MENU
पदको गरिमा नबुझेपछि !
 : 425 views
-राजीव भण्डारी   Dec 31, 2018

पद पाएपछि उक्त पदको गरिमालाई बचाई राख्नको लागि प्रमूख दायित्व भनेको सो पद पाउने व्यक्तिको हो । सार्वजनिक पद धारण गरिसकेपछि ऊ फगत एक व्यक्ति वा परिवारको सदस्य मात्र हुन सक्दैन । उसका हरेक आचरणहरु जनताले नियालीरहेका हुन्छन् । उनीहरुले नबुझिकन गरिने कयौं निर्णय वा कार्यहरुले अन्ततः उसको नीजि जीवनमा त नकारात्मक असर गर्छनै सो पद प्रतिको हेराईमा पनि सहि दृष्टिकोण हुन सक्दैन ।राष्ट्रपतिको हकमा पनि त्यहि हो ।

सबैको अपनत्व भएमा मात्र पदको गरिमा बढ्छ

 

भनिन्छ, बन्दुकबाट छुटेको गोली र मुखबाट निस्केको बोली फर्केर आउँदैन । इन्डोनेशियामा सुनामी गयो । नेपालमा परराष्ट्रको काम छताछुल्ल भयो । यसमा छानबिन गर्ने भनेर परराष्ट्रको विज्ञप्ती आएको छ । दोषी पत्ता लागेपनि नलागे पनि देशको बेइज्जत त भैसक्यो । काम गर्दा गल्ती हुन्छ, गल्ती भैसकेपछि अन्तिम उपाय भनेको त्यसलाई सच्याउने नै हो । सबैलाई थाहा छ, दुःखको बेला अवश्यपनि ‘बधाई’ लेखिंदैन त्यसैले यसलाई स्वाभाविक रुपमा भुल भएको मान्नु पर्छ । तर, त्यो भुल सामान्य थिएन । दुई देश बिचको सम्वाद थियो,राष्ट्रपतिको नाममा प्रकाशित विज्ञप्ती थियो ।

 

राष्ट्रपतिलाई कहिले कार्यालय, कहिले सवारी साधन, कहिले विदेश भ्रमण, कहिले मन्दिरमा पूजा, कहिले दशैंको टिका आदिमा प्रशस्त मात्रामा नकारात्मक टिप्पणीले प्रहार गरिनै रहेको थियो अहिले आएर नयाँ विषय प्राप्त भयो । विगतमा यति सम्म भयो कि,राष्ट्रपति जस्तो व्यक्तिले जानकीमाताको मन्दिरमा जाँदापनि विधवा महिला प्रवेश गरेको भनेर पानीले पखाल्ने कार्य गरियो । कती निकृष्ट कार्य थियो त्यो । पछि उनकै छोरीले त्यहिँकै पुरुष सँग विवाहनै गरिन् ।

 

अहिले तानिएको विषयमा परराष्ट्रले हात थाप्यो । उसले आफ्नो गल्ती स्विकार्यो । छानबिन गर्ने रे । के निस्कन्छ छानबिनमा ? कम्प्युटर अपरेटरको टाउकोमा दोश हालिदिने कि सहि गर्ने व्यक्ति त्यसको भागी हुने ?राष्ट्रपतिको छाप र सहिको ‘स्ट्याम्प’ हानिसकेपछी कसले यसलाई अन्तिम स्विकृत दिन्छ ऊ नै पहिलो नम्बरको दोषी हो । ठूलो केरकार के नै गर्नु पर्ने छ र । ठूलो केरकार गरेर त्यसको निश्कर्ष निस्केको त निर्मला काण्ड र अठ्तिस किलो सुन काण्डमा हाम्रो आँखा अगाडी देखिराखिएकै छ । हात्ति आयो हात्ति आयो फुस्सा ।राष्ट्रपतिको निजी सचिवालयले के हेर्छ ? निजी सचिवले नैतिकताको आधारमा सबैको तर्फबाट गरेको गल्तीको जिम्मेवारी लिंदै राजिनामा दिनु पर्दैन ?

 

राष्ट्रपति भनेको प्रधानमन्त्री जस्तो होइन । संविधान अनुसार प्रधानमन्त्री राजनैतिक पार्टीको हुन सक्छ तर राष्ट्रपतिलाई कुनै पार्टीको परिकल्पना गरिएको छैन । उसलाई देशको अभिभावकको भुमिकामा राखिएको छ । अभिभावक भनेको सबैको रक्षक हो, सबैले मानेको हुन्छ । त्यसैले उक्त पदको गरिमालाई उच्च स्थानमा राखिराख्नको लागि प्रमुख कार्य भनेको उनकै सचिवालयको हो भने अर्को सरकारको हो ।

 

राष्ट्रपति भनेको एउटा पद हो । योग्यता पुगेको जुनसुकै नेपालीका छोरा वा छोरी उक्त पदमा आसिन हुन सक्छ । पहिलो राष्ट्रपतिले म भैंसी गोठालोको छोरो भन्थे भने अहिलेकी राष्ट्रपती किसानकी छोरी हुन् । पहिलो राष्ट्रपति मधेशी मुलका थिए भने अहिलेकी महिला छिन् । यसले देखाउँछ जानेर नजानेर अहिले सम्म यो पद समावेशी रुपमा रहेको छ । अब पालो जनजाती, अल्पसंख्यक वा अन्य धर्मावलम्बीहरु बाट भयो भने उत्तम हुनेछ । तर, त्यसको लागि त दलहरु भित्रको ‘सिक्वेन्स’ मिल्नु पर्छ । कसैलाई थामथुम पार्नु पर्ने वा आफ्नो स्थान सुरक्षित राख्नु पर्ने वा कसैलाई उसको भाग दिनु पर्ने अवस्थाले गर्दा कस्तो व्यक्तिले उक्त पद पाउँछ भन्न सक्ने अवस्था छैन ।

 

हामी राष्ट्रपति छनौटमा नयाँ अभ्यासमा छौं । रामवरण यादव, प्रचण्डले गीरिजा प्रसाद कोइराला र माधव नेपाललाई धोका दिएपछि अकस्मात, बिना योजना अगाडी सारिएका उम्मेदवार थिए । भाग्यमा भएपछि कसको के लाग्दो रहेछ र ? चिकित्सा पेसा छाडेर काँग्रेसको महामन्त्री सम्म भएका यादव अन्ततः नेपालको पहिलो राष्ट्रपति मात्र भएनन्, मधेशी समुदाय बाट समेत प्रथम राष्ट्रपति भए । यद्यपी, त्यतीबेला मधेश बादी भनिने दलहरु लगायत हृदयश त्रिपाठीहरु उनलाई जन्मको मात्र मधेशी आत्माको चाहिँ होइन भन्थे । उता कुनै दिन असाध्य रोगले ग्रस्त भएकी, पहिलो संविधान सभामा चुनाव समेत हारेकी विद्या देबी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति मात्र भइनन् नयाँ संविधान जारी भैसके पछि भएकोे राष्ट्रपतिय निर्वाचन पछिको संघिय नेपालको पनि पहिलो राष्ट्रपति बन्न सफल भइन् ।

 

यो पदलाई अझ गरिमामय बनाउने हो भने राजनैतिक दल भित्रका व्यक्तिहरुलाई मात्र उक्त पदमा बिराजमान बनाउनु भन्दा समाजका बिभिन्न क्षेत्रहरुबाट योगदान दिइरहेका दागरहित सर्वस्विकार्य व्यक्तिलाई पनि राष्ट्रको सर्वोच्च पदमा पुर्याउनु पर्दछ । राजाको जेठो छोरो जस्तो भएपनि स्वतः देशको राजा हुने व्यवस्था बदलेर जनताका छोरा छोरी लाई सोहि सरहको पदमा पुर्याउन देशमा गणतन्त्र ल्याइएको हो । यदि राजाको छोरो मात्र राजा हुने व्यवस्था बेठिक थियो भने अहिले राजनैतिक दलहरुले राजनीति गर्नेलाई मात्र राष्ट्रपति बनाइरहेको अवस्थालाई पनि सहि मान्न सकिन्न । उदाहरणको लागि, भारतमा अब्दुल कलाम आजादलाई राष्ट्रपति बनाइयो । जसले गैर राजनैतिक बृत्त, अल्पसंख्यक समुदाय र बौद्धिक व्यक्तित्व लगायत अत्यधिक क्षेत्रलाई अपनत्वको आभाष गरायो । हाम्रो देशमा पनि यस्ता व्यक्तिहरुलाई उक्त पदमा मौका दिने हो भने सर्वसाधारणले सामान्य नागरिक, जो राजनीति गर्दैन, पनि राष्ट्रको प्रमूख बन्न सक्दो रहेछ भनेर गणतन्त्रको सहि अर्थ बुझ्नेछन् नत्र त असंख्य नागरिकले राष्ट्रपती पद भनेको प्रधानमन्त्री र मन्त्रीहरुको पद जस्तै भन्ने ठानिरहेका छन् ।

 

पद पाएपछि उक्त पदको गरिमालाई बचाई राख्नको लागि प्रमूख दायित्व भनेको सो पद पाउने व्यक्तिको हो । सार्वजनिक पद धारण गरिसकेपछि ऊ फगत एक व्यक्ति वा परिवारको सदस्य मात्र हुन सक्दैन । उसका हरेक आचरणहरु जनताहरुले नियालीरहेका हुन्छन् । उनीहरुले नबुझिकन गरिने कयौं निर्णय वा कार्यहरुले अन्ततः उसको नीजि जीवनमा त नकारात्मक असर गर्छनै सो पद प्रतीको हेराईमा पनि सहि दृष्टिकोण हुन सक्दैन ।राष्ट्रपतिको हकमा पनि त्यहि हो । उनको भड्किलो जिवनशैली, आसेपासेहरुको चुरिफुरी, स–साना सभा समारोह तथा गोष्ठिहरुमा पनि सहभागी र उद्घाटन, कतै जाँदा आवश्यक भन्दा बढ्ता सवारी साधनहरुको लावालश्कर, आफैं हिंडेको आफ्नै देशभित्रको स्थानमा जाँदापनि एम्बुलेन्स पनि छिर्न नदिई गरिने जाम । यी र यस्ता अनावश्यक कर्तुतहरुले गर्दा अहिले जनताहरुको मुखबाट निस्किरहेछ राजा र राष्ट्रपतिमा के फरक छ ?

 

केही अगाडी सम्म कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति जस्ता राष्ट्रपतिका अनेक रंग रुपको बारेमा वहश र विवाद भयो । अन्नततः हाल आएर अहिलेको रुपमा राष्ट्रपतिलाई राख्ने व्यवस्था भयो । सायद नेपालको सन्दर्भमा यहि नै सहि थियो, त्यसैले राष्ट्रपतिले चाहेर पनि उनलाई कार्यकारीको अभिभारा नदिएको हुनाले उनको हरेक गल्तीको पछाडी अप्रत्यक्ष रुपमा त उनी नै हुन् तर प्रत्यक्ष रुपमा त्यसको जिम्मेवार सरकार र उनको सचिवालयको नै हो ।

 

व्यक्ति आउँछन् जान्छन् । सबैले सबैलाई मन पराउँदैनन् । कहिले आफूलाई मन पर्ने व्यक्ति आउलान्, कहिले आफूलाई मन नपर्ने व्यक्ति आउलान् । तर, पद बदलिँदैन । देश गणतन्त्र रहे सम्म राष्ट्रपती भन्ने पद रहि रहन्छ । त्यो पदमा पुगिसकेपछि व्यक्ति संस्था बन्न पुग्छ । त्यसैले व्यक्ति होइन संस्थाको गरिमा बढाउन सबैले सधैं सकारात्मक पहल गर्नु पर्दछ । राजनीति गरेर आएका व्यक्ति मात्र होइन समाज हर क्षेत्रका योग्य व्यक्तीलाई पनि उक्त पदमा आसिन बनाउनु पर्दछ ।

Comments

NIC Asia