MENU
हामी केवल क्यारमबोर्डका गोटी
 : 573 views
-युवराज आचार्य   Dec 05, 2018

 

उता पट्टि बोल्सेभिक क्रान्तिको सतबार्षिकी मनाउनेहरू यिनै वर्गको सेरोफेरोमा गफ गर्दै थिए, अभिजात वर्गको हालीमुहाली तोडेको दिनको स्मरण गर्दै थिए यता पट्टि भने एउटा धार्मिक सभालाई राजकीय मान्यता दिएर देश भरिका पुलिसका गाडी प्रयोग गरेर, सवै सचिवका गाडी प्रयोग गरेर, जनतालाई बाटोमा हिँड्न प्रतिबन्ध लगाएर ताम झाम गरिँदै थियो । कस्तो संयोग, कस्तो विडम्बना ।

 

 

 

 

गत शुक्रबार-शनिबार नेपालको राजनैतिक-सामाजिक जीवनमा गहिरो प्रभाव छोड्ने दुइ कार्यक्रम आयोजना भए । एउटा कार्यक्रममा डिसेम्बर १ मा भए पनि “महान अक्टोबर क्रान्ति”को सतबार्षिकी समारोह मनाइयो र दोस्रो विवादास्पद एक कोरियन धर्मगुरूले नेतृत्व गरेको इसाईहरूको एउटा सम्प्रदायको एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गरियो ।

 

हेर्दा कम्युनिष्टहरूले गर्ने बार्षिक श्राद्ध जस्तो  देखिए पनि अक्टोबर क्रान्तिको सतबार्षिकि समारोहको त्यत्तिकै ठूलो महत्व छ जति  धर्मलाई अफिम मान्नेहरूको शासनमा राजकीय ठाँटमा सम्पन्न इसाईहरूको क्षेत्रीय भेलाको छ ।  नेपाल भित्र दुवै आदर्शवादी र यथार्थवादी कम्युनिष्टहरू वैचारिक युद्धमा उत्रनु बाटै यि दुई घटनाले कम्युनिष्ट जगतमा कति महत्व राख्छन भन्ने पुष्टी हुन्छ ।

 

बोल्सेभिक क्रान्त्तिको महत्व के थियो?  उत्तर सहज छः अक्टोबर क्रान्ति वा बोल्सेभिक क्रान्ति हतियार भन्दा  विचारलाई प्रधान मानेर भएको पहिलो क्रान्ति थियो । अर्को अर्थमा भन्दा “बन्दूक” भन्दा “वर्ग सङ्घर्ष” प्रधान । त्यही भएर दोस्रो अल रसियन काँग्रेस अफ वर्कर्स एण्ड सोल्डर्स डेपुटी हरूमा सत्ताको वागडोर आउँदा मानवीय क्षती आश्चर्यजनक रुपमा कम थियो । यो सर्वाहारा बर्गको पहिलो सफलता भएकाले संसारभरका त्यो वर्गका मान्छेको प्रेरक घटना थियो ।

 

मैले त्यही भएर त्यो सतबार्षिकी समारोहलाई नजीकबाट हेर्ने कोशिस गरेँ । सहभागीका अनुहार हेरेँ, र समानान्तर रुपमा भैरहेको इसाई सम्मेलनसङ्ग दाँजेँका कारण चुनावको माध्यमबाटै, विना रक्तपात सत्तामा पुगेका कम्युनिष्टहरूको राज छ नेपालमा। एक प्रकारले यो क्रान्तिनै हो। जसरी बोल्सेभिक क्रान्तिले सर्वहाराले पनि क्रान्ति मार्फत सत्ता हात पार्न सक्छन भन्ने सन्देश दिएको थियो हाम्रो चुनावले पनि जनताका भावनालाई छुन सके चुनावबाटै कम्युनिष्टको सत्ता प्राप्ते हुन्छ भन्ने सन्देश दिएको थियो हाम्रो चुनावले पनि ।

 

आदर्शवादी कम्युनिष्टहरूको संसार वास्तवमा “वर्ग-सङ्घर्ष”का पवित्र अक्षरहरूद्वारा सिंगारिएका सुन्दर पुस्तकको ठेली रैछ भन्ने त्यो सतबार्षिकी समारोहमा देखियो । जो चुनावरूपी क्रान्ति सम्पन्न गरेर सत्ताको रसस्वादनमा रमेका छन, ति यथार्थवादी भैसके । वर्ग सङ्घर्ष तिनकालागि  एउटा कम्युनिष्ट आदर्श भन्दा अलग विषय देखियो । सङ्घर्ष भन्नासाथ शक्तिको कुरा आउँछ र तिनले त्यो अहिले मार्क्समा होइन एडमस्मिथमा देखेका छन ।

 

जसले मनाउनु पर्ने तिनको एउटा समूह जग्गाको प्लटिङ्ग, मेनपावर, डोजर, सरुवा-बढुवा धन्दामा व्यस्त छ । त्यो समूहका ८०%को काठमाण्डुमा महल छन र तिन्हरू महल स्याहार्नमा व्यस्त छन।  तिनका लागि काम वा श्रम भन्नु नै उद्घघाटन र शिलान्यास  भैसके चाहे ति स्कूल भत्काएको ठाउँमा बन्ने मन्दिरकै किन नहोस र सिद्धान्तका कुरा “सम्बोधन”मै सिमित भैसके ति कुनै सप्ताह वा कूलपूजाका समारोहमा किन नहुन ।

 

हुन पनि  “कमरेड फलानी” भनेर सेल्टरमा मुड्की उठाएर बिहे गरेकी श्रीमति अहिले सुरक्षार्थ खटिएका सिपाही मार्फत आफ्नो श्रीमानलाई भुजा ज्यूनार गर्न बोलाउने भैसकेपछि तिनले बोल्सेभिक क्रान्तिको सतबार्षिकी मनाउनु त बिडम्बनै हुन्थ्यो,  गएनन ठिक्कै गरे भन्दा हुन्छ । जो आउनु पर्ने थियो आए। सोनाम साथीले आयोजना गरे, रायन-रामेसले गीत गाए, सबैले मुड्कि ठ्ड्याए ।

 

तर विडम्बना त्यो समारोहमा सरकारी सहयोग,  ताम झाम र उपस्थिति निराशाजनक थियो । यसमा बास्तवमा कहिल्यै सत्तामा नपुगेका वा पुग्न नसक्ने “आदर्शवादी” कम्युनिष्टहरूको वर्चस्व देखियो, त्यो इसाई सम्मेलनको भन्दा ठ्याक्कै उल्टो ।

 

तर उतापट्टिको तामझाम अर्कै थियो । श्रम गर्न अप्ठ्यारो हुने लामो लबेदा-सुरुवालमा  ठाँटिएका  नेता “रानी साहेव”सहीत उपस्थित थिए । कम्युनिष्टहरूको अन्तरराष्ट्रिय गीतको ठाउँमा वाइवलका भर्सनै त प्रयोग भएनन तर अरू सबै कर्मकाण्ड भए, पवित्र रक्सी सेवन लगायतका । क्रिश्चियन धर्म प्रचारलाई सघायो भन्ने आरोपलाई कमजोर बनाउन त्यो समारोहका चर्चित राजनेताले नेपाली ऋषी-मुनीको अप्रासंगिक प्रसंसा गर्दिए।

 

ति चर्चित राजनेताकै पार्टीका एउटा वरिष्ट नेताले त्यो सम्मेलनलाई “सांस्कृतिक अधपतन र नग्नताको राष्ट्रिय परेड”को सज्ञा दिँदै त्यसको मूल्य मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्ने चेतावनी समेत दिए । इसाई धर्मको क्षेत्रीय भेलामा कम्युनिष्ट सरकारको राजकीय सह-आयोजनलाई पहिले नै त्यो इसाई समूहको निम्तालु  भैसकेकाहरूले समेत बिरोध गरे । तिनै पहिले सहभागी भएकाहरूको उदाहरण दिँदै सरकारका समर्थकहरूले त्यो समारोह धार्मिक भन्दा फरक भएको तर्क अघि सारे ।

 

म इश्वरको अस्थित्वमा विश्वास गर्दिनँ तर बेलाबखत मन्दिर जान्छु । कसैले भूलबस अबीर पोखेर रातो बनाएको ढुङ्गालाई समेत नमस्कार गरेँहोला ।  यो मेरो व्यक्तिगत रोजाई हो । मेरो आर्जनको सुकी मोहोर चढाएँ होला, त्यो मेरो खुशी हो ।

 

मेरो व्यक्तिगत इच्छा र राष्ट्रको इच्छा दुई विलकूल फरक हुन । जसरी राज्यले “कानून बमोजिम बाहेक कर लगाउन” पाउँदैन त्यसैगरी  “कानून बमोजिम बाहेक खर्च गर्न” समेत पाउँदैन अर्थात खर्च समेत आर्थिक ऐन अन्तर्गत मात्रै हुनु पर्छ ।  तर म एउटा स्वतन्त्र व्यक्ति राज्य भन्दा फरक छु, म  खर्च गर्न पाउँछु ।

 

एकनाथ हुन कि सहस्रनाथ हुन, तिनको धार्मिक सभाको खर्च सरकारले व्यहोर्नु मेरो नजरमा म प्रतिको पाप हो । मेरो गाँस कटाएर तिरेको करको निश्चित प्रयोजन छ, उद्देश्य छ । यो यो शिर्षकमा खर्च गर्छु, यति रकम खर्च गर्छु र त्यो यहाँ यहाँ बाट जुटाउँछु भन्ने प्रस्ताव सहितको आर्थिक ऐन मेरा प्रतिनिधिले स्विकृत गरेका छन, अर्थात मैले नै मेरो प्रतिनिधि मार्फत स्विकृती दिएको छु । त्यसमा एकनाथ हुन कि सहस्रनाथको धार्मिक भेला समाविष्ट छैन । म चाहन्छु सरकारले पैसो छुट्याइसकेको भए पनि रोकोस ।  मैले बुझेको धर्म निरपेक्षता यही हो ।

 

म जस्तै बुझाई भएका मान्छे धेरै छन । अहिले हीन्दू राज्य वा अधिराज्य मागिरहेका मान्छे समेत मेरो विचार सङ्ग सहमत छन भन्ने मलाई विश्वास छ किनकि तिनले कमल थापाको पार्टीलाई मत दिएका छैनन । मलाई सरकारको सह-प्रायोजन ( ऊ सह-प्रायोजनबाट पछि हटेपनि प्रेस पास र अन्य व्यवस्थापनमा भएको सरकारी सक्रियता हेरेर म अझै उसलाई सह-आयोजक नै मान्छु) अर्थ पूर्ण लागेको छ ।

 

जसरी क्यारमबोर्ड खेल्दा एउटा गोटीले कुनै गोटीलाई ताक्छ तर त्यसलाई चुस्स छुवाएर अर्कै गोटी प्वालमा हालिन्छ, मलाई पनि इसाईको भेलाको सह-आयोजक भएर सरकारले हीन्दू राष्ट्रवादलाई प्रवर्द्धन गर्न खोजेको हो भन्ने मलाई विश्वास छ । समाचार, सामाजिक सञ्जाल र चिया पसलका गफमा इसाई धर्म प्रचार हीन्दू धर्म लोप हुन लाग्यो भन्ने जुन आम मानसिकता बढेको छ, त्यसका पछाडी सरकारको नियोजित योजनाको हात छ भन्ने मलाई लाग्छ ।

 

अर्थात धर्मलाई अफिम भनेर ५० बर्ष देखि हामीलाई घोकाउनेहरू बुढेसकालमा त्यही अफिम-प्रेमी भएका छन ।

 

बहुसङ्ख्यक जनता हीन्दू भए पनि नेपाल बहु धार्मिक देश हो । धार्मिक सहिष्णुता यहाँको अहिलेको होइन सदिऔँ पुरानो संस्कार हो । इसाईहरूलाई मल्ल राजाले आश्रय दिएका हुन । राजनैतिक कारणले पृथ्वीनारायणको पालामा पादरीहरू बेतिया झरेका हुन । मुसलमानलाई शासकहरूले नै आश्रय दिएर पालेका हुन भन्ने प्रमाण यहाँ दिईराख्नु पर्दैन । बौद्ध र हिन्दूको त कुरै नगरौँ ।

 

धर्म निरपेक्ष राज्य भनेको यि कुनैलाई पनि राजकीय धर्म मानेर काखा र अरूलाई पाखा लगाउन पाइँदैन भन्ने   अवधारणा हो न कि कसैलाई प्रचार-प्रसार गर्न राज्यको ढुकुटीको प्रयोग र राजकीय सान सहीतको सुबिधा । राज्यको सुबिधा, उच्च नेताहरूको साथ-समर्थनले धर्म भित्र पनि अभिजात वर्गको धर्म र सर्वहारा वर्गको  धर्म जन्मिन्छ । त्यस्तो पहूँचवाला धर्मले राज्यको राजनीतिमा विस्तारै प्रभाव जमाउँछ ।

 

उता पट्टि बोल्सेभिक क्रान्तिको सतबार्षिकी मनाउनेहरू यिनै वर्गको सेरोफेरोमा गफ गर्दै थिए, अभिजात वर्गको हालीमुहाली तोडेको दिनको स्मरण गर्दै थिए यता पट्टि भने एउटा धार्मिक सभालाई राजकीय मान्यता दिएर देश भरिका पुलिसका गाडी प्रयोग गरेर, सवै सचिवका गाडी प्रयोग गरेर, जनतालाई बाटोमा हिँड्न प्रतिबन्ध लगाएर ताम झाम गरिँदै थियो । कस्तो संयोग, कस्तो विडम्बना ।

 

धेरैले वोल्सेभिक क्रान्तिको सतवार्षिकीमा सरकारको सहभागीता नहुनु र इसाई भेलामा ठूलो सहयोग हुनुलाई  धेरैले पश्चिमा राष्ट्रहरूलाई रिझाउने चाला भनेर लेखेका छन तर केन्द्रीय सरकार प्रमुखका वरिपरि असिमित शक्ति केन्द्रित गर्ने र इसाई धर्माधिकारीहरूको भेलामा भएको सरकारी सहभागीता हेर्दा  मलाई यो भेला धर्म निरपेक्षता र सङ्घीयता विरुद्ध जनमत निर्माण गर्ने वातावरण बनाउन चालिएको सुनियोजित कदम हो भन्ने मलाई लाग्छ |

 

म यो विषयलाई यति सरल तरीकाले बुझ्दछु । शासकले नबुझ्ने कुरै भएन ।त्यसैले मलाई लाग्छ यिनले कुनै गोटी कता ताकेर अर्कै गोटी अर्कै प्वालमा छिराउन खोज्दैछन भन्ने मलाई लागेको हो, क्यारमबोर्ड खेलमा जस्तै।

 

Comments

NIC Asia