MENU
जिम्मेवार बन जनप्रतिनिधि
 : 364 views
-राजीव भण्डारी   Nov 05, 2018

 

 

हाम्रो देशमा भने सरकारी निकायले खनेको खाल्डो लामो समयसम्म खुला पासो थापेको जस्तो राखिन्छ र त्यसमा खसेर मानिसको ज्यानसमेत जाँदा कसैले जिम्मेवारी लिंदैन । अझ सरकारले सम्वन्धित जिम्मेवार व्यक्तिलाई कारवाही गर्दैन । दण्डहीनताको यस्तो पराकाष्ठाले सरकार चलाउँने कोही छैनन् यो आफैं चलिरहेको छ जस्तो प्रतित हुन्छ ।

 

 

 

 

गत कार्तिक सत्र गते बिहानै कीर्तिपुर जाने सडकको खाल्डोमा खसेर ३८ वर्षीय साईकल यात्री श्यामशुन्दर श्रेष्ठको मृत्यु भयो । देशले एउटा सक्षम युवा गुमायो । कसैले भाइ, कसैले दाई, कसैले मामा, कसैले काका, कसैले भतिजो, कसैले नाति, कसैले साला, कसैले साथी, कसैले छिमेकी, कसैले गुरु, कसैले इष्टमित्र, कसैले प्रकृतिप्रेमी के–के गुमाए गुमाए । अरु जसले जे गुमाए पनि त्यो त पूर्ति हुँदै जाला तर उनकी आमाले एक्लो छोरो गुमाइन्, जसको क्षतिपूर्ति हुनै सक्दैन । पालैपालो पसलमा बस्ने आमा छोरा, एक अर्काका परिपूरक, साथी, बुढेसकालको सहारा सदाको लागि बिलायो ।

 

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता घटना त यसअघि पनि भएकै हो । नेपालटारमा एउटी बालिकाले यसअगाडि पनि पानीमा खसेर सडकमै ज्यान दिइसकेकी थिइन् । राजधानी शहर भएर मात्रै यहाँको खबर बढ्ता फैलिन्छ तर देशैभरिको अवस्था हेर्ने हो भने त यस्ता घटना कति भए र कति भइरहेका छन् । दूरदराज गाऊँघरबाट यस्ता खबर बाहिर आएकै हुँदैन ।

 

त्यसै गरी अङ्गभङ्ग भएका र अत्यन्तै इन्तुनचिन्तु भएका घाइतेहरुको पनि खबर बाहिर आएको हुँदैन । विशेष गरी पैदल यात्री, साइकल यात्री र मोटरसाइकल यात्रीहरुले यस प्रकारको घटनाको सामना दिनदिनै गरिरहेका छन् । आफ्नै शहरमा पनि बिहान घरबाट निस्किएको व्यक्ति बेलुका सकुसल फर्कियो भने आश्चर्य मान्नुपर्ने कस्तो समय आयो ?

 

विश्वका कैयन मुलुकहरुमा सवारी साधनको टायर पञ्चर भयो भने त्यहाँको सरकारले कि त क्षतिपूर्ति दिनुपर्दछ कि मुद्दाको लागि तयार भएर बस्नुपर्दछ । किनभने, उनीहरुले सरकारले तयार पारेको सडक प्रयोग गर्दा किन किलाकाँटी वा सिसा हटाएन भनेर दोषी सरकारलाई बनाइन्छ ।

 

आश्चर्यको कुरा हाम्रो देशमा भने सरकार वा यसका निकायहरुले आफूले खनेको खाल्डोलाई जस्ताको त्यस्तै दिन, हप्ता, महिना र वर्षौंसम्म पनि खुला पासो थापेर राखेर त्यसमा मानिसको ज्यान जाँदा पनि कसैले जिम्मेवारी नै लिंदैन । त्यो भन्दा ठूलो आश्चर्य त सरकारले त्यस्ता निकायहरुलाई र ती निकायहरुमा बसेर कामगर्ने व्यक्तिहरुलाई कारवाही नै गर्दैन । दण्डहीनताको पराकाष्ठा भएपछि राज्य चलाउने कोही छ कि यो देश आफैं चलिरहेको छ भन्नै नसकिने द्विविधा भइरहेछ ।

 

खाल्डाखुल्डीकै कुरा गर्ने हो भने, मानौं कुनै ठाउँमा कुनै घटना घट्छ । सर्वप्रथम उक्त खाल्डाखुल्डी कुन पालिका (गाउँ, नगर, उपमहानगर, महानगर) को कुन वडाको हो, सो वडाका वडा सदस्यको जिम्मेवारी हो कि होइन ? वडा सदस्य भनेको सोही ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा हो । जसले आफ्नोवरिपरिको वातावरणको जिम्मेवारी लिनैपर्दछ । त्यहाँ भएका सडक, सडकपेटी, सडकबत्ती, ढल, खानेपानी आदि इत्यादिको बारेमा बिग्रे भत्केको बनाउन उसले पहल गर्नुपर्ने होइन ?

 

यदि बनाउन ढिलो भएको खण्डमा वा आलटाल भएमा नबनेसम्म त्यहाँ केही छेकवार राखेर वा प्रवेश निषेध नै गरेर संभावित जोखिमबाट जोगाउनुपर्दैन ? त्यसपछि उक्त वडाका वडा अध्यक्षले जिम्मेवार लिनु पर्दछ । किनभने एकत उसले आफ्नो वडामा त्यस्ता जोखिम युक्त स्थानलाई भगवान भरोसामा छोडिदियो । अर्को आफ्ना मातहतका जनप्रतिनिधिहरुलाई जनताको दैनिक जीवनसँग सम्बन्धित पक्षसँग संलग्न गराउन सकेन । त्यसपछि उक्त पालिकाका प्रमुख वा मेयरले त सम्पूर्ण जिम्मेवारी लिनै पर्दछ । किनभने, यस्तै कुराहरुको सुधार गर्छु र अरुभन्दा राम्रो काम गर्छु भनेर नै जनताको मत पायर विजय भएर ऊ त्यस कुर्सीमा विराजमान भएको हो ।

 

यी राजनैतिक व्यक्तिहरुलाई कार्वाहीको दायरामा ल्याउनैपर्दछ । तब मात्र उनीहरुले आफ्नो क्षेत्रमा जिम्मेवार भएर काम गर्दछन् । नत्र दोष जति अरुको टाउकोमा थोपर्ने बानीको सरुवारोगले कहिलेपनि छाड्दैन । उहाँहरुका साथसाथै समानान्तर रुपमा ठेकेदार, निर्माण गराउन लगाउने संस्था, अनुगमन गर्ने संस्था लगायतलाई पनि कार्वाही गर्नैपर्दछ । घटना घट्छ । विरोध हुन्छ । छानबिन समिति बन्छ ।

 

निश्कर्ष केही पनि आउँदैन । रौतहटको लालबकैयामा त्यत्रो मानिसहरु सवार डुङ्गा पप्पुले वर्षौंदेखि अधकल्चो पारेर छाडेको पुलमा ठोकिएर पल्टन्छ, मानिसहरु हताहत भएका छन् । सबको आँखाअगाडी दोषी को हो भनेर छर्लङ्ग छ तर कार्वाहीको नामोनिशान छैन । जनप्रतिनिधीहरु मध्ये सबैभन्दा कान्छो जनप्रतिनिधि भनेको वडा सदस्य नै हो । उसकै घर अगाडीका ससाना कुराहरुपनि उनीहरुले सल्टाउने प्रयास नै गरेको देखिंदैन । आफू हिंडिरहेको सडकपेटीमा घरवालाले मोटरसाईकल वा मोटर पार्किङ गरेर राखेको हुन्छ ।

 

उनीहरु उक्त सवारी साधनलाई छड्के लगाएर तल सडकबाट हिंड्छन् तर उक्त सवारीसाधनलाई बटुवा हिंड्ने पेटीबाट हटाऊ भन्न सक्दैनन् । सडकपेटीभरि निर्माण सामग्री टन्न राखेको घरधनीसँगै बसेर चिया पसलमा चिया पिइरहेका हुन्छन् तर उक्त सामग्री त्यहाँ राख्न पाइदैन भन्दैनन् । किराना पसलेले बिहानै दूधको क्रेट, पानीका जारहरु, ग्याँसका सिलिण्डरहरुले बटुवाहरुलाई जोखिम मोलेर सडकको मुख्य भागबाट हिंड्न बाध्य पारिरहेका हुन्छन् तर उहाँहरुको आँखाबाट त्यो सबै देख्दै देख्दैन ।

 

फलफुल पसलमा झुण्ड्याइएका फलहरु, मःमः पसलको डिक्चे, समोसा पसलको कराई, फर्निचर पसलको मेच, दराज, टेबल, साइकल मर्मत गर्ने पसलको साइकल र हावा भर्ने पाइप, तरकारी पसलका साग सब्जी, स्टेशनरी पसलका सजाउने तथा खेल्ने सामानहरु, फेन्सी पसलका लुगाहरु, चिया पसलको स्टुल, सबै सबै त बाटोमै हुन्छन्, पाए सम्म कसैले पनि बटुवा हिंड्ने पेटी मिच्न बाँकी राख्दैन । यसको लागि प्रत्यक्ष रुपमा फुटपाथमै पसल थाप्नु पर्छ भन्नेपनि छैन ।

 

मोटरसाईकल बनाउने वर्कशपले सडक पेटि मात्र होइन, सडक समेत मोबिलले कालमकुट बनाएका छन् यती मात्र होइन त्यस्ता वर्कशपहरुले मोटरसाईकल नुहाईधुवाई गर्दा पानीको फोहोरा, त्यो पनि सर्फ र फोहोरपानीले, बाह्रै महिना होलीपर्वको पिच्कारी जस्तोले आफैंलाई लाग्दा पनि त्यसलाई यसरी गर्नुहुँदैन भनेर कार्वाहि गरेको कतै देखिएन । त्यतीमात्र होइन, जनप्रतिनिधि हौं भन्ने अनि आफू ट्याक्सीले ठग्यो भनेर फेसबुकमा दुखेसो पोख्छन् । आफ्नो चोकमा पार्किङ गरेर राखेको ट्याक्सीलाई मिटरमा जान नमान्ने र भनेको ठाऊँमा जान नमान्नेलाई तुरुन्तै सम्बन्धित निकायमा फोन गरेर हुन्छ कि अरु नै उपाय लगाएर हुन्छ, कार्वाहि गर्नु पर्दैन ?

 

टोलको भट्टीमा मध्यरातसम्म जाँडखाएर हल्ला गर्दापनि उहाँहरुको कानमा पर्दैन, किनारापसल भरी रक्सिको बोतल सजाएर राख्दापनि देख्नु हुन्न, स्नुकर खेल्ने ठाऊँमा गाँजाको धुवाँ जती उडेपनि सायद त्यसको वासनानै आएको हुन्छ होला, फुटसल खेल्ने ठाऊँमा सुन्नै नसक्ने मनपरी शब्दहरु बोलिरहेका हुन्छन्, टोलमा भुस्याहा कुकुरहरुले साँझ बिहान झम्टेर हैरान गरिरहेको हुन्छ, ढल÷पानीको पाइप फुटेर सडक हिउँदमै पोखरी बनेको हुन्छ, असभ्य नागरिकले सडकभरी जथाभावी फोहोर फाल्ने र पार्किङ गर्ने गरेर हैरान पारिरहेका छन् ।

 

बिजुली-टेलिफोन-केवल-इन्टरनेट-टेलिफोन जस्ताका तारहरु सडकमा जताततै झुण्डिरहेका हुन्छन् । सक्षम व्यक्तिहरुत जसरी भए पनि जोगिएर हिंड्लान् तर वृद्धवृद्धा, बालबालिका, फरक क्षमता भएका व्यक्तिहरु त एक्लैदुक्लै हिंड्नै बन्द गर्नुपर्ने अवस्था आइसक्यो । यस किसिमका आफ्नै घरअगाडिका समस्याहरु जबसम्म उहाँहरुले चुनाव जित्नुभएको थिएन । सबै देख्नुहुन्थ्यो । अहिले त देख्नै छाडिसक्नुभयो । एउटा वडामा वडा सदस्य चार-चार जना छन् तर सबै जना कता छन् कता ? जनतासँग प्रत्यक्ष जोडिएका मुद्दामा पो उहाँहरु हुनु पर्ने होइनर ?

 

हो, उहाँहरुलाई लाग्दोहोला अहिले वडा बासीलाई केहि भन्यो भने ह्रिसाएर अर्को पटक भोट नै दिंदैन । तर उहाँहरुलाई सानो अनुरोध छ, तपाईहरु अर्को तरिकाले पनि सोच्नु होला । यदि यी सबै कार्यहरु गर्यो भने कोही त ह्रिसाउलान् तर अधिकांश खुशी भएर पहिला भोट नदिएकाहरुले पनि भोट दिनेछन् । राम्रो काम गर्नेले परिणाम सँग डराउनु हुँदैन । राम्रोको परिणाम राम्रै हुन्छ, नराम्रोको नराम्रै । कार्वाही गर्ने वा कानुनको दायरामा ल्याउने भनेको आफूले सकेको मात्रै आफैले गर्ने हो नसकेको अवस्थामा त राज्यका सम्बन्धित निकायहरु बसेको छँदैछ नि । उनीहरुसँग हातेमालो गरेर अगाडि बढ्ने हो, उनीहरुलाई परिचालन गर्ने हो । त्यसमाथि राम्रो काम गर्दा जनता त सँगसँगै आइहाल्छन् नि, जनता साथ भएपछि के को डर ?

 

स्थानीय सरकार भनेको त प्रत्यक्ष जनतासँग सम्बन्धित समस्याहरुको समाधानको लागि बनेको भन्ने कुरा उहाँहरुले नबुझेको हो कि बुझाउन नसकेको हो ? प्रायः यस्ता जनप्रतिनिधिहरुले दशैंमा पूजापाठको निम्तो, तिहारमा देउसीभैलोको निम्तो, तीजमा लोकगीतको निम्तो अनि आफ्नो मातृपार्टीका हरेक गतिविधिमा संलग्न हुने, व्यापारी तथा ठूला नेताहरुलाई खुशी पार्ने, तथा उद्घाटन, चियापान, गोष्ठि, सेमिनारमै रुमल्लिरहने गरेरै समय कटाइरहनुभएको छ ।

 

सबैले गर्छु भन्दा पनि मौका पाएको हुँदैन, तर तपाईंहरुलाई समयले साथ दिएको छ । जिम्मेवार भएर काम गर्नुहोस् । जनतासाथ छँदैछ भनेर मख्ख नपर्नुहोला । धेरै ठूला ठूला नेताहरुको विरासत गुमेको आफ्नै आँखाअगाडि सबैले देखेकै छन् । जनताको मनमा बस्नुभयो भनेजस्तै आँधि तुफानले पनि हल्लाउन सक्दैन । परिवर्तित समय र पुस्तालाई पनि ख्याल गर्नुहोला ।

Comments

NIC Asia