MENU
‘एयर ट्रेक’
 : 231 views
  Feb 10, 2018

       

ट्रान्स हिमालय ‘एयर ट्रेक’ संसारकै साहसिक र स्तरीय गन्तब्य हो । यसको नेतृत्व प्रथम सगरमाथा आरोही तेन्जिङ्ग नोर्गेका नाति टासी तेन्जिङ्ग नोर्गेले गर्दैछन् । एयर ट्रेकबाट संसारमा भएका चौध वटा अग्ला हिमालमध्ये नौ वटा देख्न पाइन्छ । एयर ट्रेकबाट एशियाकै ‘सेक्रेड माउन्टेन’ कैलाश पनि हेर्न पाइन्छ ।

 

 

 

साहसिक पर्यटनको खेल मैदान नै हो, नेपाल । साहस र ऑट भएका यस खेल मैदानमा खुबै रम्न मन पराउँछन् । विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुम्न होस् अथवा भगवान बुद्धको जन्मस्थान लुम्बिनीको दर्शन गर्न होस वा जेठो हिमाल अन्नपूर्णको फेरो मार्न हिम्मत र चाहान भएका कै लाइन लाग्छ ।

 

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथा पहिलो पटक आरोहण गरेपछि बिश्वमञ्चमा नेपालको चर्चा शुरु भएको हो । नेपालमा पर्यटन व्यवसायको ढोका पनि त्यहीताका खोलियो ।

 

संसार भर्खरै मात्र दोश्रो बिश्वयुद्धको घाउमा मलाम लगाउँदै थियो । नोर्गे र हिलारीले त्यो घाउको खाटा पुर्न सबैको ध्यान सेता हिमालतर्फ ताने । साहसिक दुनियॉका यी दुई महानायकले शुरु गरेको आरोहण पर्यटनले ६ दशक बिताइसकेको छ । साहसिक स्वाद पस्कदै देशले यत्तिका बर्ष बितायो ।

 

 

त्यही मैदानमा पछिल्ला बर्षमा खेल थपिदैछन् । त्यसो त नेपाली पर्यटन उद्योगमा खासै नयॉ उत्पादन थपिएको आभास नपाएको गुनासा छन् । सरकार र ब्यवसायी ‘न्यु प्रोडक्ट’ ल्याएका पनि छैन । सरकारले भन्दा पनि नीजि क्षेत्रका व्यवसायीको सकृयतामा ‘न्यु प्रोडक्ट’ नेपाली पर्यटन बजारमा आएको मानिन्छ । नेपाल घुम्न आएका पर्यटकले नै मार्केटिङ गरि दिएर पर्य्रटन व्यवसाय चलिररहेको पनि यथार्थ हो ।

 

पर्यटन व्यवसायी माथि लाग्ने गरेका यी आरोपलाई चिर्दै नेपाली पर्यटनमा अब एक नयॉ आयाम थपिएको छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेका नाति टासी तेन्जिङले ट्रान्स हिमालयन एयर ट्रेक नया ‘न्यु प्रोडक्ट’ भित्रयाएका छन् । हिमाल आरोहणको ऐतिहासिक परिवारको सदस्य टासीले नेतृत्व गरेको ट्रान्स हिमालयन एयर ट्रेकले नेपाली पर्यटनमा नयॉ आयाम थपेको छ । तीन पटक सगरमाथाको शिखर र एक पटक चोयु हिमालको शिखर चुमेका टासी तेन्जिङ यतै घरजम गरेर विश्व बजारमा पर्यटनका नयाा प्रोडक्ट बेच्दै आएका छन् ।

 

हजुर बाले खोलेको पर्यटनको सम्भावनाको ढोकामा उनले अर्का थप अर्को नयाा ढोका खोलेका छन् । “एयर ट्रेक  व्यवसाय नयाा प्रर्बधन र नयॉ गन्तब्य हो”, टासीतेन्जिङले भने । एक इन्जिन भएको पिलाटस् पोटर हवाई जहाज र हेलिकप्टरले आकाशतर्फ लैजाने यस एयर ट्रेकमा यात्रा गर्दाको मज्जा सायद शब्दमा ब्यक्त गर्न निकै कठिन हुन्छ ।

 

 

हिमाली दृष्यको पानोरमा र हिमतालहरु, हिमाली अबस्था, स्थान र जनजीवन हेर्न एयर ट्रेक अब्बल दर्जाको गन्तब्य हुने छ भन्ने व्यवसायीको विश्वास छ । ट्रान्स हिमालयन एयर ट्रेक तारा एयरको पिलाटस ्पोटर जहाजबाट गरिन्छ । ६ जना पर्यटक बोकेर पिलाटस् पोटर जहाज हिमालमाथि उड्ने छ ।

 

आकाशमा चरा झैं उडेर ऑखैमा टॉसिने हिमाल र हिमाली ताल र मनोरम प्राकृतिक आनन्दमा रमाउने अवसर मिल्छ, एयर ट्रेकमा । सधैं एकै स्वादमा रमेका पर्यटक अब एक नौलो स्वादमा रम्न पाउने भएका छन् । हिमाललाई टाढैबाट हेरेर मज्जा लिएर वाह भन्नेलाई ट्रान्स हिमालयन एयर ट्रेकले मौका दिन्छ ।

 

समय थोरै र रिटायर्ड लाइफ बिताइरहेका अनि थकाइ मेटाउन सुन्दर थलो खोजिरहेकाहरुका लागि हो ,एयर ट्रेक । समयको बचत धेरै मनोरम थलोको अबलोकन गर्न पाइने भएकाले पर्यटकले बढी चाख लिने ट्रान्स हिमालयन एयर ट्रेकका व्यवस्थापक टासी तेन्जिङले जानकारी दिए ।

 

यसले नेपाली पर्यटनमा स्तरीय सेवाको ढोका पनि खोलेको छ, उनले भने । स्रोत टन्न छ, त्यसलाई बजारीकरण गर्न नसकेको मात्र हो । पदयात्रामा जाम पर्ने र याकको धूलो मन नपराउनेका लागि एयर ट्रेक छान्छन् । अब यी ठाउँहरुमा सुन्दरता र आकर्षण घट्दै गएको महसुस पर्यटकले गर्न थालेका छन्, टासीले भने ।

 

 

नेपाली पर्यटनमा यो नयॉ अबधारणालाई यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरीङ शेर्पाले तयार पारेका हुन् । पर्यटनको नयॉ क्षितिजलाई सबैले रुचाउने छन् ।

 

एयर ट्रेकबाट देखिने मनोरम ताल, जैबिक बिबिधता, पानोरोमिक हिमाली दृष्य, सुन्दर गाउ‘ वस्ती अनि संस्कृति जीवन शैलीले सबै यात्रीलाई लोभ्याउने छ । हो, विश्वका चौध अग्ला हिमालमध्ये नौ वटालाई नजर लगाउन पाउने छन यस ट्रान्स हिमालयन एयर ट्ेरक प्याकेजमा ।

 

यस प्याकेजमा पहिलो दिन काठमाडौं—नेपालगन्जहुदै सिमीकोटसम्मको खुल्ला आकाश र मनोरम हिमाली दृष्य देख्न सकिन्छ । सेता हिमालले यतै स्वागत गरे झैं लाग्ने छ । एक घण्टाको हवाई उडानपछि नेपालगन्ज अबतरण हुने छ । त्यहाा हल्का गर्मीको महसुस हुन्छ ।

 

थोरै बेर थोकान मेटाएपछि तारा एयरको छ सिटे पिलाटस् पोटरले यात्रीलाई सिमीकोटतर्फ लैजान्छ । दुई हजार नौ सय साठी मिटर उचाइतर्फको उडान निकै रोमाञ्चकारी हुन्छ । ढेड घण्टाको उडानपछि सुन्दर उपत्यका र भर्जिन थलो सिमिकोट अबतरण भइन्छ । अघि नेपालगन्जको गर्मीलाई सिमिकोटको चिसोले भगाउने छ । दिउँसोको खाना खाएर तपाइको यात्रा स्थानीय गाउँघरमा हुन्छ । सिमिकोट राजकुमारी डायनाभन्दा पनि सुन्दर छ । स्थानीय कला संस्कृतिलाई नियाल्दै बेलुकाको वास होटलमा हुने छ, अर्को दिनको उडान गन्तब्यलाई सपनामा झैं सजाएर ।

 

 

 

दोस्रो दिनको यात्रा सिमिकोट—रारा ताल—माउन्ट कैलाशसम्मको हुने छ । सपना निकै सुन्दर देख्नु भो होला । तातो कफी, मिठो खाजाको साथ रोमाञ्चकारी उडान वाह ! लिमी भ्याली, मनोरम स्थानमा रहेको रारा ताल र एशियाकै पबित्र हिमाल कैलाश पर्वतको अनुपम दृष्य । निलो आकाशबाट कैलाश मानसरोबर, रारा ताल, लिमी उपत्यकाको दृष्टिगोचर गरेपछि क्याम्पमा वास बसिन्छ । उक्त उडानको अबधि दुई तीन घण्टाको हुने छ । र, उडान २ हजार ९ सय ८१ मिटरको उचाइमा हुन्छ । ६ हजार ७ सय १४ मिटरको माउन्ट कैलाश जहाजबाट कम रोमाञ्चकारी देखिने छैन । यस दिनको लन्च प्याक रारा तालको किनारमा खुवाइन्छ । लन्चपछि केहिवेर आराम गरेर तालको फन्को मारिने छ ।

 

तेस्रो दिनको हवाई ट्रेक रारा—डोल्पो—जोमसोङको रुटमा हुने छ । रारा तालमा परेको घामको झुल्कोस‘गै बिहानीको खाजा खुवाइन्छ । तालमा परेको सूर्यको किरणले तपाईको बिहानी सारै रोमाञ्चकारी बनाउाने छ । दुई/तीन घण्टाको अबधीभर फुच्चे जहाजले आकाशमा निरन्तर उडाई रहने छ । डोल्पो हिउँ  चितुवा र तिब्वतवाट नुनको ब्यापार हुने थलो पनि हो । तिव्वती पठार जस्तै लाग्ने डोल्पो र फोक्सुण्डो ताल देख्दा मनै आफै झै चंगा हुन्छ । जुफाल बिमानस्थलमा अबतरण गरेर वनभोज शैलीको खाना खाने व्यवस्था छ । त्यसपछि धौलागिरी हिमाल हेर्दै हवाई यात्रा जोमसोमतर्फ लाग्छ । धौलागिरीमा साझको सुनौलो किरणस‘गै रातको बास पनि त्यही हुनेछ ।

 

चौथो दिन जोमसोम—मनाङ—लाङटाङको यात्रा हुने छ । थाकखोलाको हावा नचल्दै विहानको खाजापछि उडान धौलागिरी र अन्नपूर्ण हिमालमा परेको बिहानी घामको किरणस‘गै मनाङतर्फ लाग्ने छ । मनाङ भ्यालीहु‘दै पिलाटस पोटर विमान राजधानी नजिकैको लाङटाङतिर उड्छ । बिश्वको अग्लो स्थानमा रहेको तिलिचो तालमाथिबाट जहाज उड्ने छ । मनाङको हुम्देमा दिउँसोको खाना खाएपछि उडान गन्तब्य लाङटाङतर्फ उड्नेछ । लाङटाङ भ्यालीबाट संसारको चौधौं अग्लो हिमाल सिसापाङमा देखिन्छ । त्यस दिनको वास क्याङजिनमा हुन्छ ।

 

 

पााचौ दिनको यात्रा लाङटाङ—स्याङबाचेको हुने छ । बिहानी किरणस‘गै लाङटाङ हिमाल, गौरीशंकर हिमाल हेर्दै यात्रा स्याङबोचेतर्फ बढ्छ । यस दिनको यात्रामा चोयु हिमाललाई पनि देख्न सकिन्छ । संसारको छैठौ अग्लो हिमाल चोयु र गोक्यो ताल यो हवाइ यात्रामा देख्दा मनै आन्नद हुन्छ । स्याङबोचेबाट शेर्पा जातीको राजधानी मानिएको नाम्चेबजार, र हिलारी गाउँ  खुम्जुङ देखिन्छ । सर्बोच्च शिखर सगरमाथा, आमादाब्लम, थामसेर्कुलगायतका हिमश्रृखंला देखेर मन पुलकित हुन्छ । बीस मिनेटको हिडाइपछि वास बस्न होटल एभरेष्ट भ्यु पुगिन्छ । यो होटलको हरेक कोठाबाट सगरमाथा देखिन्छ । उडान समय तीन घण्टा लाग्ने छ । शेर्पा संस्कृति र हिमाली जीवन शैलीको स्वाद पाइन्छ, यहाा ।

 

छैटौं दिनको यात्रा स्याङबोचे—ताप्लेजुङ—काठमाडौंको रुटमा हुने छ । यो बिहानी निकै उत्तेजित र साहसिक हुनेछ । त्यो किनभने तपाई संसारको अग्लो चुचुरो सगरमाथा, लोहोत्से, मकालु, कन्चजंघा, र चोयु हिमाललाई अवलोकन गर्न पाउनु हुने छ । त्यसको साथै गोक्यो ताल पनि नजर गर्न पाइन्छ । र, हिमालमाथिको ग्लोबल वार्मिङको असरलाई पनि प्रत्यक्ष देख्न सकिन्छ । तीन घण्टाको उडानपछि ताप्लेजुङ्गको सुकेटार बिमानस्थलमा अवतरण गरिन्छ । सुकेटारमा खाना खाएर राजधानीतर्फ फर्किने उडान हुन्छ । विभिन्न स्वादस‘गै हिमाली दृष्य देखेर मन आनन्दित हुदै यात्रा राजधानीतर्फ बढ्छ । मनमा उमंग र उत्साह बोकेर यात्रा टुंगिन्छ । मेजेस्टिक माउन्टेन यात्राभरी देखिरहन्छ ।

 

 

यसरी ट्रान्स हिमालयन एयर ट्रेक देशको पश्चिम भागबाट शुरु भएर पुर्वी भेगमा पुगेर सकिन्छ ।
समय: काठमाडौं र उडानसहति दश दिनको समय लाग्ने छ । यस अवधिभरी समय बितेको पत्तै पाइदैन ।
खर्च: प्रति ब्यक्ति ८ हजार ८ सय ४८ यूरो लाग्छ । स्तरीय सेवा, सुबिधा यस प्याकेजमा पाइन्छ । स्वदेशी पर्यटकलाई भन्दा विदेशी पर्यटकलाई बढी आकर्षण भएकाले बिदेशी रिटायर्ड लाइफ बिताइरहेका र समय कम भएका एयर ट्रेकमा सामेल हुन्छन् ।

 

फ्रान्सको स्यामुनिकमा यस्तो खालको हवाइ पदयात्रा गर्ने चलन छ । हजाइ यात्रामा बिगत साठी बर्षको हिमालको इतिहास र देशको राजनैतिक अबस्थाबारे जानकारी प्राप्त हुन्छ ।

 

हवाइ यात्रा गर्ने समय: बसन्त ऋतु र शरद ऋतु हो । यी महिनामा आकाश सफा हुने भएकाले उपयुत्त हुन्छ ।

 

बोक्नुपर्ने सामान: एरियल फोटोग्राफी गर्न मिल्ने भएकाले एस एल आर क्यामेरा बोक्न नभुल्नु होला । न्यानो कपडा पानी पिउने बोतल छुटाउनै भएन । डिलक्स होटलमा बास बस्ने भएकाले अन्य सामान भने खासै नबोक्दा हुन्छ ।

 

तस्विरहरु : ल्हाक्पा शेर्पा 

Comments

Competition middle banner