MENU
कुमुदका कविताहरु
 : 172 views
  Apr 14, 2018

कवि: कुमुद शर्मा

विद्युत

नकिनिदिउन् दक्षिणले बत्ति, गरौंला चलन
किन हो सारो भएको यस्तो ‘दक्षिण’ जलन
गरौंला चैन फिक्री केही छैन हाम्रै हो बपौती
पेट्रोल, ग्याँस डिजेलमा बरू गरौंला कटौती

नाटक

 

भुमिगत नै हुुने भएछन् बिजुलीका तार
कामैे यहिभो सिर्फ सडक खन्ने बार बार
बाह्रै महिना सडकमा भ्वाङमाथि भ्वाङ
‘भ्वाङ देखे भन्नू’ भनी पार्छन् फेरि स्वाङ ।

 नव वर्ष

आउ प्रिय
जन्मदिन मनाऔं
तिम्रो जन्मदिन
सिर्फ तिमी र म
पुरानै रीतले
समारोह अजिवको हुनेछ
त्यहाँ न केक हुनेछ काट्न
न मैन बत्ती हुनेछ फुक्न
न कोही हुनेछन् ताली बजाउन
न कोही हुनेछन् नाच्न
त्यहाँ न कुनै गायक हुनेछ
नत कुनै नायक हुनेछ
न ‘एचबिडिको विस’ हुनेछ
न त कसैले केही ‘मिस’ गर्नेछ
न कुनै उपहार हुनेछ
न चियर्स सहितको परिकार हुनेछ
तिम्रो नयाँ संस्करण
झुण्डिनेछ भित्तामा
नयाँ सम्वत्सरको
अनि फालिने छ
पुरानो क्यालेण्डर
पुरानोको विर्सना
अनि नयाँको कामना
तिमी नयाँ वर्षमा प्रवेश गरेको दिन
तिमीले फेरि एक खुड्किला पार गरेको दिन
‘पचहत्तर’ लेख्न बाटो फुकेको दिन
मसँग केही छैन उपहार दिन
म त शुभकामना पो दिन्छु
वैशाख सङ्क्रान्तिमा
तिम्रो जन्मदिनमा
तिमी सबैलाई खुसी पार्न सक
तिमी सबैलाई सुखी राख्न सक
यहिनै मेरो कामना
तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रवृत्ति

विद्यार्थी आफू गर्नु लाई चिट अधिकार भन्दछ ।
माग जो पूरा नभाको कारण विद्यालय बन्दछ ।।
जो आफूलाई यातायात व्यबसायी भनेर भन्दछ ।
छ सिण्डिकेट, चक्काजाम अनि सवारी बन्दछ ।।
जो आफूलाई श्रमजीविहरूको नेता हुँ भन्दछ ।
उसैको कारण कल कारखाना खुल्दैन, बन्दछ ।।
राष्ट्र सेवक हुँ भनी गर्वले छाती मुठीले ठोक्दछ ।
कुर्सीमा बसी उसैले झण्डा पार्टीको बोक्दछ ।।
बन्नलाई जोगि गरेको आफूले राजनीति नभई ।
राजनीति आफ्नो पेशा हो, नेता भन्दछ खुलेरै ।।
जाँदै छ बुद्धि, विवेक दिनदिन भासिदै सबको ।
बिकृतिमय हुने भो नेपाल, झन् झनै अबको !!

मेलाम्ची

वर्षौं बर्ष हेरी बसियो घाँटी तानी तानी
अव पक्कै अाउने भैछ मेलाम्चीको पानी
चक्रपथ बाहिरकाले सुनाउँदथे किस्सा
आउनत हात्ती आयो हाम्लाई भयो फुस्सा ।

Comments