MENU
कम्युनिष्ट एकताको विरोधाभास
 : 145 views
-डा. नारद भारद्वाज   Sep 13, 2018

 

 

अहिलेको सांगठनिक संरचनामा पार्टी संगठनको वैचारिक धरातललाई स्थिर राख्न, नेतृत्वका दार्शनिक, सैद्धान्तिक, शैक्षिक र सांगठानिक सदाचारका मानकलाई पारदर्शी बनाउँन र अवसरवादी, महत्वाकांक्षी, पदलोलुप र थैलीशाहको पहुँचबाट संगठनको नेतृत्वलाई सुरक्षित राख्न सम्भव छैन ।

 

 

 

 

नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको औपचारिक एकिकरण घोषणा भएको छ महिना पुग्न लाग्दा पनि प्रान्तीय, जिल्ला र त्योभन्दा तलका स्थानीय कमिटीहरूको एकीकरण हुन सकेको छैन । यसले समग्र पार्टी संरचना अन्योलग्रस्त र गतिशून्य अवस्थामा पुगेको महशुस भई रहेको छ । यसले स्थानीय तहका नेता कार्यकर्ता र समर्थक जनताहरूमा निराशा, निस्कृयता, गतिहीनता र वैचारिक उदाशीनता बढीरहेको गुनासो सुनिन्छ ।

 

 

केन्द्रमा खुशहाली र अमनचैन देखिन्छ, तर तल उकुसमुकुस र बेचैनी बढ्दै गएको महशुस गर्न सकिन्छ । एकीकरणसंगै केन्द्रीय कमिटी र त्यसभन्दा माथिका पार्टीका निकायहरू बोझिलो र कामकाजी स्वरूपका नभए पनि पुनर्गठन भएका छन ्। तीनीहरू शुस्त गतिमै भए पनि क्रियाशील देखिन्छन् । तर, पार्टीका केन्द्रीय निकायहरू, विभागहरू र समस्त स्थानीय तहको पार्टी संरचना असंगठित र गतिहिन बनेका छन् ।

 

 

हुन त पूर्व नेकपा (एमाले)ले संसदीय प्रतिस्पर्धामा बहुमत प्राप्त गर्ने कुरालाई केन्द्रित गरेर राजनीतिक परिचालन सुरू गरेपछि स्थानीय तहका राजनीतिक एजेण्डाहरू ओझेलमा पर्दै आएका हुन् भन्ने जन विश्वास छ । २०४६ सालदेखि नै स्थानीय राजनीतिक परिचालन सीमित, समस्या केन्द्रित र मुख्यरूपले निर्वाचन प्रेरित रहँदै आएका हुन् । धेरै अघिदेखि नै स्थानीय तहको नेतृत्व विकास, युवाहरूलाई माक्र्सवाद–लेनिनबादका दर्शन र सिद्धान्तप्रति आकर्षित र प्रशिक्षित गर्नेकाममा केन्द्रीय नेतृत्वको रूचि रहन छोडेका गुनासाहरू पहिलेदेखि नै आई रहेका हुन् ।

 

 

संसदीय राजनीतिक परिचालनको यो अवधीमा सक्रियता, बौद्धिकता, रचनात्मक झुकाव र नवप्रवर्तनात्मक क्षमताका आधारमा कार्यकर्ताहरूलाई नेतृत्वमा स्थापित गर्नेभन्दा नुनको सोझो गर्ने खालका, दम्भी र लोकप्रियता नभएका कार्यकर्ताहरूलाई स्थापित गर्ने प्रवृत्ति प्राय सबै बामपंथी पार्टीहरूमा विकास भएर आएको हो । यसले गर्दा पार्टीहरूभित्र माक्र्सवादी दर्शन बुझेर त्यसलाई अपनाएका, शैक्षिकरूपले उत्कृष्ट, विचारशील, स्थानीय तहमा बौद्धिकरूपले स्थापित, विचार निर्माणमा योगदान पु¥याउन सक्ने, द्वीभाषिक अथवा बहुभाषिक क्षमता विकास गर्दै गरेका र लोकप्रिय व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने कुराले प्राथमिकता पाउँन छोडेको थियो।

 

 

यस्तो हुँदा समाजका स्वतन्त्र बौद्धिक समुदायबाट उपेक्षित र अस्विकृत नेतृत्व स्थापित हुने र यसको परिणाम स्वरूप पार्टीको लोकप्रिय आधार कमजोर हुने डर रहन्छ । स्थानीय तहमा अहिले पनि पार्टीका नेतृत्वदायी व्यक्तिहरू र स्वतन्त्र बौद्धिक समुदायको बीचको अन्तर–सम्बन्ध समान, सहज र एक अर्काको क्षमता बृद्धिमा सहयोगी हुने खालको छैन । समाजका स्वतन्त्र बुद्धिजिबीहरूले पार्टीका नेतृत्वदायी व्यक्तिहरूलाई शैक्षिक मानकभन्दा तल रहेका ठान्ने र नेतत्वले स्वतन्त्र बुद्धिजिवीहरूलाई उडन्ते र रटन्ते विद्याधारी ठान्ने मनोबृत्ति अहिलेसम्म समाजमा दह्रोसित गाडिएको पाइन्छ ।

 

 

आज कुनै पनि पार्टीहरू भित्र करियर विकासका लागि निश्चित मानक र मापदण्डहरू छैनन् । पार्टीको कुनै अमुक तहको नेतृत्वमा जान कुन तहको दार्शनिक र सैद्धान्तिक ज्ञान हुनुपर्ने, कति औपचारिक शिक्षा प्राप्त गरेको हुनुपर्ने, कति समय पार्टीमा कृयाशील योगदान गरेको हुनु पर्ने, कस्ता समस्या समाधानगर्ने क्षमता प्रदर्शन गरेको पृष्ठभूमि हुनुपर्ने र लोकप्रियताको कुनस्तर प्राप्त गरेको हुनु पर्ने भन्ने कुरा स्पष्ट छैनन् । त्यसैले पार्टी नेतृत्व शैक्षिक, राजनीतिक र दार्शनिक अन्तरवस्तुविहिन बन्दै जाने खतरा बढेको छ ।

 

 

अहिले नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएको सन्दर्भमा दुई अलग संस्कार, अलग प्रकारका सांगठनिक संरचनामा हुर्केका, अलग राजनीतिक र सैद्धान्तिक प्रशिक्षणबाट नेतृत्वमा आइपुगेका नेता कार्यकर्ताहरूको सहकार्यको परिस्थिति निर्माण गर्ने चुनौती देखिएको छ । नेकपा एमाले शान्तिपूर्ण राजनीतिक रूपान्तरणका सिद्धान्तलाई लामो समयदेखि अभ्यास गर्दै आएको पार्टी हो । तर, नेकपा माओबादी केन्द्रका कार्यकर्ताहरूमा अहिले पनि सशस्त्र युद्धकालका आचरण र व्यवहारहरू व्याप्त छन् ।

 

 

नेकमा एमालेमाभन्दा माओवादी केन्द्रका नेता कार्यकर्ताहरूमा सैद्धान्तिक राजनीतिक चेतनाको स्थिति कम्जोर देखिन्छ । अहिले दुई पार्टी पुनर्गठन हुन गइरहँदा पनि केन्द्रीय नेतृत्व भविष्यमा आइपर्न सक्ने नेतृत्वका चुनौतीहरूप्रति सजग भएको संकेत पाइँदैन । पार्टीका सबै तहमा नेतृत्वको स्वभाविक विकास गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिइएको कतै देखिंदैन । यो चिन्ताको कुरा हो ।

 

 

अहिलेको सांगठनिक संरचनामा पार्टी संगठनको वैचारिक धरातललाई स्थिर राख्न, नेतृत्वका दार्शनिक, सैद्धान्तिक, शैक्षिक र सांगठानिक सदाचारका मानकहरूलाई पारदर्शी बनाउँन र अवसरवादी, महत्वाकांक्षी, पदलोलुप र थैलीशाहको पहुँचबाट संगठनको नेतृत्वलाई सुरक्षित राख्न सम्भव छैन ।

 

 

कम्युनिष्ट पार्टीले आफ्नो सांगठानिक संरचनालाई सुदृढ बनाउँन र नेतृत्व हस्तान्तरणलाई सांगठानिक विकासको स्वभाविक प्रक्रिया बनाउँन पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा र अमुक नेताप्रति वफादारी प्रदर्शन गरेरमाथि पुग्ने प्रवृत्ति र गुटबादको संस्कृतिलाई निर्मम रूपले दमन गर्न सक्नुपर्छ ।

 

 

अव स्थानीय तहमा दुई पार्टीहरूको पुनर्गठन गर्दा कार्यकर्ताहरूको योग्यता, क्षमता, त्याग र समर्पणको पृष्ठभूमिलाई हेरेर र सम्बन्धित तहका कार्यकर्ता र नेताहरूको सर्वसम्मतिमा निर्णय गरिएन भने एकीकरणबाट प्राप्त गर्न चाहेको उद्देश्य किमार्थ पुरा हुने छैन । सधैं माथिबाट निर्णयहरु लाद्ने परिपाटीले पार्टी भित्र झन ठूला विचलनहरू आउने कुरा निश्चित छ । त्यसैले स्थानीय निकायका विभिन्न तहमा कार्यकर्ता र नेतृत्वको समायोजन गर्दा संगठन साच्चै नि एकीकृत भएको सन्देश प्रवाह हुने गरी गर्नुपर्छ ।

 

 

अहिले हामी २१ औं शताब्दीका समाजवाद निर्माण गरी देशलाई स्थायित्व र समुन्नतितर्फ बढाउने लक्षका साथ अघि बढिरहेका छौं । कम्युनिष्ट पार्टीको त्यो पनि दुईतिहाइ बहुमत प्राप्त सरकारले देशको बागडोर लिएका बेलामा नै हो सांगठानिक संरचनाको सुधार गर्ने पनि । तर, यसको लागि इच्छा शक्तिको आवश्यकता पर्छ । संगठनभित्र यति मेरा र त्यति तेरा मान्छे राख्ने भन्ने गुटगत मनोग्रन्थी कायम रह्यो भने एकीकृत कम्युनिष्ट पार्टी बन्ने छैन । यसले पार्टीभित्र समानन्तर शक्ति केन्द्रहरू स्थापित गर्नेछ र कम्युनिष्ट पार्टीलाई फेरी अर्को विभाजनतर्फ डो¥याउँने छ ।

 

 

अहिले नेपाल कम्युनिष्ट पार्टी सफलताको अभुतपूर्व उचाइमा छ । तर, यसलाई वर्तमान अवस्थासम्म ल्याउन कैयौं क्रान्तिकारी योद्धाहरूले आफ्नो जीवन त्याग गरेका छन् । कैयौं योग्य र विचारशील कार्यकर्ताहरू विस्मृतिमा धकेलिएकाछन् । कति अहिले पनि संगठनभित्र प्रताडित हुँदै प्रतिष्ठा, पद र परिचयसमेत गुमाएर भए पनि पार्टीप्रति समर्पित भएर क्रियाशील छन्, कति पार्टीका जगका पत्थर बनेर पुरिएका छन् । संगठनका माथिल्ला निकायमा यति धेरै अवसरबादी, स्वार्थी र पदलोलुप व्यक्तिहरू आइसकेका छन् कि अहिले संगठनका नीति निर्णयहरूमा यिनीहरूको बर्चस्व स्थापित छ । र, सांगठानिक सिद्धान्त, दर्शन र आदर्शको चर्चा गर्नु पनि व्यर्थ जस्तै हन्छ ।

 

 

अव पुराना पुस्ताका बरिष्ठ नेताहरू अवकास लिने अवस्थामा आइसकेका छन् । तर, उनीहरूपछिका संगठनको विरासत थाम्ने नेताहरूको हुन भनेर देख्न सकिएको छैन । एउटा लोकतान्त्रिक परम्परामा हुर्केको पार्टीले संघर्ष र संगठनको दौरान विभिन्न तहमा आफ्ना नेताहरूको सशक्त समुहको निर्माण गर्न सक्नुपर्ने हो । वर्तमान पुस्ताका नेताहरूले विश्राम लिएपछि कसले संगठनको नेतृत्व लिन्छ भन्ने कुरा अनुमान लगाउन सकिनु पर्ने हो तर, अहिले त्यस्ता अवस्था छैन । नेतृत्व विकासका मापदण्डहरू विकास नगरी तदर्थवादको सहारामा काम गर्ने परिपाटीका कारण यस्तो भएको हो ।

 

 

एमाले माओबादी केन्द्रको एकीकरणले नेपालमा १९६३ को अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन भित्रका महाविवादको कारण विभाजित वामपन्थी शक्तिहरूलाई एकीकृत गर्ने एउटा अभूतपूर्व अवसर प्रदान गरेको छ । तर, यो अवसरलाई उपयोग गर्नका लागि शक्ति बाँडफाँडको सिद्धान्तका आधारमा होइन सिद्धान्तनिष्ठताका आधारमा एकता गर्ने भावनाबाट प्रेरित भएर सोच्न जरूरी छ ।

 

 

यदि यसरी सोच्न सकिएन भने एमाले–माओबादी केन्द्रको वीचको एकता चिरस्थायी हुने छैन । नेपालमा सफलताको नजिक पुगिसकेको सामाजिक राजनीतिक रूपान्तरण फेरि पनि धरापमा पर्न सक्ने छ । र, नेपाललाई एउटा स्थिर, समुन्नत र समाजवादी राज्य बनाउने सपना अधुरै रहनेछ ।

 

 

Comments