MENU
‘बुल्डोजिङ्ग’ : ‘अ कल्चर’
 : 407 views
–युवराज आचार्य   Oct 10, 2018

कुरा थालौँ  नेकपा भित्रको सुस्तरी सुस्तरी पाक्दै गएको अन्तरबिरोध र सतहमा देखिएको नेतृत्वको टकरावबाट ।

 

 

 

 

नयाँ पुस्ताका धेरैलाई अनौठो लाग्न सक्ला, तर मलाई चाहिँ लागेन । म नक्सलवादीहरू कै विचमा हुर्किएँ । सात कक्षामा हुँदै राजनीतिमा संलग्न भएँ, उनीहरूकै कारण । १२–१३ बर्षे बालकलाई पहिले गाऊँ टोलका माथिल्लो कक्षाका दाइदिदी जता लाग्छन, त्यतै लाग्न मनपर्यो होला, अडान अलिपछि मात्रै विकसित भएका हुन ।

 

म उनीहरूका लागि ‘ब्ल्याक एण्ड ह्वाइट’मा हेरिने मान्छे थिएँ । कहिले उनीसङ्ग नजीक भएँ, मित्र शक्ति । कहिले टाढा भए, शत्रु । ‘मित्र’  हुँदाको सम्मान र ‘शत्रु’ हुँदाको घृणा थाहा छ र त्यही अनुरुप व्यवहार देखेको छु, बाहिरकालाई मात्रै होइन पार्टी भित्रकालाई समेत ।

 

खासमा उनीहरूको इतिहास नै मित्र र शत्रुहरूसङ्ग गरिने व्यवहारको इतिहास हो, नीति भनेकै त्यही व्यवहारलाई व्यवस्थित गर्ने नीति हो । कुरा प्रष्ट छ एउटा ‘दीर्घकालीन सङ्घर्ष’मा हिँडेका प्रतिबद्ध कार्यकर्तामा राज्य संचालनको बागडोर लिएर निर्वाह गर्नु पर्ने भूमिकाको प्रशिक्षण नै दिईएको थिएन हिजो अस्तिसम्म  । राज्य सञ्चालनमा हुने ‘कम्प्रोमाइज’ पनि त्यस्तै विषय थियो जसमा कार्यकर्ता प्रशिक्षण आवश्यक नै थिएन । अर्थात सर्वहाराले जितेपछि मात्रै प्राप्त हुने विषयमा टाउको दुखाउनुको अर्थै थिएन ।

 

सबै चिज नसोचेको तरीकाले भए । काँग्रेसले यति चाँडै अनिश्चितकालसम्म सत्ता बाहिर रहनु पर्ने अवस्था आउला भनेर नसोचे जस्तै माओवादिले पनि शान्ति प्रकृयामा जानासाथ १२ बर्षमा नौनौ बर्ष सत्तासीन होऔँला भनेर नसोचे जस्तै एमालेले पनि कुनैवेला दुई तिहाईको समर्थन आउला भनेर सोचेकै थिएन । अहिले नेताले जति फुईँ हाँके पनि ।

 

नसोचेको अवस्था आउँदा कहिलेकाही मानसिक तयारी हुन्न । सोचेर हिसाब किताब गरेर गरेको व्यवहारभन्दा तयारीबिनाको व्यवहारमा मान्छेको सक्कलीपन देखिन्छ । त्यसमा मान्छेको वास्तविक दिमाग मुखरित हुन्छ ।

 

बलदिँदो भूमिकाका लागि मानसिक तयारीका लागि समय नै अपर्याप्त भयो, सबै पार्टीमा । काङ्ग्रेस नेतृत्वमा प्रतिपक्षीपन र कम्युनिष्ट नेतृत्वमा अभिभावकपन आउन केही समय लाग्थ्यो, तर त्यो समय अभाव भयो ।

 

जस्तो व्यवहारका लागि बर्षौँको तयारी, प्रशिक्षण भयो, जस्तो नीतिका लागि कार्यकर्ता तयार गरियो, त्यसको परिणाम वेलाबखत देखिन्छ । त्यो वाह्य शक्ति माथि होइन पार्टी भित्रकै सहयोद्धा माथि पनि ।

 

कुरा थालौँ , नेकपा भित्रको सुस्तरी सुस्तरी पाक्दै गएको अन्तरबिरोध, र सतहमा देखिएको नेतृत्वको टकरावबाट ।

 

प्रधानमन्त्री ओली अमेरिकातिर भएका बेला माधव नेपालले स्थायी समितिका सदस्यहरूको भेला गरेर ओली नेतृत्वलाई चुनौती दिन सकिन्छ कि भनेर आफ्नो स्वास्थ्य परीक्षण गरे । चियापान भने पनि उनले ओली–प्रचण्ड मिलेमतो (नेक्सस)मा आफ्ना गुटकालाई कत्लेआम मात्रै होइन दुवै अध्यक्ष विदेश जाँदासमेत आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएको समेत असन्तुष्टी पोख्न एउटा होटलमा उपत्यकामा उपलब्ध र आफूप्रति अत्यन्त तीखा बाण प्रहार गर्नेहरू बाहेकका स्थायी समिति सदस्यलाई निम्ता दिए ।

 

स्वास्थ्य परीक्षणको नतीजा त नेपाल आफैँलाई ज्ञात होला । श्वास बढ्यो बढेन, मुटु ढुकढुक गर्यो गरेन, यी सबै चाल उनैले मात्रै महसुस गरे । शारीरिक शाक्तिमा हामीले गफ गर्नुको अर्थसमेत छैन । तर, हामी जस्ता बहिरियाले बुझ्ने भनेको उनको नैतिक शक्ति हो । र, त्यो शक्ति हामीले भन्दा पार्टीका भित्रियाले धेरै बुझेका छन । नबुझ्ने भन्ने कुरै भएन ।

 

सङ्गठनमा सबैभन्दा बढि काम गरेका, एक जुग पूरै पार्टी भित्र माइलो नेता (उपनेता) भएर बसेका र झण्डै डेढ दशक पार्टी प्रमुख भैसकेका नेपाल अधिकाँश कार्यकर्तालाई व्यक्तिगत रुपमै चिन्छन ।

 

कार्यकर्ताका लागि त्यति सहज पहूँच भएका त्यो हैसियतका नेता नेकपाको पूर्व एमाले गुटमा सायदै अरू होलान । अरूलाई विश्वास पनि सजिलै गर्छन, र आफ्नो कुरा राख्दा कपटको आभास खासै दिँदैनन । बेला बखत प्रतिद्वन्दि पार्टीप्रति छुद्र बोले पनि भित्र पाप भएका नेता जस्ता लाग्दैनन ।

 

तर, उनको अर्को पाटो चाख लाग्दो छ । अनुशासन पालनमा कडाई । हुँदा हुँदा त्यो कडाई अर्को गुटलाई वा अलि फरक विचार लिनेलाई पेल्नेसम्म पुग्दा अर्को गुट बलियो भएको सबै एमाले गणलाई थाहा छ । पार्टी भित्र नेपाल शासन चलेका बेला उम्रिएको र झाङ्गिएको गुट अहिले यस्तो अवस्थामा पुग्यो कि नेपाललाई त्यसले मान्छे नै गन्न छोड्यो ।

 

गैरनेपाल गुटका एक दुई प्रबक्ता हेर्नुस त । जब नेपालले ओलीलाई कुनै जिल्ला नजान र कार्यकर्तालाई सम्बोधन नगर्न अघोशित प्रतिबन्ध नै लगाएका थिए, एकजना पूर्व पत्रकार यस्ता निस्किए उनले काभ्रे जिल्लमा ओलीको भव्य स्वागत गराए । अहिले ओली गुटका सार्वजनिक मुख उनै भएका छन, केही तीता कुरा बोल्नु परे ।

 

ओलीगुटमा अझै त्यस्तै प्रतिबद्ध नेता कार्यकर्ताको जमात अविचलित छ, जति नेपालले देश डुब्न लागेको कथा भावनात्मक रुपमा संसदमा सुनाए पनि र स्थायी समिति नबस्दा देशै डूब्ने सन्देश होटलमा दिए पनि ।

 

धेरैले मुख नखोल्लान, तर विचार नमिल्नेहरूलाई ‘बुल्डोज’ गर्ने चलन नेपालले बसाए र ओली उनका सच्चा चेलाबाहेक कोही होइनन भन्ने एमाले पङ्ती ठुलै छ । त्यसैले एउटा वाहिरको समूह नेपालको ‘सिम्प्याथाइजर’ देखियो होला, अरूले पार्टीको ‘बुल्डोजिङ्ग कल्चर’लाई दोषी देखाउँदै नेपालको असन्तुष्टीप्रति निरपेक्ष रहेको देखिन्छ ।

 

नेपाललाई किन ओलीले कुनै सम्मानजनक हैसियत दिएनन् ? किन अमेरिकाबाट फर्किउञ्जेलसम्मसमेत पर्खिएनन प्रदेश समिति बनाउँदा ? किन नेपाल गुटकालाई पाखा लगाए ? यी प्रश्नको कुनै औचित्य छैन ।

 

यो ‘बुल्डोजिङ्ग’ शृङ्खलाको एउटा घटना मात्रै हो । सिपि, जेएन, बामदेव, ओली, नेपाल सबैले दललाई कहिल्यै साझा सम्पत्ति देखेनन र नोकरशाहीकरणमार्फत शक्ति आर्जन गरेर नजिकको प्रतिस्पर्धीलाई खुइल्याउनु मात्रै नेतृत्वको अभिष्ट ठाने ।

 

आफूशक्तिमा हुँदा सहमतिको संस्कृतिको प्रबद्र्धन नगरी हुर्काएको संस्कृतिको पछिल्लो शिकार जो भए पनि चिसो पानीले नुहाउनुको कुनै विकल्प छैन, त्यो विश्वकै सवैभन्दा गम्भीर ‘ब्युरोक्याटिक कल्चर’मा जकडिएको दलमा ।

 

केही काङ्ग्रेसी नेताहरू पनि सभापतिले मनलागि गरे भनेर मोर्चावन्दिमा लागेको देखिन्छ । तिनले कुनै सभापति नजिक भएर अर्काको अस्तित्वसमेत नकारेको कुरा त धेरैले सम्झेका होलान । जव एउटा लोकतान्त्रिक भनेको दलसमेत आफ्ना सहयोद्धासङ्ग सहिष्णु हुन सक्दैनन, अरू दलसङ्गको मोर्चावन्दिको कुरा केवल गफका खातिर गफ शिवाय केही हुन्न । यो पनि तिनकै ‘बुल्डोजिङ्ग कल्चर’कै एउटा अङ्ग हो ।

 

Comments

NIC Asia