MENU
राजनीतिबाट हराएका बलदेव मजगैंया बोन्स्री लिएर देखापरे !
 : 145 views
  Sep 09, 2017

 

यी तिनै मजगैंयाँ हुन् जस्ले बर्षौं पहिला लोकमानसिंह कार्कीलाई आफ्नो सचिव बनाएर आफू डुब्न नचाहेको हाकाहाकी भनेका थिए र यो उपन्यास पनि तिनैले लेखेका हुन् । तत्कालिन प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति गिरिजाप्रसादलाई चुनौति दिए, गिरिजादाजु कि मलाई छान्नोस् कि यो भ्रष्ट कार्कीलाई ! ‘युगपुरुष’ गिरिजाप्रसादले लोकमानलाई छाने र मजगैंयाले जलस्रोत मन्त्रीबाट सहर्ष राजीनामा दिंदै राजनीतिको फोहोर पोखरीबाट आफूलाई निकालेर सिद्धान्त, दर्शन र आदर्शको नदीमा डुबुल्की मारिरहे ।

 

–सदृश्य साहित्य संवाददाता

 

पंचायती निरंकुशता बिरोधी जाज्वल्यमान युवा बलदेब मजगैंया बहुदल आएपछि सांसद बने । जलस्रोतमा धनी भनिने देशको बत्ती मन्त्री पनि बने तर जब उनी जलस्रोतलाई जनताका पक्षमा प्रयोग गर्दै अगाडि बढ्ने सशक्त योजना लिएर प्रस्तुत भए, उनका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भने, तिमी यसरी लाग्यौ भने मलाई अप्ठेरो पर्छ त्यसैले लोकमानसिंह कार्कीलाई म तिम्रो सचिवको रुपमा पठाउछु, तिमीलाई उसले तरीका सिकाउछ ।

 

मजगैंयाले भने, प्रधानमन्त्रीज्यू अहिलेकै सचिवले मलाई सघाएर जनताको घरमा बत्ती बाल्न र नेपालमा छोटो अवधिमै अधिक बिजुल उत्पादन गर्न कम्मर कँसेर लागेको छ । म यसै ब्यक्तिबाट सन्तुष्ट छु ।

 

तर कोइरालाले भने, मलाई तिम्रो काम गराइले मात्र पुग्दैन । कमाइ धमाइको लागि तिमीले कार्कीलाई नै जलस्रोत सचिवको रुपमा स्वीकार्नु पर्छ । उ दरवारको मात्र होइन, कोइराला परिवारलाई पनि सघाइरहेको काविल ब्यक्ति हो ।

 

केही नलागेपछि बलदेवले भने, गिरिजा दाजु म कार्की जस्तो सचिवसंग बसेर काम गर्न सक्दिन । त्यसले हुँदैन । उसलाई राखियो भने जनताको सेवा गर्ने मेरो योजना तुहिन्छ । त्यो भ्रष्टलाई नै राख्ने हो भने मलाई मन्त्री बनिरहनु नै छैन । तपाईको योजनामा सघाउने सचिव मात्र होइन, मन्त्री पनि ल्याउनोस् ।

 

उत्तिनखेरै बलदेव मजगैंयाँले जलस्रोत मन्त्रीबाट राजीनामा दिएको बताउदै त्यतीबेलाका जानकारी एक ब्यक्तिले भने, गिरिजाप्रसादले मजगैंयाँको राजीनामा स्वीकृत गरेर कार्कीलाई जलस्रोत सचिव बनाए !

 

दांगबाट चुनाव जितेका मजगैंयाका लागि यो जीवनकै ठूलो हार थियो । पंचायतकालभरि देशमा प्रजातन्त्र आएपछि सपना साचेका उनीमाथि भयंकर ठूला पिडा र चोट थियो । बीपीको सानिध्यबाट शुरु भएको उनको राजनीतिक यात्रा आस्था, सिद्धान्त र नैतिकताको पालना पार्टीमा बसेर पूरा नहुने निश्चित भयो । उनले ठाने यस्तो राजनीति मेरो कल्पनामा पनि थिएन । त्यसैले राजनीतिक आकांक्षालाई नै तिलांजली दिए ।
पार्टीको केन्द्रीय नेतृत्व मात्र होइन, आफूले जितेको संसदीय क्षेत्र पनि छाडिदिए र त्यसपछि त चुनावमा समेत उठेनन् । स्वार्थी राजनीतिलाई तत्कालै तिलांजली दिएर उनी दर्शन, सिद्धान्त र साहित्यिक क्षेत्रमा बीपीलाई पछ्याउदै यसरी डुबेर लागे कि उनीसंग आममानिसहरुको भेटघाट नै हुन छाड्यो । नित्य अनुशासनमा चुर्लुम्मै डुबे ।

 

नौलो उपन्यास

 

तिनै बलदेब मजगैयाँको नयाँ उपन्यास बोन्स्री माथिको छलफलमा यो नौलो उपन्यासले उठाएका विषयवस्तुहरुमाथि साहित्यकार र समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुले गएको साता बहुआयामिक चिरफार गरे । वीपी चिन्तन प्रतिष्ठानले वीपीको १०३ औ जन्मदिनको अवसर पारेर आयोजना गरेको कार्यक्रमले उपन्यासलाई पुन चर्चामा ल्याएको मात्र छैन यसका मिहिन पक्षहरुको विवेचना पनि गरेको छ ।

 

उपन्यासकार धु्रबचन्द्र गौतमले बोन्स्रीलाई हेर्दा सानो आकारको लागे पनि यसले उठाएका विषयवस्तु गहन भएकोले आफूले तीन पल्ट पढिसकेको बताए । उनले भने, यो सन्देशमूलक उपन्यास हो । यसको मुख्य पात्र ब्रोन्स्री जताततै बुझ्ने बुझ्झकी छे । बाबु–आमा, प्रेमी र साथीको परिस्थिति पनि बुझ्न कोसिस गरिरहन्छे ।

 

उनले भने, बोन्स्री असल, प्रभावकारी र बौद्धिक छे !
प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले बोन्स्रीबारे आज जसरी ब्यापक रुपमा छलफल, विचार विमर्श र चर्चापरिचर्चा भयो, मलाई त लागेको छ पोहोर यसको विमोचन भयो तर आज यसको न्वारन गरिदैछ ।

 

तीन आयाम

 

पुस्तकलाई तीन जना ब्यक्तिहरु सर्वश्री बलराम अधिकारी, डा लक्ष्मण अधिकारी र कृष्णमुरारी भण्डारीले पुस्तकलाई तीन आयाममा विश्लेषण गरे ।

 

बलराम अधिकारीले भने, यो उपन्यासले पुस्तान्तरणलाई समय र बिचारका हिसावले संबोधन गरेको छ । मानिसको मृत्यु सांकेतिक र जैबिक हुन्छ । जैबिक मृत्यु जति सहज छ, सांकेतिक मृत्यु सामाजिक, भाषाका रुपमा हुन्छ । देश निकाला पनि त्यसैले सांकेतिक मृत्यु हो । सांस्कृतिक र परंपारगत चलनहरुले जोड्छ, कसैको प्रतिमा बनाएर राख्नुको मतलब जोड्नु हो ।

 

तीन किसिमका अस्तित्ववादको आयाममा मैले पुस्तकलाई हेर्ने प्रयत्न गरेको छु ।
वैयक्तिक अस्तित्व, सह अस्तित्व र अन्तर अस्तित्व ।
उपन्यासका पात्र प्रतिकात्मक छन् । सामाजिक भन्दा तिनको संबन्ध चेतनाको रहेको छ ।

 

वैयक्तिक अस्तित्वको रुपमा उपन्यास शुरुदेखि अन्त्यसम्म तनावयुक्त छ । द्वेष ब्याप्त छ । सहअस्तित्वको रुपमा आफ्नो अस्तित्व खोज्दा अरुको पनि अस्तित्वलाई स्वीकार गरेको छ । उपन्यासमा अरुको स्वतन्त्रलाई पनि ख्याल गर्दै सहअस्तित्वलाई अत्यन्त महत्व दिइएको छ ।

 

त्यसैगरी अन्तर अस्तित्वको खोजी गर्दा पुस्तकले बुद्धिको भन्दा मनको भाषामा संवाद गरेको छ । नारी पुरुष संबन्ध समकोण हुनुपर्छ भन्ने सन्देश पटक पटक दोहो¥याइएको छ ।

 

उपन्यासको बल

 

समालोचक डा लक्ष्मण अधिकारीले संक्षेपमा उपन्यासलाई स्रोताहरु माझ पस्किदै प्रसंगहरुको उठान गरे । उनले भने, उपन्यासले शुरुदेखि नै द्वन्दात्मक रुपमा अगाडि बढेको र अन्तरनिर्भर रहेको ब्याख्या गरे ।

 

बुढेसकालमा जन्मिएको छोरो बाह्र पास गरेपछि साथीहरुको लहैलहैमा बिदेश जान खोज्छ । बाबु–आमा छोरालाई देशमै राख्न चाहन्छन् । तर आमा छोराको इच्छालाई पनि कदर गर्छिन् । तर बाबु ? बाबु आफ्नो अडानमा दृढ ।

 

छोरो विवेक पाश्चात्य मुलुकमा अध्ययन गर्न पुगे पनि त्यहाँको परिस्थितिको चक्रमा परेर घर परिवारको इच्छा अनुसार चल्न सक्दैन । आमाको मृत्यु हुँदा पनि घर आउन सक्दैन ।

 

बाबु जीवन छोराको ब्यवहारबाट दिक्क बन्छन् । छोरो बाबुको ब्यवहारसंग वाक्क बन्छ । बोन्स्रीले विवेकलाई र गुरु माधवाचार्यले जीवनलाई बाटो देखाउछन् । विवेक र बोन्स्रीले विवाह गर्छन् । नेपाल आउछन् तर त्यही बेला बाबुले प्राण त्याग्छन् । बाबुछोराको जीवीत भेट हुँदैन । आमा–बाबुको कृया गरेर आमाको शालिक बनाउन र बाबुको सहयोगमा खुलेको विद्यालयलाई विवेकले सहयोग गरेर पितृ कर्तब्य पूरा गर्छ । बोन्स्रीले नेपाललाई देवभूमि र कर्मभूमि मान्छे ।

 

उपन्यास नै मजगैंयाको राजनीति

 

उपन्यासलाई समालोचनाको सिमाभित्र राखेर परंपरागत रुपमा हेर्नेभन्दा यो पुस्तकले लेखक मजगैंयाको अरुले हेर्दा राजनीतिबाट पलायन तर खासमा उनले अंगालेको राजनीतिको वास्तविक शुरुवात भएको पत्रकार कृष्णमुरारीले औंल्याए । उनले भने, बलदेब मजगैंयाँ अहिले फोहोरी, अपराधिकरणमा लिप्त, सिद्धान्तविहिन र मूल्य मान्यता तथा नैतिकताको दृष्टिबाट पतनको किनारामा पुगेको राजनीतिक माहौलमा अमादब्लम हिमाल झैं प्रष्ट र आकर्षक रुपमा खडा देखिएका छन् । त्यसैले विकृत राजनीतिक माहौलमा मजगैंयाँ सक्रिय राजनीतिबाट भागेर साहित्यिक–आध्यात्मिक क्षेत्रमा पलायन भएको आरोप यही सभामा लागे पनि मलाई भने उनको खास राजनीति शुरु भएको र यो पुस्तकले त्यसैलाई मज्जासंग अभिब्यक्त गरेको धारणा अभिब्यक्त गरे ।

 

वीपी चिन्तन प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने, सत्तामा बसेका काँग्रेसीहरु सहभागी पनि भएको देखेर ब्यंगबाँड प्रहार गर्दै भण्डारीले उपन्यासको शुरुमै लेखकले भतृहरिको स्लोक राखेर वीपीबादी हुँ भनेर सत्ता लुछाचुँडीमा सहभागी हुनेहरुको आलोचना गरेको ठोकुवा गरे ।

 

भण्डारीले भने, इतिहासमा विदेशी सेनामा गोर्खाली वीर बनेर लड्ने नेपालीहरुको समकालीन युवा पुस्ता कसरी लाखौंको संख्यामा विदेश पलायन भैरहेको छ भन्ने विषयमा उपन्यास केन्द्रित रहेको छ । यसका बहुआयामिक पक्षमाथि उपन्यासले अनौठोसंग कथाबस्तु बुनेको र हाम्रा सवल र दुर्वल पक्षमाथि पूर्वीय मूल्य मान्यतासंगै पश्चिमी धारणालाई लोभलाग्दो गरी फ्युजन गरेको छ ।

 

पुस्तकका प्रत्येक पात्रहरुको संवादमा पूर्वीय जीवन दर्शनको गज्वबसंग प्रयोग भएको छ । पुस्तकमा लेखिएका र जीवनमा प्रयोगमा ल्याउनेहरुले प्रयुक्त गरेका कुराहरुलाई उपन्यासकारले मज्जासंग मथेका छन् ।

 

प्रत्येक पात्रलाई पूर्वीय दर्शनका मूल्य मान्यताका आधारमा मात्र होइन, पश्चिमी जीवन पद्धतिको भित्रैसम्म पसेर लेखकले समाधान खोजेका छन् । त्यसैलाई पस्किने कठोर र अपजसे कामलाई उपन्यासमा प्रचुर औपन्यासिक कलाको प्रयोग गरेका छन् । पूर्वीय र पश्चिमी जीवन पद्धतिलाई एक अर्काको प्रतिस्पर्धीको प्रस्तुत गर्ने परंपरालाई छाडेर दुबैलाई कलात्मक र बौद्धिक फ्युजन गरेर परिपूरक बनाएर देखाउने प्रयोग पनि गरेका छन् ।

 

उपन्यासका हरफहरु पढ्दा लेखक बलदेव मजगैंयाले अंगालेको जीवन दर्शन प्रष्फुटन भएको मात्र छैन, त्यसले समस्याहरुलाई गहिराईमा पु¥याएर प्रत्येक समस्याको समाधान गहन अनि ब्यवहारिक रुपमा सलल बुझिने गरी प्रस्तुत गरेकाले यो अत्यन्तै उपन्यास बोधगम्य पनि छ । थोरै पात्र र विषयवस्तुलाई सहज रुपमा लेखकले यसरी पस्केका छन् कि कि यो पुस्तक पढिसकेपछि हरेक ब्यक्ति स्वयममा परिवर्तन भएको महसूस गर्नेछ ।

 

प्राज्ञ अमर गिरीले साहित्यको बजारिकरण भएको बेला साहित्यलाई बजारले निर्धारण गरिरहेको सत्य उजागर गरे । उनले भने सामाजिक राष्ट्रिय मूल्य स्खलन, पुस्तान्तरणको कन्ल्फिक्टमा यो उपन्यास केन्द्रित छ ।

 

जबकि अहिले बजारमा आएका आख्यानहरुले स्वदेशीहरुको विदेश पलायनलाई विषयवस्तु बनाउन सकेका छैनन् । गैर आख्यान पनि यसविषयमा कमै प्रकाशित भएको छन् । तर बोन्स्रीले नेपालको यथार्थलाई उद्घाटित गर्छ र गहन शिक्षा दिन्छ । यो उपन्यासले हाम्रो सुन्दर मुलुकलाई समृद्ध बनाउन सकिने बलीयो सन्देश दिएको छ ।

 

अर्की प्राज्ञ डा. ज्ञानु पाण्डेले प्रस्तुत उपन्यास अहिले हामीले भोगीरहेका समस्याहरुको अचुक उपचार रहेको बताइन् । भूमण्डलीकरण र युवा पुस्ताबीचको ग्याप पेचिलो भएको अहिलेको अवस्थामा परंपरागत रंग फेरिएको औंल्याउदै भनिन्, अहिलेको अवस्थामा छोराछोरीले सिकाउने र बाबुआमाले सिक्नु पर्ने स्थिति रहेको छ । नयाँपुस्ताबाट विज्ञान प्रविधिका कुरा नसिक्ने मानिस नै अहिले अप्ठेरोमा जेलिन पुगेको छ ।

 

छोराछोरीमाथि सदाझैं बाबुआमाको आशक्ति छ तर विदेश पलायन भएका सन्तान पनि कम अप्ठेरोमा छैन । यस्तो अवस्थामा के गर्ने ? हो यही जटिलतालाई बोन्स्रीले मज्जासंग पर्गेले छ । प्रत्येक पल जीवन चपाएर भड्किएर बाँचिरहेको घरघरको कहानीलाई यो उपन्यासले मल्हम बनेर उपचार गरेको मात्र छैन, यसले पश्चिमी र पूर्वीय मान्यताबीच रहेका अनेकता, एकता र विविधतालाई लोभ लाग्दो गरी पस्केर उपन्यासकारले आफ्नो सवलतालाई फेरि एकपल्ट सावित गरेका छन् ।

Comments