MENU
सुन्दरता : अवसर र अभिमान
 : 691 views
  Mar 10, 2018

 

भागवत खनाल 

 

भनिन्छ कुनै पनि व्यक्तिको बाहिरी सुन्दरता हेरेर हुँदैन भित्री सुन्दरता हेर्नु पर्छ। यो कुरा सत्य होला, तर प्रारम्भमा त मानिस बाहिरी सुन्दरता नै देख्दछ र त्यसैबाट प्रभावित हुन्छ ।  कुनै विवाह योग्य युवकले विवाहको लागी केटी हेर्दा या केटीले केटा हेर्दा बाहिरी सुन्दरता हेर्छन, यदि बाहिरी सुन्दरता मन पर्यो भने उनीहरु भित्री सुन्दरता सम्बन्धमा त सोधपुछ पनि गर्न चाहदैनन्। कतै विवाहको कुरा चल्यो भने फोटो पठाइदिनु भन्ने चलन छ, बानी व्यहोरा बारे लेखेर पठाउनु भन्ने चलन छैन।

 

 

हामी गुलाफको फूल देखेर त्यसको सुन्दरताले मक्ख पर्छौं, काढाबारे सोच्न थाल्दैनौ। विवाह गर्नको लागि युवती हेर्ने युवकले यो सुन्दर त रहिछ तर बानी ठीक छैन होला, घमण्डी होली, आफूलाई केकन छु जस्तो गर्छे होला, व्यावहारिक छैन होला, मिलनसार छैन होला आदि भनेर सोच्न थाल्दैन , ऊ सुन्दरताबाट तानीइसकेको हुन्छ र तत्कालै ओके भनिदिन्छ। सुन्दर हुनु नै प्रथम विजय हो।

 

 

 

 

महाभारतमा अर्जुनले आफ्नो प्रतिभा प्रदर्शन गरेर द्रौपदीबाट बरमाला पाएका थिए।  पांच पाण्डव द्रौपदीलाई लिएर आमा कुन्ती भएको स्थानमा पुगे, आमा भित्रै थिइन, उनीहरुले आज एउटा अदभुत कुरा ल्याएका छम आमा भनेर आवाज दिए, आमाले सधै जस्तो पाँचै भाइले बरावर बाडेर लिनु भनिन। वास्तवमा उनलाई युवती ल्याएका होलान भन्ने कल्पना नै थिएन। युधिष्ठिर सत्यवादी र सत्य आचरण पालनकर्ताको उदाहारण मानिन्छन, तर द्रौपदीको दैहिक सुन्दरताले उनलाई पनि व्याकुल बनायो। उनमा भित्र भित्रै द्रौपदीलाई प्राप्त गर्ने चाहना जाग्यो। आमाले बाडेर लिनु के भनेकी थिइन उनको भित्री लिप्साले मौका पाइहाल्यो। भनिदिए अव
अर्जुनले एक्लै राख्यो भने त आमाको आदेशको अवज्ञा हुन्छ, तस्मात सबैले बाडेर लिनु पर्छ।  भीम, नकुल र सहदेव पनि सुन्दर युवतीमा आफ्नो पनि हिस्सा हुने भयो भनेर मनमनै मक्ख पर्दै चुप लागे। अर्जुन हेरेको हेर्यै भए। यसरी सत्य र निष्ठा पनि भौतिक सुन्दरताको अगाडि डगमगायो।

 

 

मानिसहरु अपरिचित भए पनि सुन्दर बालबालिका देख्ने बित्तिकै आहा कति राम्रो नानी भन्छन। परिवारमा पनि अरुकोभन्दा सुन्दर बालकको मान मनिता हुन्छ। सुन्दर बालकका धेरै नाजायज बानीले माफी पाउछन। सुन्दर बालबालिकाका अनुचित बोली र चालचलनलाई हास्दै माफी दिन्छन पिता माताहरु। समाज र छिमेकमा पनि सुन्दर नानीहरुलाई सबै माया गर्छन। विद्यालयमा छिर्ने बित्तिकै सुन्दर बालबालिकालाई ठूलो महत्व प्राप्त हुन्छ। कक्षामा बदमासी गर्दा सुन्दर विद्यार्थीलाई कम सजाय दिने गरेको अनुसन्धानबाट प्रमाणित भएको छ।

 

 

सुन्दर विद्यार्थीले कम मेहनत गरेर परीक्षामा औशत उत्तर दिए पनि राम्रो नम्बर पाउने गर्छन। कम मेहनती र औशत दर्जाका शिक्षक शिक्षिकालाई पनि विद्यार्थीहरुले उत्तम दर्जाको शिक्षक मान्ने, उनको कुरा ध्यानसंग सुन्ने र उनको प्रशंसा गर्ने गरेको पाइन्छ। छात्र छात्राहरुमा सुन्दर शिक्षक शिक्षिकाले भनेको मान्ने, कदर गर्ने, सम्मान गर्ने र मीठोगरी अभिवादन गर्ने प्रवृत्ति पाइन्छ।

 

 

मानिसहरुले सुन्दर व्यक्तिले भनेको कुरा सहजै विश्वास गर्छन। चुनावको बेलामा मतदाताले बिना कुनै तर्क र सोचविचार सुन्दर उम्मेदवारलाई मतदान गरेको पाइन्छ। भारतमा Heavy weight उम्मेदवारलाई चुनावमा हराउन सुन्दरताका धनी सेलिब्रिटीलाई चुनावमा उतारेको देखिन्छ  अमेरिकाका राष्ट्रपति केनेडी सुन्दर भाषण गर्थे तर मानिसहरु त्योभन्दा पनि उनको सुन्दरता र दैहिक व्यक्तित्वबाट बढी प्रभावित थिए।  अमेरिकाकै अर्का सुन्दर राष्ट्रपति बिल क्लिन्टनले आफ्नै अफिसकी केटीसंग जुन अस्लील हर्कत गरे त्यो कुनै असुन्दर व्यक्तित्व भएको मानिसले गरेको भए कुनै हालतमा माफ पाउदैनथ्यो होला। युवराज्ञी डायनाको कर्तुत माफी लायक
थिएन, आफ्नो कूल, खानदान, परम्परा, प्रतिष्ठा र अनुशासनको पनि ठूलो उल्लङ्घन थियो तर उनको सुन्दरताले गर्दा जनासाधरणको नजरमा उल्टै निर्दोष ठहरिइन।

 

 

कतिपय सुन्दर व्यक्तिहरुलाई आफूमा उत्तम क्षमता भएको हुँदा सबैले मानेको, प्रशंसा गर्ने गरेको, इज्जत गरेको, संगत गर्न खोजेको र आफू काममा सफल भएको भन्ने भ्रम परेको हुन्छ। हुन त अनुसन्धानले सुन्दर व्यक्तिमा अरुमाभन्दा ज्यादा confidence र कार्य क्षमता हुने देखाएको छ, तर यो कुरा सबैमा लागू हुँदैन। धेरै सुन्दर व्यक्तिहरु कार्यक्षमताको अभावमा पनि राम्रै सफल भैरहेका हुन्छन। यसको मूल कारण उनको दैहिक सुन्दरता हो। औशत कार्यक्षमता भएको सुन्दर व्यक्तिको अर्को आफूभन्दा अव्वल क्षमता भएको कर्मचारीभन्दा पहिले पदोन्नती हुन्छ। जसरी हामी सन्चै रहेको कारणले खुसी भैरहेका हुँदैनौं, तर जव बिरामी हुन्छौं दुखी हुन्छौं, त्यस्तै गरी सुन्दर व्यक्तिलाई आफू सुन्दर भएको हुनाले जीवनको हरेक पहलुमा सफल हुदैरहेको पत्तै हुँदैन। किनकि उनीहरु कहिले पनि Looser नहुने हुँदा loose हुँदाको मर्म थाहा हुँदैन। सुन्दर व्यक्तिलाई सबैले सम्मान गर्ने, उचित व्यवहार गर्ने र सहयोग गर्ने हुँदा उनीहरु सोच्छन ,यस्तै व्यवहार अरुलाई पनि प्राप्त हुँदो हो।  तर वास्तवमा सबैले त्यस्तो व्यवहार पाउदैनन्।

 

 

हवाई उडान सेवा, कर्पोरेट हाउसको रिसेप्सन सेव, सेल्स सर्भिस, ठूला ठूलाहोटेलको रिसेप्सन र वेट्रेस, टूर गाइड, टीभी कार्यक्रम प्रस्तोता, विज्ञापन कम्पनी, सिनेमा जस्ता रोजगारीका ठूला क्षत्र स्वतः सुन्दर मान्छेको पक्षमा आरक्षित हुन्छन। जतिसुकै निस्पक्ष व्यवहारका पक्षपाती र सक्रियतावादीले पनि राम्रा salesman भएको पसलबाट सामान खरिद गर्ने गरेको अनुसन्धानबाट देखिएको छ।   वास्तवमा छानी छानी सुन्दर मान्छे खोजेर नोकरीमा राख्ने रोजगारदाताको मात्र दोष रहेनछ, सारा समाजको दोष रहेछ।   व्यापारीले त जसलाई काम दिंदा बढी बिक्री हुन्छ त्यसैलाई राख्छ।

 

 

 

 

 

यो संसारमा सबैले सुन्दरतालाई पूजा गर्छन।  कृष्ण अत्यन्त सुन्दर थिए, अझ उनको वाककला, लीला र अभिनय क्षमताले गर्दा सारा संसार उनको एक झलकको लागि लालायित हुन्थ्यो। द्रौपदीको सुन्दरताको अगाडि युधिष्ठिरको सत्य डगमगायो, कैकेयीको सुन्दरताले राजा दशरथलाई दास् बनायो, माझीकन्या सत्यवतीको सुन्दरताले राजा शान्तनु फिदा भए, न कुनै योग्यता चाहियो न कुनै परीक्षा दिनु पर्यो। तिरहुते बाहुनी विधवाको अनुपम सुन्दरताले रण बहादुर राजाको धर्म डुब्यो, बंगाली ब्राहमण सेनापति राजीवलोचन रायलाई सुन्दरीको कटाक्षले इस्लाम कबूल मात्र गराएन, बङ्गाल, उडिसा र बिहारमा कहर नै वर्षायो। त्यसैले सुन्दरताले प्रथम विजय हासिल गर्छ, अरु प्रयाशहरु त त्यसपछि सुरु हुन्छन।

 

 

अनुसन्धान भन्छ (Beauty pays : Danniel Hamermesh) जति आदर्शका कुरा गरेपनि सारा समाज सुन्दरहरुको पक्षमा छ। जीवनको हर पहलुमा सुन्दर व्यक्तिहरुले नै फाइदा उठाइरहेका छन्। आकर्षक अनुहार र देह हुनेले सहजै जागीर पाइरहेका छन्, उनीहरुले नै पदंनोती पाउने सम्भावना उच्च हुन्छ, उनीहरुकै आकर्षणले ग्राहक आउने हुँदा उनीहरुले नै साहुको नाफा बढाइरहेका छन्, उनीहरुले नै अरुलेभन्दा बढी तनखा पाइरहेका छन्।  बैंकहरुले सुन्दर व्यक्तिलाई सहजै पत्याएर ऋण मात्र दिदैनन, अरुसंगभन्दा व्याज समेत कम लिन्छन।
यिनैहरुले सुन्दर र शिक्षित जीवन साथी पाउछन। आजको युग Economics of Beauty (सौन्दर्यको
अर्थाशाश्त्र) हुन पुगेको छ।  राम्रो अनुहार र दैहिक सुन्दरता भएका मानिस पश्चिमा मुलुकमा बहुत कम मात्र बेरोजगार छन्, भए पनि उनीहरुलाई भव्य र उच्चस्तरको कामले पर्खेर बसेको छ, उनीहरु धेरै दिन बेरोजगार बस्न पर्दैन ( DANIEL HAMMERMESH )।

 

 

सुन्दरहरुलाई सानो उमेरदेखि नै परिवार, कुटुम्ब, छिमेकी, समाज र शिक्षकबाट समेत माया प्राप्त भएको हुँदा आत्मवल र आत्मविश्वास बढी हुन्छ, सजिलै अरुको विश्वास र सहयोग प्राप्त हुन्छ ( Abbort 1992 )।  स्कूलमा धेरै सरारत गर्ने बालक यदि ऊ सुन्दर छ भने अरुलेभंदा थोरै सजाय पाउछ, न्यायालयमा सुन्दर मानिसको पक्षमा फैसला हुने गरेको पाइन्छ।

 

 

 

 

भारतमा सुन्दर रुपका धेरै फिल्म कलाकारहरु फिल्म उद्द्योगमा प्रशिद्धि कमाएपछि राजनीतिमा आएका छन। तमिल फिल्मका सुप्रसिद्ध नायक एम . जी., रामचन्द्रनले राजनीतिमा जम्न धेरै धामा गर्नै परेन। फिल्मको पर्दामा देखा पर्ने उनी भोट माग्न प्रत्यक्ष उपस्थित हुँदा तमिल जनताको हर्षको सीमा रहेन। केही सोचेनन जनताले, खुसीसाथ भोट दिए।  उनी दुइ अवधी मुख्यमन्त्री बने।  तेलगु फिल्मका प्रख्यात अभिनेता एन . टी . रामाराव दैहिक सुन्दरता र अभिनय क्षमताको भरमा राजनीतिमा लागेर आन्ध्र प्रदेशक मुख्यमंत्री बने।

 

 

अभिनेत्री जयललिता आफ्नो सुन्दर अनुहार र कायाकै भरमा तमिल फिल्ममा जमेकै थिइन।  पछि त राजनीतिमा झन् छाइन।  जनताको मायाले धेरै पटक तामिल नाडुको मुख्यमंत्री बनिन। हिन्दी फिल्मका अभिनेता अमिताभ बच्चन, राजेश खन्ना, शत्रुघन सिन्हा, अभिनेतृहरु, जया भादुडी, रेखा, सवाना आजमी, जया प्रदा आदिले पनि आफ्नो ग्ल्यामरको उपयोग राजनीतिमा समेत गर्न भ्याए।  हालै नेपालमा एकजना कुनै राजनीतिक पृष्ठभूमि नभएकी, अझ कम्युनिस्ट राजीनितिसंग त टाढाको चिनाजानसम्म नभएकी सेलिब्रिटीलाई ठूलो कम्युनिस्ट पार्टीको सांसद बनाइयो।  बर्षौं संघर्ष गरेका कम्युनिस्ट नेतृहरु हेरेको हरेई भए।  यस्ती महिलालाई पार्टीको सांसद बनाउनु हुन्न भन्ने मधुरा आवाजहरु पनि पार्टीका हर्ताकर्ताको अडानको सामु त्यसै दबेर गए।

 

 

 

 

पाकिस्तानकी सुन्दरी विदेश मंत्री हीना रब्बानी भारत भ्रमणमा आउदा अखवारमा द्वीपक्षीय सम्बंधबारेभन्दा पनि रब्बानीको सुन्दरता, लिवास र ग्ल्यामरको चर्चा ज्यादा भयो। पत्रिकाका मुखपृष्ठ उनका तश्वीरहरुले भरिए।  रुप र दैहिक सुन्दरताले भरिपूर्ण सलमान खान जस्ता भारतीय फिल्म अभिनेता नेपाल आउदा कुनै रचनात्मक क्रियाकलाप त हुदैन तर उनको आगमनमा आयोजकले करोडौं खर्च गर्छन।  उनलाई RAMP मा हेर्न हजारौं तिरेर हजारौं नेपालीहरु तछाड मछाड गर्छन।  तर साहित्यमा नोबेल प्राइज पाएको कुनै विद्वान नेपाल आए भने मुस्किलले चारजनाले भेट्लान।

 

 

एउटा ठूलो कम्पनीको लागि आवश्यक पदको लागि अन्तरवार्ता दिन आएकामध्य सबैभन्दा पहिले अन्तरवार्ता दिन पसेकी युवती अनुपम सुन्दरी रहिछन, उनको अनुहार, शरीर र मुस्कान देख्ने बित्तिकै अन्तरवार्ता लिन बसेका CEO साहेव फिदा भैहाले।  उनको मनमा अरु कुनै पाप नभए तापनि ती सुन्दरीको माध्यमबाट कम्पनी नाफामा जाने हुँदा तिनलाई नै छान्ने र ती सुन्दरीसंग संगै बसेर काम गर्ने इच्छा जाग्यो।  अरु उम्मेदारसंग औपचारिकता मात्र निभाउने काम भयो, मूल्यांकन गर्ने आवश्यकता नै महसुस गरेनन।  संसार सुन्दरकै छ, काखमा, कचौरामा, कोठामा, मझेरीमा, आँगनमा, छिमेकमा, कुटुम्बमा, स्कूलमा, कलेजमा, परीक्षामा सबैतिर यिनैको राज छ।  सुन्दरी युवती विवाह भएर घर गएपछि लोग्ने मात्र हैन सासु, ससुरा, जेठाजु, देवर, नन्द, अमाजु, नातापाता र छिमेकी सबैकी माया र प्रशंसाकी पात्र हुन्छिन।

 

 

सुन्दरताको यति महत्व बढे / बढाइएको छ कि अहिले सुन्दर हुनको लागि महिलाले ठूलो खर्च आफ्नो शृंगारका सामानमा गर्दै छन्।  कस्मेटिक उद्द्योगहरुले सुन्दरी युवती र युवकलाई प्रयोग गरेर कस्मेटिक सामानको चर्को र आक्रामक प्रचार गरिरहेका छन्, मानिसमा सौन्दर्य चेतना बढाइरहेका छन् र आफ्नो मुनाफामा उत्तरोत्तर वृद्धि गर्दै छन्।  एक सर्भ अनुसार अमेरिकामा औशतमा प्रति महिलाले आफ्नो जीवनकालमा तीन लाख डलरसम्म (रु . तीन करोड) शृंगारका सामानमा खर्च गर्ने गरेको पाइएको छ।  कस्मेटिक उद्द्योगहरुको उक्साहटमा बेलायतमा युवतीलेभन्दा पचास नाघेका महिलाले शृंगार प्रसाधनामा बढी खर्च गरेको पाइन्छ।  त्यहाँको एक चौथाई शृंगारका सामान त साठी नाघेका युवती ( ? ) ले खरिद गर्दा रहेछन।  भारतमा यसको वार्षिक बिक्री बीश प्रतिशतले बढीरहेको छ।

 

 

तर भनिन्छ, सुन्दर मानिसमा ज्यादा अभिमान हुन्छ।  सुरु सुरुमा आफ्नो रुप र दैहिक सुन्दरताको अपार घमण्ड र अहंकार हुन्छ। पछि पछि जव सबैको माया, सहयोग, प्रशंसा र हाइ हाइ हुन थाल्छ अनि उनीहरुमा आफ्नो क्षमता अरुकोभन्दा उम्दा रहेको भान र भ्रम पर्दै जान्छ।  सुन्दरहरुमा सानै उमेरदेखि अरुवाट प्रशंसा सुन्ने, आफ्ना अन्य भाइ बैनालेभन्दा बढी माया र महत्व पाउने, स्कूलमा सानो उपललब्धिमा ठूलो स्यावासी पाउने, सजिलै नोकरी पाउने र कार्यालयमा पनि सहयोग पाउने बानी परेको हुदा यिनीहरुमा आफू महत्वपूर्ण व्यक्तित्व भएको अभिमानको विकास हुँदै जान्छ।  यिनीहरु आफ्नो विरुद्धमा एक शब्द पनि सहन गर्न सक्दैनन् ( अनुसन्धान )।

 

 

अरुले बडो मुस्किलले पाउने उपलव्धि यिनीहरुले सहजै पाउने, बिपरित लिंगीहरुबाट अनावश्यक, अनुचित र बेसरोकारको वाहवाही पाउँदा त्यसको सत्यता र औचित्यको परख गर्ने क्षेमता ह्रास हुनुका साथै उक्साहट र बढाईमा विश्वास गर्ने र घमण्डी स्वभावको विकास हुँदै जान्छ।  यस्तो वाह्य वातावरणले गर्दा साधारण मानिसलाई हेप्ने, होच्याउने र कसैलाई नगन्ने प्रवृत्ति हावी हुन सक्छ।  द्रौपदी सुन्दर, वुद्धीमान, कुलीन अनि मानसिक र भावनात्मक रुपमा अत्यन्त मजबुत महिला थिइन।  उनी अन्याय र अत्याचारका शिकार,पतिहरुको गल्तीको कारण प्रताडित हुनु परेका र नारीलाई साधनमात्र ठान्ने समाज र अपमानित् महिलाको आवाज बुलन्द पार्ने प्रतिनिधि पात्र थिइन।  तर उनमा आफ्नो रुप र दैहिक सुन्दरताको यति घमण्ड थियो, कहिले काहीं अरुलाई अपाच्य हुने शव्दबाण प्रहार गर्थिन, अभिमान प्रकट गर्थिन।

 

 

उनले रुप, सम्पत्ती र बहादुर पतिहरुको मात लागेर दुर्योधनलाई अन्धाको छोरा अन्धा भनी अपमान नगरेको भए कुरू सभामा लछार पछार हुनु पर्दैनथ्यो होला।  यति इखालु थिइन कि जुवामा पतिले आफैलाई हारेर वनवास गएपछि हुन लागेको महाभारत युद्ध अघि भगवान श्रीकृष्ण शान्तिको सन्देश लिएर आउंदा आफ्ना तेह्र वर्षदेखि नकोरी नबाटी राखेको केश देखाएर प्रभावित पारेकी थिइन। सुन्दर तर प्रज्ञा नभएका प्रायः धेरैजसो सेलिब्रिटीहरु अभिमानी स्वभावका हुन्छन यिनीहरुले कुनै कुराको अध्ययन मनन नगर्ने, हरेक कुरालाई सुन्दरताले जित्दछ भन्ने अनुभूति राख्ने, आफू अरुभन्दा उत्कृष्ट भएको, अरुले आफूलाई सम्मान गर्नुपर्ने जस्ता पूर्वाग्रह राख्ने हुँदा स्वलिंगी सहकर्मीसँग दुश्मनी हुने गरेको पाइन्छ।  यस्ता युवा युवतीहरुमा फुट्टी बुद्धिमत्ता नहुने हुँदा सही र गलत छुट्याउने क्षमता हुँदैन।  सुदिनको समयमा यिनीहरुलाई अति पुलपुल्याइएको हुन्छ र ब्यस्त राखिएको हुन्छ। जव उमेर बढ्दै जाँदा काम कम हुन्छ, उक्साउनेहरू लाखापाखा लाग्छन र जीवनको कटु सत्यको अवस्थामा आउने बेला हुन्छ,यिनीहरुलाई आफ्नो जीवन नै निरस लाग्न थाल्छ र बिसाद (DEPRESSION) मा जान्छन।
क्रमश ….

 

Comments

Photography