MENU
पद्मरत्न : एक सच्चा “मान्छे”
 : 166 views
-युवराज आचार्य   Nov 06, 2018

मेरो श्रद्धाञ्जली तुलाधरको मानवीयताको सम्मान स्वरुप हो । कुनै वाद, विचार, सिद्धान्त, आन्दोलनमा समाज विभक्त होला । तुलाधरका अडानका कोही पूजारी होलान, कोही आलोचक । कसैले देउता बनाऊँलान, कसैले त्यसको ठिक उल्टो । तर, मैले भेटेका सिमित मान्छेमा तुलाधर एउटा यस्तो मान्छे थिए, जो साँच्चै मान्छे थिए । जे थिए, त्यही देखिए। र, देखिँदा देखिँदै यो धर्तिबाट विदा भए । हार्दिक श्रद्धा सुमन स्वर्गीय तुलाधरप्रति।

 

 

धेरैले बाम नेता भन्छन, कतिले मानवाधिकारवादी नेता भन्छन, कत्तिले मुक्त कण्ठले स्तुति गाउँछन र केहीले वहाँका एका-दुई विचारलाई लिएर आलोचनासमेत गर्छन । समग्रमा मान्छे यस्तै विचार र कर्मप्रति प्रसंशा र आलोचनाको समग्र रुप हो ।

 

तर, नेताहरू यस्तो डोमेन भित्र हुन्छन उनीहरूको या त देवत्ववरण या राक्षसिकरण गरिन्छ । अर्थात उनीहरू मान्छे होइनन, हामी नेपालीको राजनैतिक संस्कारमा।

 

पद्मरत्न तुलाधर मेरो विचारमा एउटा सच्चा मान्छे थिए। मान्छे चिन्न उसका सार्वजनिक भाषण, पत्रिकामा आएका लेख, ऊ संलग्न राजनैतिक(सामाजिक संस्थाको अभियान आदि हेरेर पुग्दैन, उसको मानवीय सम्बेदना हेर्न सक्नुपर्छ, ऊ भित्रको मानवपन हेर्न सक्नुपर्दछ ।

 

मेरो तुलाधर सङ्गको सम्बन्ध कुनै राजनैतिक-सामाजिक अभियान, भाषणभूषण, आन्दोलन र पर्चापम्प्लेटका मामलाभन्दा फरक थियो।  त्यसैले कुनै बेला दन्त्यकथाका पात्र जस्तै सुनिने व्यक्तिसङ्गको सामिप्य मैले लोप्रोफाइलमा रहेर उनको मानवीय पक्ष नियाल्नमा बिताएको छु ।

 

हातमा मैनबत्ति बोकेका शान्ति अभियन्ता वा प्रार्थना-चक्र घुमाउँदै शान्तिको कामना गर्दै गरेका भिक्षुदेखि हिंसा भड्काउन बम बारुदको खटनपटन गर्दै गरेका विद्रोही दुवैसङ्ग भएका तुलाधरका केही साक्षात्कारको म साक्षी छु, माइतिघर मण्डलदेखि कैलालीको पहाडी जङ्गलसम्म ।

 

आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीरमा सोमबार दागबत्ती दिँदै छोरा सुजन तुलाधर । तस्वीर : रासस

 

एक पत्रकारको नाताले फोनमा छोटो कुरा गर्ने, कुनै मुद्दामा टिप्पणी खोज्ने एक दुई काम पहिले पनि गरेँ हुँला, तर सङ्गै बसेर उनको विचार सुनेको पहिलो घटना सन २००२ तिरको हो। पहिलो चरणको शान्तिवार्ता भर्खरै भङ्ग भएको थियो जस्तो लाग्छ । कुमार रुपसिङ्घे नामका एकजना श्रीलङ्काली द्वन्द्वविद्धसङ्ग एउटा कार्यक्रमको सिलसिलामा सोल्टी होटलमा भेट भयो । उनैको आग्रहमा मैले तुलाधरलाई लिएर होटल पुगेँ ।

 

करीव दुई घण्टा भएको गफका क्रममा तुलाधरको माओवादी जनयुद्ध र यसको भावी दिशाबारेको गहिरो बिष्लेषण सुनेँ । अरूले बाम नेता, जातीवादी नेता अनेक रङ्ग पोत्छन । तर, एउटा द्वन्द्वविद्धसङ्गको उनको गफमा मैले एउटा ठूलो राजनेतामा हुने गुण पाएँ । यिनै बिष्लेषणको आधारमा रुपसिङ्घेले दिउँसो कार्किड होटलमा प्रवचन दिए, नेपालको द्वन्द्व समाधानका लागि यसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्दै ।

 

१२ बुँदे सम्झौताको आधारमा भएको आन्दोलन र पछिल्लो शान्ति वार्ताले दमननाथ ढुङ्गाना र तुलाधरको सकृयता सहजकर्ताद्वयको रुपमा धेरै बढायो, मेरो भेट त्यही फोन र टिप्पणी मै सिमित भयो । एकै चोटी म अनमिनको राजनैतिक मामला अधिकृत भएपछि फेरि कुनै न कुनै रुपमा उनको सङ्गत गर्न पुगेँ, खास गरी माओबादीको पोजिशनमा अनमिनको आफ्नै क्षमताले ल्याउन नसकेका बदलावका विषयमा उनको सहयोग खोजियो ।

 

२०११को सुरुमा म युएनडिपी गएपछि चाहिँ मैले उनको धेरै नजिकको सङ्गत गरेँ । युएनडिपीमा हामीले द्वन्द्व रोकथाम कार्यक्रम सुरु गर्यौ, जसमा स्थानीय तहसम्म सम्बादको संस्कृति प्रबर्द्धन गर्ने एउटा लक्ष थियो । नेपालको शान्ति प्रकृयाका क्रममा भएका सम्बादबारे आफ्नो अनुभव सुनाउन दुई बरिष्ठ सहजकर्तालाई लिएर मैले कैलालीदेखि झापा, कास्कीदेखि पाँचथरसम्मको लामो यात्रा गर्ने मौका पाएँ । यही यात्राका क्रममा मैले तुलाधरको राजनीतिक-सामाजिक होइन वैयक्तिक र मानवीय पक्ष बुझ्ने मौका पाएँ ।

 

सङ्गै लामो बाटो हिँड्दा मैले गाई काट्ने प्रसङ्ग निकालेँ । वारा जिल्लाको एउटा कार्यक्रममा बोल्दा मानवाधिकारको सीमाबारेको उदाहरण दिएका रहेछन उनले मुसलमान संस्कृतिको सन्दर्भमा । नेपाल भाषा आन्दोलन, जनजाति आन्दोलन, माओवादीसङ्गको सम्बन्ध, एमालेसङ्गको सम्बन्ध, जनपक्षीय रापंसको रुपमा पहिलो पल्ट दरवार जाँदाको प्रसङ्ग सबै विषयमा मैले खुलेर कुरा गरेको छु र उनको अत्यन्त इमान्दार अवधारणा पाएको छु ।

 

जनताको अधिकारका हरेक मुद्दामा उनका अबधारणा ओठेभक्तिभन्दा फरक पाएँ । उनको जे विचार छ व्यवहारमा त्यही । उनको केही कडा स्वर सुनेको मैले दुई वटा मात्रै प्रसङ्ग सम्झन्छु। एउटा हिँसात्मक आन्दोलनका एक जना नेतासङ्ग र अर्को लैङ्गिक दुर्व्यवहार सम्बन्धमा भैरहेको एउटा छलफलमा । अरूप्रति गर्ने व्यवहारमा मैले ‘तँ ‘ र  ‘तिमी’समेत सुनिनँ । सबैलाई आदर गर्ने बानी ।

 

उनी बाम नेता त थिए, तर अरू कम्युनिष्ट नेताभन्दा फरक । अरू धेरै कम्युनिष्ट नेता सत्तामा हुँदाको शाहीपन र सत्ताबाहिर हुँदाको दाशपनको दोहोरो जिन्दगी जिएका छन । पद्मरत्नमा हुँदै नभएको गुण भनेकै त्यो दोहोरोपन हो । कुल्लीदेखि प्रधानमन्त्रिसम्मलाई उनको एउटै सम्बोधन थियो । पहूँच पनि कुल्लीदेखि प्रधानमन्त्रिसम्म सबैको उस्तै।

 

वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता स्व.पदमरत्न तुलाधरको सम्मानमा उहाँप्रति सलामी दिँदै प्रहरी । तस्वीर : रासस

 

पद्मरत्न हरेक मुद्दामा उत्तिकै भावुक थिए। मैले उनको बरिष्ठ नेतादेखि पिछडिएका, जनजाति , दलित कार्यकर्तासम्मको अन्तरक्रियामा उनको उत्तिक्कै समर्पण, सहानुभूति र सम्बेदनशीलता देखेको छु । समाजको तल्लो तप्काका सामाजिक न्याय, समानता र अधिकारका विषयमा कुरा हुँदा उनी रोएको दर्जनौँ पटक देखेको छु । मैले दाई किन यसरी भावुक हुनुभयो  भनेर सोध्दा उनको जबाफमा मैले ति सबै मुद्दामा उनी आफैँ भावनामा डुबेको पाएको छु ।

 

पद्मरत्नको व्यवहारमा हाइरार्की नदेखिएको मात्रै होइन भावनामा नै त्यो थिएन भन्ने मलाई लाग्छ । त्यसैले मैले उनी कार्तिक ९ मा गम्भिर र बिमारी पर्नु एक दिनअघिको बैठकमा समेत टिप्पणी गरेको थिएँ। कोही दिलैदेखि लोकतान्त्रिक हुन्छन, उसक नजरमा पद, पैसो र शक्तिले सिर्जना गर्ने उच-नीच भावनाले कुनै प्रभाव पार्दैन, त्यो दाईमा छ । मैले उनको चाकरी गर्न त्यो टिप्पणी नगरी हाम्रो राजनैतिक संस्कार, हामीले देखेका नेताहरूको व्यवहारमा आएको परिवर्तन, उनीहरूले छोडेको धरातलवारेको मेरो अब्जर्भेशन शेयर गर्न उनको उदाहरण दिएको थिएँ ।

 

मेरो अब्जर्भेशनमा प्राडा विरेन्द्रप्रसाद मिश्रले थपेका थिए, तपाईँलाई त म कम्युनिष्ट नै भन्दिनँ, सबैभन्दा बढि लोकतान्त्रिक विचार र व्यवहार जो तपाईँको छू । मिश्रले कम्युनिष्ट भनून नभनून आफ्नो कुरा, तर तुलाधरले आफूलाई कहिल्यै कम्युनिष्टको रुपमा प्रस्तुत गरेनन । कुनै पार्टीको सदस्यतासमेत लिएका रहेनछन । उनी कुनै पार्टीमा अटनेभन्दा ठूलो आयतन भएका नेता थिए।

 

उनको नाम भजाउन धेरैले खोजे किनकि उनको नाम बिक्थ्यो । कतिले उनलाई भनेरै भजाए, कतिले नसोधिकनै । सामाजिक न्याय र समानताका मुद्दामा उनको अडान कसैले सोध्नै पर्दैनथ्यो ।

 

मैले देखेको उनको जनजाति  आन्दोलन, भाषिक आन्दोलन भित्रैदेखि आएका थिए, अरूको जस्तो राजनैतिक लाभका विषय थिएनन । कहिले काहीँ म सोध्थेँ दाई यसले तपाईँलाई साम्प्रदायिकको ट्याग लगाउन बाटो खोलिदिएको छ नि ? उनको सरल र निःस्वार्थ जबाफ हुन्थ्यो, “एउटा मान्छेले कुनै जात विशेषको भएकै नाताले सुबिधा पाउने अर्कोले नपाउने प्रचलन मानवता विरोधी हो, साथीहरू बोलिदे भन्छन, म हुन्छ भन्छुू ।”

 

मैले पद्मरत्न तुलाधर उपस्थित १०० भन्दा साना ठूला बैठकको छलफल सुनेको छु, त्यसमा काङ्ग्रेसलाई गाली गरेको, बामपन्थिलाई उचालेको कहिल्यै सुनिनँ । मैले किन दाईले काङ्ग्रेसलाई गाली गर्नु हुन्न  भनेर एक पल्ट सोधेको थिएँ । उनले आफू कुनै बेला काङ्ग्रेसीको समेत साझा उमेदवार भएको, काङ्ग्रेससङ्गै हात मिलाएर पञ्चायत ढाल्नुपर्ने लबिङ्ग बाम नेतासित गरेको प्रसङ्ग मलाई सुनाए।

 

वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता स्व. पदमरत्न तुलाधरको शोभाभगवतीस्थित कर्ण दीपमा गरिएको अन्तिम संस्कार । तस्वीर : रासस

 

भित्रैदेखि क्रान्तिकारी कम्युनिष्ट भएर पनि कहिल्यै हिंसाको शब्द सुनिएन। दोस्रो सम्बिधानसभा बिथोल्न माओवादीको वैद्य समूहले सञ्चालन गरेको हिंसात्मक गतिविधि रोक्ने सिलसिलामा तुलाधर र ढुङ्गानासङ्ग म कैलालीको पहाड गएँ । उनको प्रष्ट सन्देश थियो हिँसाले उनीहरूको भविष्यको शान्तिपूर्ण अवतरणको मार्गलाई वन्द गर्दैथियो ।

 

लामो यात्राबाट फर्किने बेला सँधै घर परिवारमा केही लिएर आउने बानी थियो, उनको । सानोतिनो सपिङ्ग गर्ने, कुनै मिठाई वा सानो उपहार किन्ने, परिवारका सदस्यको वारेका अत्यन्त सकारात्मक सोच पाल्ने, सबैले आफूप्रति गरेको मायाको प्रसंशा गर्ने बानी थियो । उमेर ढल्कँदै गएपछि एकदुई पल्ट नाति लगायत कुनै परिवार सदस्यले उपत्यका बाहिरको लामो यात्रामा साथ दिए। तर, हामीसङ्ग हिँड्दा त्यस्तो साथ आवस्यक परेन । कति पटक दिनभरको यात्राले थाकेर सुतेको बेला मैले ढोकामा गएर कान थापेर सुनेको छु उनको घुराई, र ढुक्क भएर म अर्को कोठामा निदाएको छु ।

 

मेरो यो श्रद्धाञ्जली तुलाधरको मानवीयताको सम्मान स्वरुप हो । कुनै वाद, विचार, सिद्धान्त, आन्दोलन आदिमा समाज बिभक्त होला । तुलाधरका अडानका कोही पूजारी होलान, कोही आलोचक । कसैले देउता बनाउलान, कसैले त्यसको ठिक उल्टो । तर, मैले भेटेका सिमित मान्छेमा तुलाधर एउटा यस्तो मान्छे थिए, जो साँच्चै मान्छे थिए । जे थिए, त्यही देखिए र देखिँदा देखिँदै यो धर्तीबाट विदा भए । हार्दिक श्रद्धा सुमन स्वर्गीय तुलाधरप्रति ।

Comments

NIC Asia