MENU
आफू इमानदार बनौं
 : 340 views
राजीव भण्डारी   Dec 03, 2018

ठेकेदार आफुले जिम्मा लिएको पुल बेलैमा बनाउँदैन, अनि सरकारसँग गुनासो गर्छ, घरमा आमा बिरामी हुनुहुन्छ ,जाने बाटै छैन, सबैतिर खनेर लथालिङ्ग बनाइदिएको छ । चिकित्सा शिक्षाका बिद्यार्थीहरु सरकारले तोकेको भन्दा बढी शुल्क लियो भनेर मेडिकल कलेजको बिरोध गरिरहेका हुन्छन | तर त्यही बिद्यार्थी जब पास भएर आउँछ तब एक डेढ सयको औषधीले निको हुने सामान्य रोगको लागि पनि चिकित्सक परामर्श शुल्क वापत पाँच सयको रुपैयाँ लिन्छन् ।

भनिन्छ, सबै नीतिहरुको नीति राजनीति हो । मानिसहरु अरुले गरेका कामहरुदेखि वाक्क दिक्क भएर सुधार गर्न आफैं अग्रसर हुन्छन । देशको राजनैतिक व्यवस्था देखि गाउँ टोलमा भएका विकाश निर्माण लगायत अन्य सामाजिक कुराहरुको बारेमा चित्त नझेको खण्डमा बिरोध स्वरुप बोल्छन् । परिआएको खण्डमा जेल, नेल जान पछि पर्दैनन्, आन्दोलन गर्छन् र अन्तत्वगत्वा नेता बन्छन् । फलस्वरुप एक दिन वडा सदस्य, वडा अध्यक्ष, उपमेयर, मेयर, सांसद, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपती र राष्ट्रपती, पनि बन्न सफल हुन्छन् । तर, पद पाइसकेपछि के को लागि म राजनीतिमा आएँ, कसको भलाइ गर्नको लागि मलाई यो जिम्मेवारी दिइएको हो, मैले राजनीति किन र कसरी शुरु गरें, भन्ने जस्ता सम्पूर्ण कुराहरु बिर्सन्छन् र फेरि अघिल्लोले जे गर्यो त्यहि दोहोर्याउँछन् । जे कुराहरु परिवर्तन गर्न भनेर आएको हो त्यसको पुर्णरुपले बेवास्ता गर्दै जान्छन्

 

भोका, नाङ्गा, गरिब, दुखि,मजदुर, किसानको न्यायका लागी भनेर चुनाव लड्छन् । चुनाव जितेपछि केन्द्रबिन्दुमा नातावाद, कृपावाद, नगदवाद, भनसुनवाद इत्यादिलाई प्राथमिकतामा राख्छन् । सरकारी कर्मचारी, जसले हाँस्न बिर्सेको वर्षौं भइसक्यो जस्तो गर्छ, टाउको उठाएर समेत जवाफ दिन झर्को मान्छ, आजको काम भोली आउनुस् भन्ने त जिब्रोमै झून्डिएको हुन्छ । सडकमा हिंड्दा ढल तथा पानीको पाइप फुटेर जलमग्न भएको देख्छ र भन्छ, यो फुटेको महिनौं भइसक्यो कहिल्यै बनाउँदैनन्, के हेरेर बसेको होला खानेपानी बिभाग ? उता खानेपानीको हाकिम गाडी चढेर जान्छ, बाटोमा टेलिफोनको लट्ठा लडिरहेको हुन्छ , ड्राइबरसित झोक्किँदै सुसनाउँछ, हैन यत्ती पोल लडेको पनि बनाउन नसक्ने ? हामी मध्ये अधिकांस कुनै न कुनै पेसा वा व्यवसायमा लागेका हुन्छौं । सरकारी, अर्ध-सरकारी, गैरसरकारी, निजी, कृषि, उद्योग, समाजसेवा, सेवा, व्यापार वा स्वरोजगार । हामी आफु जहाँ जुन रोजगार वा व्यवसाय गरेर बसेका छौं त्यसमै इमानदारीताका साथ काम गर्दैनौं । आफु भने आफ्नो कर्तव्य बिर्सने अरुबाट त्यसको अपेक्षा गरेर बसेका हुन्छौ ।

 

नेपाली सेनाले मातृभूमिको लागी लड्नु पर्दैन ? ब्यारेक भित्र के के गर्छन कसैले चासो पनि लिंदैनन् तर सरकारी सवारी साधनको चरम दुरुपयोग गर्छ । श्रीमती, छोरा, छोरी, बा, आमा, सासु , सासुरा, नातागोता लाई यता र उता हुइक्याउँदै ठिक्क हुन्छ । मन्दिर, बजार, दशैं, तिहार त छँदै छ, अरु बेला पनि आफन्तको घरको गेट बाहिर पार्किङ गरेर ड्राइबर हाकिमका बा, आमा, श्रीमती, छोरा, छोरी आदिको प्रतिक्षा गरिरहेको हुन्छ ।प्रहरी अवैध लगानी गर्छ । यो विषयमा प्रमाण सहित कति लेखिसके तर जहिले पनि उस्तै, सुधार छैन । सुन काण्ड, लागुपदार्थ काण्ड, बलात्कार काण्ड त छँदैछ, सुडान काण्ड समेत भयो । आफैंले यस्तो गरेपछि अरुलाई कसरी सुधार गर्छ । सरकारी कर्मचारी पाए सम्म घुस खान्छ । उसले आज सम्म घुस खुवाउन आउनेलाई कारवाही गरेको थाहा छैन

 

संस्थानका कर्मचारीहरु संस्था डुबिरहेको हुन्छ आफु बोनस खान्छन्, विदेश शयर गर्छन्, पाए सम्म भ्रष्टाचार गर्छन् । जसको ज्वलन्त उदाहरण नेपाल बायुसेवा निगमको वाइड बडीको लफडा र आयल निगमको गोपाल खड्का बिरुद्ध हाल चलिरहेको अख्तियारको कार्वाही नै काफी छ । सार्वजनिक यातायतका साधनका चालक र सहचालक, मानिस आए सम्म, तिलको गेडा अट्ने ठाऊँ रहे सम्म, यात्रु कोच्न पछि पर्दैनन् । एक रुपैयाँ भए पनि बढी भाडा लिने र यहि निहुँमा परि आयो भने सडकमै गाडी तेर्साउन पछि पर्दैनन् । कसैले हतार भयो, छिटो जाऊँ भन्यो भने उसले मुखभरीको जवाफ खान तयार हुनुपर्छ । यहि चालकहरु लाइसेन्स तथा ब्लुबुक नविकरण तथा कर बुझाउन यातायात कार्यालय जान्छन् । उक्त कार्यालयमा भएको ढिलासुस्ती देखि वाक्क हुन्छन , कराउन थाल्छन्, काममा जान हतार भइसक्यो, अलि छिटो गरिदिनुर्यो ।

 

बिहानै तरकारी किन्न निस्केकी फेन्सी पसलकी साहुनी घरमा आएर छक्क पर्छिन् । श्रीमानसँग भन्छिन्, पाँचसय लिएर गएको तरकारी त यत्ती हो । कती ठगेको होला भनेर भुतभुताउन थाल्छिन् । दिउँसो आफ्नो पसल खोल्छिन्, एक हजारको ज्याकेटलाई तिन हजार भन्छिन्, ग्राहकले घटाउँदा-घटाउँदा बल्ल -बल्ल दुइ हजारमा दिन तयार हुन्छिन । उनी बिजयी भावमा मनमनै भन्छिन्, एउटा सामान बेच्दा हजार पनि नाफा नगरी त के बेच्नु ।

 

ठेकेदार आफुले जिम्मा लिएको पुल बेलैमा बनाउँदैन, अनि सरकारसँग गुनासो गर्छ, घरमा आमा बिरामी हुनुहुन्छ ,जाने बाटै छैन, सबैतिर खनेर लथालिङ्ग बनाइदिएको छ । चिकित्सा शिक्षाका बिद्यार्थीहरु सरकारले तोकेको भन्दा बढी शुल्क लियो भनेर मेडिकल कलेजको बिरोध गरिरहेका हुन्छन | तर त्यही बिद्यार्थी जब पास भएर आउँछ तब एक डेढ सयको औषधीले निको हुने सामान्य रोगको लागि पनि चिकित्सक परामर्श शुल्क वापत पाँच सयको रुपैयाँ लिन्छन् । जबकी डाक्टरहरुकै अनुरोध हुन्छ, चिकित्सकको परामर्श बिना सामान्य रुघाखोकीको औषधी सम्म पनि सेवन नगर्नुस भनेर ।

 

अझ विशेषज्ञ भनेर चिनिएका डाक्टरहरुको शुल्क त हजार रुपैयाँ पुर्याईसके । जिन्दगीभर काम गरेर जिवनको उत्तराद्र्धमा आएर अनुभवले खारिएर विशेषज्ञता हासिल गरेका हुन्छन । सबैको मनमा बसेका हुन्छन । धेरैको आशा हुन्छ , उनीहरुसँग जाँच गराउन पाए रोग छिट्टै निको हुन्छ । तर, उनीहरुको परामर्श शुल्क र भेट्ने समय सुनेर बिरामी हतोत्साही हुन्छन । मरेर लानु के छ र ? कसको लागी अझै धन थुपारी रहेका होलान् ? आफु सरकारी नभए पनि निजी स्वास्थ्य केन्द्रमा अति उच्च शुल्क तथा सुविधा लिएर बसेकै हुन्छन । छोरा छोरीलाई उच्च शिक्षा दिलाएकै हुन्छन् । स्वदेश तथा विदेशमा उच्च आम्दानीको स्रोत समातेकै हुन्छन । देश देशावर घुमफिर गरिरहेकै हुन्छन । सहुलियत दरमा, अझ सकिन्छ भने त गरिब निमुखा जनताहरुलाई त सिंत्तैमा परामर्श दिइदिंदा के फरक पर्छ होला ? आफु जनताको ढाड सेक्ने शुल्क लिन्छन्, केही भन्यो भने, मेशिनरी सामग्रीको मूल्य, विश्व बजारमा आजको मेडिकल शुल्क , समाजमा भएका अन्य महंगी आदि इत्यादी तेस्र्याइदिन्छन् । सकेको ठाउँमा आफुले सहुलियत दिएपो अरुलाई औंला ठड्याउन मिल्छ ।

 

म्यानपावरवालाहरु गरिब जनताहरुले कता कताबाट कसरी जुटाएको रकमको पछाडी र्याल काढेर लाग्छन् । दश हजारमा हुने कामलाई पनि लाखौं रुपैयाँ लिइरहेएका छन् । त्यति मात्र होइन विदेशी भूमिमा पुगिसकेपछि पनि पहिले भनेको जस्तो काम नलगाइदिने र अलपत्र पारेर छाडिदिने गरिरहेका छन् । घाइते हुँदा,मृत्यु हुँदा , बलात्कृत हुँदा न त जिम्मेवारी वहन गर्छन्, न त सहयोग नै गर्छन् । यस्तो गैर जिम्मेवारको पराकाष्ठापछि पनि उनीहरुको गुनासो हुन्छ , यत्रो रेमिट्यान्स भित्र्याउन सहयोग गर्दा पनि र रोजगारी लगाइदिंदा पनि कुनै निकायले तारिफ गरेन ।

 

हामी जब आफु आफ्नो काम प्रती इमानदार छैनौं भने सुधार कसरी सम्भव हुन्छ ? कर्मचारीहरुले आफुसलाई तोकिदिएको काम खुरुखुरु गरिदिए, ठेकेदारले आफुले पाएको विकास निर्माण सम्बन्धी काम समयमै गरिदिए, ब्यापारीले आफ्नो ब्यापारमा ठिक्क मात्रै नाफा खाइदिए, डाक्टरहरुले परामर्श शुल्कवापत सुहाउँदो रकम मात्रै लिइदिए, नेताले जे बाचा गरेर आएका छन् त्यसमा मात्र केन्द्रित भइदिए, सुरक्षा निकाय तथा प्रहरीले इमानदार भएर देश सेवा गरिदिए, शिक्षकले नियमित पढाइदिए,ग्ल्यामर क्षेत्रमा शारिरीक तथा मानसिक शोषण नगरिदिए, स्वयं पत्रकारहरुले आस्थाको आधारमा र अनुमानकोआधारमा समाचार प्रकासन तथा प्रशारण नगरिदिए, किसानले हानिकारक विषादी प्रयोग नगरिदिए, विद्यार्थीहरुले आफुसँग सम्बन्धीत माग मात्र तेर्साइदिए …….. । कति लेख्नु, यस्ता उदाहरण त कति छन् कति । बस् ! भन्न खोजिएको यति मात्र हो कि आफुलाई दिइएको जिम्मेवारी इमानदारीपुर्वक मात्र गरिदिए सबै कुरा ठिक ठाउँमा आइहाल्छ ।

 

आजको लेख प्रवचन जस्तो भयो होला । तर कति अरुलाई मात्र दोष लगाउँछौं, कति सरकारलाई मात्र दोष लगाउँछौं, दोष लगाउन सजिलो छ तर आफुलेले जे गरिरहेका छौं ठिक गरिरहेका छौं त, एकपल्ट आफैंलाई नियाल्नु अनिवार्य छ भनेर यस प्रकारको लेख तयार पारेको हुँ ।

Comments

NIC Asia