MENU
तक्माको राम-कहानी
 : 1,309 views
-युवराज आचार्य   Sep 12, 2018

 

 

 

मान्छे  पिच्छे फरक क्षमता हुन्छन। ती सबै उत्तिकै महत्वपूर्ण छन भन्ने मान्यतालाई हाम्रो तक्मे संस्कृतिले स्वीकार गर्दैन । बर्ष दिन घोकेको कुरा ४ घण्टामा खरर लेख्नेलाई मात्रै तक्मा दिईन्छ ,तर पढेको कुराको ब्यवहारिक प्रयोगमा ध्यान दिने विद्यार्थी  छुट्छ । बहादुरीसाथ लड्ने सिपाहीले तक्मा पाउँछ ,तर बन्दूकमा गोली भरिदिने र थाकेको बेला पानी पिलाइदिने  साथीको खोजी हुन्न । 

 

 

 

 

पोहोर साल सोमलालले सिफारिश गरे, झलकले लिएनन्।   यसपाली सोमलाल सिफारिशमा परे, तर केपीले दिएनन्।

 

हाम्रो राष्ट्रिय तक्माहरूका कहानी दशकौँदेखि यस्तै सोमलाल, झलक र केपी वरिपरि घुमेका छन, तक्मा संस्कृतिको रुपमा  र अझै घुम्ने लक्षण देखिँदैछन ।

 

सोमलाल सुवेदी नेपाल सरकारका मुख्य सचिव थिए, एडिबिको जागीर खान मनिला जानुअघि । नाताले दाजु वा भाई पर्ने मान्छे उतै कास्की तिरका, वाम राजनीति हुँदै बौद्धिक क्षेत्रमा चर्चित नाम,  पुरस्कार पाए भने कसैले बिवाद नगर्ने नाम थियो, झलक सुवेदीको । सोमलालले  झलकको नाम “तक्मे सूची”मा हालिदिए, तर झलकले नलिने घोषणा नै गरे,  सार्वजनिक रुपमा पत्रिकामार्फत् ।

 

सोमलाललाई लाग्यो आफ्नो हातमा भएका बेला मैले गर्ने भातृसेवा यति त हो। झलकलाई लाग्यो होला त्यस्ता चाकरी, चाप्लुसी, भागवण्डाको पर्याय बनेको तक्माले मेरो न “वामपन” रहन्छ, न “बुद्धिजिवी”को पहिचान् ।

 

राष्ट्रिय सम्मानप्रतिको अवधारणा मै दाजुभाई विपरित ध्रुवी ।

 

यसपाली कथा अर्कै जन्म्यो ।

 

पोहोर डाडुपन्यु आफ्नो हातमा भएका सोमलाल यसपालीको तक्मा पाउने सूचीमा परेका रहेछन, दुईतिहाई वाला वाम सरकारले खारेज गरिदिएछ ।  सोमलाल पदकविहीन भए । कारण थियो मनिलाबाट फिरेपछिको उनकोे सरकार विरुद्धको वक्तव्यवाजी । मतलव उनी सरकार भक्त भएनन् ।

 

 

शक्तिमा हुँदा दिलाइदिनु, दिएर भक्त बनाउनु, भक्ति नदेखाउनेको खोस्नु र भक्त हुन नचाहनु जस्ता नितान्त व्यक्तिगत विचारका वरिपरि घुमेको तक्माको विषयमा गन्थन गर्दा मलाई पनि यसलाई “राष्ट्र”बाट अलग्याएर सत्ता, शक्ति र भक्तिसङ्ग जोड्न बढि मन लाग्छ । “तक्मा पाउने” र “तक्मा पाउन योग्य” व्यक्ति एउटै हुनु आवश्यक  छ भन्ने म ठान्दिनँ, कम्तिमा यही भूमिमा बसुञ्जेल ।

 

 

धेरै विद्यार्थीले आफ्नो उत्कृष्ट पढाइका कारण विद्याभूषण पाउँछन । धेरै सुरक्षाकर्मीले ज्यान जोखिममा राखेर काम गरेवापत तक्मा पाउछन । केही “राष्ट्रसेवक” निजामति कर्मचारी साँच्चै सेवा नै गर्छन । उनीहरूको योगदान समाजले देखेको हुन्छ, चर्चै गरेको हुन्छ ।

 

 

तर, समाजले सजिलै पत्याउने “तक्मायोग्य”  व्यक्तिको भन्दा पत्याउनै नसक्ने “तक्मा पाउने” व्यक्तिको सूची यति लामो हुन्छ कि पाउनेको सूची आउनासाथ समाजमा चर्चा हुन थाल्छ, “ए त्यसले नि तक्मा पाएछ?” वितरण प्रणाली  अपारदर्शी  वा निगाहमुखी भएकोले  अवका तक्मा विवादास्पद नहोउन् भनेरै होला  बिभूषण समितिले बिभूषण सिफारिश गर्ने कार्यविधि र प्रदान गर्ने मापदण्डसमेत ल्यायो यसपाली ।

 

 

 

राजनैतिक, सामाजिक, आर्थिक, सुरक्षा, प्रविधि, भाषा, साहित्य, कला, खेलकूद र अन्य राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिका  सिर्जनशील कार्य, साहसिक कार्य, सार्वजनिक हित वा राष्ट्रको उन्नतिमा दिएको योगदान,  उसको आचरण तथा अनुसन्धान लगायतका विशेष योगदानको विवरण  प्रष्ट पार्ने फारामै पठाएर समितिले सिफारिश माग्यो । तर, जव सूची आयो, विवाद कायमै ।

 

 

जुन चिजको उत्पत्तिनै नोकरी, चाकरी र बफादारीको कदर, इमान र सम्मानका  निम्ति भएको हो त्यसलाई  पुरै पारदर्शी वनाउँछु भन्ने जुन धृष्टता बिभूषण समितिले गर्यो, त्यसबाट केही बर्षपछि राम्रो नतिजा आउला भन्ने आशा गर्न चाहिँ सकिन्छ, विश्वास गर्न भने गाह्रै छ । ।  नेपालको तक्मा संस्कृति त्यति सतही छैन जसलाई एउटा अवैज्ञानिक मापदण्डले तुरुन्तै उखेलेर फ्याँक्न सकोस् ।

 

 

म यो आलेखमा  आफैँले देखेका तक्मा संस्कृतिका केही पक्ष सम्झिने कोशिस गर्ने छु । थालौँ तक्माका लागि मेरै चाकरी गरिएको एक प्रसङ्गबाट ।

 

 

बीस एक्काईस वर्षअघि  एउटा दूूूर्गम हिमाली जिल्लाको सरकारी अड्डामा जागीर खान्थेँ । शनिवार काम नहुने, दिउँसो खानापछि प्रायः तास जम्थ्यो, म्यारिज । त्यहाँ एउटा सुरक्षा निकायका साथी थिए , त्यो तास खेलका स्थायी सदस्य वा मुख्य आयोजक नै । बाह्रमासे खेलाडी भएको र कार्यालयको काममा खास लगाव नभएका कारण उनले  वेला बखत सिडओकोे झपार्याई खाएको पनि सम्झना छ, मलाई ।

 

 

दशैँअघि एक दिन मेरो काठमाण्डु आउने योजना  थियो । उनले पनि अपर्झट मसङ्गै आउने कार्यक्रम बनाएछन । बस टिकटको पैसो मैले आफैँ तिरेँ, विचमा खाना खाएको पैसो तिर्न उनले जिद्दि गरे, मैले मानिनँ, अर्को खाजाको पैसो तिर्न उनले साह्रै रहर गरे, मैले छोडिदिएँ । उनले किन मप्रति त्यति धेरै सम्मान देखाए, मैले बुझिनँ । बिहानदेखि गफ गर्दै साँझ  काठमाण्डु छिरियो ।

 

 

बसबाट उनी ओर्लनु अघि एउटा चिटमा राम्रो अक्षरले लेखेको उनको कुनै क्रम सङ्ख्या, नाम, पद र कार्यरत अफिसको नामसमेत दिँदै भने, “फलानो सर हजूरको मामा हुनु हुँदो रहेछ, पदकको सिफारिश हुने वेला भा’को छ, सरले यति वहाँको डायरीमा टिपाइदिनु भए म कृतज्ञ हुने थिएँ ।”  उनले मेरा तीनचार पुस्ता भित्रका आफन्तको नाम लिए जोसङ्ग मेरो त्यतिवेलासम्म एक दुई पल्ट भेटेको बाहेक कुनै सम्बन्ध नै थिएन । र, म के गर्दैछु कहाँ छु भन्ने उनलाई थाहै थिएन ।

 

 

मैले त्यो कुरा उनलाई भन्दा उनले पत्याएनन । उनलाई कसैले “यो मान्छे पावरफुल मान्छेको आफ्नै भान्जो” भन्दिएको रैछ तास खेल्दा मेरो अघिल्तिर छन भने माल (म्यारिज खेलमा क्यास कार्ड) समेत फ्याँकिदिएर र सिक्वेन्स मिल्ने तास फ्याँकिदिएरसमेत मलाई खुशी पार्ने कोशिस गरे । तिनले त्यो चिर्कटो दिएर सिफारिशको आग्रह गरे, मैले चिट लिन मानिनँ, तर उनले “नभए हुँदैन कोशिस चाहिँ गर्दिनु” भन्दै  मेरो टिशर्टको खल्तिमा  हालिदिए ।  मैले चुपचाप लिएँ, कतै फ्याँकिदिएँ,  त्यो साल तिनले तक्मा पाए पाएनन हेरिनँ ।

 

 

तक्माको महत्व घटेको हो कि तक्मेहरूको मलाई थाहा छैन, तर पहिले पहिले तक्मा पाउनेको नाम पत्रिकामा छापिन्थ्यो, र रेडियोले बिहान सात बजेको समाचारपछि सबैको नामै फुक्थ्यो । मैले एक दुई साल हवल्दार र असईको लाइनतिर आइपुगेपछि ति मेरा मित्रको नाम पर्यो कि होइन भनेर सुनेँ पनि ।

 

 

तिनलाई “काम नलाग्ने मान्छे” भनेर सिडिओले गाली गरेको आफ्नै कानले सुनेको हुँदा होला त्यस्ता मान्छेले तक्मा पाउँछन कि पाउँदैनन भन्ने खुल्दुली मेरो दिमागमा एक दुई साल कायमै रह्यो । मेरो खानाको पैसो तिरिदिन तयार र तास खेल्दा सिक्वेन्स मिल्ने र माल शङ्का लागेको तासै फ्याँकेर गुन लाउन उनलाई पक्कै हाम्रो तक्मा प्रणालीले प्रेरित गरेको होला भन्ने मलाई लाग्यो । म खास पावरफुल मान्छेसङ्ग नजिक भैदिएर  उनको सिफारिश गर्दिएको भए मैले रेडियोबाट उनको नाम सुन्थेँ, र त्यो दिन मेरोमा रामेश्वरम्को लड्डु आउँथ्यो होला ।

 

 

म ८ महिनामा सरकारी जागीर छोडेर काठ्माण्डू फर्किएँ, ति कति समय उता बसे मलाई थाहा भएन । विस्तारै ति मेरो दिमागबाट हटे । म पत्रकारितातिर लागेँ, तिसङ्ग कतै दोबाटोमा समेत भेट नभएको दुई दशक नाघ्यो ।  तर, जैले जैले तक्माको चर्चा चल्छ, तक्मा पाउनेको प्रशस्तिसहितका बधाई पत्र—पत्रिकामा छापिन्छन्,  ति साथी मेरो दिमागमा आइहाल्छन । मेरो दिमागमा उनको फोटो अझै आउँछ। यसपाली पनि आयो ।

 

 

मेरो बुवाको ५ पुस्ता भित्र मैले चिनेको कोही राजनीतिमा छैन । बुवाका पाँच पुस्ता वरिपरिका कोही सत्ताको छेऊछाऊ  नपुगेको र कसैले तक्मा पाको मैले देखेको छैन, त्यसैले बाल्यकालदेखि नै तक्मा भनेकै मेरा लागि  लाहुरेहरूले सुनाएका कथाका विषय थिए ।

 

 

आर्मी र तक्मा मेरो दिमागमा गहिरोसङ्ग बसेका  रहेछन भन्ने अहिले बुझ्छु । भारतीय र बेलायती लाहुरेहरूले आफ्नो बहादुरी र तक्माबारे गरेका गफ सुनेर हुर्किएको हुँदापछि सम्म मलाई तक्मा सैन्य बहादुरीसङ्ग मात्रै सम्बन्धित ठान्थेँ ।

 

 

२०५१ मा एमए पढ्न काठमाण्डु आएपछि मात्रै गोल्ड मेडलको चर्चा सुनेँ । त्यो पनि एउटा ठूलै राणा परिवारकी छोरीले पाउनु पर्ने मेडल थेसिस नलेखी अर्को वर्ष पेपर दिएकि हुँदा त्यो वर्ष पाइनन् भन्ने चर्चा चलेको थियो । थोरै विद्यार्थी भएको विभागको छात्र, त्यहांँको पढ्नेजान्ने मध्येमा पर्ने भएकोले मेडल भन्ने वित्तिक्कै चासो पलाएको थियो । पछि पत्ता लाग्यो गोल्ड मेडल पाउने विद्यार्थी त कक्षा कोठामै नआउने, कहिले काहिँ प्राध्यापक नै उनैको घरमा जाने चलन रहेछ ।

 

 

मैले मेरो दुई, तीन ब्याचअघि र दुई, तीन ब्याचपछिसम्मका पदक पाउनेका नाम हेरेँ । मैले पढेको विषयमा पदक पाउनेहरू म जस्ता सर्वसाधारणका बच्चा कोही थिएनन । एक जनाका बाऊ राजदूत भए, एक जनाका बाऊ विषय समितिमै थिए, अर्काका बाऊ कुनै पार्टीको अध्यक्ष, मन्त्रि, अर्का केही व्याचपछिको एक जनाको बाऊ त प्रधानमन्त्री  नै ।

 

 

अर्थात पदकको बौद्धिक बंशाणु सम्बन्धसमेत रहेछ । तिनको घरको बौद्धिक वातावरण, सोच्ने तरिका, सङ्गत सबै असाधारण । मेरा लागि पदक नै असाधारण लाग्न थाल्यो । त्यसपछि पदक मेरो दिमागी क्षितिजबाट नै  पर हट्यो ।

 

 

पढेर आफ्नो लागि केही जानेँ, आफू बाँच्ने शीप सिकेँ भने, मलाई तक्मा किन? जागीर खाएवापत तलब पाएँ, मलाई तक्मा किन? यो मान्यता अझै बलियो भयो । मैले यो विषय १२ हातको टाँगोले समेत नछुने बिषय भएकाले न पदकप्रति कुनै चासो नै लिएँ, न कसैले पाउँदा टिप्पणी नै गरेँ । तर, जति निरपेक्ष हौँ भन्दा पनि जव तक्मे चर्चा वजारमा चल्छ, आक्कल झुक्कल तक्माको बहसमा भाग लिन मन लागि हाल्छ ।

 

 

दुईदशक अघि  सङ्गत भएका साथीले तक्मालाई किन त्यत्रो महत्व दिएका रहेछन भन्ने कुरा मैले धेरै पछि बुझेँ । हाम्रो सिस्टमले नै बढुवा हुन मान, पदवी, अलङ्कारको अलग्गै नम्बर दिने रैछ ।

 

 

ठीक छ आफ्नो पेशागत व्यक्तित्व विकासमा टेवा पुग्नेले त चाकरी गरे तर, तक्मा र पेशाको वृत्ति विकासको कुनै सम्बन्ध नभएका पत्रकार मित्रसमेत भेटिए, तक्माको पछि दौडिएका । मलाई व्यक्तिगत रुपमा चाहिँ सत्ताको तक्मा पाएका दिन पत्रकारको “पत्रकारत्व” मर्छ जस्तो लाग्छ ।  तर, पत्रकारले समेत तक्मालाई कसरी आफ्नो प्रतिष्ठाको विषय बनाएको हुँदो रैछ भन्ने प्रशंग आउँदा म कान्तिपुर प्रकाशनमा काम गर्दाको एउटा सानो घटना सम्झन्छु ।

 

 

शाही कालमा एकजना चर्चित पत्रकार थिए, अहिले अमेरिका तिर बस्छन क्यारे । एक दिन कान्तिपुरको  लिफ्ट बिग्रिएकोले म सिँढी उक्लँदै थिएँ, विज्ञापन दिने शाखाको ढोकामा तिनलाई भेटेँ । यसो हाईहेलो भयो । उनी तल झरे, म माथि ।  भोलीपल्ट  पत्रिकामा एउटा ठूलो बधाई देखेँ उनका शुभचिन्तकको नाममा छापिएको, उनको व्यक्तित्वको प्रशस्ति  मात्रै होइन लोकगीतदेखि दोहोरी गीतसम्म, पत्रकारितादेखि साहित्यसम्मको उनको योगदानको कदर भएकोमा तक्मादाताप्रति कृतज्ञता व्यक्त भएको । वास्तवमा उनी आफ्ना “शुभचिन्तक” आफैँ  थिए भन्नेकुरा मलाई मात्रै थाहा भयो किनकि मैले उनलाई अघिल्लो दिन विज्ञापन शाखाको  ढोकैमा देखेको थिएँ ।

 

 

तक्मा पाउने परिवारमा जन्मेको बच्चाको तक्माबारेको अबधारणा, तक्माका लागि मरिहत्ते गर्ने राष्ट्रसेवकको तक्माले उठाउने सामाजिक प्रतिष्ठा र तक्मा पाउँने सुरक्षाकर्मीको वृत्ति विकास आदि यस्ता तत्व हुन जसले महत्व बढाएको छ । यीनको कुनै सम्बन्धा नभएका  राजनीतिक नेताहरूसमेत किन दौडेका होलान, यिनको तक्मा भन्नु नै जन समर्थन हो भन्ने बुझेको मैले अहिलेका नेताको तक्मा मोह देखेपछि तक्माको इतिहास हेरेको तक्मको सम्बन्ध कुनै खुला, लोकतान्त्रिक आधुनिक समाज रहेनछ ।

 

 

तक्माको उद्भव र विकास नै सेवकलाई थप बफादार बनाएर फकाई फकाई बढि काम लिने मनोविज्ञानबाट भएकोले कसले पायो, किन पायो र कसरी पायो भन्ने बहसनै असान्दर्भिक लाग्छ मलाई किनकि एक सुरक्षा निकायका मित्रले मेरै चाकरी गरेर तक्मा पाउने कोशिस गरेको मैले देखेको छु ।

 

 

मान्छे  पिच्छे फरक क्षमता हुन्छन, ति सबै आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन भन्ने मान्यतालाई हाम्रो तक्मे संस्कृतिले स्विकार गर्दैन । वर्ष दिन घोकेको कुरा ४ घण्टामा खरर लेख्नेलाई मात्रै तक्मा दिईन्छ, तर पढेको कुराको ब्यवहारिक प्रयोगमा ध्यान दिने विद्यार्थी  छुट्छ । बहादुरी साथ लड्ने सिपाहीले तक्मा पाउँछ, तर बन्दूकमा गोली भरिदिने र थाकेको बेला पानी पिलाइदिने  साथीको खोजी हुन्न ।

 

 

साम्राज्यवादी र सामन्ती सम्बन्ध भएकै कारण तक्माको मुख्य सार नै उस्तै-उस्तै काम गर्ने वीचमा समेत विभेद सिर्जना गर्नुमा छ, एउटै मिशन अन्तरगतको योगदानमा पनि “उत्कृष्ट त निकृष्ट“ को वर्ग सिर्जना गर्नुमा छ  र सहकार्य भित्र व्यक्तिगत स्वार्थ्य घुसाउनुमा छ, र आफूप्रति बफादार “व्यक्ति“ जन्माउनुमा छ ।

 

 

तक्माको सम्बन्ध साम्राज्यवादी र सामन्ति  छ कि आधुनिक लोकतान्त्रिक छ भन्ने  खास विवाद गरिरहनु पर्ने विषय नै होइन ।  विवादै गर्ने भए तक्मा संस्कृतिको उद्भव र विकास हेरेर मात्रै गरिनु पर्छ । तक्मा कहिले सुरु भयो भन्ने विषयको गहिरो जानकारी नेपालमा तक्मा दिनलिने दुवैलाई नहुन सक्छ । भएको भए यो तक्मा भन्ने चिजलाई हेर्ने यिनको दृष्टिकोणनै फरक हुन्थ्यो होला।

 

 

धेरै पुरानो इतिहास खोतल्नुभन्दा कसरी पश्चिमा साम्राज्य र तिनका सम्राटहरूले आफ्नो सामन्ती राज्य व्यवस्थाका सेवकहरूको आफूप्रतिको बफादारी बढाउन विभिन्न सैन्य तक्मा, पोशाक र सैन्य अर्डरहरू प्रयोग गरेका थिए भन्ने एक दुई उदाहरण दिनु यहाँ सान्दर्भिक होला ।

 

 

तक्माको अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा पुरानो मध्येको एक प्रमाण इजरायली इतिहासकार जोसेफस (योसेफ)को लेखाईमा उल्लेखित सिकन्दर  महानले हीब्रु गुरु जोनाथनलाई पठाएको सुनौलो टाँकलाई मानिन्छ ।  इसाको चौथो सताब्दीमा सिकन्दरले त्यो टाँक “जोनाथनले आफूलाई गरेको सहयोगका लागि राजाले आफ्ना बन्धुबान्धवलाई दिने परम्परा” भन्ने एउटा सन्देशसहित पठाएको कुरा जोसेफसले उल्लेख गरेका छन् ।  पछि रोमनहरूले सुनका ठूला सिक्कालाई तक्माको रुपमा प्रयोग गरे ।

 

 

बेलायती राजा एडवार्डको पालामा १० फेब्रुअरी १३४४ मा  ब्रिटिश नाइटहरूले वार्षिक रुपमा भेलाहुने अनुमति पाए, सैन्य परेड जस्तै उत्सव मनाउन । त्यसमा नाइटहरूले अर्दर अफ दि गार्टर (एउटा विशेष प्रकारको लुगा र त्यसमा प्रयोग भएको, विचमा क्रस भएको वरिपरि टाई बेरिएको दर्ज्यानी चिह्न जस्तै ब्याच) प्रयोग गरेर बेलायतको सामाजिक हाइरार्कीमा आफुुलाई सबैभन्दामाथि देखाए । बेलायतको फ्रान्समाथि आक्रमणपछिको घटना भएकोले  त्यस टाईमा फ्रेन्च भाषामै ‘अनि स्वा कि माली पेँस’ अर्थात ‘जसले यसको वारेमा पाप सोच्छ ऊप्रति धिक्कार छ’ लेखिएको छ ।

 

 

१५८८को युद्धमा स्पेनमाथि भएको जीतको उत्सव मनाउन बेलायती महारानी एलिजाबेथ प्रथमले स्थापना गरेको तक्मालाई आधुनिक तक्माको पहिलो रुप मानिन्छ । युद्ध लड्ने वरिष्ठ अधिकारीहरूलाई दिइने  यो पदक पछि गएर ओलिभर क्रमवेलको पालामा डन्वरको युद्धपछि सबै दर्जाका सिपाहीलाई दिइएको थियो, पछि एकै चोटी वाटरलूको युद्धपछि १८१५मा दिईयो । नेपालमा पनि शान्ति सेनामा गएर आउनेले सबैले यस्तै सामुहिक रुपमा पाउँछन ।

 

 

यूरोप भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति राजकुमार लुइ नेपोलियनले जङ्गबहादुरलाई सुनको सानो बाटुलो तक्मा, मेडालियन (फ्रेन्चःमेदाइल्योँ)  र एउटा तरवार दिएका थिए ।

 

 

भारतीय, मध्यपूर्वका र एशियाका शासक, भाइसराय, गभर्नर र ठूला प्रशासकका लागि बेलायतले  स्थापना गरेको पदक जङ्गबहादुरले पाए “नाइट ग्य्राण्ड क्रस अफ दि अर्डर अफ दि बाथ“देखि            “ग्य्राण्ड मास्टर अफ दि मस्ट एक्जाल्टेड अर्डर अफ दि स्टार अफ इन्डिया” उनको बेलायतप्रतिको उदाहरणीय सहयोगका लागि ।

 

 

भारतमा भएको सिपाही बिद्रोहमा १४ हजार फौजको नेतृत्व गर्दै आफैँ लखनौ पुगेर बेलायतलाई सहयोग गरेवापत १८७३मा जङ्गबहादुरलाई दिएको “ग्र्याण्ड मास्टर अफ दि मस्ट एक्जाल्टेड अर्दर अफ दि स्टार अफ इन्डिया“  बेलायतको सर्वोच्च पदक थियो र “जङ्गबहादुरबाहेक अर्को त्यस्तो व्यक्ति त्यो पदक पाउन योग्य को होला?” भन्ने व्यहोराको  चिट्ठिसङ्गै प्राप्त भएको थियो। भारतमा भएको  १८५७को सिपाही बिद्रोहपछि आफ्ना बफादार फौजलाई खुशी पार्न बेलायतले १८५८मा  “डिफेन्स अफ लखनौ“ नामको तक्मा स्थापन गर्यो।

 

 

नेपालमा पृथ्वीनारायण शाहका पालैमा चाँदतोडा पगरीको अलि अलि  चलन थियो, सैनिक विल्लाहरू फ्रेन्च मोडलमा भिमसेनथापाको पालामा सुरु भए, जङ्गबहादुरले सैन्य संरचनामा बेलायती मोडल भित्र्याए । तर, तक्माको चलन चाहिँ पृथ्वी वीरविक्रमको पालामा भएको हो । जङ्गबहादुरदेखि चन्द्र शम्शेरसम्मका राणा शासकले विभिन्न बेलायती तक्मा भिरिसकेका थिए ।

 

 

चन्द्र शम्शेरकाका पदवी र तक्मा हेर्यो भने उनीसङ्ग विदेशी कति खुशी थिए भन्ने देखिन्छ । उनका केही सैन्य पदवी त तक्माको नाम हेर्नुसः

 

जिसिबि, जिसिएसआई, जिसिएमजी, जिसिभिओ, डिसिएल, आनरेरी जनरल बृटिश आर्मी, अनरेरी कर्णेल फोर्थ गोर्खाज,  थोङ्ग-लिन-पिङ्मा-कोकाङ्ग-वाङ्, ग्राँह्द अफिसिए द ला लेजिञो द अनेयर….आदि

 

 

जङ्गबहादुर वा चन्द्रशम्शेर लगायतका शासकले आफैँ युद्धमा खटिएर अर्काको साम्राज्य रक्षा गर्दिएर, वा आफ्नो देशका युवाहरू अर्काको साम्राज्यको रक्षार्थ प्रयोग गर्न दिएर, प्रयोग गरेर वा प्रयोग हुन पठाएर तक्मा पाए । त्यो सेवावापत आफूले धेरै पाए, देशलाईसमेत केही फाइदा भयो होला । जसले अर्काका लागि रगत बगाए, तिनले पनि राजीखुशी साथ बगाएका हुँदा तक्मा बलजफ्ति नभै फकाएर अर्कालाई सेवामा लगाउन प्रयोग गरिने औजारसमेत भएको छ ।

 

 

त्यसैले तक्माको सम्बन्ध हेजेमोनिकसमेत छ भन्ने बुझ्नु पर्छ। कसैको खुन, पसिना लिनुस । धातुको टुक्रामा केही लेखेर दिएर उसको प्रसंशा गर्नुस ऊ आफ्नो बफादार भयो । हाम्रा करीव ५०,००० गोर्खालीले बेलायतकालागि रगत वगाए, १३ जनाले बहादुरीको सबैभन्दा उच्च तक्मा पाए, भिक्टोरिया क्रस । त्यसैमा सबैले अझै गर्व गर्दैछन । पसिना बिर्से, रगत बिर्से । भारतमा कतिले ज्यान फाले पाकिस्तानसङ्गको लडाईंमा, कत्तिले चीनसङ्गको लडाइँमा, सबै तक्माकै लागि ।

 

 

तक्माको उद्भव र विकास नै सेवकलाई थप बफादार बनाएर फकाईफकाई बढि काम लिने मनोविज्ञानबाट भएकोले कसले पायो, किन पायो र कसरी पायो भन्ने बहसनै असान्दर्भिक लाग्छ, मलाई  किनकि एक सुरक्षा निकायका मित्रले मेरै चाकरी गरेर तक्मा पाउने कोशिस गरेको मैले देखेको छु ।

 

 

खाजाको पैसो तिरिदिने र तास खेल्दा क्यास कार्ड फ्याँकि दिने  सम्बन्धले त तक्मासम्म डोय्राउँछ भने नक्कली प्रमाणपत्रको काण्डमा जागीर छोडेका सम्बैधानिक अङ्गका प्रमुख, अर्काको थेसिस हुबहू सारेको आरोप लागेका  उपकुलपति, मिलेमतोमा बलात्कारीलाई छोड्ने प्रहरी अधिकृत र  कुनै नयाँ काम नगरी नेतासङ्गको सामिप्यका कारण बर्षै पिच्छे तक्माको स्तर बढाउने मुख्य सचिवले पाएको तक्माको बारे म कुनै आलोचना गर्दिनँ ।

 

 

त्यसैले तक्मा मेरा लागि भातृत्व, चाकरी र शक्ति प्रयोग वरिपरि घुमिरहने विषय हो, सोमलालले सिफारिस गर्ने, केपीले काट्ने, झलकले अस्विकार गर्ने विषय हो । अर्को अर्थमा डाडुपन्यु, शक्ति र व्यक्तिगत इच्छाको बिषय । राष्ट्रिय बहसको यसमा अर्थै छैन ।

 

 

Comments