MENU
लोकतान्त्रिक क्रान्तिलाई जनवादको जामा
 : 90 views
-कुसुम भट्टराई   Nov 05, 2018

एकातिर उहाँहरुलाई पुरानो कम्युनिष्ट धङधङी पनि बोकेर हिँडनु परेको छ, अर्कोतिर आफुलाई लोकतान्त्रिक पनि देखाउनु परेको छ । यस्तो वैचारिक अन्यौलबीचमा एमाले र माओवादीको एकतालाई वैचारिक एकताको फाटेको जामा नलगाउनु नै उचित छ ।

 

 

 

यो मुलुक या त अझै पनि अर्धसामन्ति र अर्ध औपनिवेशिक हो । यदि हैन भने यो हिजो पनि अर्धसामन्त र अर्ध औपनिवेशिक थिएन, आज पनि छैन । किनकी, २००७ सालदेखि आजसम्म यो मुलुकको आर्थिक, सामाजिक र बर्गीय अवस्थामा तात्विक अन्तर आएको छैन । राजनीतिक रुपमा स्वतन्त्रता प्राप्त गरे पनि आर्थिक रुपमा अझै पनि नेपाल पछौटेपनबाटै गुज्रीरहेको तीतो यथार्थ हाम्रा सामु छन् ।

 

नेकपाका नेता घनश्याम भुषालले एक अन्तर्वार्तामा ‘अब मुलुकमा अर्धसामन्ति र अर्ध औपनिवेशिक अवस्था रहेन’ भनेका रहेछन् । ‘एमालेको नवौं महाधिवेशन र माओवादीको हेटौडा महाधिवेशनको निश्कर्ष नै यही हो’ भनेर उनले भनेका रहेछन् ।

 

सिद्धान्तको भुलभुलैयामा भुलाउने कम्युनिष्टहको धुर्तता फेरी सतहमा आएको छ । बरु सोझै भनौं, ‘नेपालमा कम्युनिष्ट आन्दोलन सम्भव थिएन, हामीले गरेको बुर्जुवा पुँजीवादी आन्दोलन हो’ भनेर । हैन भने छट्टु कुरा नगरौं ।

 

हिजो भनिएको थियो, यो मुलुक अर्धसामन्ति र अर्ध औपनिवेशिक हो । राजतन्त्र भएकाले अर्ध सामान्ति  भनियो भने भारतको दबदबा भएकाले यसलाई अर्ध औपनिवेशिक भनियो । यसमा त्योबेला कुनै विमती रहेन ।अर्धसामन्ति र अर्ध औपनिवेशिक मुलुकको मुक्तिका लागि जनवादी क्रान्ति आवश्यक भनियो । भुषालका शब्दमा त अहिले मुलुकमा जनवादी क्रान्ति पनि पुरा भइसकेको छ ।

 

सामन्ति  संस्कारको स्थानान्तरण

के नेपालमा जनवादी क्रान्ति पुरा भएकै हो ? के अब यो मुलुक अर्धसामन्ति र अर्ध औपनिवेशिक नरहेकै हो ? निश्चय नै, पछिल्लो जनआन्दोलनको बलमा राजतन्त्र समाप्त भयो, तर राजतन्त्र समाप्त हुनु नै सामन्तबाद समाप्त हुनु हो त ? नेपालमाअर्धसामन्ति र अर्ध औपनिवेशिक शोषण र विभेद समाप्त भएकै हो त ? पक्कै हैन । सामन्ति  सोच, सँस्कार हिजोका राजा र राजा साहबहरुबाट आजका कमरेडमा सरेको छ । यसपाली दशैंमा शितल निवासमा राष्ट्रप्रमुखबाट त्यसखालको सामन्ति रवाफ हामीले देखिहाल्यौं । राजा महाराजाहरुले झैं ‘टिका बक्स’ भएको देख्दा देख्दै हाम्रो देशबाट सामन्ति  सँस्कार समाप्त भयो भन्न कसरी सकिन्छ ?

 

श्रीमती, भाइ, सालो, भतिजालाई समानुपातिक साँसद बनाउनु पनि सामन्ति  सँस्कार नै हो । शहीदको कोटामा छोरालाई छात्रवृत्तीमा पढन पठाउनु पनि सामन्ति  सँस्कार नै हो । कम्युनिष्ट पार्टीका प्रायः सबै नेताहरुका काठमाडौंमा घर छन् । बैंक ब्यालेन्स छन् । छोरीलाई करोडौंको घर किनिदिनसक्ने ल्याकत राख्छन् । सामन्ति रवाफ प्रर्दशन गर्दै महँगा आइफोन, गाडी र पोशाकको प्रयोग गर्छन् । घरको धारामा नुहाउन छाडेर स्पा र क्लबहरुमा गएर साउना, जाकुजी र स्टीम बाथ गर्छन् ।

 

कम्युनिष्ट नेतृहरु ब्युटी पार्लर जान थालेका छन् । हिजो जनताका छोरा छोरीलाई बुर्जुवा अँग्रेजी स्कुलमा पढन जानबाट रोक्ने क्रान्तिकारी कमरेडका छोराछोरी विदेशका महँगा स्कुलमा पढ्छन् । दुताबासको चाकडी गरेर कम्युनिष्ट नेताले छात्रबृत्रीमा आफ्ना छोरा छोरीलाई बाहिर पढन पठाएका छन् । नेतृको विवाहमा झलमल्ल सुनका गहना झकीझकाउ हुन्छ । विवाह भोज तारे होटल र महगा पार्टी प्यालेसमा हुन्छ । यसरी कम्युनिष्ट पार्टीको नेतृत्वमै सामन्ति  सँस्कार हावी भएको बेला भुषालजी भनिरहनुभएको छ, ‘मुलुकमा जनवादी क्रान्ति भइसक्यो ।’

 

नेपाल सेना, नेपाल प्रहरी, कर्मचारी प्रशासनलगायत राज्यका हरेक निकायमा सामन्ति  हैकम हटेको छैन । यी निकाय चर्को राजनीतिकरणको शिकार भएका छन् र यीनमा नागरिक सर्वोच्चताको कुनै कदर पनि देखिदैन । सर्बसाधारण जनताको पहुँचसम्म अझै पनि राजकीय सुविधा र सेवा पुग्न सकेकै छैन । राज्यको सत्ता, शक्ति र स्वामित्व राजाको हातबाट खोसेर केही दलको सिण्डिकेटको हातमा पुगेको छ ।

 

केन्द्रीय  नेताहरुको एउटा सत्ता वृत्तभित्र पर्नेहरुले नै मोज गरिरहेका छन् । अवसर, लाभ, सुविधा, ठेक्कापट्टा, सरुवा, बढुवा र नियुक्तिको मजा सोही वृत्तभित्रका मानिसहरुले पाइरहेका छन् । नेताहरुलाई आफ्नो डाइनिङ रुममा डाकेर मार्सी चामलको भात खुवाउने माफीयाहरुकै रजगज छ । दलमा बडे र छोटे राजाहरुको उदय भइरहेको बेला भुषालजी चाँही नेपालमा अर्धसामन्ति अवस्था नरहेको दावी गरिरहनुभएको छ ।

 

सामन्तबाद कुनै व्यक्ति हो कि सँस्कार हो ? चिनमा माओले क्रान्तिलगत्तै साँस्कृतिक क्रान्ति गरेकाले केही हदसम्म त्यहाँ सामन्तबादको अन्त्य भयो, तैपनि कम्युनिष्ट पोलिटब्यूरोमा त्यो संस्कार अझै पनि हटन सकेको छैन । त्यहाँ अझै पनि जनवादी केन्द्रीयता लागू हुन सकेको छैन । पुँजीबादी मोडलतर्फ अग्रसर भइसकेकाले चिनले मानव तथा प्राकृतिक ससाधनको दोहन गरेर आर्थिक विकास त गरेको छ, तर त्यहाँका जनताको मौलिक हक अझै कुन्थित नै छ । त्यहाँ पाटी तानाशाहीको दबदबा छ।

 

नेपालमा सामन्तबाद हिजोका परम्परागत शक्तिबाट नयाँ एलीट बर्गमा हस्तान्तरण भयो । राजा ज्ञानेन्द्रको शीरबाट सामन्तबादको पगरी दलका नेताहरुको टाउकोमा पुग्यो । बस फरक यत्ति हो । हैन भने सामन्तबाद ज्यूकात्यू छ । राज्यका हरेक निकाय, दलका नेताहरुको दिमागमा सामान्तबाद कायमै छ । राष्ट्रप्रमुखको सवारी चलाइने पारा हेरौं न, त्यसबाटै यो छर्लंग हुन्छ ।

 

बढदो बिदेशी चलखेल

‘नेपाल अव अर्ध औपनिवेशिक पनि रहेन’ भन्ने भुषालजीको तर्क छ । यदि कम्युनिष्टहरुको हिजोको विश्लेषणलाई आधार मान्ने हो भने मुलुक अझै पनि अर्धऔपनिवेशिक नै छ । अझ यो औपनिवेशिक हैकम दोहोरो हिसाबले बढदैछ । भारतको मात्र हैन, अब त चीनको पनि दबदबा मुलुकमा बढदैछ । यो मुलुक अर्ध हैन, ‘मल्टी कोलोनियल’ भइसकेको छ । नेपाल खासमा युरोपदेखि अमेरीकासम्म, नर्वेदेखि स्वीडेनसम्म, भारतदेखि चीनसम्मको चलखेलको अखाडा भएको छ । यो देशमा उत्तर कोरियाका पनि एजेन्ट छन्, इजरायलसम्मका एजेन्ट छन् । उनीहरुका एजेन्डाहरुको प्रयोगशाला नेपाल भएको छ । बाहबुँदे समझदारीयताको कोर्स नै मुलुकमा लागू भइरहेको छ भने कसरी यो मुलुक अब अर्धऔपनिवेशिक रहेन ? भारतको प्रभावबाट यो मुलुक कसरी मुक्त भयो ? चिनियाँहरु दिनहु हाम्रो मुलुकमा घुसपैठ गरि रहेका छन् भने कसरी यो मुलुक अर्धऔपनिवेशिक रहेन ? धर्मनिरपेक्षता र सँघीयता पनि हामीले आफ्नै सोचले ल्याएको हैन क्यार ? पहिला बरु हाम्रो मुलुक अर्ध औपनिवेशीक थियो, तर अब यो ‘बहुऔपनिवेशिक’ भयो । २०६३ सालयता त नेपाललाई झन अन्र्तराष्ट्रिय चलखेल र हैकमको ‘गिनी पिग’ बनाइएको छ

 

सात सालदेखि आजका मितिसम्म आइसक्दा पनि नेपाली राजनीतिको मुलभुत चरित्रमा फेरबदल आएको छैन । यदि कुनै फेरबदल आएको हो भने त्यो बहुदलीय प्रणाली मात्र हो । अर्थात लोकतान्त्रिक मुल्य र मान्यता मुलुकका कायम भएको छ । २००७ सालमै यो प्रणाली आइसकेको थियो । विविध कारणले त्यो प्रकृयामा बाधाहरु आए । साठी वर्षपछि पनि मुलुकमा आएको भनेको त्यही लोकतान्त्रिक पद्धति  नै हो । यसबाहेक आर्थिक रुपमा मुलुकको अवस्था र जनताको स्तरमा कुनै फेरबदल आएको छैन । नेपालीले खाडीको गर्मीमा पसिना बगाएर कमाएको रेमिटयान्सबाट अर्थतन्त्र धानिएको छ । बिगतमा कम्युनिष्टहरुले भनेका थिए, अर्धऔपनिवेशिक र अर्ध सामन्ति  शोषणकै कारण नेपाल गरीब भएको हो । यदि त्यसो हो र भुषालजीले भने झैं आज मुलुकबाट अर्ध सामन्ति  र अर्ध औपनिवेशिकता हटेको हो भने खै त नेपालीको जिवनस्तर उकासिएको ? खै त धमाधम उद्योग धन्दा खुलेको ? खै त नेपालमै रोजगारी सिर्जना भएर नेपालीहरु धमाधम स्वदेश फर्किएको?

 

बुर्जुवा क्रान्ति कि जनवादी ?

दिपक मनाङेलाई साँसद बनाएर घनश्यामजी भनुरहनुभएको छ, नेपालमा जनवादी क्रान्ति भइसक्यो । भुषालजीजस्तो विद्धानले बुझेर पनि बुझ पचाएको कुरा के हो नेपालमा यतिबेला बुर्जुवा क्रान्ति भएको हो, जनवादी क्रान्ति भएकै हैन । जनवादी क्रान्ति या कम्युनिष्ट क्रान्तिका कुरा यो विश्वमै असान्दर्भिक क भइरहेको बेला घनश्यामजीको चलाखी के भने लोकतान्त्रिक बुर्जुवा क्रान्तिलाई नै उहाँ जनवादी क्रान्ति दावी गरि रहनुभएको छ ।

 

यो देशमा गणतन्त्र न त चिनमा झैं रक्तिम क्रान्तिबाट तख्ता पलट गरेर आएको हो, न त रुसमा झैं ‘बोलसेभीक रिभोलुसन’बाट आएको हो । नेपालमा गणतन्त्र खासमा शान्तिपूर्ण सँघर्षबाटै आएको हो । लोकतान्त्रिक आन्दोलनबाट स्थापना भएकाले अहिलेको गणतन्त्रलाई हामीले लोकतान्त्रिक गणतन्त्र भनेका हौं । जनवादी क्रान्ति सम्पन्न भएर गणतन्त्र स्थापना हुन्थ्यो भने यसलाई जनवादी क्रान्ति नै भनिन्थ्यो । जनवादी क्रान्ति भएर आउने भनेको जनवादी गणतन्त्र हो, जुन चिन या उत्तर कोरियामा छ ।

 

सच्चा हिसाबले भन्ने हो भने वैचारिक र सैद्धान्तिक हिसाबले नेपालका कम्युनिष्टहरु असफल भएका हुन् । उनीहरुले शुद्ध या सच्चा कम्युनिष्टका रुपमा यो मुलुकमा क्रान्ति गर्न सकेनन् । एमालेले पनि सकेन, माओवादीले पनि सकेन । जब उनीहरु लोकतान्त्रिक धारमा आए अनि बल्ल लोकतान्त्रिक क्रान्ति भयो, जसलाई उनीहरुकै भाषामा बुर्जुवा क्रान्ति भन्न सकिन्छ । कम्युनिष्ट तौरतरिकाबाट क्रान्ति सम्पन्न भएन, कम्युनिष्टहरु रक्षात्मक अवस्थामा पुगे अनि उनीहरुले लोकतान्त्रिक लाइन लिए । कम्युनिष्टहरु डेमोक्रेटीक सर्कल या फ्रेम वर्कभित्र आए । जब उनीहरु जनवादी नै रहेनन् या कम्युनिष्ट नै रहेनन् भने उनीहरुले गरेको क्रान्ति कसरी जनवादी क्रान्ति भयो ?

 

भुषालजीहरुको चलाख र डबल स्टाण्डर्ड नीति के हो भने उहाँहरु कम्युनिष्ट हो कि लोकतान्त्रिक ? खासमा उहाँहरु शुद्ध कम्युनिष्ट पनि हैन, शुद्ध लोकतान्त्रिक पनि हैन । विचको छयासमिस जेब्रा रुपमा उहाँहरु हुनुहुन्छ । एक खालको मिश्रीत धार बोकेर हिँडिरहनुभएको छ । तर, एकातिर उहाँहरुलाई कम्युनिष्टको पुरानो धङधङी पनि बोकेर हिँडनु परेको छ, अर्कोतिर  आफुलाई लोकतान्त्रिक पनि देखाउनुपरेको छ । यस्तो औपनिवेशिक अन्यौलका बीचमा एमाले र माओवादीको एकतालाई बैचारिक एकताको फाटेको जामा नलगाउनु नै उचित  छ । वैचारिक र सैद्धान्तिक लफ्फाजीको साटो बरु आर्थिक विकासका लागि सबै जुटौं भन्ने एक मात्र नाराका साथ राजनीति अघि बढाउनु उत्तम होला ।

Comments

NIC Asia