MENU
समृद्धिको लागि पार्टी पंक्ति परिचालन
 : 94 views
-डा.नारद भारद्वाज   Nov 29, 2018

अहिले कम्युनिष्ट पार्टीतर्फ आकर्षित युवा प्रायः अतितमा कम्युनिष्ट आन्दोलनमा आवद्ध र पार्टीका नेता र कार्यकर्ताका छोराछोरी रहेका छन् । तर, उनीहरू पनि पार्टीले आफ्ना अग्रजको त्याग, बलिदान, क्षमता र योगदानको कदरको सट्टा पुराना क्रान्तिकारीप्रति भैरहेको अपहेलनाप्रति दुःखी छन् ।

 

 

 

नेपाल कम्युनिष्ट पार्टीको एकीकरण प्रक्रियामा देखिएको बिलम्बले स्थानीय तहका पार्टी र जनसंगठन निस्प्राण र गतिशून्य बन्दै जाने खतरा छ ।

 

समाजका तृणमूल तहमा पार्टीको अस्तित्व महशुस गराउँने संयन्त्रहरु क्रियाशील हुन सकिरहेका छैनन् ।

 

एकीकरणको मोडालिटीमा भएको अलमलले जनतामा दिशाहिनता र कार्यकर्तामा अन्योल बढाएको छ । यसले स्थानीय तहमा भइरहेको संगठानिक संरचनाको क्षयीकरणतर्फ संकेत गर्छ ।

 

केन्द्रीय तहमा दुई ठूला वामपन्थी दलको एकीकरणको घोषणा भएपछि पहिलेका पार्टी र जन संगठनहरू विगठित अवस्थामा रहेका छन् ।

 

पार्टी सदस्यलाई परिचालित गर्ने वैधानिक निकाय अस्तित्वमा छैनन् । एकीकरण पूर्वका पार्टी सञ्चार सन्यन्त्रले पार्टी केन्द्रका निर्देशन र अन्तरपार्टी परिपत्रहरू स्थानीय तहका पार्टी सदस्यसम्म पु¥याउँन सकेका छैनन् ।

 

यही कारणले गर्दा स्थानीय तहमा सरकारका नीतिकार्यक्रमबारे जनतामा मात्र होइन सत्ताधारी दलका कार्यकर्ता पनि अन्यौल देखिन्छ ।

 

बामपंथी सरकार बनेपछि देशमा द्रुत आर्थिक र सामाजिक रूपान्तरणको अपेक्षा लिएर वसेका कार्यकर्ता लामो समयसम्म भूमिकाविहिन हुँदा योजनाहरु राम्रा भए पनि विकासले गति लिन सकेको छैन ।

 

कम्युनिष्ट पार्टी माक्र्सबादका दर्शन र सिद्धान्तमादिक्षित राजनीतिक संगठन हो । यसका कार्यकर्ता संगठनका कुनै पनि क्रियाकलापलाई आफूले बुझेको माक्र्सबादी सिद्धान्तको कसीमा परिक्षण गर्न चाहान्छन् ।

 

तर, जनताका पक्षमा गरिएका काम र भनिएका कुरा आफूले सिकेका सिद्धान्तसंग बाझिएको पाउँदा पार्टीका कार्यकर्ता निराश र हतास भइरहेको देख्न सकिन्छ ।

 

एकीकरण प्रक्रिया शुरूहुनुभन्दा पहिले नेकपा (एमाले) र नेकपा (एकता केन्द्र) दुबैका समानान्तर स्थानीय संगठन थिए । तिनीहरू थोर बहुत आफ्ना–आफ्नै ढंगले परिचालित थिए, र सांगठानिक गतिविधिहरू सञ्चालन गर्दथे । र, स्थानीय तहका कार्यकर्तालाई समसामयिक राजनीतिक विकासक्रमप्रति सजग र होसियार राख्थे ।

 

तर, एकीकरण घोषणासंगै ती क्रियाकलापहरू पूर्णरूपले रोकिएका छन् । एकताको घोषणाले सवै हर्षित छन् । तर, भविष्यको अन्यौलले चिन्तित पनि छन् । एकीकरणको स्थुल सन्देश सकारात्मक छ, तर पनि यसका सुक्ष्मान्तरहरू केलाउँन उनीहरू असमर्थ देखिएका छन् ।

 

संगठनका श्रृंखलाहरू टुटेका छन् र पार्टी जीवनका अन्तरसम्बन्धको मधुरता पनि धुमिल भएको छ । आन्दोलनको प्रारम्भिक दिनहरू र संघर्षका आँधी बेहरीका कठोर घडीमा बाँधिएको आत्मियता विकास भएको आत्मिक निकटता हराउँदा सांगठानिक जीवन रंगहिन बनेको छ ।

 

माथिल्लो पार्टी निकायका निर्णयले स्थानीय यथार्थको प्रतिनिधत्व नभएको आरोप कार्यकर्ताले लगाउँने गरेका छन् । स्थानीय कार्यकर्ताको भावना र विचारको प्रतिनिधित्व नगरी माथिल्ला कमिटीले उम्मेद्वार मनोनित गरिदिंदा कहिल्यै नहारिएका ठाउँमा पनि बामपन्थी उम्मेद्वारले निर्वाचन हारेका गुनासाहरू पनि छन् ।

 

कार्यकर्ता पंक्तिमा निर्वाचनका समयदेखि रहिआएका विवाद र आपसी मनोमालिन्यहरू अहिलेसम्म पनि सम्बोधन नगरी राखिएका छन् ।

 

कतिपय अवस्थामा स्थानीय पार्टी संगठनका नेता र कार्यकर्ताको बीचमा औपचारिक भेटघाट र विचार आदान प्रदानको परम्परासमेत मेटिन थालेको छ । निर्वाचनपछि विकास भएका तिक्तता मेटाउँने पहल नहुँदा कार्यकर्ता परिचालनमै अप्ठयारा आइपरेका छन् ।

 

निर्वाचनपछिका दिनमा एकीकरणका लागि तयार भएका दुई विशाल पार्टीका कार्यकर्ता र नेताकोबीचमा अहिले सौहाद्र सम्बन्ध नभएको मात्र होइन कतिपय ठाउँमा उनीहरूबीच सामान्य भेटघाट र बोलचाल पनि नभए जस्तो लाग्छ ।

 

यस्तो अवस्थामा स्थानीय तहसम्म एकीकरणको सन्देश र यसको अन्तर्यमा रहेका एकीकरण सम्बन्धी कतिपय अधुरा काम पुरा भएको छैनन् ।

 

कम्युनिष्ट पार्टीमा अविच्छिन्न नेतृत्वका परिकल्पना गरिएको हुन्छ । आन्दोलनका कुनै पनि कालखण्डमा उत्पन्न हुने नेतृत्वहिनताको स्थिति कम्युनिष्ट पार्टीमा देखिनु हँदैन ।

 

कम्युनिष्ट पार्टी तृणमूल तहबाट संगठित र विस्तारित भएको पार्टी हो । नेपाली काँग्रेस जस्तो चुनावी रोमाञ्चताले तानिएको भीडले थामेको संरचना होइन । यसमा सामेल हुन मानिसको विश्वदृष्टिकोणमा रूपान्तरण आवश्यक छ ।

 

यसका लागि निरन्तर सैद्धान्तिक दार्शनिक प्रशिक्षण र असल सामाजिक सद्व्यवहारका दृष्टान्तको आवश्यकता पर्छ । तर, दशकौंदेखि समाजका असंगठित युवालाई समेट्ने गरी वैचारिक राजनीतिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाइएको देखिएको छैन ।

 

यसले पार्टी संगठनभित्र वैचारिक राजनीतिक शुन्यता बढी रहेको अनुभव गर्न सकिन्छ ।

 

निर्वाचनमा राजनीतिक स्थिरता र समृद्धिका सपनाहरू मनमा सजाएर जनताले बामपन्थी गठबन्धनलाई विजयी बनाएका थिए ।

 

तर, अहिले जनताले ती सपनाहरू व्यवहारमा अनुदित भइरहेको देख्न पाएका छैनन् । र, स्थानीय तहमा संगठन सञ्चालन गरिरहेका कार्यकर्तालाई सरकार र पार्टीका कामहरूको प्रतिरक्षा गर्न सिकाइएको छैन ।

 

साम्यबादी शक्ति राजनीतिक मूलधारमा आएपछिका विगत पच्चिस बर्षमा कम्युनिष्ट पार्टीका चुनावी सभाद्वारा मतदाता तान्ने काम भएको छ । तर, साम्यवादी सिद्धान्त र माक्र्सवादी दर्शनलाई अंगीकार गरी आफ्नो विश्वदृष्टिकोण परिवर्तन गराउँनेतर्फ प्रयत्न भएको छैन ।

 

साँच्चै भन्ने हो भने साम्यबादका आदर्श र सिद्धान्तको परिशिलनबाट आफूलाई रूपान्तरण गरेका कार्यकर्ताहरू २०४६ साल अगाडि कम्युनिष्ट पार्टीमा प्रवेश गरेका मात्र हुन् र तिनीहरूले नै धानेको छ, यो शक्तिको सैद्धान्तिक विरासतलाई ।

 

कम्युनिष्ट पार्टीको सदस्यताको ठूलो पंक्ति तीव्र रूपले वृद्धावस्थातिर लम्किरहेछ, तर यो पार्टीले अबिच्छिन्न उत्तराधिकार सम्बन्धी सोच विचारपूर्ण योजना र प्रयत्नहरू गरिरहेको देखिंदैन ।

 

अहिलेको नयाँ पुस्ता भौतिक श्रोतसाधन र विलासिताको जीवनप्रति आकर्षित छ । चमत्कारिक र रहस्यमय परिवर्तनप्रति उनीहरूको विश्वास छ । उनीहरू रातारात आफ्नो राजनीतिक, सामाजिक र आर्थिक हैसियत परिवर्तन भएको देख्न चाहन्छन् ।

 

उनीहरू आफ्नो देशमा बसेर आफ्नै हातले समृद्धिका रेखा कोर्न सकिने सम्भावना देख्दैनन् । वैदेशिक रोजगारी खोजी गर्नेको लहरमा मिसिएर उनीहरू गाउँबाट पलायन भइरहेका छन् ।

 

हिमालको पानी सरी देशवाहिर प्रवाहित भइरहेको यो मानव संसाधनलाई देश निर्माणको महाअभियानसँग जोड्ने कुनै सूत्र र सिद्धान्त देखिदैन । युवाको ठूलो संख्या अन्योलग्रस्त र हतप्रद देखिन्छ । यो नराम्रो भविष्यको संकेत हो ।

 

कम्युनिष्ट पार्टीका लागि निर्वाचनमा विजय हासिल गरेर सत्ता सञ्चालन गर्ने परिपञ्च मिलाउँनु मात्र राजनीतिक परिचालनको मुख्य कार्यभार बन्नु हुँदैन । कम्युनिष्ट पार्टी एउटा सैद्धान्तिक आदर्शले बाँधिएर परिचालित हुने शक्ति हो ।

 

राजनीतिक र सैद्धान्तिक चेतनालाई प्रश्रय नदिने वित्तिकै यसको पंक्तिमा निम्न पूँजीवादी तत्वहरू हावी हुने वातावरण पैदा हुन्छ । अहिले नै वास्तवमा नेतृत्वका विभिन्न तहमा निम्न पूँजीवादी चिन्तन र प्रवृत्ति वलियो हँुदै गइरहेको छ र माक्र्सवादको सैद्धान्तिक अवधारण कमजोर भइ रहेको छ ।

 

पार्टी र सरकारमाथि प्रतिगामी शक्तिले चौतर्फी घेराबन्दी र आक्रमण गरिरहेको वर्तमान अवस्थामा नेकपाको सामु सिद्धान्तको यो क्षयीकरणलाई रोक्ने ठूलो चुनौती खडा भएको छ ।

 

अहिले कम्युनिष्ट पार्टीमा आकर्षित हुने युवाहरू प्राय अतितमा कम्युनिष्ट आन्दोलनमा आवद्ध र कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताका छोराछोरीहरू रहेका छन् । तर, उनीहरू पनि पार्टीले त्याग, बलिदान, क्षमता र योगदानलाई कदर नगरी पुराना पुस्ताका क्रान्तिकारीको अपहेलना गरेको देखेर दुःखी छन् ।

 

यो प्रक्रियाले कम्युनिष्ट पार्टीको समर्थनको जग बलियो हुन सक्तैन । यसका निमित्त समग्र युवा जनशक्तिलाई प्रशिक्षित र अभिमुखीकरणको आवश्यकता पर्दछ । आज त्यो अत्यन्त कमजोर र प्राथमिकतामा नपरेको विषय भएको छ ।

 

त्यसैले नेकपाको नेतृत्वले संगठनको सुदृढीकरणका सचेत प्रयत्न शुरू गर्न ढीलो भइसकेको छ ।

 

निर्वाचनमा जनताले अत्यन्त ठूलो अपेक्षाका साथ नेकपालाई आफ्नो अमूल्य मत दिएका थिए । अहिले उनीहरू यो पार्टीको कार्य क्षमताको परीक्षण गरिरहेका छन् । अहिले संपूर्ण पार्टीपंक्तिले सरकारका कामको स्वामित्व लिन सक्ने स्थिति निर्माण गर्न सक्नु पर्छ ।

 

विकास निर्माण र सामाजिक–आर्थिक सुधारको अभियानमा स्थानीय पार्टी संगठनलाई परिचालित गर्न सक्नु पर्छ । त्यसो भएमा मात्र कम्युनिष्ट पार्टीले आफ्नो आधारभूमी बलियो बनाउँन सक्छ र स्थायित्व तथा समृद्धिका सपना साकार पार्न सक्छ ।

 

Comments

NIC Asia