम गर्छ र त्यो चरम दुरुपयोग भएको आवाज सधैं उठने गर्छ । हिजो पञ्चायत हुँदा पनि आफ्ना निकट र भाइ भारदार यस्ता पदकको नजिकका हकदार रहन्थे आज परिवर्तन पश्चात् पनि दल निकट र तिनकै आसेपासे, तिनका कार्यकर्ता र तिनको दल नजिकसँग सम्बन्ध भएकाले मात्र पाउनु असंगतिको क्रम भङ्ग नहुनु, त्यसैको निरंतरता कसैको पनि चित्त बुझ्ने कारण बन्न सकेन ।

 

 

न्यायोचित वितरण प्रणाली र यसको महत्ता र गरिमा धान्ने अवस्था बनेन भने पदक केवल धातुको जलपयुक्त ढयाक भन्दा अरु केही हुने छैन । ठुलो पद, शक्ति र धन अनि पहँुचविना पनि सामान्य काम गरि राष्ट्रिय जीवनमा उल्लेख्य काम गर्ने ब्यक्ति राज्यको सम्मानको असली हकदार हुनुपर्ने हो । कुनै पनि ठूलो र महत्वपूर्ण पदमा नरहे पनि गर्नेले राष्ट्र र समाजको लागि निरन्तर असल काम गरी राखेकै हुन्छन् । यस्ता असल कर्मीको लागि राज्य आफै अग्रसर भएर खोज्नुपर्छ । तर दलीय आवद्धता छैन या भएर पनि शक्तिशाली दलको आवद्धता छैन भने यस्ता पात्र उपेक्षित भएर किनारमा फालिनु पर्ने बिडम्बना पुर्ण स्थितिमा छौ, हामी नेपाली । असल चालचलन भएका, बृहत उदेश्य बोकेका र राष्ट्रिय जीवनमा भिजेका ख्याती कमाएका पात्र र ब्यक्ति खोजेर राज्यले दिनुपर्ने सम्मान, बिवादस्पद, भ्रष्ट र नैतिकहिनको पोल्टोमा पुग्दा साच्चिकै पदकका असली हकदार र असल ब्यक्तिमा कस्तो मनोबैज्ञानिक अवस्था सिर्जना हुन्छ, असल पात्र र कुपात्रले एकैपटक पुरस्कार पाउँदा ?

 

 

पुरस्कारप्रति सामान्य मान्छेको प्रतिक्रिया र मनोबिज्ञान कस्तो हुन्छ ? अनुकरण कसको गर्ने बालबालिका र बिद्यार्थीले कस्तो सन्देश ग्रहण गर्लान यस्ता घिनलाग्दो परिपाटि देखेर ? राज्यको लागि अनुपम र अतुलनीय कार्य गरेवापत राज्यको यश र कृति फैलाए वापत, नयाँ खोज अनुसन्धान र विद्दत ज्ञान उपलब्धि हासिल गरेपछि राज्यको विपदमा ज्यानको जोखिम मोलेर उद्दार्‍र गरेपछी, या अरु कुनै बहादुरी काम फत्ते गरेमा वा देशको मान प्रतिष्ठा बढाउने काम गरेकासँग, राज्य स्वत अनुगृहित हुन्छ र संमानको लागि तत तत पात्रको खोजीमा हुन्छ । तर हामी कहाँ कुनै स्वार्थको सौदाबाजी गरेर, निहित र छुद्र उदेश्य राख्नेहरु मान सम्मान र पदको तावेदार देखिन्छ्न ।

 

 

पदक र सम्मान दिने गलत प्रक्रिया र प्रचलनको अन्त्य गरि, उन्नत, लोकतान्त्रिक विधि र प्रक्रियासहितको बृहत् क्षेत्र समेटिएको प्राज्ञ समुहको स्वतन्त्र, स्वायत्त सिफारिस समिति बनाइ औचित्यपूर्ण कार्य्बिधि तयार गरि निस्पक्ष रूपमा पदक वितरण गरि सम्मान, मर्यादा र गरिमालाई कम विवादस्पद बनाउन पहल गर्न राज्यको ध्यान जानू पर्छ ।

 

Comments