MENU
कुमुदका कविताहरु
 : 434 views
  May 12, 2018

कुमुद शर्मा

देउता

थियो मन सम्बोधन ‘देउतै’ भनी गर्ने
पाहुना र देउता दुबै एकै त हुन् भन्ने
किन किन भित्री मनले इच्छ्यै गरेन
मुखसम्म आएको शब्द भुईंमै झरेन
असाध्यनै मायाविछ तिम्रो छविचित्र
जिभ्रोमाछ महअनि छुरा खल्तीभित्र
देखाउन अरूलाई गर्छौ अङ्कमाल
काखिमुनी दाँतरैछ केहो यस्तो ताल
छैन भर नाकावन्दी गर्ने हौ कि फेरि
घरगई सिमास्तम्भ सार्ने हौ कि फेरि
जलमग्न डुबानमा पार्ने हौ कि फेरि
ढुङ्गा मुडा यतातिर झार्ने हौकि फेरि
भन्ने यौटा गर्ने अर्को मायावि छ चाल
अहिलेनि होला पक्कै कुनै मायाजाल
खन, जोत, विष रोपण गरेकाथ्यौ पैले
उठाउन बाली यता अा’को होकि ऐले ?

जस्केला

मनभरि लालिगुराँस फुलेको थियो पहिले
तिम्रै कारण एकाएक ती सबैनै ओइलिए ।।
हाम्रो मनको ढोका बन्द गर्यौ आफैं तिम्ले
जस्केलाबाट पर्यो छिर्न चालमारी अहिले ।।
छोड्यौ तिमीले हामीबीच अमीटजो छाप
कहिल्यैनि मिल्ने छैन त्यसकोलागि माफ ।।
लाग्ला भनी बाल, बृद्धा, बिरामीको श्राप
सम्भवत: होलाउ आको पखाल्नत्यै पाप ।।

जाती 

मैनौंसम्म भोकै पार्यो हामिलाई जस्ले
अभूतपूर्व स्वागत नै पाएको छ उस्ले
परे टाढा मितकोथ्यो अलि ठूलो छाती
त्यसैले त करेसाको भूत नै भो जाती !

उपहार

उपहासको अभिनन्दन उपेक्षाको ताली
तिरस्कारको पुुष्पहार धिक्कारको लाली
छँदै छैन अरू केही, मन छ पूरै खालि
दिल खोलेर चढाउँछु यही नै यसपालि ।

सदाचार

फौजदारी छ अभियोग अनि मान्छे थुना
सांसद यहाँ कानूनभन्दा माथि सय गुना
यसरीनै लोकतन्त्रले सदाचारलाई छल्छ
राजनीतिक लेप बनाई अपराधमा दल्छ।

कानून

सबैको सामु तिमी नाङ्गिन्छ्यौनि किन
निरीहको सामुचाहिँ झाङ्गिन्छ्यौ झन् किन
कसैलाई चाहिँ तिमी घाती बन्छ्यौ किन
कसैलाई फेरि फूलपाति बन्छ्यौ किन
कहिलेफेरि असाध्यनै बाङ्गिन्छ्यौ नि किन
कैफियतलाई पनि फेरि धान्दिन्छ्यौ नि किन
पहुँचको अौंलामाथि नाची गर्छ्यौ किन
इशारामा कम्मर अनि भाँची गर्छ्यौ किन
मात लागे जस्तोगरी हिड्ने भा’छ्यौ किन
फोहोरको खात जस्तै हुँदै गा’छ्यौ किन
ओइलाएर गा’छ्यौ तिमी दिन प्रति दिन
आजलाई त मुर्झाएर आउ एकछिन !

Comments

NIC Asia