MENU
छिमेकको चोर विरालो पल्केको छ– सुनिल पौडेल
 : 631 views
  May 12, 2018

कथा 

 

मैले घरमा केहि गाइ, भैंसी पालेको छु । तिनको स्याहार गर्न मैले मिहिनेत पनि धेरै गर्नुपर्छ । गाइभैसीलाई घाँस, कुँडो, खोले खुवाउनै पर्छ । जंगलबाट स्याउला पनि ल्याउनु पर्छ । बाछाबाछी पाडापाडी बढेपछि मैले ठूलो गोठ पनि बनाउनु पर्छ । नत्र त कसरी दूध, दहि, महि, घ्यू खान पाइन्छ । मैले गर्ने मिहिनेत पनि ठूलो छ । केही दूध डेरीमा बेचेर मैले पैसा पनि कमाउनु परयो, मेरो घर परिवार पाल्नकै लागि भए पनि मैले दुःख गर्नु छ, गरेको छु र गर्ने छु ।

 

 

तर, मैले पाखुरी बजारेर खाएको, दुइचार पैसा कमाएको, र थोरै भएपनि इज्जतदार जिन्दगी बाँचेको पल्लो घरकाले देखि सहेनन् ।

 

 

मेरो संयुक्त परिवार छ । हामी एकै घरमा ठूलो परिवार बसोबास गर्दछौं । यो परिवार भित्रैबाट पनि मैले गरेका काम र मैले कमाएका इज्जतको धज्जी उडाउन पछिल्तिरबाट कोही लागेका पनि छन् ।

 

 

तर, पनि म निरन्तर आफ्नै काममा तल्लिन छु । मलाई कसैको वास्ता नै छैन, मलाई कसले के गरिरहेको छ त्यसको मतलब पनि छैन । तर पनि म सशंकित हुन्छ कहिले काही, कतै पल्लो घरको छिमेकीले मेरा प्रगतिमाथि आँखा गाड्ने त होइनन् !

 

 

पल्ला घरको दिमो दाइ साह्रै चलाख छन्, मेरा घरका मानिससँग मिलेर मेरो घर परिवार भाँड्नका लागि मेरै घरका मानिसलाई प्रयोग गरेर, आजका दिनसम्म मैले कमाएको इज्जत लिलामी गर्न तल्लिन छन् । मेरो गौरव, मेरो पौरखलाई छिन्न भिन्न पार्न लालायित छन् ।

 

 

उनलाई म ढाडे विरालोको संज्ञा दिन्छु, उनी चोर विरालो हुन् । उनी मेरा घरको ढोकाबाट भित्र पस्न हिक्चिाउँछन्, झ्यालबाट कसैलाई डाकेर कुराकानी गर्छन्, यतिसम्म कि कहिलेकाहीं त झ्यालबाटै भित्र पसेर मेरो घरका निम्ति षड्यन्त्रसम्म रच्न् भ्याउँछन । तर, के गर्नु मेरा घरका अन्य सदस्य तिनको कुटिलतालाई बुझेर आफ्नो घर बनाउनतिर लागे पो आफु पनि खुसी हुनु ।

 

 

यहाँ पिडा छ, पिडै पिडाले भरिन लागेको जिन्दगी, एउटा जिन्दगीसँग जोडिएर आउने हजारौं जिन्दगी छन्, मैले कृषि पेशा गरेको छु, मेरो घरको दूध डेरीमा जान्छ, डेरीमा मानिसहरुले मैले दूध बुझाएकै कारण रोजगारी पाएका छन्, उनिहरुले प्याकेटमा दुध राख्छन्, बजारमा बेच्न पठाउँछन्, बजारबाट घर घरमा मानिसले दूध खान पाएका छन् ।

 

 

मेरो मिहिनेतले कति परिवारले रोजगारी पाएको छ । कतिले दूध खान पाएका छन् । तर के गर्नु मेरै घरको अर्को सदस्यले त्यसलाईबुझ्दैन । भोली मैले खडा गरेको यत्रो इमारतलाई कसैले ढालिदियो भने म मात्र होइन नाङ्गिने, परिवारका मानिसको मुखमा माड पनि लाग्दैन ।

 

 

दुई÷तीन वर्ष अगाडि त्यो छिमेकीले त्यस्तै गरेको थियो । त्यति बेलाको कुरोलाई बुझेर चुरोसम्म पुगेपछि त मेरा घरका सदस्य त्यतिसम्म पनि नतमस्तक भएर त्यही छिमेकीसँग किन घनिष्टता राख्नु हो, सर्प विषालु छ भन्ने जान्दा जान्दै भन्दै पालेर राख्दा वा आफुले कुनै दिन दुध दिन नसक्दा त आफैंलाई पो डस्ने डर हुन्छ । त्यसैले त्यो पल्लो घरको विरालो मेरो घरमा पल्केको छ, मेरो गाई, भैसीको दूध चोरेर खान पल्केको छ, मेरो आँखा छलेर ।

 

 

मैले सोचेको मैले गरेको मेहेनत र मेरो परिश्रमले मैले ठूलै परिवार भने पनि चलाउन सक्षम भएको छु । तर, यो धरातलमा भुकम्प आइदियो भने, मेरो घरमा पालेका जनावरलाई षड्यन्त्रपूर्वक मारिदिए भने, मैले गरिआएको काम डुब्ने छ, म सडकमा आउने छु, मैले दुई खुवाउन यो ठूलो परिवारलाई कठिन पर्छ ।

 

 

कताकता सुनेको कुन जिल्लामा हो कुन्नि, एउटाले चिनी मिल खोलेछ, आफ्ना वरिपरि रहेका किसानले लगाएका सबै उखु किनिदिँदो पनि रहेछ, राम्रो मुल्यमा किसानलाई उसको परिश्रमको फल पनि दिँदो रहेछ । समयको अन्तरालसँगै उसले उत्पादन गर्ने चिनी खैरो रङको रहेछ, उक्त चिनी मानिसको स्वास्थ्यका लागि औषधीको रुपमा पनि प्रयोग गर्न मिल्ने रहेछ । तर विस्तारै उक्त मिललाई सखाप बनाउन अर्को चोर विरालो पल्केको रहेछ । विस्तारै विस्तारै त्यस मिललाई सखाप पारेर, अहिले चिनीको लागि छिमेकीकोमा पैचो माग्न जानुपर्ने बाध्यता बनाइदिएछ, विचरा एउटा मिलले दिएको रोजगरी, त्यसले पालेको मानिसहरु, त्यसबाट पालिएका हजारौं परिवार । सबैको रोजीरोटी गुम्यो, एउटा चोर विरालोले गर्दा । त्यसैले म चनाखो हुनुपर्छ मैले चलाइरहेको यो कृषि फर्ममा त्यो चोर विरालोको कुदृष्टि नपरोस् ।

 

 

विडम्बना म एक्लैले चाहेर कहाँ यत्रो परिवार सबै सम्हाल्न सकिँदो रहेछ र ? सबैले आफ्नो व्यवसाय हो, हामी एउटै धागाका माला हौं भनेर सोचिदियो भने मात्र यसलाई बचाउन सम्भव हुँदो रहेछ । नत्र त एउटा धागोमा उनिएको माला न हो, हाम्रो परिवार । कसैले धागो चुडालिदियो भने त्यसलाई मालालाई सँगालेर फेरी त्यस्तै सुन्दर माला बनाएर सजाउन त कठिन हुन्छ नै ।

Comments

Photography