MENU
सरकार अनुगमनका ३६ सूचक !
 : 710 views
–अश्विनकुमार पुडासैनी   Oct 07, 2018

विकास र समृद्धि खोजेर उकुस मुकुस भएको देशमा झण्डै दुई पुस्ताको विकासको भोकलाई संबोधन गर्नुपर्ने अबस्था छ । बर्तमान सरकारको प्रमुख चुनौति भनेकै सुशासन सहितको जनताको अपेक्षालाई संबोधन गर्नु हो ।

 

 

 

मिडिया सेन्टर कुपण्डोलमा स्नातक तथा स्नातकोत्तर गरेका २५ जना युवा युवतीका लागि अन्तरक्रिया आयोजना गरिएको थियो । बिहानी कक्षामा सहभागीतामूलक अनुगमन तथा मूल्यांकनबारे बृहद चर्चा गरियो । के ? किन ? कसले ? कहिले ? र, कसरी गर्ने भन्ने विषयमा लामो छलफल भयो ।

 

समाज, विकास, आफ्नो क्यारिअर र सपनाका बारेमा युवा युवतीहरुको सपना र धारणा बुझ्ने अबसर मिल्यो । युवा पुस्तासँग अन्तरक्रिया गर्ने अबसर जुटाई दिएकोमा मिडिया सेन्टरकी सञ्चालिका शहनशीला शर्मालाई साधुवाद !

 

आफ्नै बारेमा निबन्ध !

अन्तरक्रियामा सहभागी प्रशिक्षार्थीहरुले आफ्नो बारेमा आफैंले निबन्ध लेखे । म को हुँ ? मेरो कर्तव्य के हो ? मेरा सपना के हुन् ? मैले मेरो सपना पूरा गर्न के कस्तो परिश्रम गर्नु पर्छ ? आफ्नै विगत, बर्तमान र भविष्यको बारेमा उनीहरुको लेखन र प्रस्तुति युवा पुस्ताहरुका लागि एक अनुकरणीय अभ्यास थियो । सहभागीमूलक योजना तर्जुमा, अनुगमन मूल्याङ्गकन गर्ने नौ कोठे तालिका (ढाँचा) मा आ–आफ्नो सपनाका परियोजनाहरु तयार गरी प्रस्तुत गरेका थिए ।

 

प्लाष्टिकबाट पेट्रोल

कार्यक्रमका सहभागि त्रि–चन्द्र कलेजबाट बि.एस्सी. गरेका आशिष भट्टराईले फोहरको रुपमा फालिने प्लाष्टिकहरु जम्मा पार्दै प्रयोगशालाबाट प्रशोधनगरी पेट्रोलियम पदार्थ उत्पादन गर्ने विधि र सो को व्यवशायिक महत्वका बारेमा प्रस्तुति गरे ।

 

उनले गरेको प्रारम्भिक अनुसन्धानबाट प्राप्त जानकारी अनुसार काठमाण्डौमा मात्रै दैनिक ५४ मेट्रिक टन प्लाटिकजन्य सामाग्री फोहरको रुपमा फ्याकिन्छन् । सो संकलन व्यवस्थापन गरी प्रयोगशाला प्रशोधनबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने हो भने दैनिक २४ हजार लिटर पेट्रोलियम पदार्थहरु उत्पादन गर्न सकिन्छ ।

 

उनले आफ्नो नौ कोठे तालिकामा आगामी तीन बर्षमा यो परियोजना कार्यान्वयन गर्ने र फोहोरको रुपमा फालिने प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरि बिक्रि वितरण गर्ने उद्यमशीलताको योजना प्रस्तुत गरे । भट्टराईको यो प्रस्तुतिको प्रयोगात्मक, बैज्ञानीक र व्यवहारीक सम्भाबना बारे भने थप अध्ययन, अनुसन्धान र विश्लेषण जरुरी छ ।

 

नेतृत्वको पनि अनुगमन

अन्तरक्रियामा छलफल गरिएको योजना तथा कार्यक्रम त्यसको कार्यान्वयन, अनुगमन तथा मूल्यांकनको प्रक्रियामा सहभागिहरुले प्रत्येक कामको मापन गर्ने इण्डिकेटर (सूचकहरु) निर्धारण गरेका थिए । ती सूचकको लेखाजोखाको आधारमा परियोजनाहरुको सफलता र असफलता मापन गरिने मान्यता, अबधारणा, विधि र प्रक्रियाको बारेमा खुलेर छलफल गरिएको थियो ।

 

युवा–युवतीको सपना सूचकहरुको बारेमा शुक्रबार साँझ सृजनशील युवा उद्यमीसँग छलफल गरियो । सो छलफलमा युवाको सपनाको आधारमा राजनीतिक नेतृत्व र सरकारको कामको सफलता, असफलता र प्रभावकारीताको अनुगमन तथा मूल्यांकन गर्नु पर्ने र सोहि विषयलाई प्राथमिकताका आधारमा सबै क्षेत्रबाट उठाउनु पर्नेमा औल्याईयो ।

 

विकासको अस्तव्यस्तता

वि.सं.२०१३ सालदेखि नै योजनाबद्ध विकासको अबधारणा शुरु भए पनि नेपालमा भीजनसहित विकास अबधारणाको अबसान भने २०२८ सालदेखि नै भएको हो । गएका ४६बर्षमा मुलुकले जे जति विकास ग¥यो त्यो कुनै भिजनमा भएको विकास थिएन ।

 

विकास र समृद्धि खोजेर उकुस मुकुस भएको देशमा झण्डै दुई पुस्ताको विकासको भोकलाई संबोधन गर्नुपर्ने अबस्था छ । बर्तमान सरकारको प्रमुख चुनौति भनेकै सुशासन सहितको जनताको अपेक्षालाई संबोधन गर्नु हो । त्यो पनि जति सकिन्छ छिटो । सबै क्षेत्रको अपेक्षालाई संबोधन गर्नु हो ।

 

जनताले आफ्नो संविधान आफैं बनाएर २०७२ साल असोज ३ गते जारी गरेको भएता पनि संक्रमणकालको अन्त्य भने २०७४ फागुनमा सरकार गठन भए पछि मात्रै संभव भएको हो ।

 

दुई बर्ष आलोचना नगरौं

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भई जननिर्वाचित सरकारले समृद्ध नेपाल, सुखी नेपाली महाअभियान सहित कार्य शुरु गरेको सात महिना पूरा नहुँदै सरकारको कठोर आलोचना शुरु गर्न सत्तारुढ दलकै नेताहरु अघि सरेका छन् । तर सरकारको आलोचना गर्नेमा युवाहरुको चासो कम रहेको पाईयो । विगतमा आफैंले पटक पटक पार्टी र सरकारको बागडोर सम्हालेकाहरुले चर्को स्वरमा सरकार नै परिवर्तन गर्नुपर्ने बाद्यता भएको भन्ने सम्मका अभिव्यक्तिहरु बाहिर आईरहेका छन् । यसको अर्थ रचनात्मक आलोचना नगरौं भन्ने होइन ।

 

युवा उद्यमीहरु प्रश्न गर्छन्, तपाईले आफ्नो कार्यकालमा के के गर्नु भयो ? सधैं नै तपाईहरुले नेतृत्व गर्नुपर्ने हो कि बर्तमान जननिर्वाचितहरुलाई पनि काम गर्न सहयोग गर्ने हो ? सरकारको आलोचना गर्ने युवा नेतृत्वलाई भने खासै प्रश्न गरेनन् । कारण जसले नेतृत्व नै गर्न पाएको छैन ।

 

उनीहरुले भने, नेतृत्वको आलोचना गर्नु भनेको खबरदारी मात्रै हो । उत्तराधीकारी बनाउँदै लैजाउ । नेतृत्व परिवर्तन हुँदै जानु पर्छ भन्ने हो । तर विगतमा सरकार प्रमुख र पार्टी प्रमुख भएकाहरुले बर्तमान सरकारको आलोचना गर्नु भनेको उनीहरु स्वयम् अस्थिरता र अन्यौल सृजना गरी आफ्नो स्वार्थ पूर्ति गर्ने लालसा मात्रै हो ।

 

यो मानसिकता नै स्थिरता र विकासको बाधक हुने ती युवा उद्यमीले औल्याए । वर्तमान सरकार संसदमा तीन चौथाईको समर्थनमा बनेको पाँच बर्षे कार्यकाल भएको जननिर्वाचित सरकार हो । यो सरकारलाई कम्तीमा दुई बर्ष आफ्नो सपना अनुसार बीना बाधा अवरोध काम गर्न दिनु पर्ने हुन्छ । सुशासन सहित कामगर्न सकिरहेको छ छैन त्यसको लागि सबै क्षेत्रबाट खबरदारी भने गरौं तर कम्तीमा दुई बर्ष आलोचनाका लागि आलोचना नगरौं । सरकारको विकल्पको बहस होइन, यसवारे सोच्दा पनि नसोचौं, युवा उद्यमीले जोड दिंदै भने ।

 

 

आफ्नो आङ्गको भैसी र अरुको आङ्गको जुम्रा

आफ्नो काम के हो ? कर्तव्य के हो ? गर्नु पर्ने के हो ? मैले कस्तो नतिजा दिएँ ? जिम्मेवारी निर्वाह गरें कि गरिन ? त्यसमा चासो छैन । तर अर्काले के ग¥यो ? कसरी ग¥यो ? त्यो काम यसरी गर्नु पर्ने भन्ने आमप्रबृति सुधार गरेमा मात्रै नेपालको उन्नति प्रगति छिटो हुने थियो ।

 

सुक्ष्म व्यवस्थापनबाट मात्रै समष्टि व्यवस्थापन सफल हुन सक्छ । प्रत्येक दिन प्रत्येक नागरिकले जिम्मेवार व्यक्तिले हिजो भन्दा आज राम्रो गर्न सकेको छ कि छैन ? त्यसपछि पो हो प्रश्न गर्ने “आफ्नो आङ्गको भैंसि नदेख्ने अरुको आँङ्गका जुम्रा देखाउने” प्रबृतिमा परिबर्तन आबश्यक छ ।

 

अरुको आलोचना गर्ने शिक्षकले आफ्नो विद्यालय कसरी चलाएको छ ? अरुको आलोचना गर्ने किसानले आफ्नो खेतबारीमा के कति अनाज फलाएको छ ? कर्मचारीले आफ्नो कार्यालयबाट के कसरी जनतालाई सेवा प्रवाह गरिरहेको छ ?

 

आफ्नो काम ठीक बेलामा र ठीक तरीकाले गर्छ कि गर्दैन ? डाक्टरले विरामीलाई सर्वसुलभ किसिमले अस्पताल चलाएर उपचार गरिरहेको छ कि छैन ? ईन्जीनियरले आफ्नो कार्यक्षेत्रमा बन्ने निर्माणको बारेमा विना घुस ईमान्दारीतापूर्वक काम गर्छ कि गर्दैन ?

 

सुरक्षा निकायहरुले जनतालाई शान्ति सुरक्षा दिई रहेको छ कि छैन ? जो जसले जे गर्नु पर्ने हो त्यो गरिरहेको छ कि छैन ? राजनीतिक पार्टिका नेता कार्यकर्ताहरु के कसरी समय विताउँछन् ? यी सबै कुराको वेथिति रहेको विद्यमान नेपालमा आमनागरिकहरुले प्रबृत्ति बदल्नु पर्छ कि पर्दैन ? आफैंमा प्रश्न गर्ने संस्कृतिको विकास गरियो भने मात्रै अरुको आलोचना गर्न सकिन्छ । नत्र पुरानो उखान नै दोहोरिन्छ ।

 

इमान्दारीपूर्वक सरकार लागोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई रेलको सपना देखाए । पानी जहाज ल्याउने भनेका छन् । घरघरमा ग्याँसका पाईप जोड्ने भनेका छन् । अरु पनि थुप्रै सपना देखाएका छन् । यो कुनै असंभब सपना होईन ।

 

अन्य देशमा यी सपनाका रुपमा छैनन् । तर हामीकहाँ किन नेतृत्वले सपना देख्दा पनि आलोचना हुन्छ ? कारण स्पष्ट छ, सपना पनि सामन्त, राजा महाराजाहरुले मात्रै देख्ने भन्ने प्रबृति युगौं युगदेखि संस्कार बनेर नेपाली समाजमा रहेको छ ।

 

पुस्तौंपुस्तासम्म स्वतन्त्र देखिने तर दासता भएको देशका नागरिकहरुको जीनमा नै स्वतन्त्रता पूर्बकको अभिव्यक्ति पनि सम्भब नभएर नै हो त ? पहिलो पुस्ता र अघिल्लो पुस्तामा मात्रै स्वतन्त्र भएकाहरुले प्रघानमन्त्री ओलीको सपनालाई खिसिटिउरी गरेर उडाएका होइनन् ?

 

होइन भने, सरकारको काम भनेको नै चुस्त दुरुस्त रुपमा सुशासन सहित पारदर्शिरुपमा आफ्नो योजना र सपना अनुसार काम गर्दै जानु पर्दछ । इमान्दारीतापूर्वक लागिरहने हो । तवमात्र सम्भब छ समृद्धि सपना । सरकार ईमान्दारीतापूर्वक आफ्नो काममा लागि रहेको छ कि छैन ? जनताले निगरानी गर्ने हो । नागरिक समाजले । प्रतिपक्षले । अभियन्ताहरुले । बुद्धिजिवीहरुले । प्राध्यापकहरुले । पेशाकर्मीहरुले । प्रत्येक नागरिकले गर्ने हो अनुगमन ।

 

नेतृत्वलाई युवा उद्यमीको प्रश्न

सरकारको आलोचना गर्नेहरुलाई नै प्रतिप्रश्न गर्दै सृजनशील युवा उद्यमी भन्छन्, केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको दुई बर्षमा निम्न कामहरु हुन्छन् कि हुन्नन् ? कम्तीमा दुई बर्ष यो सरकारलाई आलोचना गर्नेहरुले अनुगमन गरौं ।

 

समय समयमा मूल्यांकन गरौं । सरकारलाई रचनात्मक फिडव्याक दिऔं । सबैले आफ्नो काम ईमान्दारीता पुर्वक गरांै । सकिन्छ सहयोग गरौं । खबरदारी गरौं तर सरकारलाई अस्थिर बनाउने हर्कत नगरौं ।

 

सरकार अनुगमन गर्ने ३६ सुचकांक

सरकारको कामको अनुगमन तथा मुल्यांकन गर्न उनले निम्न सूचकहरु औंल्याएका छन् । ती सूचक हुन्–

 

१. काठमाण्डौंबासीका घरघरको धारामा पानी आउँछ कि आउँदैन ?

२. काठमाण्डौ लगायत प्रमुख शहरका सडकहरुमा धुलो उड्छ कि उड्दैन ?

३. भ्रष्ट र नालायकहरु कर्मचारीतन्त्र र सुरक्षा निकायबाट बाहिरिन्छन् कि बाहिरिदैनन् ?

४.जनता देश, राष्ट्रिय सम्पत्तिहरु बन्यजन्तु तथा अन्य आरक्षणहरुको सुरक्षा र सिंगो राष्ट्रलाई सधैं सुरक्षा दिने व्यवशायिक राष्ट्रिय संस्था नेपाली सेनाले संगठित व्यापार गर्न छोड्छ कि छोड्दैन ?

५.काठमाण्डौ तराई जोड्ने दु्रतमार्गको काम कुन गतिमा अघि बढ्छ ?

६. देश अब लोडसेडिङ्ग मुक्त हुन्छ कि हुँदैन ?

७. लुम्बिनी, पोखरा र नीजगढमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछन् कि आउँदैनन् ?

८. राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति के कस्तो अबस्थामा रहन्छन् ?

९. देशभरका नागरिकले पूर्ण रुपमा शान्ति सुरक्षाको अनुभुति गर्न पाउँछन् कि पाउँदैनन् ?

१० पर्यटन दशको शुरुवात २०२० ले २०३० पर्यटन मैत्री देश बनाउने अभियान कसरी अगाडि बढाउँछन् ?

११. अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक दिन आउने नेपाली युवाको लास आउने क्रम रोकिन्छ कि रोकिंदैन ?

१२. प्रत्येक दिन २०००को संख्यामा विदेशिने नेपाली युवा युवतीहरुको संख्यामा कतिले कमी आउँछ ?

१३. विदेशमा रहेका उद्यमशील नेपाली के कति संख्यामा स्वदेश फर्कन्छन् ?

१५. नेपालमा भएको पैत्रिकसम्पत्तिहरु बेचेर विदेशमा नै घरबास गर्ने प्रबृत्तिमा परिवर्तन भएर विदेशमा आफुले आर्जन गरेका धन सम्पत्ति बेचेर स्वदेश फर्कनेक्रम के कत्ति बढ्छ ?

१६. सांसदहरुले स्वेच्छाचारी ढंगले राज्यको ढुकुटि खर्च गर्ने परिपाटि रोकिन्छ कि रोकिंदैन ?

१७. अब नेपालको करको दायरा कत्तिको बढ्छ ? प्रत्येक नेपालीलाई करमा जोडिन्छ कि जोडिदैन ?

१८.राज्यको ढुकुटिमा रहेको पैसा ज्येष्ठ नागरिकहरुलाई भत्ता बढाएर बाँडिन्छ कि ६० बर्ष पुगेका प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध उराउने व्यवस्था गरिन्छ ?

१९.राजनीतिमा ठेकेदार, दलाल, विचौलिया, सिण्डिकेटवाला, (यातायात, म्यानपावर, शैक्षिक, मेडिकल, हाईड्रो, भुमाफियाहरुको) बोलवाला हट्छ कि हट्दैन ?

२०. नेताका छोराछोरी भाइभतिजा, ज्वाइजेठान परिवारका सदस्यहरुको विचौलियापनको पकड पार्टिमा, सरकारी सरुवा, बढुवा, नियुक्ति, ठेक्कापट्टा आदिमा कायमै रहन्छ कि मासिँदै जान्छ ?

२१. आफ्नो घर अगाडिको बाटो आफैले सफा गर्नु पर्ने संस्कृतिको सृजना हुन सक्छ कि सक्दैन ?

२२. राज्यका सम्पत्तिहरुको सहि सदुपयोग भई रहेको छ कि छैन पारदर्शिरुपमा नागरिकहरुले अनुगमन गर्ने संरचना, संयन्त्रहरु बन्छन् कि बन्दैनन् ?

२३. जाँड रक्सी, जुवा तास उन्मुलन अभियान के हुन्छ ?

२४. देशमा सबै तह र तप्काका नागरिकहरुको सदाचारको अनिवार्य पालना गर्ने संस्कार अभियान चल्छ कि चल्दैन ?

२५. हाम्रा विश्द्यविद्यालयहरुले नियमित रुपमा गुणस्तरीय शिक्षा दिन्छन् कि दिँदैनन् ?

२६. प्राध्यापक, वकिल, डाक्टर, ईजिनियर, शिक्षक, कर्मचारी, व्यवसायी, पत्रकार तथा समाजका सबै पेशाकर्मी र राज्यसंरचनाका अबयवहरुले इमान्दारीपूर्वक आफ्नो पेशा व्यवसायमा आफ्नो काम आफैं गर्ने संस्कृति शुरु हुन्छ कि हुँदैन ?

२७. नेपाल कानुनको शासन भएको देश वा रुल अफ ल बाट मात्रै चल्ने देश हो भन्न सक्ने बन्न सक्छ कि सक्दैन ?

३०. प्रत्येक स्थानीय तहमा बैंक शाखा पुग्छन् कि पुग्दैनन?

३१. प्रत्येक नागरिकको बैंक खाता हुन्छ कि हुँदैन ?

३२. प्रत्येक नेपालीको घरमा विजुली बत्ति पुग्छ कि पुग्दैन ?

३३. प्रत्येक नेपालीको घरमा स्वच्छ खानेपानी पुग्छ कि पुग्दैन ?

३४. चीन र भारतबाट रेलमार्ग जोड्ने काम कहाँ पुग्छ ?

३५.राष्ट्रले पुरस्कृत गर्ने तक्मा दिनेहरुको सूचिमा राम्रो कामगर्ने परिश्रमी उद्यमी इमान्दार लगनशीलहरु पर्छन् कि पर्दैनन् ?

३६.व्यवस्थित बस्ती निर्माण अभियान शुरु हुन्छ कि हुँदैन ?

हामीले संसारको उत्कृष्ठ संविधान आफैंले बनायौं । तर किन हामी संसारसँग प्रतिस्पर्धी हुन सकिरहेका छैनौ ? यसको मूल कारण भनेको सबैलाई सधैं सत्ता शक्ति र पैसा चाहिएको छ । सरकारको एक पटक नेतृत्व गरिसकेका नेताहरुले पुन सत्ता प्राप्तिको लागि भित्र बाहिर असन्तुष्टि पोख्ने भनेको उनीहरु समाजलाई बदल्न होईन बाँचुन्जेल आफ्नो स्वार्थको लागि राजनीति गरेको भान हुन्छ । राजनीति सधैं समाजको लागि हुनु पर्दछ । त्यो पनि हुने र नहुने बीचको खाडल कम गर्न । सबैलाई सहज र समन्यायको वातावरण बनाउन हो, राजनेताले काम गर्ने भनेको ।

एक पटक देशको प्रधानमन्त्री भैसकेकाहरुले आम नागरिक सरह एक क्षेत्रमा एक विषयमा केहि अनुकरणीय काम गरेर देखाए हुन्छ । राजनीतिमा त सधैं क्षमतावान, काविल उत्तराधिकारी उत्पादन गर्ने हो, जसले समाजलाई सकारात्मक परिवर्तन गर्दै विश्वका अन्य मुलुकका नागरिकहरु सरह प्रतिस्पर्धि बनाउन सक्छन् । यदि अघिल्लो पुस्ताले सधैं सत्तामा मात्रै आँखा लगाउने हो । अस्थीरता मात्रै निम्त्याउने र आफ्नो स्वार्थ पूरा गर्न मात्रै लाग्ने हो भने नयाँ पुस्ताले राजनीतिलाई घृणा गर्न थाल्नेछ । राजनीतिको नेतृत्वमा पुगेका र सत्ताको बागडोर समाति सकेका व्यक्तिले यो कुरा नबुझने हो भने हाम्रो लागि त्यो भन्दा अर्को दूर्भाग्य केहि नहुने विश्लेषण छ युवा उद्यमीको ।

अबको बहस

अब प्रत्येक क्षेत्रमा, प्रत्येक प्रकाशनमा, बहस, छलफलमा के कसरी नेपाललाई समृद्ध बनाउन सकिन्छ ? कसरी प्रत्येक नेपाली सकृय हुन सक्छन् ? प्रत्येक नागरिकको क्रियाशीलताको लागि । सम्भावनाको लागि । उज्यालो भविष्यको लागि । बहस शुरु गरौं । यसै हप्ता शुरु हुने बडा दशैंको सबैमा शुभकामना !

 

Comments

NIC Asia