MENU
गोर्खामा छुटेको रेल कर्णालीमा फेला
 : 535 views
-युवराज आचार्य   Jan 02, 2019

सहरका ठिटा-ठिटी सङ्ग यही चार भञ्ज्याङ्ग  पारि मकवानपुर, धादिङ्ग तिर जानु पर्छ, त्यहाँका बस्ती देखेर उनीहरूको प्रतिकृया हुन्छ;  “यस्तो ठाउँमा मान्छे कसरी बस्छन?” जसरी सहरको ठीटा-ठिटीलाई ति पखेराका बस्ती देख्दा अत्यास लाग्छ त्यसै गरी मेरा बालाई काठमाण्डु पसेपछि सास फेर्न गाह्रो भएर अत्यास लाग्छ ।काठमाण्डुका ३ आना घडेरी वाला जसरी आत्तिएर उपत्यका वाहिर जान तयार थिए, पहाडका अनकण्टार गाउँमा बस्नेहरू पनि व्यवस्थित एकिकृत वस्तीको सोचमा पुगेका थिए ।

 

 

 

 

भनिन्छ मुखबाट फुत्केको बोली र बन्दूकबाट छुटेको गोली फर्केर आउँदैनन । तिनीहरू गए गए । तर नेपालीमा मात्रै होइन संसारका सबै जसो समाजमा चलेको उखान “छुटेको रेल” चाहिं अवसर हो, फेरि आउन सक्छ । अर्थात सदा-सदाका लागि जाने होइन । अङ्ग्रेजीको  “मिसिङ्ग दि ट्रेन” त्यसैले अवसर जाने तर जुनी नजाने अर्थमा प्रयोग भएको होला ।

एक दुई पल्ट नयाँ बसपार्कमा छुटेको बस कलङ्की पुगेर चढेको छु, बैकल्पिक छिटो साधन प्रयोग गरेर । तर बैकल्पिक बाटो नहुँदा इतिहास विषय एक वर्ष पर्खेर परीक्षा दिएर पास गरेको छु । त्यसले गुमेका अवसर अहिले शब्दमा व्यक्त गर्न सकिन्न । तर अवसर गुमे सङ्गै सिर्जना भएका उपलब्धी समेत उल्लेख्य छन । त्यसैले एउटा अवसर गुम्नु अर्को अवसर सिर्जना हुनु पनि हो । कतिले त्यो सिर्जित अवसर देख्दैनौँ, कतिले पहिचान गर्न सक्दैनौ ।

वसोवास र विकास सङ्ग जोडिएका धेरै अवसर नेपालले गुमाएको छ । धेरैले यसलाई “खेप गयो, जोवन जाँदैन” भन्ने दृष्टिकोणमा हेरेका छन तर केहीको जोवन नै गयो भन्ने विश्लेषण गरेका छन । नेपालका बसोवादविदहरूका आ-आफ्नै प्राज्ञिक अध्ययन होलान, ठेलीका ठेली प्रतिवेदन पनि होलान । तर मेरो आफ्नै “ले-म्यान”को अनुभूति छ ।

सहरका ठिटा-ठिटी सङ्ग यही चार भञ्ज्याङ्ग  पारि मकवानपुर, धादिङ्ग तिर जानु पर्छ, त्यहाँका बस्ती देखेर उनीहरूको प्रतिकृया हुन्छ;  “यस्तो ठाउँमा मान्छे कसरी बस्छन?” हो बाँदर लड्ने भीरको छेऊमा दुई वटा बारीका सुर्का छन छेऊमा टुस्स एउटा घर र गोठ । काठमाण्डु र तराईमा हुर्केकाहरूले कल्पना नै गर्न नसक्ने ठाउँमा । पानी भर्न डोकोमा गाग्री राखेर एक घण्टा झर्नु पर्ने, स्कूल जान हात्तीछाप चप्पल हातमा बोकेर दुई वटा खोला र तीनवटा जङ्गल पार गर्नु पर्ने,  मान्छे मर्यो भने छिमेकीलाई खबर गर्न शङ्खै फुक्नु पर्ने ।

जसरी सहरको ठीटा-ठिटीलाई ति पखेराका बस्ती देख्दा अत्यास लाग्छ त्यसै गरी मेरा बालाई काठमाण्डु पसेपछि सास फेर्न गाह्रो भएर अत्यास लाग्छ ।

आखीर मान्छेले त्यो भीर किन रोजे?

भीर रोज्ने र भीड रोज्नेको मनोविज्ञान एउटै हो । समय मात्रै फरक । भीर रोज्नेको जीवन यापन र भीड रोज्नेको जीवन यापन को तरीका फरक । सामर्थ्यले भ्याए सम्म अहिले भीर बाट समथर ठाउँ झर्ने काममा जे ले भूमिका खेलेको छ गाऊबाट यो काठमाण्डुको भीडमा सर्ने काममा पनि त्यसैले ।  र फर्किन जे ले निरुत्साहित गरेको छ ति कारण पनि उस्तै ।

पक्कै पनि त्यो अनकण्टारपनले त्यतिबेलाको जीवनमा केही सहुलियत सिर्जना गरेको थियो, केही अवसर सिर्जना गरेको थियो ।  पशु वस्तु फुकाएर जङ्गल पठाइदिएपछि दिनभर हेर्नु पर्दैनथ्यो,  अर्काको बालीनाली नष्ट गर्दिने डर रहेन, आँखाले भ्याए सम्म वन-स्रोत आफ्नै हुन्थ्यो,  अहिलेको जस्तो शिक्षा र स्वास्थ्यका परिभाषा फरक थिए ।

त्यसैले अहिलेका विद्वानहरूले दिने परिभाषा  भन्दा  त्यसबेला अनकण्टार पखेरामा बस्नेहरूका जीविकोपार्जनका साधन र शैली फरक थिए, त्यसैले   विकासका परिभाषा फरक थिए । न ति गाडीमा निर्भर थिए न ति खाडीमा निर्भर थिए । न खानेकुरा ओसार्नु पर्थ्यो र ति किन्ने पैसो बाहिरबाट ल्याउनु पर्थ्यो ।

यसरी हेर्दा वसोवास र विकास एउटा डिस्कर्सिभ विषय हो । अहिले हामीले व्याख्या गरेजस्तो  सडक, स्कूल, अस्पताल, बजार आदि आदि जस्ता स्थीर विषय भन्दा फरक । समय अनुकूल यिनको परिभाषा फेरिंदै गएको छ । २०१८ सालमा गाउँमा स्कूल खोलेर १० वर्ष बिना पैसो पढाउनु मेरा बुवाका पालाको ठूलो विकास थियो, राजनैतिक शक्तिको प्रयोग गरेर पाइपको पानी ल्याउनुलाई मेरा पालामा विकास भनियो र  डोजर लगाएर खेत भत्काउँदै घर घर मोटर बाटो पुर्याउनु अहिले विकास भनिँदैछ । पञ्चायत कालमा हरेक गाउँमा एउटा स्कूल त्यहाँको पञ्चको इज्जत सङ्ग जोडिएको विषय थियो, अहिले गुणस्तरीय स्कूल खोज्न दश गाऊँ टाढा जाने चलन छ ।

मेरा हजुरबाका पालामा धेरै जमीन र ठूलो हुल गाई-वस्तु हुनु सम्पन्नता थियो अहिले सहरको घर र बिलासी कार । त्यसैले बाजेले गाउँको खरवारी रोजे म सहरको घरवारी रोज्दैछु ।

मेरा बाजेको रोजाईले हाम्रो जीवनमा कति कठिनाई थपेको छ र मेरो आफ्नै रोजाईले हाम्रो जीवनमा कति कठिनाई निम्त्याएको छ भन्ने विषयमा भने साझा बुझाई छ। एउटै घटनाका साझा पिडित छन  अनकण्टर गाउँ रोज्ने पनि र सहर रोज्ने पनि ।  त्यो साझा भोगाईले हामी दुवैलाई एउटै साझा कुरा सिकाएको छ जीवन-यापनलाई सजिलो बनाउने तरीका सिकि रहनू।

अति अव्यवस्थित बसोबासको बलियो उदाहरण काठमाण्डुकै लिन सकिन्छ । २०४६ पछि जसरी मध्यमवर्गको पहूँचमा उपत्यका आयो, त्यति वेला पनि एउटा अवसर थियो, यहाँको हरियाली वचाउने, खेतियोग्य जग्गा बचाउने, डाँडा र भित्तामा व्यवस्थित बस्ति बनाउने, सडक सिधा बनाउने, प्राचीन सहर जोगाउने, आधुनिक सहर बसाउने  आदि आदि ।

अर्को अवसर थियो भूइँचालो । जतिबेला पाल पाल टाँगेर  रात काट्न कतै चौर वाँकि थिएन काठमाण्डुका मान्छेको एउटा समूह आफ्नो ३ आनाको घडेरी र त्यसमा बनेको एक तल्ले घरको विकल्प खोज्न  तयार थियो ।

काठमाण्डुमा जस्तै ति अनकान्टारका बस्तीमा पनि भुइँचालोले त्यस्तै मनस्थिति पैदा गरेको थियो । हो रैछ, कम्तिमा सबै सुबिधा पुग्न सक्ने, छिट्टै उदार हुन सक्ने, तुरुन्तै राहत पुग्न सक्ने ठाउँमा बस्नु पर्ने रैछ भन्ने भावना सिर्जित थियो ।  हल्ला समेत चले, सरकारले निर्णय समेत गर्यो अव व्यवस्थित वस्ती विस्तार गर्ने भनेर ।

त्यसैले गोर्खाको भुइँचालोले दुवै खाले मान्छेलाई वसोवासको तरीकामा पुनर्विचार गर्न अवसर सिर्जना गरेको थियो ।

इतिहास पढ्दै नपढ्नु अज्ञानता हो तर पाठ नसिक्नु मूर्खता हो । अहिलेका बसोबादविदहरूले के भन्छन थाहा छैन, मेरो अनपढ बुद्धिले चाहिँ हामी वसोवासका सन्दर्भमा धेरै पटक मूर्ख भैसकेका छौँ र अझै मूर्ख बन्ने वाटोमै छौँ ।

काठमाण्डुका ३ आना घडेरी वाला जसरी आत्तिएर उपत्यका वाहिर जान तयार थिए, पहाडका अनकण्टार गाउँमा बस्नेहरू पनि व्यवस्थित एकिकृत वस्तीको सोचमा पुगेका थिए ।

त्यतिबेला सरकारले उपत्यकाका धेरै सरकारी अड्डा, स्कूल र अस्पताललाई उपत्यका वाहिर, चितवन-गैँडाकोट कतै सार्न नीति ल्याउनु पर्थ्यो । आधा राजधानी सरिदिएको भए पनि ठूलो प्रतिरोधको सामना गर्नु पर्ने थिएन । अव त्यो अवसर भविष्यमा आउला भन्नेमा मलाई शङ्का छ ।

व्यवस्थित एकिकृत बसोवालाई धुर्मुस सुन्तलीको जिम्मामा नछोडी सरकारी तवर वाटै प्रबर्द्धन गर्नु पर्थ्यो , प्रकोपको मात्रै होइन सरकारी सेवा सुबिधाको सहज उपलब्धताको दृष्टिले समेत । तर पुनर्निर्माण जति जोखिमयुक्त र अप्ठ्यारो ठाउँमा भए पनि पुरानै घडेरीमा सुरु भए, केही सम्पन्न समेत भए ।

गोर्खाको त्यो रेल  छुट्यो, तर खुशीको कुरा गोर्खाबाट छुटेको रेल कर्णालीमा भेटिएछ । कर्णाली प्रान्तीय सरकारले कार्यबिधि बनाएर एकिकृत बस्तीको काम अघि बढाउने भएछ । काममा सफलता मिलोस, शुभकामना ।

 

Comments

NIC Asia