MENU
 भित्रैदेखि खुशी
 : 158 views
  Apr 16, 2018

सुनिल पौडेल

 

 

 

 

यस मगर गाउँमा महिला र पुरुषमा वीचमा कुनै विभेद छैन, परेको समयमा र भेला भएको वेलामा सवै मिलेर काम गर्छन् । महिलाहरु पुरुषको तुलनामा सवै क्षेत्रमा अगाडि छन् । विशेषगरी समाजलाई राम्ररी बुझेका छन्, मगर समुदायका महिलाले । हरेक धार्मिक, सामाजिक, सामुदायिक, सांस्कृतिक, राजनीतिक जस्ता कार्यमा महिलाको ठूलो सहभागिता हुन्छ । यहाँका मानिसमा अपनत्वको भावना धेरै नै छ । र, सबैमा सहयोगको भावना रहेका छ ।

 

 

नवलपरासीको कावासोती चोकबाट उत्तरतर्फ करिब ४ घण्टाको मोटर यात्रापछि पुगिन्छ, एउटा रमाइलो, मनमोहक र पर्यटकीय स्थल । पहाडी मार्ग, उकाली–ओराली, धुलाम्मे सडक, हुइकिएका जीपहरु । लाग्थ्यो जीप बाटोमा कुदिरहेको छैन, हावामा उडिरहेको छ । कति निडरताले चलाएका जीप, कत्ति पनि डर देखिदैन थियो, चालकको अनुहारमा । हामी यात्रा गर्नेहरुले भने यसो भीरबाट तलतिर हे¥यो भने कहाली लाग्दो थियो । कथमकदाचित मोटर भिरबाट तल खस्यो भने त राम नाम सत्य हो चाँही पक्का हो ।

 

 

हामी नवलपरासी जिल्लाको तराईको भुभाग, खुला र समथल फाँटको बारेमा मात्र जानकारी भएका मान्छे, अब पहाडबारेको हेक्का त कहाँ थियो र हाम्रो दिमागमा । मोटरले यसरी उफारिरहेको थियो कि मानौं हामी कुनै फन पार्कमा खेल खेलिरहेका छौं । शरीरका सबै पार्टपुर्जाको नटबोल्ट खुस्किन आँटी सकेको थियो । करिब ४ घण्टाको यात्रापछि पुगियो, हाम्रो गन्तव्य स्थलमा ।

 

 

 

 

यात्राका क्रममा धेरै जीपहरु उकाली–ओराली गरेको देखियो, जीपमा मानिसहरु वाध्यताले हो वा आफ्नै रहरले हो निकै डरलाग्दो र जोखिम मोलेरै बस्दा रहेछन् । साना बालबालिकादेखि वयस्कहरुसम्म जीपमा सवार थिए । बस्ने सिट छैन, पछाडितर्फको सामान राख्ने ठाउँमा सबै कोचिएर बसेका छन्, केही साना बालबालिका र वयस्क महिला र पुरुषहरु छतमा बसेका छन् । दुई जना महिला गाडीको साइडमा झुन्डिएर यात्रा गरिरहेका छन् । तर उनीहरुको अनुहारमा कुनै डरभर छैन, उनीहरुमा देखिएको त्यो उमंग र हाँसो जीवन्त छ, ग्रामिण परिवेश प्रतिनिधित्व गर्ने । सायद उनीहरुका लागि यो मोटरबाटो निकै ठुलो उपहार नै सावित भएको हुनुपर्छ ।

 

 

आजको हाम्रो कार्यक्रम भनेको समुदायको मानिसहरुसँग भेला भला भएर समुदायको वस्तुस्थितिबारे छलफल गर्ने र समुदायको समस्या के कस्ता रहेछन् भन्ने बुझ्ने हाम्रो उदेश्य थियो । तर हामी पुगेर १ घण्टा के बसेका थियौं । ठूलो दर्के पानी परिहाल्यो, संगै असिना पनि धेरै नै परेको थियो । तराइतिर हिँडेका हामी न्यानो कपडा पनि त्यस्तो उलेख्य बोकेका थिएनौं । अब परेन त फसाद । जाडोले जिउ लगलग काप्ने भइ गयो । बेलुका कसरी ओता लाग्ने स्थानमा सुत्ने हो भन्ने पीर पनि कता कता थियो नै ।

 

 

अब कुनै छलफल गर्न नसकिने भयो र लागियो गोठको जोहो गर्न रातीको वास्को लागि, आखिर राति न्यानो तरिकाले सुत्नु जो थियो ।

 

 

वेलुका साथीभाइले खानपिन गराएर गाउँमा नै वास बसियो । गाउँमा वास बस्नुको मज्जा नै छुट्टै छ । तर एउटा कुरा मिस गरियो । गाउँमा दाउँरा वालेर आगो ताप्न पाइएन । गाउँमा ग्यास चुल्होले ओगटि सकेको रहेछ गाउँ नै भए पनि ।

 

 

 

 

हामी पुगेको वडामा अधिकांश मगर समुदायको बाहुल्यता रहेछ । आज हामीलाई यस समुदायमा सहयोग गर्ने साथीहरु ज्यादै खुसी देखिन्थे । खुसीको राज पत्ता लगाउँदा झिमिक्कै साँझ प¥यो । साँझ परेपछि स्थानीय साथीहरुबाट थाहा भयो । आज यस गाउँमा खसी काटिएको रहेछ । रमाइलो कुरा यस मगरवस्तिमा खसीको मासु खान पाउनु भनेको ठूलो कुरो मानिँदो रहेछ । किनकी यहाँ कि त बंगुर, कि त पाडोको मासु बढी चल्दो रहेछ ।

 

 

साँझमा मासु पकाउन साथीहरु कस्सिए, साँझको मासु पकाउने जिम्मा मैले लिएँ । अर्का साथीले मसला पिसेर ल्याइदिए, मासुमा मिसाउने सबै सामग्री तयार पारियो र सबैलाई मासु पकाएर खुवाइयो, त्यो पनि एक धार्नी ।

 

 

यसैगरी सुत्ने बेलामा खसीको सुप पनि बनाइएकोले सुप पिएर सुतियो, सायद चिसो मेटाउने चाहना थियो, हामी सबैको । त्यसको भोलिपल्ट विहान समुदायसँगको छलफलमा व्यस्त हुनुपर्ने थियो । हिजो राती ठूलो पानी परेको कारण रातभर त्यति राम्रो निद्रा परेको थिएन । तर पनि काम त गर्नु नै प¥यो । समुदायको वस्तुस्थिति बुझ्न जो गएका थियौं, हामी ।

 

 

विहानको चिया पिएर हानियो गाउँतिर मानिससँगको भलाकुसारीमा । विडम्बना समुदायसँग कुराकानी गर्ने चाहना पूरा हुन सकेन । हामीले चिया पनि पिउन नपाउँदै समुदायका मानिसहरु रातभरी पानी परेको कारण विहानै मकै छर्न लागेछन्, बारीतिर पानी परेको मौका छोपेर ।

 

 

 

 

विहानको समय समुदायका मानिससँगभन्दा पनि पसलको साहुजीसँग कुराकानी गरेर बितायौं । विहानको नौ बजेको थियो । चिया र समोसा खाएर लागियो त्यहाँबाट अर्को भेगतर्फ ।

 

 

कच्ची बाटो, महाभारत पर्वतको श्रृखलालाई चिर्दै हामी लाग्यो अर्को गन्तव्यतर्फ । हामी जानुपर्ने ठाउँ अघिल्लो रात बसेको ठाउँबाट झन्डै २ घण्टाको दूरीमा थियो । सडक निर्माणका लागि विहानैदेखि मजदुर काममा व्यस्त थिए । बादलभन्दा पनि माथि माथि डाँडैडाँडा हाम्रो गाडी गुडिरहेको थियो । रातभरी परेको पानीले भर्खरै खनिएको कच्ची बाटो पहिरो खसेर कतै थुनिएको थियो भने कतै भत्किएको थियो । त्यसलाई पन्छाउँदै हाम्रो गाडी अगाडि बढि रह्यो ।

 

 

करिब १ घण्टाजति गाडीको यात्रा गरेपछि हामीभन्दा अगाडी रहेको गाडिको डिजेलको ट्याङकी फुटेर तेलको धारो ठूलै बगेको देखियो । हतार हतार हाम्रो गाडीका सहचालक भाइले सूचित गरेपछि त्यो गाडी रोकेर ट्याङकीबाट डिजेल चुहिनबाट बचाउन थाले । विकट ठाउँ, कुनै पेट्रोलपम्प थिएन त्यहाँ, न त कुनै डिजेल थाप्ने भाँडो नै पाइन्थ्यो । अनकन्टार पहाडको विचमा हामी मुक दर्शक भएर टुलुटुलु हेरिरहेका थियौं ।

 

 

एक जनले आइडिया दियो, चप्पल काटेर ट्याङ्की थुन् नत्रभने सबै तेल पोखिन्छ, गाडी बाटोमा नै थन्किन्छ । बजार पुग्न कठिन होला । विचरा सहचालकले आफुले लगाइरहेको चप्पल काटेर जेनतेन ट्याङकी थुन्यो, त्यसपछि हाम्रो गाडीले साइड पाएर अगाडि बढ्यो । हामी लाग्यो हाम्रो गन्तव्य नरमतर्फ भन्ने ठाउँमा । नवरपरासी जिल्लाको एउटा गाउँ ।

 

 

 

 

नरमबाट पारीपट्टि पाल्पाको पहाड देखिन्थ्यो, हिजो पानी परेको भए पनि आज मौसम त्यति सफा थिएन । यहाँबाट देखिने हिमालको मनोरम दृश्य यहाँका मानिसले बखान गरेभन्दा कम लाग्ने थिएन होला सायद । तर हामीलाई त्यसको मजा लिन प्रकृतिले दिएन ।

 

 

यहाँ पनि मगरहरुकै बाहुल्यता छ । यहाँका मानिसहरु कत्ति खुसी देखिन्छन् । उनिहरुलाई सुख सुविधाको वास्ता नै छैन । आफ्नो मेहनतले काम गरेर खाएका छन् । रमाएका छन् । अनि ओठमा मुस्कान छ । कुनै छलकपट छैन, मगर समुदायका मान्छेहरुमा ।

 

 

मनमा प्रश्न उठ्यो, कुराकानी गर्न मन लाग्यो । मैले सोधेँ, यहाँका मानिसहरु लेख पढ् गर्न जान्दछन्, ‘सबै बालबालिका विद्यालयमा भर्ना भएका छन् आदी । शिक्षाबारे कस्तो चेतना छ, यहाँका जनतामा । आजभन्दा केही वर्षअगाडि विरलै मानिसहरु पढ्न स्कुलमा भर्ना हुन्थे । तर आजकल सबै केटाकेटी विद्यालयमा भर्ना भएका छन्, मेरो मन ज्यादै खुसी थियो । शिक्षाको अवसरबाट कोही बन्चित हुन परेको रहेन छ ।

 

 

कुराकानीकै क्रममा अनि कतिसम्म पढ्छन् त यहाँ बालबालिकाहरु, अहिले त सरकारले निःशुल्क शिक्षाको व्यवस्था छ । उताबाट उत्तर आयो, यहाँका मानिसहरु ७ कक्षा ८ कक्षा पढेपछि पढाइ छोड्न । धेरै घरपरिवारमा गरिवी छ, उनिहरुलाई आफ्नो खेतीले खान पुग्दैन, एउटा छोरो १४÷१५ वर्ष भएपछि उसलाई परिवारको जिम्मेवारी थपिन्छ । ऊ अब पढ्न सक्दैन, ऊ भोको पेटले कसरी पढ्न सक्छ । यहाँ सरकारले निःशुल्क शिक्षा भनेपनि यहाँका मानिसहरुसँग कापी, कलम, कपडा किन्ने पैसा हुँदैन । वर्षदिन खान कठिन हुने परिवारले कसरी यी सबै कुराको जोहो गर्न सक्छ । यी सबै कुराको जोहो भएपनि खानको लागि कमाउनु प¥यो । अनि, किशोरावस्थामा नै केटाहरुले पढाइ छोड्न र लाग्छन् भारत तिर, कामको खोजीमा ।

 

 

 

 

त्यसो भए त यहाँ केटीहरुले चाहिं क िसम्म पढ्छन् नि? म जिज्ञासु हुँदै प्रश्न तेस्र्याउँदै थिएँ । यहाँका केटीहरुको पनि अवस्था त्यस्तै हो, पढ्न त पहिला भोक मेटिनु पर्छ । सबै पुरुष भारत र तेस्रो मुलुकमा कमाउन जान्छन्, अनि घरको सम्पूर्ण जिम्मेवारी महिलाले लिनु पर्छ । तर पनि यहाँ महिला र पुरुषमा भेदभाव छैन, सबै सँगै भएको बेलामा मिलेर काम गर्छन्, महिलाहरु पुरुषको तुलनामा अगाडि छन्, विशेषगरी सामाज बुझेका छन्, उनिहरुले । हरेक धार्मिक, सांस्कृतिक कार्यहरुमा महिलाहरुको ठूलो सहभागिता हुन्छ । यहाँ मानिसहरुमा अपनत्वको भावना धेरै छ । सबैमा सहयोगी भावना छ ।

 

 

अलिक प्रसंङ्ग बदलेर स्वास्थ्यका विषमा सोध्न मन लाग्यो । अर्को जिज्ञासा थपेँ, यहाँका मानिसहरु विरामी पर्दा कहाँ जचाउन जान्छन् नि ?

 

 

कहाँ जानु, सानो तिनो ज्वरो आएमा स्वास्थ्य चौकी, नत्र नारायणघाटतिर जाने हो । मेरो जिज्ञासा शान्त हुन सकेन, अनि स्वास्थ्य चौकीमा के कति सुविधा छ नि, उहाँले जवाफ दिनुभयो, यहाँ सबै सुविधा छ । हाम्रो गाउँमा स्वास्थ्य चौकी छ । हामीले सेवा पाएका छौं । काम गर्नेहरु पनि सहयोगी हुनु हुन्छ ।

 

 

मलाई लाग्यो, यहाँका मानिसहरु सुत्केरी गराउन ४ घण्टाको कच्चि बाटोमा तल झर्छन्, साँझ, रातमा यदि सुत्केरी व्यथा लागेमा महिलाको अवस्था के हुन्छ होला ? यहाँ एउटा बर्थिङ सेन्टरसम्म सरकारको प्राथमिकतामा पर्दैन । सरकारले ७० प्रकारका औषधी निःशुल्क उपलब्ध गराएको दावी गर्छ तर, स्वास्थ्य चौकीमा पाइने औषधीका विषयमा समुदायलाई जानकारीसम्म छैन ।

 

 

यी मगर दाईसँगको भलाकुसारीपछि दिउँसोको ३ बजेतिर लागियो आफ्नो गन्तव्यतर्फ फेरि त्यही पहाडको बाटो । अहिले भने उकालीभन्दा बढी ओलारी भएकोले विस्तारै झरेर, बाटो निर्माण भइरहेको ठाउँ ठाँउमा रोकिँदै रोकिँदै । साँझको ८ बजेको बल्ल नारायणघाट आइ पुगियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

(सुनिल पौडेल विकाससञ्चारकर्मी हुन ।)

Comments