MENU
नेकपाको एकीकरण र सक्षम नेतृत्वको प्रश्न
 : 88 views
-डा. नारद भारद्वाज   Nov 08, 2018

कतिपय अवस्थामा पुरानो मानसिकताबाट ग्रसित कर्मचारीतन्त्रले सरकारको चाहना र अभिप्राय बुझेर काम गर्न सकेको छैनन् । सरकारले नै उचित मानिसलाई उचित ठाउँ दिने सिद्धान्त र मर्मअनुसार काम गर्न सकेको छैन ।

 

नेपाल कम्युनिष्ट पार्टीको एकीकरण घोषणा भएको छ महिना पुरा हुन लागेको छ, तर अझै पनि त्यो पार्टीका प्रान्तीय प्रान्तीय र स्थानीय समितिहरुको एकीकरण सम्पन्न हुन नसक्ता कार्यकर्ता पक्तिमा अन्योल र नैराश्य बढीरहेको छ ।

 

पार्टी अध्यक्षद्वय र पार्टीका महासचिवले अगामी मंसीरसम्ममा पार्टी एकीकरण पुरा भै सक्ने आश्वासन दिएर कार्यकर्ताहरुको निराशालाई चिर्न प्रयास गरिरहको भए पनि स्थानीय तहसम्म पार्टी एकीकरणलाई कार्यान्वयन गर्न चुनौती देखिएको छ ।

 

एकीकरणको घोषणापछि एकीकृत भएका दुवै पार्टीका हजारौं कार्यकर्ताहरु असंगठित र निस्कृय भएका छन् । यसले स्थानीय तहको राजनीतिक परिचालन, आन्तरिक संगठनको सुदृढीकरण र स्थानीय सरकारको प्रशासनिक, आर्थिक र न्यायिक कार्यमा सत्तासीन दलले गनुपर्ने सहजिकरणको काममा बाधा पुगेको छ ।

 

लामो समयसम्म स्थानीय तहमा पार्टी संगठनहरु क्रियाशीन नहुँदा पार्टीभित्र लोकतान्त्रिक कार्यशैलीको ह्रास हुन थालेको छ र नेतृत्वतहमा जावाफदेहीताको भावना कमजोर हुनुको साथै संगठनको कमिटि पद्धति उपेक्षित भई ठाडो आदेशबाट काम गर्ने वा अध्यक्ष र सचिवको विवेकमा निर्णय गरिने प्रबृत्ति हावी भइरहेको देख्न सकिन्छ ।

 

नेकपाको यो सांगठनिक विश्रृंखलताको फाइदा प्रमुख प्रतिपक्षले उठाउने भरपुर प्रयत्न गरिरहेको छ र सरकारले कार्यान्वयन गरिरहेका विकास निर्माणका क्रियाकलापको सुस्त गति, समाजकल्याणका कामहरुमा निर्वाचनका वेला नेकपाले गरेका प्रतिबद्धताहरु पुरा नभएका कुरा र नेकपाको लोकतान्त्रिक कार्यप्रणालीमा देखिएको समस्यालाई उछालेर संघीय र स्थानीय निर्वाचनमा भएको पराजयबाट गुमेको लोकप्रिय धरातल पुनः प्राप्त गर्न प्रयत्न गरिरहेको छ ।

 

एकतापछि जनसमर्थनको स्वस्फूर्त पुष्प बर्षा प्राप्त गरेको नेकपा अहिले गतिहिनता र निष्कृयताका आरोप झेलिरहेको छ । स्थानीय पार्टी कमिटिहरुले सरकारका क्रियाकलाप र योजना कार्यान्वयनलाई सहजिकरण गर्ने वैधानिक संयन्त्रको रुपमा कामगर्न नपाउँदा पनि यस्तो भएको हो ।

 

हालसम्म सरकारले अपेक्षा गरे अनुरुप काम गर्न नसकेका कतिपय व्यवहारिक कठिनाईहरु देखिएका छन् । सरकार एकात्मक किसिमको कार्यप्रणालीबाट संघीय ढाचाको कार्यप्रणालीतिर संक्रमण गर्दा कतिपय समस्या अवस्य अगाडि आएका हुन् । नयाँ संविधानले नेपाली जनतालाई अभूतपूर्वरुपले शसक्तिकरण गरेको छ । उनीहरुलाई व्यापक अधिकारहरु प्रदान गरेको छ, तर ती अधिकारको उपयोग गर्नका लागि आवश्यक पर्ने कानुनहरु बनिसकेका छैनन् । कामहरु श्ुारु भएका छन्, तर परिणाम देखिने हदसम्म विकास भएका छैनन् ।

 

कतिपय अवस्थामा पुरानो मानसिकताबाट ग्रसित कर्मचारीतन्त्रले सरकारको चाहना र अभिप्राय बुझेर काम गर्न सकेका छैनन् । कतिपय अवस्थामा सरकारले नै उचित मानिसलाई उचित ठाउँ दिने सिद्धान्त र मर्मअनुसार काम गर्न सकेको छैन । निर्णय पद्धतिमा जनसरोकार र जनचाहना प्रतिविम्वित गराउँने परम्मरा र सन्यन्त्र दुबैको अभाव देखिन्छ । हालसालै सामाजिक सञ्जालमा आएका सरकारबारेका प्रतिक्रियाले देखाउँछ कि उपप्रधान र रक्षामन्त्री ईश्वर पोख्रेलले भने झैं सरकारकारको काममा अझै लय मिल्न सकेको छैन ।

 

यी यस्ता समस्या हुन् जुन समस्या स्थानीय पार्टी संगठनहरुको समायोजन र सुदृढिकरणबाट समाधान गर्न सकिन्छ । स्थानीय कमिटिहरु नै सरकारका आँखा र काँन हन्् । सरकारले लिन आँटेका वा लिएका निर्णयहरु जनस्विकृति प्राप्त छन् कि छैनन् भन्ने जानकारी गराउँछन् । स्थानीय पार्टी कमिटिहरुले विकास निर्माणका प्राथमिकताहरु तयगर्न सरकारलाई मदत गर्छन र विकास साझेदारको रुपमा संरचना निर्माणलाई गति दिने र गुणस्तरको प्रत्याभूति गर्ने काम गर्न सक्छन् ।

 

त्यसैले यति लामो समयसम्म स्थानीय तहका कमिटिहरु एकीकरण नहुँदा सत्तासीन नेकपाको प्रतिष्ठालाई मात्र हानी पुगेको छैन यसको कार्य क्षमताको पूर्ण उपयोगसमेत हुन सकेको छैन ।

 

अहिले नेकपाका भगिनी संगठनहरु र जिल्ला तथा स्थानीय संगठनहरुको एकीकरण पार्टीका लागि पहिलो प्राथमिकताको विषय हो । सैद्धान्तिक रुपले दुई बामपंथी दलहरु एकीकृत भएको भए पनि केन्द्रीय तहमै पनि समग्र अर्थमा एकीकरण सम्पन्न भएको छैन । अहिले पनि दुईवटा केन्द्रीय कार्यालय र दुईवटा संसदीय दलका कार्यालयहरु छन् ।

 

हिजोसम्म अलगअलग दलमा आवद्ध भएर काम गरेका नेता कार्यकर्ताहरुमा कामको समन्वय समस्या बनेको छ । भावनात्मक एकता विकास भइसकेको छैन र स्थानीय तहमा त कुरै छाडौं केन्द्रीय तहसमेतमा नेतृत्व पंक्तिमा भएका नेताहरुले एकअर्कालाई चिन्ने अवस्था छैन । पार्टीको वास्तविक एकताको बाटोमा रहेको यो ठुलो बाधक हो ।

 

पार्टी एकीकरणको जबर्जस्त सकारात्मक प्रभाव देशभित्र मात्र होइन अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनसमेतमा पुगेको छ । नेपालमा कम्युनिष्ट आन्दोलको विकास प्रक्रियालाई विश्वले सुक्ष्म ढंगले हेरिरहेको छ । हालै नेपाल आएका भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम येचुरीले भारतका कम्युनिष्टसमेतले नेपालको कम्युनिष्ट पार्टीको एकीकरणको अनुभवलाई निकट ढंगले हेरिरहेको जानकारी गराएका थिए । यसले विश्व कम्युनिष्ट आन्दोलनलाई वर्तमान ठहरावको स्थितिबाट नयाँ विकासको मार्गमा प्रवेश गराउँनसमेत नेपालको कम्युनिष्ट पार्टीको सफल एकताले भूमिका खेलेको कुरालाई स्पष्ट पार्दछ ।

 

कम्युनिष्ट एकताको कुरा गर्दा स्थानीय, प्रान्तीय र संघीय तहका पार्टी नेतृत्वको योग्यता, क्षमता र कार्य दक्षताका विषयहरु प्रायः प्राथमिकतामा पर्ने गरेका देखिदैनन् । अहिले हामी एक्काइसौ सताब्दीको समाजवादका कुरा गरिररहेका छा,ैं तर आज पनि कम्युनिष्ट पाटीभित्र उन्नाइसौं र बीसौं शताब्दीका शास्त्रीय माक्र्सबादका सिद्धान्त र प्रशिक्षण पद्धतिको बोलबाला छ ।

 

अवका कम्युनिष्ट पार्टीका नेता र अगुवा कार्यकर्ताहरु एककाइसौं शताब्दीका दार्शनिक सिद्धान्त, सामाजिक मूल्य मान्यता, वैज्ञानिक चेतना, उच्च नैतिक आचरण, आर्थिक स्वच्छता, शिक्षित र बहुभाषिक या दुई भाषिक क्षमता हासिल गरेका र लोकप्रीय व्यक्तिहरु हुनसके भने मात्र देशका राजनीतिक, आर्थिक र साँस्कृतिक रुपान्तरणको जिम्मेवारी लिन सक्छन् ।

 

हिजोका दिनमा पार्टी भित्र गुटबन्दी भयो भन्ने व्यापक टिका टिप्पण्ी भयो । अहिले पनि केन्द्रमा र प्रान्तमा तथा जिल्लाका पार्टी संगठनहरुमा नेतृत्व तहमा ल्याइँने व्यक्तिहरुको सैद्धान्तिक राजनीतिक क्षमतालाई सुक्ष्म परिक्षण गरिदैन भन्ने व्यापक चर्चा छ । स्वभाविक क्यारियर विकासका विधि र मापदण्डहरु दलभित्र नरहेको चर्चा गरिन्छ । केन्द्रका शक्तिशाली नेतृत्वको दृष्टिमा परेर नेतृत्व हत्याउने प्रचलनले समग्र सांगठनिक संरचनामा योग्य सक्षम मानिसहरु पुग्न नसकेको गुनासो यत्रतत्र सुनिन्छ ।

 

पार्टी एकीकरण समयको माग हो । नेपालमा बामपन्थी आन्दोलनको भविष्य नै बीसौं टुक्रामा विभक्त कम्युनिष्ट पार्टीहरुको एकीकरणमा रहेको छ । यति फराकिलो समर्थनको आधार हुँदा हँदै पनि झण्डै तीस बर्ष लामो संघषर््ापछि पनि दुई ठुला बामपन्थी दलहरु एकीकृत नभई निर्वाचनमा बहुमत ल्याँउन नसकेबाट नेपालमा कम्युनिष्ट पार्टीका एकताको आबश्यकतालाई दर्शाउँछ ।

 

दुईवटा सबभन्दा ठुला दलहरुको बीचका केन्द्रीय स्तरमा एकता सम्पन्न हुनु आन्दोलनको अग्रगतिका निम्ति एउटा एतिहासिक उपलब्धी हो ।

 

तर, यो एकता तवमात्र संस्थागत हुन्छ जब स्थानीय तहमा पनि योग्य, सक्षम, त्याग, निस्वार्थता र समर्पणभाव उच्च भएका र सैद्धान्तिक राजनीतिक चेतनाले लैस, शिक्षित, अन्तरराष्ट्रिय भाषा र सूचना प्रविधिमा आवश्यक जानकारी राख्ने नेतृत्व समुहको निर्माण हुन्छ ।

Comments

NIC Asia