MENU
रेशम फिलिलि…
 : 384 views
- राजीव भण्डारी   Jan 07, 2019

नेपालमा एउटा डरलाग्दो रोग के सरेको छ भने, जस्तो सुकै घटनाहरुलाई पनि शुरुमा चरम शिखरमा पुर्याउने, ठूलै कारवाही गर्छु जस्तो गर्ने तर त्यसलाई विस्तारै समयक्रम सँगै सेलाउँदै लैजाने, मानिसहरुको मानसपटलबाट धुमिलहुँदै गएको मौका कुरेर बस्ने र त्यहि मौकामा त्यसलाई ‘दि एण्ड’ गराउने।

 

अन्नतः रेशम लाल चौधरीले शपथ खाए । व्यक्तिका रुपमा उनीसँग कुनै गुनासो छैन । किनभने अहिले उनी कतै भागेर, लुकेर बसेर सुटुक्क आएर शपथ खाएर गएका होइनन् । उनलाई त स्वयं सरकारले आफ्नो सुधार(बन्दी) गृहबाट प्रहरीको कडा सुरक्षा सहित ससम्मान संसद भवन पुर्यायो । पत्रकारहरुका अनगिन्ती ‘स्टिल’ र ‘भिडियो’ क्यामेराको फ्ल्यास्मा कालो चश्मा, ढाकाको चुच्चो परेको टोपी, लामो कुर्ता पाइजामामा सजिएर उनी सभामुख सँग देशका गन्यमान्य नेताहरुका सामुन्ने एकलै सभासदको शपथ ग्रहण गर्न पुगे । हात मिलाए, छातीको लोगो देखाए, ङिच्च हाँसे ।

चौधरी दोषी थिए वा थिएनन् भनेर सुनेको, पढेको वा अरु कसैले भनेको भरमा किटान गर्नु अवश्यपनि कानुनी राज्यमा सुहाउँदैन । खोरमा थुनिएको आरोपीको मुद्दा किनारा लगाउन पनि किन ढिलो ?
मतादेश सधैं सही व्यक्तिलाई नै जान्छ पनि भन्न सकिंदैन, कहिले काहीँ कसैको माया, डर, पैसा, राष्ट्रिय, अन्तर्राष्ट्रिय वा अन्य कारणले पनि परिणामलाई असर पार्ने गर्दछ । कुनै दिन बबन सिंहले माधवकुमार नेपाललाई पछारेका थिए । अहिले उनी कहाँ छन् केहि पत्तो छैन ।

त्यस्तो कुन शक्ति थियो जसको बलले रातारात उनलाई शपथ ग्रहण गराउन दुई हजार पचहत्तर साल पौष उन्नाइस गते बिहीबारको शुभ साईत जुराईयो । यो राष्ट्रिय जनता पार्टीको एउटा प्रमुख माग थियो भनियो । राजपाले समर्थन फिर्ता लिएता पनि सरकार अल्पमतमा परेर ढल्ने अवस्थामा त अवश्यपनि छैन । मधेशमा आन्दोलन चर्केला भन्ने हो भने अहिलेको स्थितीमा एउटा रेशम चौधरीको लागि मधेशीहरु आन्दोलनगर्ने ‘मुड’ मा पटक्कै छैनन् ।

हुनत चौधरीलाई अहिले आएर एक्कासी शपथ खुवाउनुको पछाडी राजपाको केन्द्रीय नेतामा राजेन्द्र महतो लाई स्थापित गराउनु पनि हुन सक्छ । भर्खरै महन्त ठाकुरलाई संयोजकबाट विस्थापित गर्दै उक्त कुर्सिमा महतो विराजमान भएका छन् । उनको पार्टीमा उनको जस्तो शक्ति अरु नेतामा नभएको देखाउने वातावरण निर्माण भइरहेको पनि हुन सक्छ । गत चुनावमा सर्लाहीका महतोलाई जनकपुर गएर बिमलेन्द्र निधीलाई टक्कर दिन प्रेरित गर्ने कुन औषधी थियो ? जुन चुनावमा पहिलेनै विजयीको माला पहिरिने ‘ग्यारेन्टी’ नभईकन किन उनी आफ्नो घर, आँगन छाडेर निधीको ढोका अगाडी गएर उनलाई ‘च्यालेन्ज’ गर्न जान्थे होलान् ? राजनीतिले हरेक समय केहि न केहि खिचडी पकाईरहेकै हुन्छ । को, कता, कहिले, कहाँ, किन, कसरी जस्ता शब्दावलीहरु पत्रकारितामा मात्र छैन, यहाँ भन्दा बढ्ता राजनीतिमै छ ।

गलती सरकार, अदालत र प्रहरी स्वयंको हो । सरकारले किन यो ‘केस’लाई तदारुकताका साथ अगाडी बढाउने चेष्टा गर्न सकेन ? किन यसलाई सल्टाउन यती उदासिन देखियो ? अदालतले किन उनको मुद्दालाई छिटो छिटो पेसी तोकेर सल्टाउन पट्टी लागेन ? प्रहरीले किन आफ्ना समकक्षीहरु मारिएको घटनाको मुद्दालाई छिटो छिनोफाने गर्ने तर्फ र बाँकी प्रमाण खोज्न तिर लागेन ? दोषी जो भएतापनि जनताहरु यस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाई छिटो भन्दा छिटो कानुन बमोजिम सँजाय दिएको सुन्न र हेर्न आतुर थिए र अझै पनि आश गरेर बसेकाछन् तर सम्बन्धित सबै पक्षहरु तिन, तिनवर्ष सम्म सुतेर बसिरहेका छन् । फगत राजपा मात्र यसको पछाडी निरन्तर रुपले लागिरहेको छ ।

नेपालमा एउटा डरलाग्दो रोग के सरेको छ भने, जस्तो सुकै घटनाहरुलाई पनि शुरुमा चरम शिखरमा पुर्याउने, ठूलै कारवाही गर्छु जस्तो गर्ने तर त्यसलाई विस्तारै समयक्रम सँगै सेलाउँदै लैजाने, मानिसहरुको मानसपटलबाट धुमिलहुँदै गएको मौका कुरेर बस्ने र त्यहि मौकामा त्यसलाई ‘दि एण्ड’ गराउने ।

सिण्डीकेटलाई त्यही गरिँदैछ, ठेकेदारहरुको कार्वाहिमा त्यस्तै गरिँदैछ । निर्मला पन्त र सुन काण्ड, बिसौनीतिर लगिँदैछ । देखिँदैछ सुन काण्डका चर्चित अनुहारहरु धमाधम धरौटी र बिना धरौटी बाहिरीरहेका छन् । नेपाली जनताहरु ढुक्क हुनुहोस्, कुनै पनि दिन गोरे जेल बाट छुट्ने छन्, जसको लागि उनको घाँटीमा भुण्ड्याउन ठीक्क हुने ‘साईज’को माला कतै गाँसिदै छ र खदा सिलाईँदै छ । पत्रकार तथा विश्लेषकहरुलाई केहि दिनको खुराक पस्कनेछन् । त्यसपछि सबै सेलाएर जाने छ ।

नेपालका प्रहरी कस्ता छन् भने जो आफ्नै सात सातजना सहकर्मीको हत्याको आरोपी छ, उसले आफ्नै देशका प्रधानमन्त्री, पुष्पकमल दाहाल, लाई नयाँ दिल्लीमा भेट्दा पत्तै पाउँदैन । प्रहरी भनेको सरकार अन्तर्गतको एउटा संस्थाहो । सरकारले अह्राएको कार्य गर्नु पर्दछ भन्दैमा यत्ती पनि लाचार हुनु पर्दैन कि आरोप लागेका जो सुकैलाई पनि समातेर आफ्नो कर्तब्य पालन गर्न कसैको इशारा पर्खेर बसिराख्नु परोस् ।

रेशम चौधरीले सांसद भवनमा शपथग्रहण पश्चात छातीमा लगाएको सांसदको लोगोलाई औंलाले देखाउँदै फोटोपत्रकारहरु तर्फ फोटोको ‘पोजिशन’ दिइरहँदा साँच्चै रमाईलो दृश्य थियो । किनभने एउटा आरोपी जो जेल बाट प्रहरीको सुरक्षा घेरामा सिधै सांसद भवन पुर्याइन्छ, शपथ खुवाइन्छ, लोगो लगाइदिइन्छ, माला, खदा, अबिर लगाइदिइन्छ । फेरि प्रहरीको सुरक्षा घेरामा सुरक्षित साथ कुनै दिन आफू डेरामा बसेको डिल्लीबजार स्थित घरको अगाडी, जेलमा सकुशल पुर्याइन्छ र थुनिन्छ । गेटबाट लाँदा र ल्याउँदा आकाश जमिन फरक बनाएर, अर्कै रुपमा रुपान्तरण गराएर । आरोपी रेशमचौधरी बाट आरोपी माननिय, सांसद रेशम चौधरी ज्यु मा बदलिदिएर ।

हो टिकापुर घटना सधैं मन भित्र पालेर बस्नु हुँदैन । थारु र पहाडिया भनेर दुई पक्षका बिचमा लँडाई लडाएर सद्भाव बिथोलेर आफू आफूमा बैमनश्यता पाल्नु अवश्यपनि राम्रो होइन । थारु पहाडिया सबैले भनिरहेका छन् कि दोषीले सँजाय पाओस् निर्दोषले दुःख नपाओस् । यसको लागि एउटै मात्र उत्तम उपाय भनेकै यो मुद्दाको छिनोफानो छिटो भन्दा छिटो होस् भन्ने नै हो । यदि यसो हुँदो हो र रेशम चौधरी जेल मुक्त भएर शपथ खाएको भए आज सबैको मुखमा कानुन नभएको देश, जसको मनमा जे लागेको छ त्यहीगर्ने देश, ठूलालाई चैन सानालाई ऐन भएको देश आदी इत्यादी भन्ने शब्दहरु त चल्दैन थियो ।

अब पालो दीपकमनाङ्गेको हो । उनी त झन सफाई पाइसकेका व्यक्ति । किन ढिलो गरेको होला ? उनलाई त संघिय राजधानी सम्म आउनु पनि पर्दैन । प्रदेश सभामै खुवाइन्छ । त्यसैले थारुलाई जस्तो मनाङेलाई मजा नआउन सक्छ ।

Comments

NIC Asia