MENU
सबै स्वार्थी,सबै धोकेवाज,कसको विश्वास गर्ने..?
 : 87 views
भावना पाठक   Jan 13, 2019

२० औं हजार मान्छेको बलिदानले जन्मेको एमाओबादी कति टुक्रा भयो ,एमालेलाई न पोथी न भाले ,स्वार्थको लागि जतापनि ठिक हुने भनेर धारे हात लगाउने एमाओबादी अन्तत आफु बिलिन हुने अवस्थामा पुगेपछि एमालेसंग एकीकरण गरेर भएपनि आफ्नो अस्तित्व जोगाउन पट्टि लग्यो ।यसले कति मान्छेको बिस्वाश तोडियो भन्ने हेक्का उनीहरुमा भएन । शेरबहादुर देउवा र गिरिजा प्रसाद कोइरालाले फुटाएको पार्टी एक गरेर बनाएको अहिलेको नेपाली कांग्रेसभित्रको गुट हेरौ ,मधेशबादी दल हेरौ ,कोहि पनि सच्चा भावले देशको लागि समर्पित छदै छैनन् ।

 

हामी नेपालीहरु सुनेको कुरामा बिस्वाश गर्नेमा नम्बर वान । आफ्नोको बिरुद्धमा कसैले एक शब्द केहि सुनायो आफ्नैमाथि संका गर्ने,दोस्रोको कुरामा भरोसा गर्ने,पद प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुनेमा पनि नम्बर वान । सहनशीलता र धैर्यतामा हामी जिरो ।

 

 

यसैको उदाहरण हो पछिल्लो समयको बिबेकशील साझाको फुट । यी दुई कहिले पनि एक हुने बाटोमा छदै थिएनन् । परिपक्क मान्छेको कच्चा सम्बन्धबाट जन्मेको अबोध सन्तान जस्तै थियो रवीन्द्र मिश्र र उज्जल थापाको बिबेकशील साझा । सुरुमा मितव्ययिताबाट उदाएको,बिबेकले भरिएको भनेर प्रचार गरिएको बिबेकशील नेपाली,र नेपालका सबै पार्टीहरु जनताले चाहना गरेका भन्दा बिपरित छन् ,जनता अब बैकल्पिक शक्ति चाहन्छन भन्दै उदाएको साझा पार्टी ,एक अर्कामा बिलिन भएर ,हराएर नयाँ पार्टीको जन्म त थिए तर त्यहाँ न बिबेक थियो न सबैको साझा ।

 

उज्जल थापा ,रन्जु दर्शनाहरुले नेपालीमाथि बिस्वाश गर्लान नगर्लान तर रवीन्द्र मिश्र र सूर्यराज आचार्यहरुले जनतालाई बिस्वाश गर्छन भन्ने थियो । जनताले बैकल्पिक शक्ति चाहन्थे या चाहदैन थिए त्यो आफ्नो ठाउमा थियो तर नेपाली राजनैतिक इतिहासमा बिबेकशील साझाले एउटा सकारात्मक राजनैतिक बातावरणको निर्माण गर्छ भन्नेमा जनता थिए । त्यो बिस्वाश दुवै तर्फबाट तोडियो ।

 

राजनीतिमा जुट्नु र फुट्नु सामान्य कुरा हो । तर भरोसा गरेकाबाट यो सामान्य कुरा दोहोरिनु भने असामान्य हो । बिगत हेर्ने हो भने पनि कुनै न कुनै मोडमा पार्टीहरु एक बाट दुई-तीन टुक्रा भएका छन् । कांग्रेस एमाले माओबादी ,मधेशबादी लगायत सबै पार्टीहरु एकमुष्ट कहिले पनि भएनन् सुरुमा निकै तामझाम हुन्छ हामी एक ढिक्का हौ भनेर पछि आफुले चाहे जस्तो बातावरण निर्माण नाभायेपछी आफु अनुकूल गराएर पार्टी फुटाउने गरिन्छ यहि भयो बिबेकशील साझामा पनि ।

 

एक अर्काको अनुकूल हुन नसके पछि आफु अनुकूल सिद्धान्त र मानिस एक हुल बनाएर छुट्टिए ।यो त्यति अस्वाभाविक हैन यस्तो भैरहन्छ ,जंगलमा त्यति लामो समय संघर्ष गरेर जनताको हक हित र समानताको लागि मरिमेट्ने पार्टी भनेर जनताको अध्याधिक मत पाएकोले त धोका दियो भने यी झिना मसिना पार्टी त के हुन् ?

 

२० औं हजार मान्छेको बलिदानले जन्मेको एमाओबादी कति टुक्रा भयो ,एमालेलाई न पोथी न भाले ,स्वार्थको लागि जतापनि ठिक हुने भनेर धारे हात लगाउने एमाओबादी अन्तत आफु बिलिन हुने अवस्थामा पुगेपछि एमालेसंग एकीकरण गरेर भएपनि आफ्नो अस्तित्व जोगाउन पट्टि लग्यो ।यसले कति मान्छेको बिस्वाश तोडियो भन्ने हेक्का उनीहरुमा भएन । शेरबहादुर देउवा र गिरिजा प्रसाद कोइरालाले फुटाएको पार्टी एक गरेर बनाएको अहिलेको नेपाली कांग्रेसभित्रको गुट हेरौ ,मधेशबादी दल हेरौ ,कोहि पनि सच्चा भावले देशको लागि समर्पित छदै छैनन् ।

 

यहि राजनैतिक पृष्टभूमि बुझेर उदाएका यी नयाँ पार्टीले कुरा नयाँ गरे ,काम नयाँ गर्न सकेनन ,अझ भनौ यिनीहरुले काम पनि केहि गर्न सकेनन । आलोचानात्मा राजनीति बाट देशलाई मुक्त बनाउछु भनेर लाग्ने रवीन्द्र मिश्र चुनावमा कुर्लि कुर्लि अन्य पार्टीलाई सराप्दै थिए ,त्यहि बसेर उनका बिबेक भएका साझा जनता तालि बजाउदै थिए ।

 

 

चुनाबका बेला रवीन्द्र मिश्रको अघिल्तिर एक महिला रुँदै आइन ।लौ न मेरो देश बचाउनु पर्यो ,मेरो चुनाव क्षेत्र त यो हैन म तपाइको मतदाता पनि हैन तर तपाइको भिजनको अगाडी म नतमस्तक भए ,देशलाई जोगाउन तपाइको खाचो छ भन्दै आसुको बलिन्दारा बगाइन । त्यति बेला त्यो दृश्यले राष्ट्रप्रेमी सबैलाई नतमस्तक बनाएको थियो । मिश्रले उनलाई आस्वासन पनि दिएका थिए । कि हालत जे सुकै होस् तर देश भन्दा अगाडी मेरो लागि केहि हुने छैन । अब ति महिलाको आशुको उत्तर उनले कसरि देलान ?

 

पार्टी फुट्नुमा रवीन्द्र मिश्रको मात्र दोष हैन । पार्टी फुटाएर नयाँ पार्टी दर्ता गर्ने त उज्जल थापा र रन्जु दर्शनाहरु हुन् ।उनीहरुले स्वीकारे कि हाम्रो भिजन फरक रहेछ । अहिले एक अर्कालाई दोष लगाउन र फेरी पनि जनतालाई आफु राम्रो छु भनेर देखाउमै तल्लिन छन् । बिबेकशील र साझालाई साच्चैनै जनताका कुरा सुन्ने पार्टी हो भनेर जनताले मुल्यांकन गरेका थिए । यी दुइको एकीकरणबाट जन्मेको बिबेकशील साझा ,साझा हुनेमा सबै बिस्वस्त थिए ।

 

अन्तत सबै विश्वासलाई तोड्दै बिबेकशील साझा पार्टी फुट्यो । पछिल्लो समय विवादमा रहेको सो पार्टीका संयोजक समेत रहेका थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए। पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो।

 

बिबेकशील साझाबाट अलग भएर बिबेकशील नेपाली दल बनेको बारे उज्वल थापाको आफ्नै स्पष्टिकरण छ। विवेकशील साझा पार्टीका संयोजक समेत रहेका थापाले अर्का संयोजक रबिन्द्र मिश्रले मनपरी ढंगले बिधानबिपरित पार्टी संचालन गरेको आरोप लगाएका छन। नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रिय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु बिघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै बिभिन्न भातृ संगठन गठन गर्ने तर्फ अघि बढ्ने जस्ता क्रियाकलापले गर्दा आफुहरुले अर्को नयाँ दल निर्माण गर्नुपरेको पनि थापाको आरोप छ ।

पार्टी फुटेपछि थापाले जनता समक्ष गरेको अपिल यस्तो छ :

विवेकशील साझा पार्टीका नेतृत्व, सदस्य, शुभचिन्तक एवं समस्त विवेकशील नागरिकहरुमा अपिल:
नेपालमा नविन तथा सुसंस्कृत राजनीतिको आवश्यता छ र सम्भावना पनि छ भन्ने विश्वासकास साथ वि.सं. २०६९ सालदेखि विवेकशील नेपाली अभियान अघि बढेको व्यहोरा यहाँहरु सबैमा विदितै छ। संबिधान सभाको दोश्रो निर्वाचन, महाविनाशकारी भुकम्प र त्यसपछीको उद्दार एवं राहत अभियान, लुटतन्त्रविरोधी सडक अभियान, डा. गोविन्द केसीसङ्गको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने अभियान हुँदै तात्कालिन विवेकशील नेपाली दलले २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उमेद्वारी दिएर अघि बढ्यो l उक्त निर्वाचनमा विवेकशील नेपाली दल र २०७३ मा खुलेको साझा पार्टीले हासिल गरेको नतिजाले वैकल्पिक पार्टीहरुलाई नेपालको राजनीतिक परिदृश्यमा अलग स्थान बनाउने सम्भावना रहेको स्पष्ट संदेश दियो। त्यसैको फलस्वरुप, समान उदेश्यको लागि भिन्दाभिन्दै दलको साटो एकै भएर जानुपर्ने निस्कर्षमा विवेकशील नेपाली दल र साझा पार्टी आइपुगे। वि.सं. २०७४ श्रावण ११ गते विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको सम्झौता भई विवेकशील साझा पार्टी गठन भयो। एकीकृत पार्टीले संघीय एवं प्रादेशिक निर्वाचनमा भाग लियो र उल्लेखनीय नतिजा पनि हासिल गर्यो। तर विगत १७ महिनाको दौरानमा पार्टीमा वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठुलो भिन्नता रहेको प्रष्टै देखियोl मूल्यमान्यता आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी बिकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो। अत: अहिले कै ढंगले अघि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामुलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रवृतिले प्रश्रय पाउने भयो l

स पृष्ठभूमिमा सुसंस्कृत र सहभागितामुलक राजनीतिलाई केन्द्रबिन्दू बनाएर अघि नबढ्दा राजनीतिमा ताजा विकल्प खोजिरहेका युवा पुस्ता एवं जागरुक नागरिकको आशामा तुसारापात हुने निश्चित छ। नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रिय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु बिघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै बिभिन्न भातृ संगठन गठन गर्ने तर्फ अघि बढ्ने जस्ता क्रियाकलापले समयकालमा ह्रास हुदैँ गएको हाम्रो आशा पनि पुरै निराशामा बदलिएको अवस्था अहिले हो। अत: यो जटिल परिवेशमा हाम्रै कालमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामुलक संवृद्धि हासिल गर्ने उदेश्यमा विचलित नभई अघि बढ्न अहिले अपरिहार्य भएकाले हामी विवेकशील साझा पार्टीका देहाय अनुसारका १६ जना केन्द्रीय समितिका सदस्यहरु आज २०७५/०९/२७ मा निर्वाचन आयोगमा गई बैधानिक तवरले नयाँ दल गठनको कानुनी प्रक्रिया शुरु गर्नको लागि निवेदन दिएका छौं।

सुसंस्कृत राजनीतिलाई संस्थागत गर्न हामी अझै डटेर लाग्ने प्रतिवद्दता व्यक्त गर्दछौं र सो कार्यमा विवेकशील साझा पार्टीका नेता एवं सदस्यहरु, शुभचिन्तकहरु एवं आम सचेत नागरिकहरुलाई आम-नागरिकहरुबाट साथ र सहयोगको अपेक्षा गर्दछौं।मुल्यमान्यतामा अडिग रही जन अपेक्षाको संवोधन गर्ने सवालमा ईच्छुक सबै पक्षसँग विगतमा झैँ भविष्यमा पनि संवाद एवं सहकार्य गर्न हामी सधैँ खुला रहनेछौँ।
साथै डा केसीले भरखर अाम नेपालीको स्वास्थ्य र शिक्षाको लागि गर्नु भएको सत्याग्रहमा हामीले एकबद्ध जनाउदैँ यस अभियानमा शसक्त तरिकाले लाग्ने प्रतिवद्धता जनाउनेछौँ। नागरिकको सेवामा सहकार्यको उदाहरण तपाईँ-हामी यहिँबाटै शुरु गरौँ।
धन्यवाद।
नमस्ते।
नेपालको जय होस् ! तपाईको जय होस् !
रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, उज्वल बहादुर थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरी

 

 

त्यस्तै रवीन्द्र मिश्रले पार्टी फुटेपछि राजनैतिक प्रेम पत्र लेखेका छन् : यस्तो छ मिश्रको ‘राजनीतिक प्रेमपत्र’

“देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ”

हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो। तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं। विवाह लामो समय टिक्न सकेन। तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौं।

खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलव्धि हासिल गर्यौं। आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा लेरायौं। सञ्चार माध्यमका कयौं बहसहरू हाम्रो प्रतिनिधित्वबिना अपुरो देखिन थाले। राजनीतिक बहसहरूमा अबको विकल्प हामी नैं हौं भन्ने निष्कर्षहरु निकालिन थाले। देशभरी संगठनहरु विस्तार हुन थाले।

हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आम सर्वसाधारणसम्म पुर्यायौं, शिक्षा र स्वास्थ मूलरूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्यौं। सुसंस्कृत र मूल्यमान्यतायुक्त पार्टी नबनि देश बन्दैन भन्ने विश्वास जगायौं। आम सर्वसाधारणले हामीलाई पत्याए र साथ पनि दिए।

तर लक्ष्यमा समानता भएरमात्र नपुग्ने रहेछ। लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ। दूर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकवद्ध हुने संभावनै रहेनछ। त्यसैले तपाईंहरू अनायासै घर छोडेर जानुभयो।

सामाजिकरुपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरुका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौं भन्ने अनुभूति भएको छ। हामी छुट्टीएको देखेर यहाँ रमाउनेहरु धेरै छन्। मन दुखाउनेहरु अझ धेरै छन्। हामी सबैलाई थाहा छ, हामीबीच अभियानकेन्द्रीत समूह मात्र बन्ने की राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो। त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन। तर तपाईंहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनुभयो।

मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्नसक्ने आघातका बारे चिन्ता छ। हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नु पर्ला भन्ने चिन्ता छ। पुष ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनढाडै व्यक्तिगतरूमा मेरो र संगठनात्मकरूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो। तर अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडि हाल्नुभयो।

अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ। लक्ष्य बोकेरमात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैलि र चरित्रका बारे गफ गर्ने मन छ। जीवन धेरै बाँकी छ, यात्रा लामो छ। तर देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु। त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म विगार्ने पक्षमा छैन। सिँगो देश बनाउन साऽऽऽनो मुटु लिएर हुन्न। देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ। सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ। धेरै कुरा चाहिन्छ।

दुख छ तर कुनै आग्रह, पुर्वाग्रह, ईर्ष्या, द्वेष छैन। कहिल्यै नआवोस् पनि। दुखहरूचाहिँ कहिलेकाहिँ अभिव्यक्त हुनेछन्। त्यसमा अन्यथा नसम्झिदिनुहोला। तपाईंहरूले हालैका दिनहरुमा व्यक्त गरेका दुखलाई पनि मैले अन्यथा लिएको छैन।

छिटै बसेर चिया खाउँला। मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला। के थाहा पुनर्मिलन भई पो हाल्छ कि। घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन। अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरी एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला। तपाईंहरूलाई नयाँ यात्राका लागि धेरैधेरै शुभकामना! सबैको जय होस्, नेपालको जय होस्!

रवीन्द्र मिश्र
संयोजक, विवेकशील साझा पार्टी

यस्तो परिपक्क मान्छेले गरेको यस्तो अपरिपक्क प्रेम अनि विवाहले जनतामा निरासा छाएको छ ।बैकल्पिक पार्टी भनेर उदाएका हरु बिलिन हुने अवस्थामा पुगेका छन् । आरोप र प्रत्यारोपले मात्र उनीहरुलाई जनताले गरेको बिस्वाशको मुल्यांकन हुदैन । अब यो देशका जनताले बिस्वाश कसलाई गर्ने ?

 

कांग्रेस,एमाले ,माओबादी लगायत सबै दल ,अनि दल छोडेर योगेश भट्टराई ,गगन थापा ,घनश्याम भुषाल,विश्वप्रकाश शर्मा ,बाबुराम भट्टराई,रवीन्द्र मिश्र र उज्जल थापा सबैको बिश्वास गरेर अब जनता पछुताउन थालिसके । अब न एकीकरणमा खुशी न फुट पछिको दुख केहि पनि छैन ।

 

राजनीति गर्ने मान्छेको मुख्य स्वार्थ के हुने रहेछ ? राष्ट्र र राष्ट्रियता त पक्कै पनि हैन ।गुट र फुटको राजनीति गर्न सिपालु नेता र विरक्तिएका जनता,हरेक पटक बिश्वासको मत माग्ने नेता र त्यस बाट पछुताउने जनता ।यहाँ सबै धोकेबाज छन् ।नेपाल र नेपालीको भावनामाथि खेलवाड गर्ने ।हामी फरक छौ भनेर जनतामाथि इमोसनल अत्याचार गर्ने । योगेश भट्टराई ,गगन थापा,घनश्याम भुषाल,विश्वप्रकाश शर्मा ,रवीन्द्र अधिकारी ,रवीन्द्र मिश्र, उज्जल थापा र बाबुराम भट्टराईले जनतालाई बिस्वाश दिलाउन सकेका छैन भने हामीले कसको बिस्वाश गर्ने ?। मुखले मिठो बोलेपनि बेला बेलामा आफ्नो असली अनुहार देखाउन सुरु गर्छन ।हामीले कसको बिस्वाश गर्ने किन बिस्वाश गर्ने ?

Comments

NIC Asia